धर्मशास्त्रहरू
अल्मा १६


अध्याय १६

लमानीहरूले अम्मोनीहाहका जनको विनाश गर्छन्—जोरामले नफीहरूलाई लमानीहरूमाथिको विजयमा अगुवाइ गर्छन्—अल्मा र अमुलेक र अन्य धेरैले वचनको प्रचार गर्छन्—उनीहरूले सिकाउँछन् कि पुनरुत्थानपछि ख्रीष्ट नफीहरूसामु देखिनुहुनेछ। लगभग ई.पू. ८१–७७।

अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको एघारौँ वर्षको दोस्रो महिनाको पाँचौ दिनमा, जरहेम्लाको भूमिमा धेरै शान्ति भयो र, निश्चित सङ्ख्याका वर्षहरूसम्म त्यहाँ न त युद्धहरू न त लडाइँहरू भए र एघारौँ वर्षको दोस्रो महिनाको पाँचौ दिनसम्म समेत, त्यहाँ युद्धको हल्ला भूमि भरि सुनियो।

किनकि हेर, लमानीहरूका सेनाहरू उजाड स्थानतिरबाट, भूमिको सिमानाहरूसम्म, अम्मोनीहाहको सहरभित्र समेत, आए र जनको बध गर्न र सहरको विनाश गर्न थाले।

अनि अब यस्तो हुन गयो कि नफीहरूले उनीहरूलाई भूमिबाट लखेट्न पर्याप्त सेना जम्मा गर्नुभन्दा अगाडि उनीहरूले अम्मोनीहाहको सहरमा भएका जनको र नोआको सिमानाहरू वरिपरि केहीको पनि विनाश गरेका थिए र अरुलाई उजाड स्थानतिर बन्दी बनाएर लगेका थिए।

अब यस्तो हुन गयो कि नफीहरू उजाड स्थानतिर बन्दी बनाइएर लगिएकाहरूलाई पाउन इच्छुक थिए।

त्यसकारण, नफीहरूका सेनाहरूको मुख्य कप्तान नियुक्त गरिएका उनी, (र उनको नाउँ जोराम थियो र उनका दुइटा छोराहरू थिए, लही र आहा)—अब जोराम र उनका दुई छोराहरू, अल्मा चर्चमाथि उच्च पादरी हुन् भन्ने थाहा पाएर, उनीसँग अगमवाणीको आत्मा छ भन्ने सुनेर, त्यसकारण तिनीहरू उनीसामु गएर उनीबाट जान्न चाहे कि उनीहरू लमानीहरूद्वारा बन्दी बनाएर लगिएका आफ्ना बन्धुहरूलाई खोज्न उजाड स्थानतिर जानु पर्छ भनी परमप्रभु चाहानुहुन्छ वा हुन्न।

अनि यस्तो हुन गयो कि यस विषयका बारेमा अल्माले परमप्रभुसँग सोधे। अनि अल्मा फर्के र उनीहरूसामु भने: हेर, लमानीहरू उजाड स्थानको दक्षिणमा, मन्टीको भूमिको सिमानाहरूभन्दा पर धेरै माथि, सिदोन नदी तर्नेछन्। अनि तिमीहरूले उनीहरूलाई, त्यहाँ, सिदोन नदीको पूर्वमा उनीहरूलाई भेट्ने छौ र परमप्रभुले तिमीहरूका लमानीहरूद्वारा बन्दी बनाएर लगिएका बन्धुहरूलाई तिमीहरूलाई दिनुहुनेछ।

अनि यस्तो हुन गयो कि जोराम र उनका छोराहरूले उनीहरूका सेनाहरूका साथ सिदोन नदी तरे र मन्टीका सिमानाहरूभन्दा पर सिदोन नदीको पूर्वमा रहेको उजाड स्थानसम्म यात्रा गरे।

अनि उनीहरू लमानीहरूका सेनाहरूमाथि आए र लमानीहरूलाई यत्र-तत्र छरियो र उजाड स्थानतिर धपाइयो; र उनीहरूले लमानीहरूद्वारा बन्दी बनेर लगिएका उनीहरूका बन्धुहरूलाई लगे र बन्दी बनाएर लगिएका मध्ये एकको जीवात्मा पनि गुमाइएको थिएन। अनि उनीहरूलाई आफ्ना बन्धुहरूद्वारा उनीहरूका आफ्ना भूमिहरू अधीनमा लिन लगिइए।

अनि न्यायकर्ताहरूको शासनको एघारौँ वर्ष यसरी अन्त्य भयो, लमानीहरू भूमिबाट लखेटिए र अम्मोनीहाहका जनको विनाश गरिएको थियो; हो, अम्मोनीहाहीहरूका प्रत्येक जीवित जीवात्माहरूको विनाश गरिएको थियो र उनीहरूको महान् सहर पनि, जुन उनीहरूले भनेका थिए, त्यसको माहानताका कारण, परमेश्वरले विनाश गर्न सक्नुहुन्न।

१० तर हेर, एक दिनमा यसलाई उजाड बनाइएको थियो; र मुर्दाहरूलाई कुकुरहरू र उजाड स्थानका जङ्गली जनावरहरूद्वारा लुछाचुँडी गरिएको थियो।

११ तैपनि, धेरै दिनहरूपछि उनीहरूका मृत शरीरहरू पृथ्वीको सतहमा थुपारिएका थिए र तिनीहरूलाई एउटा पातलो ढक्कनले ढाकिएको थियो। अनि त्यहाँको गन्ध यति अधीक थियो कि मानिसहरू अम्मोनीहाहको भूमि अधीनमा लिन धेरै वर्षसम्म गएनन्। अनि यसलाई नेहोरहरूका उजाड भनिन्थ्यो; किनकि बध गरिएका उनीहरू नेहोरका पेशाका थिए; र उनीहरूको भूमि उजाड रह्यो।

१२ अनि लमानीहरू नफीहरूका विरुद्ध लडाइँ गर्न नफीका जनमाथि न्यायकर्ताहरूको शासनको चौधौँ वर्षसम्म आएनन्। अनि यसरी नफीका जनले भूमिमा तीन वर्षसम्म निरन्तर शान्ति पाए।

१३ अनि अल्मा र अमुलेक उनीहरूका मन्दिरहरूमा र उनीहरूका आरक्षणहरूमा र यहुदीहरूका प्रकारले बनाइएका सभा-घरहरूमा जनलाई पश्चात्तापको प्रवचन दिँदै अघि गए।

१४ अनि जतिले उनीहरूका वचनहरू सुने, उनीहरूलाई उनीहरूले परमेश्वरका वचन दिए, कुनै पक्षपातविना, निरन्तर रुपमा।

१५ अनि यसरी अल्मा र अमुलेक अघि गए र कार्य गर्न चुनिएका अरु धेरै पनि, सम्पूर्ण भूमिभरि वचनको प्रचार गर्न। अनि चर्चको स्थापना भूमिभरि वरिपरिका सम्पूर्ण क्षेत्रमा, नफीहरूका सबै जनमाझ फैलिएको थियो।

१६ अनि उनीहरूमाझ असमानता थिएन; परमप्रभुले भूमिको सम्पूर्ण सतहभरि उहाँको आत्मा मानिसका छोराछोरीहरूका मानसिकतालाई तयार गर्न, अथवा उहाँको आगमनको समयमा उनीहरूमाझ सिकाइने वचन ग्रहण गर्न उनीहरूका हृदयहरू तयार गर्न खन्याउनुभयो—

१७ कि ती वचनविरुद्ध कठोर नहोऊन्, कि उनीहरू अविश्वासी नहोऊन् र विनाश गर्दै नजाऊन्, तर कि उनीहरूले खुशीका साथ वचन प्राप्त गरून् र एक हाँगाको रूपमा सत्य द्राक्षलतामा कलमी हुन पुगून्, कि उनीहरू परमप्रभु उहाँका परमेश्वरको विश्राममा प्रवेश गरून्।

१८ अब ती पादरीहरू, जो जनमाझ अघि गए सबै झुटो बोल्न र छकाउन र ईर्ष्या गर्न र कलह र द्वैष र विद्रोह र चोरी, डकैती, लुट, हत्या, व्यभिचार गर्न र हरेक प्रकारका लम्पटपनाविरुद्ध कराउँदै प्रवचन दिए कि यी कुराहरू हुनुहुन्न—

१९ छिट्टै आउनु पर्ने कुराहरू प्रस्तुत गर्दै; हो, परमेश्वरका पुत्रको आगमनको, उहाँका कष्टहरूको र मृत्युको र मृतकहरूको पुनरुत्थानको पनि प्रवचन गर्दै।

२० अनि जनमध्ये धेरैले परमेश्वरका पुत्र आउनुहुने स्थानका बारेमा सोधे; र उनीहरूलाई सिकाइयो कि उहाँ आफ्नो पुनरुत्थानपछि तिनीहरूको बीच देखिनु हुनेछ; र जनले यो महान् हर्ष र आनन्दका साथ सुने।

२१ अनि अब सम्पूर्ण भूमिभरि चर्चको स्थापना गरेपछि—सैतानमाथि विजय प्राप्त गरेर र परमेश्वरका वचन यसको शुद्धतामा सम्पूर्ण भूमिमा प्रवचन गरिएर र परमप्रभुले उहाँको आशीषहरू जनमाथि खन्याएर—यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको चौधौँ वर्ष अन्त्य भयो।