धर्मशास्त्रहरू
अल्मा ४५


हेलामानले आफ्ना दिनहरूमा राखेको हेलामानको अभिलेखअनुसार हेलामानका दिनहरूमा नफीका जनको, उनीहरूका युद्धहरूको र मतभेदहरूको विवरण।

अध्यायहरू ४५ देखि ६२ सम्म

अध्याय ४५

हेलामानले अल्माका वचनहरूमा विश्वास गर्दछन्—अल्माले नफीहरूको विनाशको अगमवाणी गर्दछन्—उनले भूमिलाई आशीष र श्राप दिन्छन्—मोशालाई जस्तै अल्मालाई पनि आत्माद्वारा लगिएको हुन सक्छ—चर्चमा विवाद बढ्छ। लगभग ई.पू. ७३।

हेर, अब यस्तो हुन गयो कि नफीका जन अत्यन्तै खुसी भए, किनभने परमप्रभुले फेरि उनीहरूलाई उनीहरूका शत्रुहरूका हातहरूबाट मुक्त गराउनु भएको थियो; त्यसकारण उनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई धन्यवाद दिए; हो, अनि उनीहरूले धेरै उपवास बसे र धेरै प्रार्थना गरे र उनीहरूले परमेश्वरलाई अत्यन्त महान् खुसीका साथ आराधना गरे।

अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको उन्नाइसौं वर्षमा यस्तो हुन गयो, कि अल्मा उनका छोरा हेलामानसामु आए र उनीसामु भने: के तिमी राखिएका ती अभिलेखहरूका बारेमा मैले तिमीसामु बोलेका वचनहरूमा विश्वास गर्दछौ?

अनि हेलामानले उनीसामु भने: हो, म विश्वास गर्छु।

अनि अल्माले फेरि भने: के तिमी आउनुहुने येशू ख्रीष्टमा विश्वास गर्छौ?

अनि उनले भने: हो, म तपाईँले बोलेका सबै वचनहरूमा विश्वास गर्छु।

अनि अल्माले उनलाई फेरि भने: के तिमी मेरा आज्ञाहरू पालना गर्नेछौ?

अनि उनले भने: हो, म तपाईँका आज्ञाहरू मेरो सम्पूर्ण हृदयले पालना गर्नेछु।

तब अल्माले उनीहरूसामु भने: तिमी आशीषित होऊ; र परमप्रभुले तिम्रो यो भूमिमा उन्नति गर्नुहुनेछ।

तर हेर, मसँग तिमीसामु अगमवाणी गर्नुपर्ने कुरा केही छ; तर तिमीसामु म जे अगमवाणी गर्छु तिमीले त्यसलाई ज्ञात नगराउनु; हो, जे म तिमीसामु अगमवाणी गर्दछु अवगत नगराउनू, अगमवाणी पूरा नभइन्जेलसम्म समेत; त्यसकारण मैले बोल्ने वचनहरू लेख।

१० अनि वचनहरू यी हुन्: हेर, म अनुमान गर्छु कि यी जन, नफीहरू, ममा भएको प्रकाशको आत्माअनुसार, येशू ख्रीष्ट आफैँ उनीहरूसामु प्रकट भएको समयदेखि चार सय वर्षमा, विश्वासमा क्षीण हुनेछन्।

११ हो, अनि तब उनीहरूले नफीका जन लोप नभइन्जेलसम्म समेत युद्ध र माहामारी, हो, अनिकाल र रक्तपात देख्नेछन्—

१२ हो, अनि यो किनभने उनीहरू विश्वासमा क्षीण हुनेछन् र अन्धकारका कामहरूमा र लम्पटपनमा र सबै प्रकारका दुष्टताहरूमा पतन हुनेछन्; हो, म तिमीसामु भन्दछु, कि किनभने उनीहरूले त्यस्तो महान् प्रकाश र ज्ञानका विरुद्ध पाप गर्नेछन्, हो, म तिमीलाई भन्दछु, कि त्यो दिनदेखि, यो महान् दुष्टता आउनु अघि चौथो पिँढी गुज्रने छैन।

१३ अनि जब त्यो महान् दिन आउँछ, हेर, समय छिट्टै आउँछ कि तिनलाई जो अहिले छन्, अथवा नफीका जनमाझ गणना गरिएकाहरूका सन्ततिलाई नफीका जनमाझ अरु गणना गरिने छैन।

१४ तर जो रहन्छ र त्यो महान् र भयावह दिनमा विनाश हुँदैन, उसलाई लमानीहरूमाझ गणना गरिनेछ र उनीहरूजस्तै बन्नेछ, परमप्रभुका शिष्य भनिने थोरै बाहेक, सबै र उनीहरूलाई लमानीहरूले उनीहरूको लोप नभइन्जेलसम्म समेत लखेट्ने छन्। अनि अब, दुष्टताका कारण, यो अगमवाणी पूरा हुनेछ।

१५ अनि अब यस्तो हुन गयो कि अल्माले यी कुराहरू हेलामानलाई भनेपछि, उनले तिनलाई र आफ्ना अरु छोराहरूलाई पनि आशीष दिए; र उनले धर्मीका निमित्त पृथ्वीलाई पनि आशीष दिए।

१६ अनि उनले भने: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ—भूमि श्रापित हुनेछ, हो, यो भूमि, प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जनका निम्ति विनाशसम्म, जसले दुष्टतापूर्वक गर्छ, तब उनीहरू पूरै पाक्ने छन्; र जसरी मैले भनेको छुँ त्यसरी हुनेछ; किनकि यो परमेश्वरको भूमिमाथिको आशीष र श्राप हो, किनकि परमप्रभुले पापलाई थोरै मात्राको स्वीकृतिले पनि हेर्न सक्नुहुन्न।

१७ अनि अब, जब अल्माले यी वचनहरू बोलेका थिए उनले चर्चलाई, हो, त्यस समयदेखि अगाडि अडिग भएर खडा हुनु पर्ने सबैलाई आशीष दिए।

१८ अनि जब अल्माले यसो गरेका थिए उनी जरहेम्लाको भूमिबाट प्रस्थान गरे, मेलेकको भूमितिर जान लागेजस्तै गरी। अनि यस्तो हुन गयो कि उनको बारेमा अरु कहिल्यै सुनिएन; उनको मृत्यु र उनको दफनाइको बारेमा हामीलाई थाहा छैन।

१९ हेर, यो हामीलाई थाहा छ, कि उनी एक धर्मी मानिस थिए; र यो भनाइ चर्च भरि गयो कि मोशालाई जस्तै, उनलाई आत्माद्वारा लगिएको थियो, अथवा परमप्रभुको हातद्वारा समाधि समेत गरिएको थियो। तर हेर, धर्मशास्त्रहरूले भन्दछन् परमप्रभुले मोशालाई आफैँमा लिनुभयो; र हामी अनुमान गर्छौँ कि उहाँले अल्मालाई पनि आत्मामा आफैँमा ग्रहण गर्नु भयो, त्यसकारण, यो कारणका निम्ति उनको मृत्यु र समाधिका बारेमा हामीलाई केही थाहा छैन।

२० अनि अब नफीका जन माथिको न्यायकर्ताहरूको शासनको उन्नाइसौँ वर्षको प्रारम्भमा यस्तो हुन गयो, कि हेलामान जनमाझ उनीहरूसामु वचन उद्घोष गर्न अघि गए।

२१ किनकि हेर, लमानीहरूसँगका युद्धहरू र जनमाझका धेरै साना मतभेदहरू र विघ्नहरूका कारण, यो आवश्यक थियो कि परमेश्वरको वचन उनीहरूमाझ उद्घोष गरिनु पऱ्यो, हो र एक विनियम चर्च भरि बनाइनु पऱ्यो।

२२ त्यसकारण, हेलामान र उनका बन्धुहरू सबै भूमिमा, हो, नफीका जनको अधीनमा भएको सबै भूमिका प्रत्येक सहरमा, चर्चको फेरि स्थापना गर्न अघि गए। अनि यस्तो हुन गयो कि उनीहरूले सम्पूर्ण भूमिभरि, सबै चर्चहरूमाथि पादरीहरू र शिक्षकहरू नियुक्त गरे।

२३ अनि अब यस्तो हुन गयो कि हेलामान र उनका बन्धुहरूले चर्चमाथि पादरीहरू र शिक्षकहरू नियुक्त गरेपछि कि उनीहरूमाझ एक विवाद उठ्यो र उनीहरूले हेलामान र उनका बन्धुहरूका वचनहरूलाई वास्ता गरेनन्।

२४ तर उनीहरू घमण्डी भए, आफ्ना हृदयमा उचालिएर, उनीहरूका अत्यन्त धेरै धनका कारण; त्यसकारण उनीहरू आफ्ना आँखामा धनी बने र परमेश्वरअगाडि सिधा भएर हिँड्न उनीहरूका वचनहरूमा ध्यान दिएनन्।