धर्मशास्त्रहरू
सिद्धान्त र करार ९८


खण्ड ९८

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा अगष्ट ६, १८३३ मा दिइएको प्रकाश । यो प्रकाश मिजोरीमा सन्तहरूमाथि भएको सतावटको परिणाम स्वरूप प्राप्त भएको हो । मिजोरीमा चर्चका सदस्यहरूको बढ्दो बसोबासले अन्य बसोबास गर्नेहरू केहीलाई समस्यामा पार्‍यो, जसले सन्तहरूको सङ्ख्या, राजनीतिक र आर्थिक प्रभाव अनि सांस्कृतिक र धार्मिक भिन्नताहरूबाट खतरा महसुस गरे । जुलाई १८३३ मा, एक भीडले चर्चको सम्पत्ति नष्ट गर्‍यो, चर्चका दुई सदस्यहरूलाई अलकत्रा र प्वाँख लगाइदियो र सन्तहरूले ज्याक्सन प्रदेश छोड्न माग गर्‍यो । मिजोरीका समस्याहरूका सम्बन्धका केही समाचारहरू निःसन्देह कर्टल्याण्डमा (नौ सय माइल टाढा) अगमवक्तालाई पुगे तापनि उनलाई परिस्थितिको गम्भीरता यस मितिमा प्रकाशद्वारा मात्रै जानकारी हुन सक्थ्यो ।

१–३, सन्तहरूको कष्ट तिनीहरूको लाभका लागि हुने छ; ४–८, सन्तहरूले भूमिको संवैधानिक नियमसँग मित्रता गाँस्नु पर्छ; ९–१०, धर्मनिरपेक्ष सरकारका लागि इमानदार, बुद्धिमान् र असल मानिसहरूलाई समर्थन गर्नु पर्छ; ११–१५, परमप्रभुको कारणमा आफ्नो जीवन अर्पण गर्नेहरूले अनन्त जीवन प्राप्त गर्ने छन्; १६–१८, युद्ध परित्याग गर र शान्ति घोषणा गर; १९–२२, कर्टल्याण्डका सन्तहरूलाई हप्काइन्छ र पश्चात्ताप गर्न आज्ञा दिइएको छ; २३–३२, परमप्रभुले उहाँका जनहरूलाई दिइएका सतावटहरू र कष्टहरूलाई नियन्त्रण गर्ने आफ्ना नियमहरू प्रकट गर्नुहुन्छ; ३३–३८, परमप्रभुले आज्ञा दिँदा मात्र युद्ध न्यायोचित हुन्छ; ३९–४८, सन्तहरूले आफ्ना शत्रुहरूलाई क्षमा गर्नु पर्छ, जसले, यदि तिनीहरूले पश्चात्ताप गरे भने, परमप्रभुको प्रतिहिंसाबाट पनि उम्कने छन् ।

साच्चैँ नै मेरा मित्रहरू म तिमीहरूलाई भन्छु, नडराओ, तिमीहरूको हृदयलाई सान्त्वना देओ; हो, सदैव आनन्दित होओ र सबै प्रसङ्गमा धन्यवाद देओ;

परमप्रभुमा धीरताका साथ प्रतीक्षा गर्दै, किनकि तिमीहरूका प्रार्थना सबाथका परमप्रभुको कानमा पुगेको छ र यो बाँधिने र नियमसँग अभिलेख गरिएको छ—परमप्रभुले शपथ खानुभएको छ र तिनीहरूलाई दिइने छ भनेर उर्दी दिनुभएको छ ।

त्यसकारण, उहाँले तिमीहरूलाई यो प्रतिज्ञा दिनुहुन्छ, अपरिवर्तनीय प्रतिज्ञाका साथ ताकि ती पूरा हुने छन्; र सबै विषयहरू जसका कारण तिमीहरूलाई कष्ट भएको छ तिमीहरूको लाभका लागि र मेरो नामको महिमाका लागि एकसाथ कार्य गर्ने छन्, परमप्रभु भन्नुहुन्छ ।

अनि अब, साच्चैँ नै म तिमीहरूलाई भूमिका नियमका सम्बन्धमा भन्छु, यो मेरो चाहना हो कि मेरा जनहरूले मैले तिनीहरूलाई आज्ञा दिएका सबै कार्यहरू पालना गर्नु पर्छ ।

अनि अधिकार र सुविधाहरू कायम राख्न त्यो स्वतन्त्रताका सिद्धान्तलाई समर्थन गर्ने भूमिको त्यो नियम जुन संवैधानिक छ, सम्पूर्ण मानव जातिको हो र मेरा अगाडि न्याययोग्य छ ।

त्यसकारण, म, परमप्रभु, तिमीहरू र मेरो चर्चका तिमीहरूका बन्धुहरूलाई सफाइ दिन्छु, त्यो नियमसँग मित्रता राख्न भन्छु जुन भूमिको संवैधानिक नियम हो;

अनि मानिसको नियमसँग सम्बन्धित, यो भन्दा बढी वा कम जे पनि हुन्छ, दुष्टताबाट आउँछ ।

म, परमप्रभु परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बनाउँछु, त्यसैले तिमीहरू निश्चय नै स्वतन्त्र छौ; र नियमले पनि तिमीहरूलाई स्वतन्त्र बनाउँछ ।

यद्यपि, जब दुष्टले शासन गर्छ मानिसहरू शोक गर्छन् ।

१० यसकारण, इमान्दार मानिसहरू र ज्ञानी मानिसहरूलाई लगनशीलताका साथ खोजी गरिनु पर्छ र असल मानिसहरू र ज्ञानी मानिसहरूलाई समर्थन गर्न तिमीहरू निश्चित हुनु पर्छ; अन्यथा यी भन्दा जति पनि कमसल छन् ती सबै दुष्टबाट आउँछन् ।

११ अनि म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि तिमीहरूले सबै दुष्टतालाई त्याग्ने छौ र सबै असलमा समाहित हुने छौ, ताकि तिमीहरू परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनद्वारा जिउने छौ ।

१२ किनकि उहाँले आस्थावानहरूलाई हरफमाथि हरफ, शिक्षामाथि शिक्षा दिनुहुने छ; र म तिमीहरूलाई परीक्षण गर्ने छु र तिमीहरूलाई यो तरिकाले प्रमाणित गर्ने छु ।

१३ अनि जसले मेरो नामका लागि मेरो कारणमा आफ्नो जीवन अर्पण गर्छ, उसले यसलाई पुनः प्राप्त गर्ने छ, अनन्त जीवन समेत ।

१४ त्यसकारण, आफ्ना शत्रुहरूसँग नडराओ, किनकि मैले मेरो हृदयमा निर्णय गरेको छु, परमप्रभु भन्नुहुन्छ, कि म तिमीहरूलाई सबै सन्दर्भमा प्रमाणित गर्ने छु, ताकि तिमीहरू मेरो करारमा रहने छौ, मृत्युसम्म समेत, ताकि तिमीहरू योग्य हुन सक्छौ ।

१५ किनकि यदि तिमीहरू मेरो करारमा रहँदैनौ भने तिमीहरू मेरा लागि योग्य छैनौ ।

१६ त्यसकारण, युद्ध परित्याग गर र शान्तिको घोषणा गर र सन्ततिहरूका हृदयहरूलाई तिनीहरूका पिताहरूतर्फ र पिताहरूका हृदयहरूलाई सन्ततिहरूतर्फ फर्काउन लगनशीलतापूर्वक खोजी गर;

१७ अनि पुनः, यहुदीहरूका हृदयहरू अगमवक्ताहरूप्रति र अगमवक्ताहरूको यहुदीहरूप्रति; अन्यथा म आउँछु र सारा पृथ्वीलाई श्रापले प्रहार गर्ने छु र सबै जीवितहरूलाई मेरासामु जलाइने छ ।

१८ तिमीहरूको हृदय विचलित नहोस्; किनकि मेरा पिताको गृहमा धेरै गृहहरू छन् र मैले तिमीहरूका लागि स्थान तयार पारेको छु; र जहाँ मेरा पिता र म छौँ, त्यहाँ तिमीहरू पनि हुने छौ ।

१९ हेर, म, परमप्रभु, धेरैसँग खुसी छैन जो कर्टल्याण्डको चर्चमा छन्;

२० किनकि उनीहरूले तिनीहरूका पापहरू, तिनीहरूका दुष्ट मार्गहरू, तिनीहरूका हृदयका घमण्ड र तिनीहरूको लोभ र तिनीहरूका सबै घिनलाग्दा कार्यहरूलाई त्याग्दैनन् र मैले तिनीहरूलाई दिएका ज्ञान र अनन्त जीवनका वचनहरू पालना गर्दैनन् ।

२१ साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि म, परमप्रभु, तिनीहरूलाई हप्काउने छु र यदि उनीहरूले पश्चात्ताप गरेनन् र मैले उनीहरूलाई भनेका सबै कार्यहरू पालना गरेनन् भने मैले जे सूची दिन्छु त्यही गर्ने छु ।

२२ अनि पुनः म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले मैले तिमीहरूलाई आज्ञा गरेअनुसार पालना गर्‍यौ भने, म, परमप्रभुले तिमीहरूबाट सबै रिस र क्रोध हटाउने छु र नरकका ढोकाहरू तिमीहरूका विरुद्धमा विजयी हुने छैनन् ।

२३ अब, म तिमीहरूलाई तिमीहरूका परिवारहरूका सम्बन्धमा बोल्छु—यदि मानिसहरूले तिमीहरूलाई वा तिमीहरूका परिवारहरूलाई एकै पटक प्रहार गर्छन् र तिमीहरूले यसलाई धीरतापूर्वक सहन गर्‍यौ र तिनीहरूका विरुद्धमा निन्दा गरेनौ न त बदला नै लियौ भने तिमीहरूलाई पुरस्कृत गरिने छ;

२४ परन्तु यदि तिमीहरूले धीरतापूर्वक सहन गरेनौ भने, यो तिमीहरूका लागि न्यायोचित मापनका रूपमा लिइने छ ।

२५ अनि पुनः, यदि तिमीहरूको शत्रुले तिमीहरूलाई दोस्रो पटक प्रहार गर्छ र तिमीहरू आफ्नो शत्रुका विरुद्धमा निन्दा गर्दैनौ र यसलाई धीरताका साथ सहन गर्‍यौ भने, तिमीहरूको पुरस्कार सय गुणा हुने छ ।

२६ अनि पुनः, यदि उसले तिमीहरूलाई तेस्रो पटक प्रहार गर्छ र तिमीहरूले धीरताका साथ सहन गर्‍यौ भने, तिमीहरूको पुरस्कार तिमीहरूलाई चार गुणा दोब्बर दिइने छ;

२७ अनि यी तीन गवाहीहरू यदि उसले पश्चात्ताप गरेन भने तिमीहरूका शत्रुका विरुद्धमा खडा हुने छन् र मेटिने छैनन् ।

२८ अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यदि त्यो शत्रु मेरो प्रतिहिंसाबाट जोगिन्छ भने, ताकि उसलाई मेरासामु फैसलामा ल्याइएको छैन, तब तिमीहरूले यसलाई हेर्ने छौ ताकि मेरो नाममा चेतावनी दिने छौ, ताकि ऊ तिमीहरूमाथि पुनःआउँदैन, न त तिमीहरूका परिवारमाथि, तेस्रो र चौथो पुस्तासम्म तिमीहरूका सन्ततिका सन्ततिहरूसम्म समेत ।

२९ अनि त्यसपछि, यदि ऊ तिमीहरू वा तिमीहरूका सन्ततिहरूमाथि आएमा वा तिमीहरूका सन्ततिका सन्ततिहरू तेस्रो र चौथो पुस्तासम्म, मैले तिमीहरूका शत्रुलाई तिमीहरूका हातमा सुम्पेको छु;

३० अनि यदि तिमीले उसलाई बचायौ भने, तिमीले आफ्नो धार्मिकताका लागि पुरस्कार प्राप्त गर्ने छौ; र तिम्रा सन्तति र तिम्रा सन्ततिका सन्ततिलाई तेस्रो र चौथो पुस्तासम्म ।

३१ यद्यपि, तिमीहरूको शत्रु तिमीहरूको हातमा छ; र यदि तिमीहरूले उसलाई उसको कार्यअनुसार पुरस्कार दियौ भने, तिमीहरूले सफाइ प्राप्त गर्ने छौ; यदि उसले तिमीहरूको ज्यान लिन खोजेको छ र तिमीहरूको जीवनलाई उसले खतरामा पारेको छ भने, तिमीहरूको शत्रु तिम्रो हातमा छ र तिमीहरूले सफाइ प्राप्त गर्छौ ।

३२ हेर, यो नियम हो जुन मैले मेरा सेवक नफी र तिमीहरूका पिताहरू, जोसेफ र याकूब र इसहाक र अब्राहाम र मेरा सबै पुरातन अगमवक्ताहरू र प्रेरितहरूलाई दिएँ ।

३३ अनि पुनः, यो नियम हो जुन मैले मेरा पुर्खाहरूलाई दिएको थिएँ, ताकि म परमप्रभुले आज्ञा नदिएसम्म तिनीहरू कुनै पनि राष्ट्र, कुटुम्ब, भाषा वा मानिसहरूका विरुद्ध लडाइँमा जानु हुँदैन ।

३४ अनि यदि कुनै राष्ट्र, भाषा वा मानिसहरूले तिनीहरूका विरुद्धमा युद्धको घोषणा गर्छन् भने, तिनीहरूले सर्वप्रथम ती मानिसहरू, राष्ट्र वा भाषासामु शान्तिको स्तर उठाउनु पर्छ;

३५ अनि यदि ती मानिसहरूले शान्तिको अर्पण स्वीकार गरेनन् भने, न दोस्रो न त तेस्रो पटक, तिनीहरूले परमप्रभुसामु यी गवाहीहरू ल्याउनु पर्छ;

३६ तब म, परमप्रभु, तिनीहरूलाई एक आज्ञा दिने छु र तिनीहरूलाई त्यो राष्ट्र, भाषा वा मानिसहरूका विरुद्धमा लडाइँ गर्न बाहिर निस्कनुमा सफाइ दिने छु ।

३७ अनि म, परमप्रभु, तिनीहरूको लडाइँ र तिनीहरूका सन्ततिको लडाइँ र तिनीहरूका सन्ततिका सन्ततिहरू, तिनीहरूले तेस्रो र चौथो पुस्तासम्म तिनीहरूका सबै शत्रुहरूमाथि प्रतिशोध नलिँदासम्म लड्ने छु ।

३८ हेर, मेरासामु निर्दोष ठहरिन यी सबै मानिसहरूका लागि एउटा नमुना हो, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ ।

३९ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यदि तिमीहरूका शत्रु तिमीहरूमाथि पहिलो पटक आएपछि, उसले पश्चात्ताप गर्‍यो र तिमीहरूसँग माफी माग्दै तिमीहरूकहाँ आउँछ भने, तिमीहरूले उसलाई क्षमा गर्ने छौ र यसलाई तिमीहरूका शत्रुको विरुद्धमा गवाहीका रूपमा राख्ने छैनौ—

४० अनि दोस्रो र तेस्रो पटकसम्म; र जति पटक तिमीहरूका शत्रुले तिमीहरूका विरुद्धमा गरेका अपराधका लागि पश्चात्ताप गर्छन्, तिमीहरूले उसलाई सत्तरी गुणा सातसम्म क्षमा गर्ने छौ ।

४१ अनि यदि उसले तिमीहरूका विरुद्धमा अपराध गर्‍यो र पहिलो पटक पश्चात्ताप गरेन भने, यद्यपि तिमीहरूले उसलाई क्षमा गर्ने छौ ।

४२ अनि यदि उसले तिमीहरूका विरुद्धमा दोस्रो पटक अपराध गर्‍यो र पश्चात्ताप गरेन भने, यद्यपि तिमीहरूले उसलाई क्षमा गर्ने छौ ।

४३ अनि यदि उसले तेश्रो पटक तिमीहरूका विरुद्धमा अपराध गर्‍यो र पश्चात्ताप गरेन भने, तिमीहरूले उसलाई पनि क्षमा गर्ने छौ ।

४४ परन्तु यदि उसले चौथो पटक तिमीहरूका विरुद्धमा अपराध गर्‍यो भने, तिमीहरूले उसलाई क्षमा गर्ने छैनौ तर यी साक्षीहरू परमप्रभुकासामु ल्याउनु पर्छ; र ती मेटिने छैनन् जबसम्म उसले पश्चात्ताप गर्दैन र उसले तिमीहरूका विरुद्धमा गरेका अपराधका सबै कार्यहरूमा तिमीहरूलाई चार गुणा पुरस्कार दिइन्छ ।

४५ अनि यदि उसले यसो गर्छ भने, तिमीहरूले उसलाई आफ्नो सारा हृदयले क्षमा गर्ने छौ; र यदि उसले त्यसो गरेन भने, म, परमप्रभु, तिमीहरूका शत्रुबाट सयौँ गुणा प्रतिशोध लिने छु;

४६ अनि उसका सन्ततिहरूमाथि र मलाई घृणा गर्ने तेस्रो र चौथो पुस्तासम्मका तिनका सबैका सन्ततिका सन्ततिहरूमाथि ।

४७ परन्तु यदि सन्ततिहरू वा सन्ततिका सन्ततिहरूले पश्चात्ताप गर्छन् र परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्कन्छन् र तिनीहरूले गरेका वा तिनीहरूका पिताहरूले वा तिनीहरूका पिता-पुर्खाहरूले गरेका अपराधका लागि तिनीहरूका सारा हृदय र आफ्नो सम्पूर्ण क्षमता, मस्तिष्क र सामर्थ्यले चार गुणा पुनर्स्थापना गर्छन् वा तिनीहरूका पिताहरूले वा तिनीहरूका पिता-पुर्खाहरूले अपराध गरेका छन् भने पनि तिमीहरूको क्रोध हट्ने छ;

४८ अनि तिनीहरूमाथि पुनः प्रतिहिंसा लिइने छैन, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ र तिनीहरूका अपराधहरू तिनीहरूका विरुद्धमा परमप्रभुसामु गवाहीका रूपमा कहिल्यै ल्याइने छैन । आमीन ।