धर्मशास्त्रहरू
अल्मा २६


अध्याय २६

अम्मोनले परमप्रभुमा महिमा गर्छन्—आस्थावान्‌लाई परमप्रभुद्वारा बलियो बनाइन्छ र ज्ञान दिइन्छ—आस्थाद्वारा मानिसले हजारौँ जीवात्माहरूलाई पश्चात्तापमा ल्याउँछन्—परमेश्वरसँग सबै शक्ति छ र उहाँले सबै कुराहरूहरू बुझ्नुहुन्छ। लगभग ई.पू. ९०–७७।

अनि अब, उनका बन्धुहरूलाई अम्मोनका वचनहरू यी थिए, जसले यसो भन्छन्: मेरा दाजुभाइ र मेरा बन्धुहरू, हेर म तिमीहरूलाई भन्छु, हामीलाई खुसी हुने कति महान् कारण छन्; किनकि के हामीले जरहेम्लाको भूमिबाट सुरु गर्दा यो सोच्न सकेका थियौँ कि परमेश्वरले हामीलाई यस्तो महान् आशीष दिनुहुनेछ?

अनि अब, म सोध्दछु, उहाँले हामीमाथि कुन महान् आशीष दिनुभएको छ? के तिमीहरू भन्न सक्छौ?

हेर, म तिमीहरूका निम्ति उत्तर दिन्छु; किनकि हाम्रा बन्धुहरू, लमानीहरू, अन्धकारमा थिए, हो, अन्धकारको अतलमा समेत, तर हेर, उनीहरूमध्ये कति धेरैलाई परमेश्वरको विस्मयकारी प्रकाश हेर्न ल्याइएको छ! अनि यो आशीष हो जुन हामीलाई दिइएको छ, कि हामीलाई यो यस्तो महान् कार्य ल्याउन परमेश्वरको हातको औजार बनाइएको छ।

हेर, उनीहरूमध्ये हजारौं खुसी छन् र परमेश्वरको समूहमा ल्याइएका छन्।

हेर, बाली पाकेको थियो र तिमीहरू आशीषित होओ, किनकि तिमीहरूले आफ्नो हँसिया चलायौ र आफ्नो शक्तिले फसल काट्यौ, हो, सारा दिनभरि तिमीहरूले परिश्रम गऱ्यौ; र हेर तिम्रा बिटाका सङ्ख्याहरू! अनि ती भण्डारमा जम्मा गरिनेछन्, कि ती खेर जानेछैनन्।

हो, तिनीहरूलाई अन्तिम दिनमा आँधीद्वारा कुटिने छैन; हो, न त तिनीहरूलाई भूमरीहरूबात पीडित हुनेछन्; तर जब आँधी आउँछ तिनीहरूलाई आफ्नो स्थानमा एक साथ भेला गराइनेछ, कि आँधी तिनीहरू भित्र पस्न सक्नेछैन; हो, न त तिनीहरूलाई शत्रुले जहाँ लैजान चाह्यो त्यहाँ तिब्र हुरीले उडाउनेछ।

तर हेर, तिनीहरू फसलका प्रभुका हातमा छन्, तिनीहरू उनका हुन्; र उहाँले तिनीहरूलाई अन्तिम दिनमा उठाउनुहुनेछ।

हाम्रा परमेश्वरको नाउँ प्रशंसित होओस्; हामी उहाँको जयजयकार गाऔँ, हो, उहाँको पवित्र नाउँलाई धन्यवाद दिऔँ, किनकि उहाँ सदासर्वदा धार्मिकताको काम गर्नुहुन्छ।

किनकि यदि हामी जराहेम्लाको भूमिबाट बाहिर नआएको भए, हामीलाई अति नै माया गर्ने, यी हाम्रा अति प्रिय बन्धुहरू अझै हाम्रा विरुद्धको घृणाको यातनामा सताइएका थिए र उनीहरू परमेश्वरसँग अपरिचित पनि हुने थिए।

१० अनि यस्तो हुन गयो कि जब अम्मोनले यी वचनहरू भनेका थिए, उनका भाइ हारुनले उनलाई हप्काए, यसो भन्दै: अम्मोन, मलाई डर छ कि तिम्रो हर्षले तिमीलाई घमण्ड तिर लैजान्छ।

११ तर अम्मोनले उनलाई भने: म मेरो आफ्नो शक्तिमा घमण्ड गर्दिनँ, न त मेरो आफ्नो विवेकमा; तर हेर, मेरो हर्ष परिपूर्ण छ, हो, मेरो हृदय हर्षले भरिएको छ र म मेरा परमेश्वरमा खुसी मनाउँछु।

१२ हो, मलाई थाहा छ कि म केही होइन; म आफ्नो शक्तिमा कमजोर छु; त्यसकारण म आफैँ घमण्ड गर्दिनँ, तर म मेरा परमेश्वरमा घमण्ड गर्दछु, किनकि उहाँको शक्तिमा म सबै कुराहरू गर्न सक्छु; हो, हेर, हामीले यो भूमिमा धेरै आश्चर्य कर्महरू गरेका छौँ, जुनका निम्ति हामी उहाँको नाउँको सदासर्वदा जयजयकार गर्नेछौँ।

१३ हेर, हाम्रा बन्धुहरूमध्ये कति हजारलाई उहाँले नरकको पीडाहरूबाट छुट्कारा दिनुभएको छ; र उनीहरूलाई उद्धारको माया गाउन ल्याइन्छ र यो हामीमा भएको उहाँको वचनको शक्तिका कारणले हो, त्यसकारण खुसी मनाउने महान् कारण के हामीसँग छैन?

१४ हो, हामीसँग सदासर्वदा उहाँको जयजयकार गर्ने कारण छ, किनकि उहाँ सर्वोच्च परमेश्वर हुनुहुन्छ र हाम्रा बन्धुहरूलाई नरकका साङ्लाहरूबाट खुकुलो गराउनुभएको छ।

१५ हो, उनीहरूलाई चीरस्थायी अन्धकार र विनाशले वरिपरि घेरा हालिएको थियो; तर हेर, उहाँले उनीहरूलाई आफ्नो चीरस्थायी प्रकाशमा, हो चीरस्थायी मुक्तिमा ल्याउनुभएको छ; अनि उनीहरूलाई आफ्नो मायाको अतुलनीय प्रचूरताले घेरा हालिएको छ; हो, अनि हामी यो महान् र अद्भूत काम गर्न उहाँका हातका औजार बनेका छौँ।

१६ त्यसकारण, हामी महिमा गरौँ, हो, हामी परमप्रभुमा महिमा गर्नेछौं; हो, हामी खुसी मनाउनेछौँ, किनकि हाम्रो हर्ष भरिपूर्ण छ; हो, हामी हाम्रा परमेश्वरको सदासर्वदा जयजयकार गर्नेछौँ। हेर, परमेश्वरमा कसले अति महिमा गर्न सक्छ?हो, उहाँको महान् शक्तिको र उहाँको कृपाको र मानिसका छोराछोरीहरूप्रतिको उहाँको धीरताको बारेमा कसले अति भन्न सक्छ? हेर, म तिमीहरूलाई भन्दछु, म मैले अनुभव गरेको सबभन्दा थोरै भाग पनि भन्न सक्दिनँ।

१७ कसले ठानेको थियो कि हाम्रा परमेश्वर यति दयालु हुनुहुने थियो कि हामीलाई हाम्रो भयावह, पापमय र दूषित अवस्थाबाट थुत्नुहुनेछ?

१८ हेर, हामी क्रोधमा समेत, उहाँको चर्चलाई विनाश गर्ने शक्तिशाली धम्कीहरूका साथ अघि गयौँ।

१९ हे त्यसो भए, किन उहाँले हामीलाई एक भयावह विनाशतिर पठाउनु भएन, हो, किन उहाँले हामीमाथि उहाँको न्यायको तरबार झर्न दिनु भएन र हामीलाई अनन्त नैराश्यमा विनाश गर्नु भएन?

२० हे, मेरो जीवात्मा सोचाइमा बहकिए जस्तै गर्दछ। हेर, उहाँले आफ्नो न्यायको अभ्यास हामीमाथि गर्नुभएन, तर उहाँको महान् कृपामा उहाँले हामीलाई त्यो मृत्यु र दु:खको चीरस्थायी खाडीलाई पार गराएर, हाम्रा जीवात्माहरूलाई मुक्तिसम्म ल्याउनु भएको छ।

२१ अनि अब हेर, मेरा बन्धुहरू, कुन प्राकृतिक मानिस छ जसलाई यी कुराहरू थाहा छ? म तिमीहरूलाई भन्दछु, पछुताउनेहरूबाहेक त्यहाँ कोही छैनन् जसलाई यी कुराहरू थाहा छ।

२२ हो, ऊ जसले पश्चात्ताप गर्दछ र आस्थाको अभ्यास गर्दछ र असल कार्यहरू अघि ल्याउँदछ र नरोकीकन निरन्तर रुपमा प्रार्थना गर्दछ—त्यस्तालाई परमेश्वरका रहस्यहरू जान्न दिइएको छ; हो, त्यस्तालाई कहिल्यै प्रकट नगरिएका कुराहरू प्रकट गरिनेछ; हो र त्यस्तालाई हजारौँ जीवात्मालाई पश्चात्तापमा ल्याउन दिइनेछ, जसरी हामीलाई यी हाम्रा बन्धुहरूलाई पश्चात्तापमा ल्याउनसमेत दिइएको छ।

२३ अब के तिमीहरू सम्झन्छौ, मेरा बन्धुहरू, कि हामीले हाम्रा बन्धुहरूसामु जरहेम्लाको भूमिमा भनेका थियौँ, हामी नफीको भूमितिर जान्छौँ, हाम्रा बन्धुहरू, लमानीहरूसामु, प्रचार गर्न र तिनीहरू हामीलाई उपेक्षा गर्दै हाँसे?

२४ किनकि उनीहरूले हामीसामु भनेका थिए: के तिमीहरू ठान्दछौ कि तिमीहरूले लमानीहरूलाई सत्यताको ज्ञानमा ल्याउन सक्छौ? के तिमीहरू ठान्दछौ कि तिमीहरू तिनीहरूलाई उनीहरूका पितापुर्खाहरुका गलत परम्पराहरूका बारेमा विश्वास दिलाउन सक्छौ, तिनीहरू हठी जन हुन्; जसका हृदयहरू रगत बगाउनमा आनन्दित हुन्छन्; जसका दिनहरू गम्भीर दुष्टतामा बिताइन्छन्; जसका मार्गहरू प्रारम्भदेखि नै उल्लङ्घनकर्ताका मार्गहरू भएका छन्? अब मेरा बन्धुहरू, तिमीहरू सम्झन्छौँ कि यो उनीहरूको भाषा थियो।

२५ अनि अझ उनीहरूले भने: हामी उनीहरूका विरुद्ध हतियार उठाऔँ, कि हामीले तिनीहरूलाई र तिनीहरूको दुष्टतालाई भूमिबाट विनाश गरौँ, कथंकदाचित तिनीहरूले हाम्रो आक्रमण गरून् र हामीलाई विनाश गरून्।

२६ तर हेर, मेरा प्रिय बन्धुहरू, हामी उजाड स्थानतिर आयौँ हाम्रा बन्धुहरूको विनाश गर्ने उद्देश्यले होइन, तर यो उद्देश्यले कि सम्भवत: हामीले तिनीहरूका जीवात्मामध्ये केहीलाई बचाउन सकौँ।

२७ जब हाम्रा हृदयहरू दु:खित थिए र हामी फर्कन लागेका थियौँ, हेर, परमप्रभुले हामीलाई सान्त्वना दिनुभयो र भन्नुभयो: तिम्रा बन्धुहरू, लमानीहरूमाझ जाओ र तिम्रा कष्टहरू धैर्यका साथ सामना गर र म तिमीहरूलाई सफलता दिनेछु।

२८ अनि अब हेर, हामी आएका छौँ र उनीहरूमाझ भएका छौँ; र हामी हाम्रा पीडामा धैर्य भएका छौँ र हामीले प्रत्येक अभाव सहेका छौँ; हो, एउटा घरबाट अर्को घरसम्म गएका छौँ, संसारको कृपाहरूमा भर पर्दै—संसारको कृपामा मात्र होइन तर परमेश्वरका क्रिपामा।

२९ अनि हामीले उनीहरूका घरहरूमा प्रवेश गरेका छौ र तिनीहरूलाई सिकाएका छौँ र उनीहरूलाई उनीहरूका सडकहरूमा सिकाएका छौँ; हो र हामीले उनीहरूका डाँडाहरूमा उनीहरूलाई सिकायौँ; र हामीहरू उनीहरूका मन्दिरहरूमा र उनीहरूका सभा-घरहरूमा प्रवेश गरेका छौँ र उनीहरूलाई सिकाएका छौँ; र हामीहरूलाई निकाला गरिएको छ र खिल्ली उडाइएको छ र थुकिएको छ र हाम्रा गालाहरूमा प्रहार गरिएको छ; र हामीलाई ढुङ्गाले हानिएको छ र समातेर बलिया डोरीहरूले बाँधिएको छ र कारागारमा फ्याँकिएको छ; र परमेश्वरको शक्ति र विवेक मार्फत् हामीलाई फेरि मुक्त गरिएको छ।

३० अनि हामीले सबै प्रकारका कष्टहरू सहेका छौँ र यो सबै, कि सम्भवत: हामी केही जीवात्माको मुक्तिको माध्यम हुन सकौँ; र हामीले ठान्यौँ कि हाम्रो हर्ष परिपूर्ण हुने थियो यदि सम्भवत: हामी केहीको मुक्तिको माध्यम हुन सक्यौँ भने।

३१ अब हेर, हामी अघि हेर्न सक्छौँ र हाम्रा परिश्रमको फल देख्न सक्छौँ; र के तिनीहरू थोरै छन्? म तिमीहरूलाई भन्दछु: छैनन्, उनीहरू धेरै छन्, हो र हामी उनीहरूको हार्दिकताको गवाही दिन सक्छौँ, उनीहरूको आफ्ना बन्धुहरूप्रतिको र हामिप्रतिको पनि मायाका कारण।

३२ किनकि हेर, उनीहरूले आफ्ना शत्रुको जीवन लिनभन्दा आफ्नो जीवन बलि दिनसमेत चाहे; र उनीहरूले आफ्ना युद्धका हतियारहरू पृथ्वीभित्र गहिरोसँग गाडेका छन्, आफ्ना बन्धुहरूप्रतिको उनीहरूको मायाको कारण।

३३ अनि अब हेर म तिमीहरूलाई भन्दछु, के सम्पूर्ण भूमिमा त्यस्तो महान् प्रेम भएको छ? हेर, म तिमीहरूलाई भन्दछु, छैन, त्यहाँ छैन, नफीहरूमाझमा समेत।

३४ किनकि हेर, उनीहरूले आफ्ना बन्धुहरूविरुद्ध हतियार उठाएनन्; उनीहरूले आफैँ बध गरिएको सहेनन्। तर हेर यीमध्ये कति धेरैले आफ्ना जीवनहरू अर्पण गरे; र हामीलाई थाहा छ कि उनीहरू आफ्ना परमेश्वरमा गएका छन्, उनीहरूको माया र पापप्रतिको उनीहरूको घृणाका कारणले।

३५ अब के हामीसँग खुसी मनाउने कारण छैन? छ, म तिमीहरूसामु भन्दछु, हामीसँग जत्तिकै खुसी मनाउने कारण भएका मानिसहरू कहिल्यै थिएनन्, संसारको प्रारम्भदेखि; हो र मेरो आनन्द पर लागिएको छ, मेरा परमेश्वरमा गर्व गर्नेसम्म समेत, किनकि उहाँसँग सबै शक्ति, सबै विवेक र सबै सुझबुझ छ; उहाँले सबै कुराहरू बुझ्नुहुन्छ र उहाँ एक कृपालु जन हुनुहुन्छ, मुक्तिसम्म समेत, उनीहरूका निम्ति जसले पश्चात्ताप गर्नेछ र उहाँको नाउँमा विश्वास गर्नेछन्।

३६ अब यदि यो गर्व हो भने, त्यत्तिसम्म म गर्व गर्नेछु; किनकि यो मेरो जीवन र मेरो प्रकाश, मेरो हर्ष र मेरो मुक्ति र चीरस्थायी धिक्कारबाटको मेरो उद्धार हो। हो, आफ्ना फेदबाट हराइएर अनौठा स्थानमा गएका इस्राएलका वृक्षका हाँगाहरू, यी जनप्रति ध्यान दिने मेरा परमेश्वरको नाउँ आशीषित होओस्; हो म भन्दछु, अनौठो भूमिमा घुमन्तेहरू भएका हामीहरूलाई ध्यान दिने परमेश्वरको नाउँ आशीषित होओस्।

३७ अब मेरा बन्धुहरू, हामी देख्दछौ कि परमेश्वर प्रत्येकलाई ध्यान दिनुहुन्छ, उनीहरू जुनसुकै स्थानमा भए पनि; हो, उहाँले आफ्ना जनको गणना गर्नुहुन्छ र उहाँका कृपाका हृदयहरू सम्पूर्ण पृथ्वीभरि छन्। अब यो मेरो हर्ष र मेरो महान् कृतज्ञता हो; हो र म आफ्ना परमेश्वरलाई सदासर्वदा धन्यवाद दिनेछु। आमिन।