धर्मशास्त्रहरू
सिद्धान्त र करार ३५


खण्ड ३५

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई फेएट, न्यू योर्कमा वा नजिकै, डिसेम्बर ७, १८३० मा दिइएको प्रकाश । यस समयमा, अगमवक्ता लगभग हरेक दिन बाइबलको अनुवाद गर्न व्यस्त थिए । अनुवाद जुन १८३० को प्रारम्भमा सुरु भएको थियो, र ओलिवर काउड्री र जोन ह्वीटमर दुबैले शास्त्रीहरूका रूपमा सेवा गरेका थिए । उनीहरूलाई अब अन्य उत्तरदायित्वहरूमा बोलावट गरिएको हुनाले, सिड्नी रिग्डनलाई दैवी नियुक्तिद्वारा यस कार्यमा अगमवक्ताको शास्त्रीका रूपमा सेवा गर्न बोलावट गरिएको थियो (हेर्नुहोस् पद २०) । यस प्रकाशको अभिलेखको प्रस्तावनाका रूपमा, जोसेफ स्मिथको इतिहासले यस्तो भन्दछ: “डिसेम्बरमा परमप्रभुसँग सोधपुछ गर्न [ओहायोबाट] सिड्नी रिग्डन आए र उनीसँगै एडवर्ड पार्ट्रिज आए … यी दुई बन्धुहरूको आगमनको केही समयपछि, परमप्रभुले यसरी बोल्नुभयो ।”

१–२, मानिसहरू कसरी परमेश्वरका पुत्रहरू बन्न सक्छन्; ३–७, सिड्नी रिग्डनलाई बप्तिस्मा दिन र पवित्र आत्मा प्रदान गर्न बोलावट गरिन्छ; ८–१२, सङ्केतहरू र आश्चर्य कर्महरू आस्थाद्वारा ल्याइएका छन्; १३–१६, परमप्रभुका सेवकहरूले आत्माको शक्तिद्वारा राष्ट्रहरूलाई छुट्याउनेछन्; १७–१९, जोसेफ स्मिथ रहस्यहरूका साँचाहरू धारण गदर्छन; २०–२१, चुनिएकाहरू परमप्रभुको आगमनको दिनमा रहनेछन्; २२–२७, इस्राएललाई बचाइने छ ।

परमप्रभु तिमीहरूका परमेश्वरको वाणी सुन, अल्फा र ओमेगा समेत, प्रारम्भ र अन्त्य, जसको कार्यप्रणाली एउटै अनन्त चक्र हो जुन हिजो, आज र सदासर्वदा उस्तै रहनेछ ।

म येशू ख्रीष्ट, परमेश्वरको पुत्र हुँ, जसलाई संसारका पापहरूका लागि क्रूसमा टाँगिएको थियो, जति धेरैले मेरो नाममा विश्वास गर्ने छन्, तिनीहरू परमेश्वरका पुत्रहरू बन्न सक्नेछन्, ममा एक हुँदै जसरी म पितामा एक छु; जसरी पिता ममा एक हुनुहुन्छ, त्यसरी नै हामी एक हुन सकौँ ।

हेर, साच्चैँ नै, साच्चैँ नै, म मेरा सेवक सिड्नीलाई भन्दछु, मैले तिमी र तिम्रा कार्यहरूको अवलोकन गरेको छु । मैले तिम्रा प्रार्थनाहरू सुनेको छु, र तिमीलाई महान् कार्यका लागि तयार पारेको छु ।

तिमी आशीषित छौ, किनकि तिमीले महान् कार्यहरू गर्नेछौ । हेर, तिमीलाई यूहन्ना जस्तै मेरा अगाडि र एलियाको अगाडि जो आउनेका लागि मार्ग तयार पार्न अगाडि पठाइएको थियो र यो तिमीलाई थाहा थिएन ।

तिमीले पश्चात्ताप गर्न पानीद्वारा बप्तिस्मा दियौ, तर तिनीहरूले पवित्र आत्मा प्राप्त गरेनन्;

परन्तु अब म तिमीलाई एउटा आज्ञा दिन्छु, कि तिमीले पानीले बप्तिस्मा दिनेछौ र तिनीहरूले प्राचीन समयका प्रेरितहरूले जस्तै हात राखेर पवित्र आत्मा ग्रहण गर्नेछन् ।

अनि यस्तो हुन जानेछ कि त्यस भूमिमा एउटा महान् कार्य हुनेछ, गैह्र यहूदीहरूका बीचमा पनि, किनकि तिनीहरूका मूर्खतापूर्ण कार्यहरू र तिनीहरूका कुकर्महरू सबै मानिसहरूको नजरमा प्रकट गरिनेछ ।

किनकि म परमेश्वर हुँ र मेरा बाहु छोटा छैनन्; र मेरो नाममा विश्वास गर्नेहरू सबैलाई म आश्चर्य कर्महरू, सङ्केतहरू र आश्चर्यहरू देखाउने छु ।

अनि जसले आस्थामा मेरो नाममा यो माग्छ, तिनीहरूले दानवहरूलाई भगाउने छन्; तिनीहरूले बिरामीहरूलाई चङ्गाइ दिने छन्; तिनीहरूले अन्धाहरूलाई दृष्टि दिने छन्, बहिराहरूलाई सुन्ने, लाटाहरूलाई बोल्न सक्ने र लङ्गडाहरूलाई हिँड्न सक्ने बनाउने छन् ।

१० अनि समय तीव्र रूपमा आउँदै छ कि मानिसहरूका छोराछोरीहरूलाई महान् कार्यहरू देखाइने छ;

११ परन्तु आस्थाबिना बेबिलोनका उजाडहरूबाहेक अरू केही देखाइने छैन, जसले सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारको क्रोधको दाखमद्य पिउन लगाएको छ ।

१२ अनि मैले यस युगसामु पठाएको मेरो सुसमाचारको पूर्णता प्राप्त गर्न तयार हुनेहरूबाहेक त्यहाँ असल कार्य गर्ने अन्य कोही पनि छैनन् ।

१३ यसकारण, मेरो आत्माको शक्तिद्वारा राष्ट्रहरूलाई चेतावनी दिन, म संसारका कमजोर व्यक्तिहरूलाई बोलाउँछु, जो अशिक्षित र तिरस्कृत छन्;

१४ अनि तिनीहरूका पाखुरा मेरा बाहु हुने छन् र म तिनीहरूको ढाल र पाखुरामा लगाउने सानो ढाल हुने छु; र म तिनीहरूको कम्मर कस्ने छु र तिनीहरू मेरा लागि साहसपूर्वक लड्ने छन्; र तिनीहरूका शत्रुहरू तिनीहरूका पाउमुनि हुने छन्; र म तिनीहरूका निम्ति तरवार प्रहार गर्न दिने छु र मेरो क्रोधको आगोद्वारा म तिनीहरूलाई संरक्षण गर्ने छु ।

१५ अनि गरिब र विनम्रहरूलाई सुसमाचारको प्रवचन दिइने छ र तिनीहरू मेरो आगमनको समयको प्रतीक्षा गर्ने छन्, किनकि यो नजिकै छ—

१६ अनि तिनीहरूले अञ्जीरको रूखको दृष्टान्त सिक्ने छन्, किनकि अहिले पनि गृष्म ऋतु नजिकै छ ।

१७ अनि मैले मेरा सेवक जोसेफको हातद्वारा मेरो सुसमाचारको पूर्णता पठाएको छु; अनि कमजोरीमा मैले उनलाई आशीर्वाद दिएको छु;

१८ अनि मैले उनलाई ती विषयहरूका रहस्यका साँचाहरू दिएको छु जसलाई बाँधिएको छ, यहाँसम्मका विषयहरू कि यस संसारको सृष्टि भएको यस समयदेखि मेरो आगमनको समयसम्म आउने विषयहरू, यदि उनी ममा समाहित भए भने र यदि भएनन् भने, म उनको स्थानमा अर्को प्रतिस्थापन गर्ने छु ।

१९ यसकारण, उनको हेरविचार गर कि उनको आस्था विफल नहोस् र यो आश्वासी, पवित्र आत्माद्वारा दिइने छ, जसले सबै विषयहरू जान्दछ ।

२० अनि म तिमीलाई एउटा आज्ञा दिन्छु—कि तिमीले उनका लागि लेख्नु पर्दछ; र जसरी तिनीहरू मेरो आफ्नै हृदयमा छन्, त्यसरी नै मेरा आफ्नै चुनिएकाहरूको उद्धारका लागि धर्मशास्त्रहरू दिइने छन्;

२१ किनकि तिनीहरूले मेरो वाणी सुन्नेछन् र मलाई देख्ने छन् र निदाउने छैनन् र मेरो आगमनको दिनसम्म सहने छन्; किनकि म विशुद्ध भएजस्तै तिनीहरूलाई पनि विशुद्ध पारिने छ ।

२२ अनि अब म तिमीलाई भन्दछु, उनीसँगै बस र उनी तिमीसँग यात्रा गर्नेछन्; उनलाई नत्याग र यी विषयहरू अवश्य नै पूरा हुने छन् ।

२३ अनि तिमीले लेख्दैनौ भने, हेर, यो उनलाई अगमवाणी गर्नका लागि दिइनेछ; र जसरी तिनीहरू उनलाई दिइनेछ, तिमीले मेरा सुसमाचारका प्रवचन दिनेछौ र पवित्र अगमवक्ताहरूलाई उनका वचनहरू प्रमाणित गर्न बोलाउने छौ ।

२४ सबै आज्ञाहरू र करारहरू पालना गर जसद्वारा तिमीहरू बाँधिएका छौ; अनि म तिमीहरूको भलाइका लागि ब्रम्हाण्ड हल्लाउने छु र शैतान थरथर काप्ने छ र सियोन पहाडहरूमा आनन्दित हुने छ र फस्टाउने छ;

२५ अनि इस्राएललाई मेरो आफ्नै समयमा बचाइने छ; अनि मैले दिएका साँचाहरूद्वारा उनीहरूलाई डोऱ्याइने छ, र अब कहिल्यै खलबल पारिने छैन ।

२६ आफ्ना हृदयलाई उचाल र खुसी होऊ, तिम्रो उद्धार नजिक आउँदै छ ।

२७ नडराओ, सानो बगाल, म नआउञ्जेल राज्य तिमीहरूकै हो । हेर, म छिट्टै आउँछु । अनुसार समेत । आमीन ।