धर्मशास्त्रहरू
अल्मा २०


अध्याय २०

परमप्रभु अम्मोनलाई उनका बन्धुहरूलाई मुक्त गर्न मिद्दोनी पठाउनु हुन्छ—अम्मोन र लमोनी लमोनीका पितालाई भेट्छन्, जो सम्पूर्ण भूमिका राजा हुन्—अम्मोनले ती बृद्ध राजालाई उनका बन्धुहरूका मुक्तिको अनुमति दिन बाध्य गराउँछन्। लगभग ई.पू. ९०।

अनि यस्तो हुन गयो कि जब उनीहरूले त्यस भूमिमा चर्चको स्थापना गरेका थिए, लमोनी राजाले चाहे कि अम्मोन उनीसँग नफीको भूमिमा जानु पर्दछ, कि उनले तिनलाई आफ्ना पितासामु देखाउन सकून्।

अनि परमप्रभुको आवाज अम्मोनलाई आयो, यसो भन्दै: तिमी नफीको भूमितिर जान हुँदैन, किनकि हेर, राजाले तिम्रो जीवन लिन खोज्नेछन्; तर तिमी मिद्दोनीको भूमितिर जाऊ; किनकि हेर, तिम्रा भाइ हारुन र मुलोकी र अम्माह पनि कारागारमा छन्।

अब यस्तो हुन गयो कि जब अम्मोनले यो सुनेका थिए, उनले लमोनीसामु भने: हेर्नुहोस्, मेरा भाइ र बन्धुहरू मिद्दोनीमा कारागारमा छन् र म जान्छु कि मैले उनीहरूको उद्धार गर्न सकूँ।

अब लमोनीले अम्मोनसामु भने: मलाई थाहा छ, परमप्रभुको शक्तिमा तिमी सबै कुराहरू गर्न सक्छौ। तर हेर, म तिमीसँग मिद्दोनीको भूमिमा जानेछु; किनकि मिद्दोनीको राजा, जसको नाउँ अन्टीओम्नो हो, उनी मेरा मित्र हुन्; त्यसकारण म मिद्दोनीको भूमितिर जान्छु, कि मैले त्यो भूमिको राजालाई मनाउन सकूँ र उनले तिम्रा बन्धुहरूलाई कारागारबाट निकाला गर्नेछन्। अब लामोनीले उनीसामु भने: कसले तिमीलाई भन्यो कि तिम्रा बन्धुहरू कारागारमा छन्?

अनि अम्मोनले उनीसामु भने: मलाई कसैले पनि भनेको छैन, परमेश्वर बाहेक; र उहाँले मलाई भन्नुभयो—जाऊ र तिम्रा बन्धुहरूलाई मुक्त गर, किनकि उनीहरू मिद्दोनीको भूमिमा कारागारमा छन्।

अब जब लमोनीले यो सुनेका थिए उनले अह्राए कि उनका सेवकहरूले उनका घोडाहरू र रथहरू तयार बनाउनु पर्दछ।

अनि उनले अम्मोनसामु भने: आऊ, म तिमीसँग मिद्दोनीको भूमितिर झर्नेछु र त्यहाँ म राजासँग बिन्ती गर्नेछु कि उनले तिम्रा बन्धुहरूलाई कारागारबाट निकाला गर्नेछन्।

अनि यस्तो हुन गयो कि जब अम्मोन र लमोनी त्यतातिर यात्रा गर्दै थिए, उनीहरूले लमोनीको पितालाई भेटे, जो सम्पूर्ण भूमिमाथिको राजा थिए।

अनि हेर, लमोनीका पिताले उनीसामु भने: मैले मेरा छोराहरू र मेरा जनका निम्ति भोज गरेको त्यो महान् दिनमा तिमी किन भोजमा आएनौ?

१० अनि उनले यो पनि भने: तिमी यो नफीसँग कहाँ जाँदैछौ, जो फटाहको छोराछोरीहरूमध्ये एक हो?

११ अनि यस्तो हुन गयो कि लमोनीले उनी कहाँ जान लागेको भनेर वर्णन गरे, किनकि उनी तिनलाई रिस उठ्छ कि भनी डराए।

१२ अनि उनले उनी आफ्नो अधिराज्यमा बस्नुका सबै कारण तिनलाई भने, कि उनी तिनका पिताको भोजमा गएनन् जुन उनले तयार गरेका थिए।

१३ अनि अब जब लमोनीले यी सबै कुराहरू उनीसामु वर्णन गरेका थिए, हेर, उनको आश्चर्यका लागि, उनका पिता उनीसँग रिसाए र भने: लमोनी, तिमीले एक फटाहका छोराहरू यी नफीहरू मुक्त गरिदिनेछौ। हेर, तिनले हाम्रा पितापुर्खाहरुलाई ठगे; अनि अब तिनका छोराछोरीहरू पनि हाम्रा माझ आएका छन् कि उनीहरू, उनीहरूको धुर्त्याईँ र उनीहरूको फट्याईंद्वारा, हामीलाई छक्काउन सकून्, कि उनीहरूले फेरि हाम्रो सम्पत्ति लुट्न सकून्।

१४ अब लमोनीका पिताले उनलाई आज्ञा दिए कि उनले तरबारद्वारा अम्मोनको बध गर्नु पर्दछ। अनि उनले यो पनि आज्ञा दिए कि उनी मिद्दोनीको भूमिमा जान पर्दैन, तर कि उनी उनीसँग इश्माएलको भूमिमा फर्कनु पर्दछ।

१५ तर लमोनीले उनीसामु भने: म अम्मोनको बध गर्नेछैनँ, न त म इश्माएलको भूमिमा फर्कनेछु, तर म मिद्दोनीको भूमिमा जानेछु कि मैले अम्मोनका बन्धुहरूलाई मुक्त गर्न सकूँ, किनकि मलाई थाहा छ कि उनीहरू न्यायोचित मानिसहरू र साँचो परमेश्वरका पवित्र अगमवक्ताहरू हुन्।

१६ अब जब उनका पिताले यी वचनहरू सुनेका थिए, उनका पिता उनीसँग रिसाए र उनले आफ्नो तरबार निकाले कि उनले तिनलाई प्रहार गरेर पृथ्वीमा ढाल्न सकून्।

१७ तर अम्मोन अघि खडा भए र उनीसामु भने: हेर्नुहोस्, तपाईँ आफ्ना छोराको बध गर्नु हुनेछैन, तैपनि, तपाईँ ढलेको भन्दा उहाँ ढलेको राम्रो हुनेछ, किनकि उहाँले आफ्ना पापहरूको पश्चात्ताप गर्नुभएको छ; तर यदि तपाईँ यो समयमा, आफ्ना रिसमा, ढल्नुभयो भने, तपाईँको जीवात्मालाई बचाउन सकिदैन।

१८ अनि फेरि, यो उचित छ कि तपाईँले रोक्नुपर्छ; किनकि यदि तपाईँले छोराको बध गर्नुभयो भने, उनी एक निर्दोष मानिस भएकाले, उनको रगत जमिनबाट, तपाईँमाथि बदला लिनका निम्ति, परमप्रभु उनका परमेश्वरसामु पुकार्नेछ; अनि सम्भवत: तपाईँले तपाईँको जीवात्मा गुमाउनुहुनेछ।

१९ अब जब अम्मोनले यी वचनहरू उनीसामु भनेका थिए, उनले तिनलाई उत्तर दिए, यसो भन्दै: मलाई थाहा छ कि यदि मैले मेरो छोराको बध गरेँ भने, कि मैले निर्दोष रगत बगाउनेछु; किनकि यो तिमी हौ जसले उसको विनाश गर्न खोजेका छौ।

२० अनि अम्मोनको बध गर्न उनले आफ्नो हात अघि बढाए। तर अम्मोनले उनका मुक्काहरूको सामाना गरे र उनका पाखुरामा प्रहार गरे कि उनले यसको प्रयोग गर्न नसकून्।

२१ अब जब राजाले देखे कि अम्मोनले उनको बध गर्न सक्छन्, उनले अम्मोनसँग बिन्ती गर्न थाले कि उनले उनको जीवन छाडिदिऊन्।

२२ तर अम्मोनले आफ्नो तरबार उठाए र उनलाई भने: हेर, मेरा बन्धुहरूलाई तपाईँले कारागारबाट निकाल्न नदिए म तपाईँलाई प्रहार गर्नेछु।

२३ अब राजाले, आफ्नो जीवन गुमाउनु पर्छ भनी डराउँदै, भने: यदि तिमीले मलाई छाडिदियौ भने म तिमीले अनुरोध गरेका कुरा तिमीलाई दिनेछु, आधा अधिराज्य समेत।

२४ अब जब अम्मोनले देखे कि उनले आफ्नो चाहानाअनुसार बृद्ध राजामाथि प्रभाव पारेका थिए, उनले तिनीसामु भने: यदि तपाईँले अनुमति दिनुहुन्छ कि मेरा बन्धुहरूलाई कारागारबाट निकाला होऊन् र लमोनीले आफ्नो अधिराज्य राख्न पाऊन् र तपाईँ उनीमाथि दुखित नहुनुहोओस्, तर कि उनले आफूले सोचेको कुराहरूमा उनको आफ्नो चाहानाअनुसार गर्न दिनू, तब मात्र म तपाईँलाई छाड्ने छु; अन्यथा म तपाईँलाई जमिनसम्मै ढल्ने गरी प्रहार गर्नेछु।

२५ अब जब अम्मोनले यी वचनहरू भनेका थिए, राजा आफ्नो जीवनका कारणले खुसी हुन थाले।

२६ अनि जब उनले देखे कि अम्मोनलाई उनको विनाश गर्ने कुनै चाहाना थिएन र जब उनले उनको छोरा लमोनीप्रतिको उनको महान् माया पनि देखे, उनी अत्यन्त आश्चर्यचकित भए र भने: किनभने तिमीले यति मात्र चाहाना गरेका छौ, कि मैले तिम्रा बन्धुहरूलाई छाडिदिऊँ र सहूँ कि मेरो छोरा लमोनीले आफ्नो अधिराज्य राख्न पाऊन्, हेर म तिमीलाई अनुमति दिन्छु कि मेरो छोराले यस समयदेखि सदासर्वदा आफ्नो अधिराज्य राख्न पाऊन्; र म उनीमाथि अरु शासन गर्नेछैन—

२७ अनि म तिमीलाई अनुमति दिन्छु कि तिम्रा बन्धुहरू कारागारबाट निकाला होऊन् र तिमी र तिम्रा बन्धुहरू मसामु, मेरो अधिराज्यमा आऊन्; किनकि म तिमीहरूलाई असाध्य देख्न चाहन्छु। किनकि राजा उनले बोलेका वचनहरूमा र आफ्ना छोरा लमोनीले बोलेका वचनहरूमा पनि अत्यन्त आश्चर्यचकित भएका थिए, त्यसकारण उनी ती जान्न चाहन्थे।

२८ अनि यस्तो हुन गयो कि अम्मोन र लमोनीले आफ्नो यात्रामा मिद्दोनीको भूमितिर अगाडि बढाए। अनि लमोनीले भूमिको राजाको नजरमा कृपा पाए; त्यसकारण अम्मोनका बन्धुहरूलाई कारागारबाट बाहिर ल्याइयो।

२९ अनि जब अम्मोनले उनीहरूलाई भेटे उनी अत्यन्तै दु:खी भए, किनकि तिनीहरू नाङ्गा थिए र तिनीहरूका छालाहरू बलिया डोरीहरूले बाँधिएका कारण अत्यन्त पाछिएका थिए। अनि तिनीहरूले भोक, तिर्खा र सबै किसिमका कष्टहरू पनि सहेका थिए; तैपनि तिनीहरू तिनीहरूका कष्टहरूमा धैर्य गर्दै थिए।

३० अनि, जसरी यो भयो, यो तिनीहरूको भाग थियो कि उनीहरू झन् कठोर र हठी जनका हातहरूमा परेका थिए; त्यसकारण तिनीहरूले उनीहरूका वचनहरू सुन्न चाहेनन् र उनीहरूलाई निकाला गरेका थिए र उनीहरूमाथि प्रहार गरेका थिए र मिद्दोनीको भूमि नपुगिन्जेलसम्म एउटा घरदेखि अर्को घरसम्म र एउटा ठाउँदेखि अर्को ठाउँसम्म धपाएका थिए; अनि उनीहरूलाई लगियो र कारागारमा फ्याँकियो र बलिया डोरीहरूले बाँधिएको थियो र धेरै दिन कारागारमा राखिएको थियो र लमोनी र अम्मोनद्वारा मुक्त गरिएको थियो।