धर्मशास्त्रहरू
सिद्धान्त र करार ७४


खण्ड ७४

अगमवक्ता जोसेफ स्मिथलाई वेन प्रदेश, न्यू योर्कमा, १८३० मा दिइएको प्रकाश । वास्तवमा चर्चको सङ्गठन हुनुपूर्व, बप्तिस्माको उचित तरिकाका सम्बन्धमा प्रश्नहरू उठेका थिए जसले अगमवक्तालाई त्यस विषयमा जवाफहरू खोज्न प्रेरणा दियो । जोसेफ स्मिथको इतिहासले व्यक्त गर्छ कि यो प्रकाश १ कोरिन्थी ७:१४ को स्पष्टीकरणको कथन हो, एक धर्मशास्त्र जुन प्रायशः शिशु बप्तिस्माको औचित्य प्रमाणित गर्न प्रयोग गरिएको थियो ।

१–५, पावलले उनका दिनका चर्चलाई मोशाको व्यवस्था पालना नगर्न सल्लाह दिन्छन्; ६–७, साना बालबालिकाहरू पवित्र छन् र प्रायश्चित्तद्वारा पवित्र गरिन्छन् ।

किनकि अविश्वासी पति आफ्नी पत्नीद्वारा पवित्र हुन्छ र अविश्वासी पत्नी आफ्ना पतिद्वारा पवित्र हुन्छिन्; अन्यथा तिमीहरूका छोराछोरीहरू अपवित्र थिए तर अब तिनीहरू पवित्र छन् ।

अब, प्रेरितहरूका दिनहरूमा खतनाका नियम यहुदीहरूमाझ अभ्यास गरिन्थ्यो जसले येशू ख्रीष्टका सुसमाचारमा विश्वास गर्दैनथे ।

अनि यस्तो हुन गयो कि त्यहाँ खतनाको नियमलाई लिएर मानिसहरू माझ ठूलो विवाद उठ्यो, किनकि अविश्वासी पति आफ्ना बालबालिकाको खतना गरिनुपर्छ र पूर्ण भइसकेको मोशाको व्ययवस्थालाई पालना गरून् भन्ने चाहन्थे ।

अनि यस्तो हुन गयो कि ती बालबालिकाहरूलाई मोशाको व्यवस्थामा हुर्काइएका कारण, तिनीहरूले आफ्ना पिता-पुर्खाका परम्पराहरूलाई अनुशरण गरे र येशू ख्रीष्टका सुसमाचारलाई विश्वास गरेनन्, जसका कारण तिनीहरू अपवित्र भए ।

यसकारण, परमप्रभुका तर्फबाट नभई आफ्नै तर्फबाट, तिनीहरूलाई एक आज्ञा दिँदै, ती प्रेरितले चर्चलाई लेखे, कि एक विश्वासी कुनै अविश्वासीसँग विवाहित हुनु हुँदैन; जबसम्म मोशाको व्यवस्था तिनीहरूका माझबाट हटाइँदैन,

ताकि तिनीहरूका बालबालिकाहरू खतनाबिना रहन सक्छन्; अनि कि त्यो रीतिरिवाज समाप्त हुन सक्छ, जसले भन्छ कि साना बालबालिकाहरू अपवित्र छन्; किनकि यो यहुदीहरू माझ अभ्यास गरिन्थ्यो;

परन्तु साना बालबालिकाहरू पवित्र छन्, किनभने तिनीहरू येशू ख्रीष्टको प्रायश्चित्तद्वारा पवित्र पारिएका छन्; र धर्मशास्त्रहरूको अर्थ यही नै हो ।