धर्मशास्त्रहरू
अल्मा ८


अध्याय ८

अल्मा मेलेकमा प्रचार गर्छन र बप्तिस्मा दिन्छन्—अम्मोनीहाहमा उनलाई अस्वीकार गरिन्छ र उनी हिंड्छन्—एक स्वर्गदूतले उनलाई फर्कन र जनसामु पश्चात्तापको घोषणा गर्नआज्ञा दिन्छन्—उनलाई अमुलेकले ग्रहण गर्छन् र उनीहरू दुईले अम्मोनीहाहमा प्रचार गर्छन। लगभग ई.पू. ८२।

अनि अब यस्तो हुन गयो कि अल्मा गिदोनको भूमिबाट फर्के, गिदोनका जनलाई लेख्न नसकिने धेरै कुराहरू सिकाएपछि, अघि जरहेम्लाको भूमिमा गरेअनुसार, चर्चको अनुक्रमको स्थापना गरेपछि, हो उनी आफूले गरेका परिश्रमहरूबाट आफू आराम लिन जरहेम्लामा उनको आफ्नो घरमा फर्के।

अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको नवौँ वर्ष अन्त्य भयो।

अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको दशौँ वर्षको प्रारम्भमा, कि अल्मा त्यहाँबाट प्रस्थान गरे र मेलेकको भूमितिरको आफ्नो यात्रामा लागे, सिदोन नदीको पश्चिममा, उजाड स्थानको सिमानाहरूको पश्चिमतिर।

अनि उनले मेलेकको भूमिमा जनलाई परमेश्वरको पवित्र अनुक्रमअनुसार सिकाउन थाले, जसद्वारा उनलाई बोलाइएको थियो; र उनले मेलेकको सबै भूमिभरि जनलाई सिकाउन थाले।

अनि यस्तो हुन गयो कि उजाड स्थानको छेउमा रहेको भूमिका सम्पूर्ण सिमानाहरूबाट जन उनीसामु आए। अनि सम्पूर्ण भूमिभरि भएका उनीहरू सबैले बप्तिस्मा लिए।

त्यसैले कि जब उनले मेलेकमा उनको कार्य सके उनी त्यहाँबाट प्रस्थान गरे र मेलेकको भूमिबाट उत्तरमा तीन दिनको यात्रा गरे; र उनी अम्मोनीहाह भनिने सहरमा आए।

अब उनीहरूका भूमिहरूलाई र उनीहरूका सहरहरूलाई र उनीहरूका गाउँहरूलाई, हो, उनीहरूका सबै साना गाउँहरूलाई समेत, तिनीहरूलाई पहिला स्वामित्वमा लिनेको नाउँबाट बोलाउने नफीहरूको चलन थियो; र अम्मोनीहाहको भूमिको नाउँ पनि यस्तै थियो।

अनि यस्तो हुन गयो कि जब अल्मा अम्मोनीहाहको सहरमा आएका थिए उनले परमेश्वरका वचन उनीहरूसामु प्रवचन दिन थाले।

अब सैतानले अम्मोनीहाह सहरका जनको हृदयहरूलाई अत्यन्त अधीनमा लिएको थियो; त्यसकारण उनीहरूले अल्माकोका वचनहरूलाई सुनेनन्।

१० तैपनि अल्माले आत्मामा धेरै परिश्रम गरे, परमेश्वरसँग शक्तिशाली प्रार्थनामा सङ्घर्ष गर्दै, कि उहाँले आफ्नो आत्मा सहरमा भएका जनमाथि खन्याउनुहुनेछ; कि उहाँले दिनुहुनेछ कि उनले तिनीहरूलाई पश्चात्तापमा बप्तिस्मा दिन सकून्।

११ तैपनि, उनीहरूले आफ्ना हृदयलाई कठोर बनाए, उनीसामु यसो भन्दै: हेर, हामीलाई थाहा छ कि तिमी अल्मा हौ; र हामीलाई थाहा छ कि तिमी, आफ्ना परम्पराअनुसार, भूमिको धेरै भागमा तिमीले स्थापना गरेको चर्चमाथिका उच्च पादरी हौ; र हामी तिम्रो चर्चका हैनौ र हामी त्यस्ता मूर्ख परम्पराहरूमा विश्वास गर्दैनौँ।

१२ अनि अब हामीलाई थाहा छ कि किनभने हामी तिम्रा चर्चका होइनौँ हामीलाई थाहा छ कि हामीमाथि तिम्रो कुनै शक्ति छैन; अनि तिमीले न्यायको आसन नफीहाहलाई हस्तान्तरण गरेका छौ; त्यसकारण तिमी हामीमाथिका प्रधान न्यायकर्ता होइनौ।

१३ अब जब जनले यसो भनेका थिए र उनका सबै वचनहरूको सामना गरेका थिए र उनको निन्दा गरेका थिए र उनलाई थुकेका थिए र उनीहरूको सहरबाट निकाला गरिनु पर्दछ भनी अह्राएका थिए, उनले त्यहाँबाट प्रस्थान गरे र हारुन भनिने सहरतिरको उनको यात्रामा लागे।

१४ अनि यस्तो हुन गयो कि जब उनी त्यतातिर यात्रा गर्दै थिए, दु:खले भारी भएका थिए, जीवात्माको धेरै विपत्ति र वेदना मार्फत् यात्रा गर्दै, अम्मोनीहाहका सहरमा रहेका जनको दुष्टताको कारण, यस्तो हुन गयो जब अल्मा दु:खले भारी भएका थिए, हेर परमप्रभुको एक स्वर्गदूत उनीसामु देखापरे, यसो भन्दै:

१५ तिमी आशीषित होऊ, अल्मा; त्यसकारण, तिम्रो शिर ठाडो पार र खुसी होऊ, किनकि तिमी हर्षित हुने महान् कारण छन्; किनकि उहाँबाट पहिलो संदेश पाएको समयदेखि परमेश्वरका आज्ञाहरू पालना गर्नमा तिमी आस्थावान भएका छौ। हेर, म उही हुँ जसले त्यो तिमीसामु ल्यायो।

१६ अनि हेर, मलाई तिमीलाई आज्ञा दिन पठाइएको हो कि तिमी अम्मोनीहाहको सहरमा फर्क र सहरका जनसामु पुन: प्रवचन गर, हो, उनीहरूसामु प्रचार गर। हो, उनीहरूसामु भन कि, पश्चात्ताप नगरे परमप्रभु परमेश्वरले उनीहरूको विनाश गर्नुहुनेछ।

१७ किनकि हेर, उनीहरूले यस समयमा अध्ययन गर्छन् कि उनीहरूले तिम्रा जनको स्वतन्त्रताको विनाश गरून, (किनकि परमप्रभुले यसो भन्नुभएको छ) जुन उहाँले आफ्ना जनलाई दिनुभएका कानुनहरू र न्यायहरू र आज्ञाहरू विपरीत छन्।

१८ अब यस्तो हुन गयो कि अल्माले उहाँको सन्देश परमप्रभुका स्वर्गदूतबाट प्राप्त गरेपछि उनी द्रूतगतिमा अम्मोनीहाहको भूमिमा फर्के। अनि उनले अर्को बाटो हुँदै सहर प्रवेश गरे, हो, त्यो बाटो हुँदै जुन अम्मोनीहाहको सहरको दक्षिणमा छ।

१९ अनि जब उनी सहर प्रवेश गरे उनी भोकाएका थिए र उनले एक मानिसलाई भने: के तिमी परमेश्वरका एक विनम्र सेवकलाई केही खान दिन्छौ?

२० अनि ती मानिसले उनीसामु भने: म एक नफी हुँ र मलाई थाहा छ कि तिमी परमेश्वरका पवित्र अगमवक्ता हौ, किनकि तिमी त्यस्ता मानिस हौ जसलाई स्वर्गदूतले दर्शनमा भनेका थिए: तिमीले ग्रहण गर्नेछौ। त्यसकारण, मसँग मेरो घरमा जाऔँ र म मेरो खाना तिमीसँग बाँड्नेछु; र मलाई थाहा छ कि तिमी मलाई र मेरो घरका लागि आशीष बन्नेछौ।

२१ अनि यस्तो हुन गयो कि ती मानिसले उनलाई आफ्नो घरमा स्वागत गरे; र ती मानिसलाई अमुलेक भनिन्थ्यो; र उनले भोजन र मासु ल्याए र अल्मा अगाडि राखे।

२२ अनि यस्तो हुन गयो कि अल्माले भोजन खाए र भरिए; र उनले अमुलेक र उनको घरलाई आशीष दिए; र उनले परमेश्वरलाई धन्यवाद दिए।

२३ अनि उनले खाएर भरिएपछि उनले अमुलेकसामु भने: म अल्मा हुँ र भूमिभरिको परमेश्वरको चर्चमाथिको उच्च पादरी हुँ।

२४ अनि हेर, मलाई यी सबै जनमाझ परमेश्वरको वचनको प्रचार गर्न बोलाइएको छ, प्रकाश र अगमवाणीको आत्माअनुसार; र म यो भूमिमा थिएँ र उनीहरूले मलाई ग्रहण गरेनन्, तर उनीहरूले मलाई निकाला गरे र म सदासर्वदाका निम्ति यो भूमितिर मेरो पिठ्यूँ फर्काउन लागेको थिएँ।

२५ तर हेर, मलाई आज्ञा दिएको छ कि म पुन: फर्कनु पर्छ र यी जनसामु अगमवाणी गर्न र उनीहरूका दुष्टताहरूको बारेमा गवाही दिनु पर्छ।

२६ अनि अब, अमुलेक, किनभने तिमीले मलाई खुवायौ र मलाई लियौ, तिमी आशीषित छौ; किनकि म भोकाएको थिएँ, किनकि मैले धेरै दिन उपवास बसेको थिएँ।

२७ अनि उनले जनसामु प्रवचन दिन थाल्नुभन्दा अगाडि अल्मा अमुलेकसँग धेरै दिन बास बसे।

२८ अनि यस्तो हुन गयो कि जन उनीहरूका दुष्टताहरूमा अझ बढी जघन्य बने।

२९ अनि अल्मालाई वचन आयो, यसो भन्दै: जाऊ, मेरो सेवक अमुलेकलाई पनि भन, अघि जाऊ र यी जनसामु अगमवाणी गर, यसो भन्दै—तिमीहरूले पश्चात्ताप गर, किनकि परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूले पश्चात्ताप नगरे म मेरो रिसमा यी जनलाई भेट्ने छु, हो र म मेरो भयङ्कर रिस हटाउने छैन।

३० अनि अल्मा अघि गए र अमुलेक पनि, जनमाझ, परमेश्वरका वचनहरू उनीहरूसामु घोषणा गर्न; र उनीहरू पवित्र आत्माले भरिए।

३१ अनि उनीहरूलाई शक्ति दिइएको थियो, यतिसम्म कि उनीहरूलाई झ्यालखानामा बन्द गर्न सकिएन; न त यो सम्भव थियो कि कुनै मानिसले उनीहरूको बध गर्न सक्थ्यो; तैपनि उनीहरूले आफ्नो शक्तिको अभ्यास तबसम्म गरेनन् जबसम्म उनीहरूलाई बन्धनमा बाँधेर कारागरमा फ़्याकिएन। अब, यसो गरिएको थियो कि परमप्रभुले उनीहरूद्वारा आफ्नो शक्ति देखाउन सक्नुहोस्।

३२ अनि यस्तो हुन गयो कि उनीहरू अघि गए र जनसामु प्रवचन दिन र अगमवाणी गर्न थाले, परमप्रभुले उनीहरूलाई दिनु भएको आत्मा र शक्तिअनुसार।