धर्मशास्त्रहरू
अल्मा ५४


अध्याय ५४

अम्मोरोन र मोरोनी कैदीहरूको आदानप्रदानका निम्ति सम्झौता गर्छन्—मोरोनी माग गर्छन् कि लमानीहरूले उनीहरूका हत्यारा आक्रमणहरूलाई त्याग्नु र रोक्नुपर्छ—अम्मोरोन माग गर्छ कि नफीहरूले आफ्ना हतियारलाई छाड्नुपर्छ र लमानीहरूका अधीनमा रहनुपर्छ। लगभग ई.पू. ६३।

न्यायकर्ताहरूको शासनको उनन्तीसौँ वर्षको प्रारम्भमा अनि यस्तो हुन गयो, कि अम्मोरोनले मोरोनीलाई कैदीहरूको आदानप्रदान गर्ने चाहाना गर्दै पठाए।

अनि यस्तो हुन गयो कि मोरोनीले यो अनुरोधमा अत्यन्तै खुसीको अनुभव गरे, किनकि लमानी कैदीहरूलाई सहयोग गर्नका निम्ति दिइएको बन्दोबस्तीका समानहरू आफ्ना जनको जीविकाको लागि दिन उनले चाहे; र उनले आफ्ना जनले आफ्ना सेनालाई बलियो बनाउने पनि इच्छा गरे।

अब लमानीहरूले थुप्रै आइमाईहरू र बालबालिकाहरूलाई लिएका थिए र मोरोनीका कैदीहरू, अथवा मोरोनीले लिएका कैदीहरूमाझ न त एक आइमाई थिए न त एक बालबालिका थिए; त्यसकारण मोरोनीले लमानीहरूबाट सम्भव भए जति धेरै नफीहरूका कैदीहरू प्राप्त गर्ने रणनीतिको निर्णय गरे।

त्यसकारण, उनले एक पत्र लेखे र अम्मोरोनको सेवकद्वारा पठाए, त्यसैद्वारा जुनले मोरोनीलाई पत्र ल्याएको थियो। अब उनले अम्मोरोनलाई लेखेका वचनहरू यी थिए, यसो भन्दै:

हेर, अम्मोरोन, मैले तिमीहरूसमक्ष यो युद्धको बारेमा केही लेखेको छु जुन तिमीहरूले मेरा जनविरुद्ध गरेको छौ, अझ झन् जुन तिम्रो दाजुले उनीहरूविरुद्ध गरेका छन् र जुन तिमीहरूले उसको मृत्यु पछि अझै कायम राख्न निश्चित गरेका छौ।

हेर, म तिमीहरूलाई परमेश्वरको न्यायको र उहाँको क्रोधको सर्वशक्तिमान् तरबार जुन यदि तिमीहरूले पश्चात्ताप नगेर र आफ्ना सेनाहरू निकालेर आफ्ना भूमिहरू, अथवा तिमीहरूको मातहतको भूमि, जुन नफीको भूमि हो, त्यता तिर नलगे तिमीहरूमाथि झुन्डिन्छ, त्यसका बारेमा केही भन्न चाहान्छु।

हो, म तिमीहरूलाई भन्ने थिएँ यदि तिमीहरूमा यी सुन्ने क्षमता भएको भए; हो, म तिमीहरूलाई यदि तिमीहरूले पश्चात्ताप नगरे र तिमीहरूका हत्यारा प्रयोजनहरूलाई नत्यागे र तिम्रा सेनाहरूसँग तिमीहरूका आफ्ना भूमिहरूमा नफर्किए त्यो भयावह नरक जुन तिमी र तिम्रा दाजु जस्ता हत्याराहरूलाई प्राप्त गर्ने प्रतीक्षामा छ, त्यसका बारेमा भन्ने थिएँ।

तर किनभने तिमीहरूले एक पटक ती कुराहरूलाई अस्वीकार गरेका छौ र परमप्रभुका जनविरुद्ध लडेका छौ, म आशा गर्न सक्दछु तिमीहरूले पुन: गर्नेछौ।

अनि अब हेर, हामी तिमीहरूलाई भेट्न तयार छौँ; हो, अनि यदि तिमीहरूले आफ्ना प्रयोजनहरूलाई नत्यागे, हेर, तिमीहरूले अस्वीकार गरेको त्यो परमेश्वरको क्रोध आफ्नो पूरा विनाश हुने गरी समेत तिमीहरूले आफैँमा ल्याउने छौ।

१० तर, परमेश्वर जीवित हुनुभए झै, हाम्रा सेनाहरू तिमीहरूमाथि आउनेछन् यदि तिमीहरू नहटे, तिमीहरू छिट्टै मृत्युसँग भेटिनेछौ, किनकि हामीले हाम्रा सहरहरू र हाम्रा भूमिहरू राख्नेछौ; हो, अनि हामीले हाम्रो धर्म र हाम्रा परमेश्वरको कारणलाई कायम राख्ने छौ।

११ तर हेर, म यो अनुमान गर्छु कि म यी कुराहरूका बारेमा तिमीलाई व्यर्थमा भन्छु; अथवा म यो अनुमान गर्छु कि तिमी नरकका सन्तान हौ; त्यसकारण म मेरो पत्र बन्द गर्छु यसो भन्दै कि म कैदीहरू आदानप्रदान गर्दिनँ, एक सर्तमा बाहेक कि तिमीहरूले एक कैदिको सट्टामा एक मानिस र उसकी पत्नी र उसका छोराछोरीहरू मुक्त गर्ने छौ; यदि तिमीहरूले यो सर्तमा गर्ने भए, मैले आदानप्रदान गर्नेछु।

१२ अनि हेर, यदि तिमीहरूले यो गर्दैनौ भने, म तिमीहरूका विरुद्ध मेरा सेनाका साथ आउनेछु; हो, म मेरा आइमाईहरू र बालबालिकाहरूलाई समेत हतियारले सज्जाउनेछु र म तिमीहरूविरुद्ध आउनेछु र म तिमीहरूलाई तिमीहरूको आफ्नो भूमि, जुन हाम्रो प्रथम रिक्थको भूमि हो, त्यहाँसम्म पछ्याउने छु; हो, यो रगतको बदला रगत, हो, जीवनको बदला जीवन हुनेछ; अनि पृथ्वीको सतहबाट तिमीहरूको विनाश नभइन्जेल म तिमीहरूसँग लडाइँ गर्नेछु।

१३ हेर, म मेरो रिसमा छु र मेरा जन पनि; तिमीहरूले हाम्रो हत्या गर्न खोजेका छौ र हामीले आफ्नो सुरक्षा गर्न मात्र खोजेका छौँ। तर हेर, यदि तिमीहरूले हाम्रो अरु विनाश गर्न खोज्दछौ भने हामी तिमीहरूको विनाश गर्न खोज्नेछौँ; हो र हामी हाम्रो भूमि, हाम्रो प्रथम रिक्थको भूमि खोज्नेछौँ।

१४ अब म मेरो पत्र बन्द गर्दछु। म मोरोनी हुँ; म नफीहरूका जनको अगुवा हुँ।

१५ अब यस्तो हुन गयो कि अम्मोरोन, जब उनले यो पत्र प्राप्त गरेका थिए, रिसाए; र उनले मोरोनीलाई अर्को पत्र लेखे र उनले लेखेका वचनहरू यी थिए, यसो भन्दै:

१६ म अम्मोरोन, लमानीहरूको राजा हुँ; म अमलिकीयाहको भाइ हुँ जसको तिमीहरूले हत्या गरेका थियौ। हेर, म उनको रगतको बदला तिमीहरूसँग लिनेछु, हो र म मेरा सेनाहरूका साथ तिमीहरूमाथि आउनेछु किनकि म तिमीहरूका धम्कीहरूदेखि डराउँदिन।

१७ किनकि हेर, तिमीहरूका पितापुर्खाहरुले उनीहरूका बन्धुहरूलाई अन्याय गरेका थिए, यतिसम्म कि उनीहरूले कानूनपूर्वक उनीहरूको मातहतमा भएको उनीहरूको सरकारको अधिकार उनीहरूबाट खोसे।

१८ अनि अब हेर, यदि तिमीहरूले आफ्ना हतियारहरू त्याग्दछौ र कानुनपूर्वक सरकारको अधिकार भएका तिनीहरूद्वारा शासित हुन आफैँलाई अधीनमा राख्दछौ भने, तब म अह्राउने छु कि मेरा जनले उनीहरूका हतियारहरू त्याग्ने छन् र अरु युद्धमा हुनेछैनन्।

१९ हेर, तिमीहरूले म र मेरा जनविरुद्ध धेरै धम्कीहरू हुँकारेका छौ; तर हेर, हामी तिमीहरूका धम्कीहरू देखि डराउँदैनौ।

२० तैपनि, म तिम्रो अनुरोधअनुसार कैदीहरू आदान प्रदान गर्न दिनेछु, खुसीका साथ, कि म मेरा युद्धका मानिसहरूका निम्ति मेरो खाना संरक्षण गर्न सकूँ; अनि हामी युद्ध गर्नेछौँ जुन अनन्त हुनेछ, या त नफीहरूलाई हाम्रो अधीनमा ल्याउन, या त उनीहरूको अनन्त विनाश गर्न।

२१ अनि त्यो परमेश्वरका बारेमा जुन तिमी भन्दछौ हामीले अस्वीकार गरेका छौँ, हेर, हामी त्यस्तो व्यक्तिलाई चिन्दैनौँ; न त तिमीहरूनै; तर यदि त्यसो भएमा कि त्यस्तो व्यक्ति भए, हामीलाई थाहा छैन तर कि उहाँले तिमीहरूलाई जस्तै हामीलाई बनाउनुभएको छ।

२२ अनि यदि त्यसो हो भने कि त्यहाँ सैतान र नरक छ, हेर के उसले तिमीहरू तिमीहरूले हत्या गरेको मेरो दाजुसँग त्यहाँ बास बस्न पठाउने छैन, जसलाई तिमीले सङ्केत गरेका छौ कि उनी त्यस्तो स्थानमा गएका छन्? तर हेर यी कुराहरूको मतलब छैन।

२३ म अम्मोरोन, अनि जोरामको एक सन्तति हुँ, जसलाई तिमीहरूका पितापुर्खाहरुले बाध्य गराए र यरुशलेमबाट ल्याए।

२४ अनि हेर अब, म एक शाहासी लमानी हुँ; हेर, यो युद्ध उनीहरूमाथि गरिएको गल्तीहरूलाई सच्याउन र उनीहरूको सरकारका अधिकारहरू कायम राख्न र प्राप्त गर्न गरिएको हो र म मेरो मोरोनीका निम्तिको पत्र बन्द गर्दछु।