धर्मशास्त्रहरू
अल्मा ३०


अध्याय ३०

कोरिहोर, ख्रीष्ट विरोधीले ख्रीष्ट, प्रायश्चित्त र अगमवाणीको आत्माको खिल्ली उडाउँछ—उसले सिकाउँछ कि परमेश्वर हुनुहुन्न, मानिसको पतन छैन, पापको सजाय छैन र ख्रीष्ट हुनुहुन्न—अल्माले गवाही दिन्छन् कि ख्रीष्ट आउनुहुनेछ र सबै कुराहरूले देखाउँछन् कि परमेश्वर हुनुहुन्छ—कोरिहोरले एक चिन्हको माग गर्दछ र लाटो हुन्छ—सैतान कोरिहोरसामु एक स्वर्गदूतका रुपमा देखापरेको थियो र उसलाई के भन्ने सिकाएको थियो—कोरिहोरलाई किचिमिची गरिन्छ र ऊ मर्दछ। लगभग ई.पू. ७६–७४।

हेर, अब यस्तो हुन गयो कि अम्मोनका जनलाई येर्शोनको भूमिमा स्थापित गरिएपछि, हो र लमानीहरूलाई लखेटिए र उनीहरूका मृतकहरूलाई भूमिका जन नजिक गाडेपछि—

अब उनीहरूका मृतकहरूको सङ्ख्या ठूलो भएको कारणले उनीहरूको गणना गरिएन; न त नफीहरूका मृतकहरूको गणना गरियो—तर यस्तो हुन गयो कि उनीहरूले आफ्ना मृतकहरूलाई गाडेपछि र उपवास र शोक र प्रार्थनाका दिनहरूपछि पनि (अनि यो नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको सोह्रौँ वर्ष थियो) सम्पूर्ण भूमिभरि निरन्तर शान्ति हुन थाल्यो।

हो, अनि जनले परमप्रभुका आज्ञाहरू पालना गर्न प्रयत्न गरे; र उनीहरू मोशाका व्यवस्थाअनुसार परमेश्वरका विधिहरू पालना गर्न कट्टर थिए; किनकि उनीहरूलाई मोशाका व्यवस्था परिपूर्ण नभइन्जेलसम्म ती पालना गर्न सिकाइएको थियो।

अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको सोह्रौँ वर्षमा जनलाई कुनै विघ्न आएन।

अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको सत्रौँ वर्षको प्रारम्भमा, त्यहाँ निरन्तर शान्ति थियो।

तर यस्तो हुन गयो कि सत्रौँ वर्षको अन्त्यमा, जरहेम्लाको भूमिमा एक मानिस आयो र ऊ ख्रीष्ट विरोधी थियो, किनकि उसले, ख्रीष्टको आगमनका बारेमा, अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरू विरुद्ध जनसामु प्रचार गर्न थाल्यो।

अब त्यहाँ मानिसको विश्वासका विरुद्ध कुनै कानुन थिएन; किनकि यो परमेश्वरका आज्ञाहरू विपरीत थियो कि मानिसहरूलाई असमान धरातलमा ल्याउने कानुन हुनुपर्दछ।

किनकि धर्मशास्त्र भन्दछ: यो दिन तिमीहरूले रोज, तिमीहरूले कसको सेवा गर्नेछौ।

अब यदि मानिसले परमेश्वरको सेवा गर्न चाह्यो भने, यो उसको अधिकार थियो; अथवा, यदि उसले परमेश्वरमा विश्वास गऱ्यो भने परमेश्वरको सेवा गर्ने उसको अधिकार थियो; तर यदि उसले उहाँमा विश्वास नगरे उसलाई सजाय दिने कुनै कानुन थिएन।

१० तर यदि उसले हत्या गरे, उसलाई मृत्यु सजाय दिइन्थ्यो; र यदि उसले लुटे पनि उसलाई सजाय दिइन्थ्यो; र यदि उसले चोरे पनि उसलाई सजाय दिइन्थ्यो; र यदि उसले व्यभिचार गरेमा पनि उसलाई सजाय दिइन्थ्यो; हो, यो सबै दुष्टताका लागि उनीहरूलाई सजाय दिइन्थ्यो।

११ किनकि त्यहाँ एउटा कानुन थियो कि मानिसहरूलाई आफ्ना अपराधहरूअनुसार न्याय गरिनु पर्दछ। तैपनि मानिसको विश्वासविरुद्ध कुनै कानुन थिएन्; त्यसकारण, मानिसलाई उसले गरेको अपराधहरूका निम्ति मात्र सजाय दिइन्थ्यो; त्यसकारण सबै मानिसहरू समान धरातलमा थिए।

१२ अनि यो ख्रीष्ट विरोधी, जसको नाउँ कोरिहोर थियो (र कानुनले उसलाई अधीनमा लिन सकेको थिएन), ऊ जनसामु प्रचार गर्न थाल्यो कि ख्रीष्ट हुनुहुन्न। अनि यसप्रकारले उसले प्रचार गऱ्यो, यसो भन्दै:

१३ हे तिमीहरू जो मूर्ख र व्यर्थका आशामा बाँधिएका छौ, तिमीहरू किन आफैँलाई यस्ता मूर्ख कुराहरूका जुवामा बाँध्छौ?तिमीहरू किन ख्रीष्टको प्रतीक्षा गर्छौ? किनकि आगामी कुराहरूका बारेमा कुनै मानिसले केही पनि जान्न सक्दैन।

१४ हेर, यी कुराहरू जुन तिमीहरू अगमवाणी भन्दछौ, जुन तिमीहरू पवित्र अगमवक्ताहरूद्वारा हस्तान्तरण गरिएको भन्दछौ, हेर, ती तिम्रा पितापुर्खाहरुका मूर्ख परम्पराहरू हुन्।

१५ तिमीहरू तिनीहरूको निश्चितता कसरी थाहा पाउँदछौ? हेर, तिमीहरूले नदेख्ने कुराहरूका बारेमा तिमीहरू थाहा पाउन सक्दैनौ; त्यसकारण तिमीहरूलाई थाहा हुन सक्दैन कि ख्रीष्ट हुनुहुन्छ।

१६ तिमीहरूअगाडि हेर्छौ र भन्छौ कि तिमीहरूले आफ्ना पापहरूका छुट्कारा देख्छौ। तर हेर, यो एक पागल मस्तिष्कको प्रभाव हो; यो तिम्रा मस्तिष्कहरूको विकृति तिमीहरूका पितापुर्खाहरुका परम्पराहरूका कारण आउँदछ, जसले तिमीहरूलाई नहुने कुराहरूमा विश्वास गर्न अगुवाइ गर्छ।

१७ अनि उसले उनीहरूसामु अरु यस्तै धेरै कुराहरू गऱ्यो, उनीहरूलाई भन्दै कि मानिसहरूका पापहरूका निम्ति प्रायश्चित्त गर्न सकिन्न, तर प्रत्येक मानिसलाई प्राणीको व्यवस्थापनअनुसार यो जीवनमा हुन्छ; त्यसकारण प्रत्येक मानिसले उसको बुद्धिअनुसार उन्नति गऱ्यो र प्रत्येक मानिसले आफ्नो शक्तिअनुसार विजय गऱ्यो; र मानिसले जे गरेपनि त्यो कुनै अपराध होइन।

१८ अनि यसरी उसले उनीहरूसामु प्रचार गर्न थाल्यो, धेरैका हृदयहरूलाई अगुवाइ गरेर लैजाँदै, उनीहरूका दुष्टतामा उनीहरूको शिर ठाडो पार्न लगाउँदै, हो, धेरै स्त्रीहरूलाई र पुरुषहरूलाई पनि वेश्यावृत्ति गर्न डोऱ्याउँदै—उनीहरूलाई यसो भन्दै कि जब मानिस मऱ्यो, त्यो नै उसको अन्त्य थियो।

१९ अब यो मानिस अम्मोनका जन जो एक पटक लमानीहरूका जन थिए, उनीहरूलाई यी कुराहरूको प्रचार गर्न येर्शोनको भूमितिर गयो।

२० तर हेर उनीहरू नफीहरूमध्ये धेरै भन्दा बढी विवेकी थिए; किनकि उनीहरूले उसलाई समाते र उसलाई बाँधे र उसलाई अम्मोनअगाडि लगे, जो ती जनमाथिका उच्च पादरी थिए।

२१ अनि यस्तो हुन गयो कि उनले अह्राए कि उसलाई भूमिबाट बाहिर लगिनु पर्दछ। अनि ऊ गिदोनको भूमिमा आयो र उनीहरूसामु पनि प्रचार गर्न थाल्यो; र यहाँ उसले धेरै सफलता पाएन, किनकि उसलाई समातियो र बाँधियो र उच्च पादरी र भूमिमाथिको प्रधान न्यायकर्ताका अगाडि पनि लगियो।

२२ अनि यस्तो हुन गयो कि उच्च पादरीले ऊसामु भने: तँ किन परमप्रभुका मार्गहरूलाई भ्रष्ट गर्दै हिँड्दछस्?किन तँ जनलाई सिकाउँछस् कि ख्रीष्ट हुनुहुन्न, उनीहरूका खुसीयालीमा अवरोध ल्याउन? तँ किन पवित्र अगमवक्ताहरूका सम्पूर्ण अगमवाणीहरूविरुद्ध बोल्दछस्?

२३ अब उच्च पादरीको नाउँ गिद्दोनाह थियो। अनि कोरिहोरले उनलाई भन्यो: किनभने म उनीहरूलाई तिम्रा पितापुर्खाहरुका मूर्ख परम्पराहरू सिकाउँदिनँ र किनभने म यी जनलाई प्राचीनकालका पादरीहरूले स्थापना गरेका मूर्ख विधिहरू र अनुष्ठानहरूमुनि आफैँ बाँध्न सिकाउँदिनँ, उनीहरूबाट शक्ति र अधिकार खोस्न, उनीहरूलाई अज्ञानतामा राख्न, कि उनीहरूले आफ्ना शिरहरू उचाल्न नसकून्, तर तिम्रा वचनहरूअनुसार झारियून्।

२४ तिमीहरू भन्छौ कि यी जन स्वतन्त्र जन हुन्। हेर म भन्छु उनीहरू दासत्वमा छन्। तिमीहरू भन्छौ कि ती प्राचीन अगमवाणीहरू सत्य छन्। हेर, म भन्छु कि तिमीहरूलाई थाहा छैन कि ती सत्य छन्।

२५ तिमीहरू भन्छौ कि यी जन दोषी र पतित जन हुन्, एक मातापिताका उल्लङ्घनका कारण। हेर, म भन्छु कि छोराछोरी उनीहरुका मातापिताका कारण दोषी हुँदैनन्।

२६ अनि तिमीहरू यो पनि भन्छौ कि ख्रीष्ट आउनुहुनेछ। तर हेर, म भन्छु कि तिमीहरूलाई थाहा छैन कि त्यहाँ ख्रीष्ट हुनुहुनेछ। अनि तिमीहरू यो पनि भन्छौ कि उहाँलाई संसारका पापहरूका निम्ति बध गरिनेछ—

२७ अनि यसरी तिमीहरू तिमीहरूका पितापुर्खाहरुका मूर्ख परम्पराहरूका पछि र तिमीहरूका आफ्नै चाहानाअनुसार यी जनलाई अगुवाइ गर्दछौ; र तिमीहरूले उनीहरूलाई तल राख्छौ, यो बन्धनमा भएजस्तै समेत, कि तिमीहरू आफू उनीहरूका हातहरूका परिश्रममा मोज गर्न पाऊन्, कि उनीहरूले साहसका साथ हेर्न नसकून् र उनीहरूले आफ्ना अधिकारहरू र सुबिधाहरू प्रयोग गर्न नपाऊन्।

२८ हो, उनीहरूले त्यसको प्रयोग गर्न आँट गर्न सक्दैनन् जुन उनीहरूको आफ्नो हो कथंकदाचित उनीहरू आफ्ना पादरीहरूलाई रिस उठाऊन्, जसले आफ्ना चाहानाअनुसार उनीहरूलाई जुवाले बाँध्छन् र उनीहरूलाई विश्वास गराएका छन्, आफ्ना परम्पराहरू र आफ्ना सपनाहरू र आफ्ना लहडहरू र आफ्ना दर्शनहरू र उनीहरूका झुटा रहस्यहरूद्वारा, कि उनीहरूले, यदि उनीहरूका वचनहरूअनुसार गरेनन् भने, उनीहरूले परमेश्वर भन्ने कोही अज्ञात व्यक्तिलाई रिस उठाउनेछन्—त्यो व्यक्ति जसलाई कहिल्यै देखिएको छैन र थाहा भएको छैन, जो कहिल्यै थिएन, न त कहिल्यै हुनेछ।

२९ अब जब उच्च पादरी र प्रधान न्यायकर्ताले उसको हृदयको कठोरतालाई देखे, हो, जब उनीहरूले देखे कि उसले परमेश्वरविरुद्ध समेत निन्दा गर्दछ, उनीहरूले उसका वचनहरूको उत्तर दिएनन्; तर अह्राए कि उनीहरूले उसलाई बाँध्नु पर्दछ; र उनीहरूले उसलाई अधिकारीहरूका हातमा हस्तान्तरण गरे र उसलाई जरहेम्लाको भूमितिर पठाए कि उसलाई अल्मा र सम्पूर्ण भूमिमाथिको राज्यपाल प्रधान न्यायकर्ता अगाडि लैजान सकियोस्।

३० अनि यस्तो हुन गयो कि जब उसलाई अल्मा र प्रधान न्यायकर्ता अगाडि ल्याइयो, उसले त्यस्तै प्रकारले गर्दै गयो जसरी उसले गिदोनको भूमिमा गरेको थियो; हो, उसले ईश्वरको निन्दा गर्दै गयो।

३१ अनि ऊ अल्मा अगाडि ठूला सुनिने वचनहरूमा उठ्यो र पादरीहरू र शिक्षकहरूविरुद्द निन्दा गऱ्यो, उनीहरूलाई यी जनलाई उनीहरूका पितापुर्खाहरुका मूर्ख परम्पराहरूमा, जनका परिश्रमहरूमा मोज गर्नका निम्ति, अगुवाइ गरेको भनी दोष लगायो।

३२ अनि अल्माले उससामु भने: तँलाई थाहा छ कि हामी यी जनको परिश्रममाथि मोज गर्दैनौँ; किनकि हेर म, मेरो जीविकाका निम्ति मेरै आफ्नो हातले, मेरा जनसामु परमेश्वरका वचन घोषणा गर्न भूमि वरिपरिका मैले धेरै यात्राहरू गर्दागर्दै पनि, न्यायकर्ताहरूको शासनको प्रारम्भदेखि अहिलेसम्म समेत परिश्रम गरेको छु।

३३ अनि मैले चर्चमा गरेका धेरै परिश्रमहरू हुँदाहुँदै पनि, मैले यहाँसम्म कि मेरो परिश्रमका निम्ति एक सेनिन पनि कहिल्यै प्राप्त गरेको छैन, न त मेरा कुनै बन्धुहरूले गरेका छन्, न्यायको आसनमा बाहेक र तब हामीले हाम्रो समयको व्यवस्थाअनुसार मात्र प्राप्त गरेका छौँ।

३४ अनि अब, यदि हामीले चर्चमा गरेको परिश्रममा केही प्राप्त गर्दैनौ भने, सत्यताको घोषणा गरेर हाम्रा बन्धुहरूको हर्षमा खुसी मनाउनबाहेक यसले हामीलाई के फाइदा हुन्छ?

३५ तब किन भन्छस् कि हामी फाइदा उठाउन यी जनसामु प्रचार गर्छौं, जब तँ आफैँलाई थाहा छ कि हामीले केही फाइदा पाउँदैनौँ? अनि अब, के तँ विश्वास गर्दछस् कि हामीले यी जनलाई छलेका छौँ, कि जसले उनीहरूका हृदयहरूमा त्यस्तो खुसीयाली ल्याउँछ?

३६ अनि कोरिहोरले उनलाई उत्तर दियो, हो।

३७ अनि अल्माले उसलाई भने: के तँ विश्वास गर्दछस् कि परमेश्वर हुनुहुन्छ?

३८ अनि उसले उत्तर दियो, गर्दिनँ।

३९ अब अल्माले उसलाई भने: के तँ फेरि अस्वीकार गर्छस् कि परमेश्वर हुनुहुन्छ र ख्रीष्टलाई पनि अस्वीकार गर्छ्? किनकि हेर, म तेरासामु भन्दछु, मलाई थाहा छ परमेश्वर हुनुहुन्छ र यो पनि कि ख्रीष्ट आउनुहुनेछ।

४० अनि अब तँसँग के प्रमाण छ कि परमेश्वर हुनुहुन्न, अथवा ख्रीष्ट आउनुहुन्न? म तँलाई भन्छु कि तँसँग तेरो वचन मात्र बाहेक केही छैन।

४१ तर, हेर्, मसँग सबै कुराहरू गवाहीका रुपमा छन् कि यी कुराहरू सत्य छन्; अनि तँसँग पनि सबै कुराहरू तेरासमक्ष गवाहीका रुपमा छन् कि ती सत्य छन् र के तँ अस्वीकार गर्छस्? के तँ विश्वास गर्छस् कि यी कुराहरू सत्य हुन्?

४२ हेर्, मलाई थाहा छ कि तैँले विश्वास गर्छस्, तर तँ एक झुटो आत्माको अधीनमा छस् र तैँले परमेश्वरको आत्मालाई हटाएको छस् कि यसले तँमा स्थान नपाओस्; तर सैतानको तँमाथि शक्ति छ र उसले तँलाई लैजान्छ, चर्तिकलाहरू गर्दै कि उसले परमेश्वरका छोराछोरीहरूको विनाश गर्न सकोस्।

४३ अनि अब कोरिहोरले अल्मासामु भन्यो: यदि तिमीले मलाई एक चिन्ह देखायौ भने, कि म विश्वास गर्न सक्छु कि परमेश्वर हुनुहुन्छ, हो, मलाई देखाऊ कि उहाँसँग शक्ति छ, अनि तब म तिम्रा वचनहरूको सत्यतामा विश्वास गर्नेछु।

४४ तर अल्माले उसलाई भने: तैँले पर्याप्त चिन्हहरू पाएको छस्; के तँ तेरो परमेश्वरलाई परीक्षा लिन्छस्? के तँ भन्छस्, मलाई चिन्ह देखाऊ, जब कि तँसँग तेरा यी सबै बन्धुहरूको र सबै पवित्र अगमवक्ताहरूको पनि गवाही छ? धर्मशास्त्रहरू तेरा अगाडि राखिएका छन्, हो र सबै कुराहरूले देखाउँछ परमेश्वर हुनुहुन्छ; हो, पृथ्वीले समेत र यसको सतहमाथि भएका सबै कुराहरूले र यसको गतिले, हो, नियमित रुपमा चल्ने सबै ग्रहहरूले पनि गवाही दिन्छन् कि एक महान् सृष्टिकर्ता हुनुहुन्छ।

४५ अनि के तँ अझै, यी जनका हृदयहरूलाई अगुवाइ गर्दै, उनीहरूसामु परमेश्वर हुनुहुन्न भनी गवाही दिँदै जान्छस्? अनि के तँ अझै यी गवाहीहरूविरुद्ध अस्वीकार गर्छस्? अनि उसले भन्यो: हो, म अस्वीकार गर्नेछु, तिमीले मलाई एक चिन्ह नदेखाएसम्म।

४६ अनि अब यस्तो हुन गयो कि अल्माले उसकासामु भने: हेर, तेरो हृदयको कठोरताका कारण म शोकमग्न छु, हो, कि तैँले सत्यताको आत्मालाई प्रतिरोध गर्छस्, कि तेरो जीवात्माको विनाश होस्।

४७ तर हेर्, तेरा झुठा वचनहरूद्वारा र तेरा फुर्क्याउने वचनहरूद्वारा तेरो जीवात्मा धेरैको जीवात्माहरूलाई विनाशमा ल्याउने माध्यम बन्नु भन्दा तेरो जीवात्मा हराउनु असल हो; त्यसकारण यदि तँ फेरि अस्वीकार गर्छस् भने, हेर् परमेश्वरले तँलाई प्रहार गर्नुहुनेछ, कि तँ लाटो बन्नेछस्, कि तैँले फेरि तेरो मुख अब अरु खोल्ने छैनस्, कि तैँले यी जनलाई अरु छल्ने छैनस्?

४८ अब कोरिहोरले उनीसामु भन्यो: म परमेश्वरको अस्तित्वको अस्वीकार गर्दिन, तर म विश्वास गर्दिन कि परमेश्वर हुनुहुन्छ; अनि म यो पनि भन्छु, कि तिमीलाई थाहा छैन कि परमेश्वर हुनुहुन्छ; र तिमीहरूले एक चिन्ह नदेखाए, म विश्वास गर्नेछैन।

४९ अब अल्माले उसलाई भने: यो म तेरासामु एक चिन्हका लागि दिनेछु, कि तँ लाटो हुनेछस्, मेरा वचनहरूअनुसार; र म भन्दछु, कि परमेश्वरका नाउँमा, तँ लाटो हुनेछस्, कि तँबाट अरु उच्चारण हुने छैन।

५० अब जब अल्माले यी वचनहरू भनेका थिए, कोरिहोर लाटो भयो, कि उसबाट कुनै उच्चारण भएन, अल्माका वचनहरूअनुसार।

५१ अनि अब जब प्रधान न्यायकर्ताले यो देखे, उनले आफ्ना हात अघि राखे र कोरिहोरसामु लेखे, यसो भन्दै: के तँ परमेश्वरको शक्तिमा विश्वास गर्छस्? तैँले कसमा चाहाना गरिस् कि अल्माले उहाँका चिन्ह देखाउनुपर्छ? के तँ चाहान्छस् कि उसले अरुहरूलाई कष्ट दिनुपर्छ, तँलाई एक चिन्ह देखाउन? हेर्, उहाँले तँलाई चिन्ह देखाउनुभयो र अब के अरु विवाद गर्छस्?

५२ अनि कोरिहोरले आफ्नो हात अघि राख्यो र लेख्यो, यसो भन्दै: मलाई थाहा छ कि म लाटो छु, किनकि म बोल्न सक्दिनँ र मलाई थाहा छ कि परमेश्वरको शक्तिबाहेक कसैले यो ममाथि ल्याउन सक्दैन; हो र मलाई सँधै थाहा थियो कि परमेश्वर हुनुहुन्थ्यो।

५३ तर हेर, सैतानले मलाई छलेको छ; किनकि ऊ मसामु एक स्वर्गदूतका रुपमा देखा पऱ्यो र मसामु भन्यो: जाऊ र यी जनलाई सुधार, किनकि सबै एक अज्ञात परमेश्वरका पछाडि पथभ्रष्ट भएका छन्। अनि उसले मसामु भन्यो: परमेश्वर हुनुहुन्न; हो र उसले मलाई सिकायो कि जुन मैले भन्नुपर्छ। अनि मैले उसका वचनहरू सिकाएको छु; र मैले ती सिकाएँ किनभने ती पापमय मस्तिष्कलाई सुखमय थिए; र मैले ती सिकाएँ, मलाई धेरै सफलता नभइन्जेलसम्म समेत, यतिसम्म समेत कि मैले साँचै विश्वास गरेँ कि ती सत्य थिए; र यसकारणका निम्ति मैले सत्यको सामना गरें, यो महान् श्राप मैले आफूमाथि नल्याइन्जेलसम्म।

५४ अब जब उसले यो भन्यो, उसले बिन्ती गऱ्यो कि अल्माले परमेश्वरसामु प्रार्थना गर्नु पर्दछ, कि श्राप उसबाट हटाइयोस्।

५५ तर अल्माले उसलाई भने: यदि यो श्राप तँबाट हटाइदिने हो भने तैँले यी जनका हृदयहरूलाई फेरि लैजानेछस्; त्यसकारण, तँलाई परमेश्वरको इच्छाअनुसार हुनेछ।

५६ अनि यस्तो हुन गयो कि कोरिहोरबाट श्राप हटाइएन; तर उसलाई निकाला गरियो र ऊ घर-घरै आफ्नो खानाको निम्ति माग्दै हिँड्यो।

५७ अब कोरिहोरलाई जे भएको थियो त्यसको ज्ञान तुरुन्तै सम्पूर्ण भूमिभरि सूचित गरिएको थियो; हो, प्रधान न्यायकर्ताद्वारा भूमिका सम्पूर्ण जनलाई एक घोषणा पठाए, कोरिहोरका वचनहरूमा विश्वास गर्नेहरूलाई घोषणा गर्दै कि उनीहरूले द्रूतगतिले पश्चात्ताप गर्नुपर्छ, कथंकदाचित उनीहरूमाथि त्यस्तै न्याय नआओस्।

५८ अनि यस्तो हुन गयो कि उनीहरू सबैले कोरिहोरको दुष्टता माने; त्यसकारण उनीहरू सबै फेरि परमप्रभुमा परिवर्तित भए; र कोरिहोरको प्रकारको दुष्टतालाई यसले अन्त्य गऱ्यो। अनि कोरिहोर आफ्नो जीविकाको निम्ति घरघरै खाना माग्दै हिँड्यो।

५९ अनि यस्तो हुन गयो कि जब ऊ जनमाझ अघि गयो, हो, एक जनमाझ जसले जोराम भन्ने मानिसले अगुवाइ गरेकाले आफैँलाई जोरामीहरू भन्दै नफीहरूबाट अलग्याएका थिए—अनि जब ऊ उनीहरूमाझ अघि गयो, हेर, ऊ नमरुन्जेलसम्म, उसलाई किचियो र किचिमिची पारियो।

६० अनि यसरी हामी परमप्रभुका मार्गहरू भ्रष्ट गर्नेहरूको अन्त्य देख्न सक्छौँ; र यसरी हामी देख्छौँ कि सैतानले आफ्ना छोराछोरीहरूलाई अन्तिम दिनमा सहयोग गर्ने छैन, तर उनीहरूलाई द्रूतगतिले नरकतिर घिसार्दछ।