धर्मशास्त्रहरू
सिद्धान्त र करार १००


खण्ड १००

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई पेरिसबर्ग, न्यू योर्कमा, अक्टोवर १२, १८३३ मा दिइएको प्रकाश । दुई बन्धुहरू, धेरै दिनसम्म आफ्नो परिवारबाट टाढा रहँदा, तिनीहरूका सम्बन्धमा केही चिन्ता महसुस गरे ।

१–४, जोसेफ र सिड्नीले आत्माहरूको मुक्तिका लागि सुसमाचार प्रवचन गर्नु पर्छ; ५–८, तिनीहरूले के भन्नु पर्छ त्यो समयमा तिनीहरूलाई दिइने छ; ९–१२, सिड्नी एक प्रवक्ता र जोसेफ एक प्रकाशक र गवाहीमा शक्तिशाली हुनु पर्छ; १३–१७, परमप्रभुले एक विशुद्ध मानिस खडा गर्नुहुने छ र आज्ञाकारीहरूले मुक्ति प्राप्त गर्ने छन् ।

साच्चैँ नै, परमप्रभुले तिमीहरूलाई यसो भन्नुहुन्छ, मेरा मित्रहरू सिड्नी र जोसेफ, तिमीहरूका परिवारहरू स्वस्थ छन्; तिनीहरू मेरा बाहुमा छन् र म तिनीहरूलाई मलाई असल लाग्ने कार्य गर्ने छु; किनकि ममा सबै शक्ति छ ।

त्यसकारण, मलाई अनुशरण गर र मैले तिमीहरूलाई दिने सल्लाह सुन ।

हेर, र अवलोकन गर, मसँग यस स्थानमा, वरपरका क्षेत्रहरूमा धेरै मानिसहरू छन्; र यस पूर्वी भूमिको वरपरका क्षेत्रहरूमा प्रभावकारी ढोका खोलिने छ ।

त्यसकारण, म, परमप्रभुले तिमीहरूलाई यस स्थानमा आउन अनुमति दिएको छु; किनकि आत्माहरूको मुक्तिका लागि ममा यो आवश्यक थियो ।

त्यसकारण, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यी मानिसहरूसामु आफ्नो आवाज उठाओ; तिनै विचारहरू बोल जुन म तिमीहरूका हृदयहरूमा राख्ने छु र मानिसहरूसामु तिमीहरू लज्जित हुने छैनौ;

किनकि यो तिमीहरूलाई त्यही समयमा दिइने छ, हो, त्यही क्षणमा, तिमीहरूले जे भन्ने छौ ।

परन्तु म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि सबै विषयहरूमा तिमीहरूले जे घोषणा गर्छौ त्यो सबै मेरो नाममा, हृदयको गम्भीरतामा, विनम्रताको आत्मामा, गर्ने छौ ।

अनि म तिमीहरूलाई यो प्रतिज्ञा दिन्छु, ताकि जति जति तिमीहरूले यो गर्छौ तिमीहरूले भन्ने सबै वचनहरूको अभिलेख राख्न पवित्र आत्मा पठाइने छ ।

अनि यो ममा उचित छ कि तिमी, मेरा सेवक सिड्नी, यी मानिसहरूको प्रवक्ता हुनु पर्छ; हो, साच्चैँ नै, म तिमीलाई यो बोलावटमा नियुक्त गर्ने छु, मेरा सेवक जोसेफको प्रवक्ता हुन समेत ।

१० अनि म उनलाई गवाहीमा शक्तिशाली हुने शक्ति दिने छु ।

११ अनि म तिमीहरूलाई सबै धर्मशास्त्रहरू व्याख्या गर्ने शक्तिशाली शक्ति दिने छु, ताकि तिमीहरू उनका लागि प्रवक्ता बन्न सक्षम हुन्छौ र उनी तिमीहरूका प्रकाशक हुने छन्, ताकि तिमीहरूले पृथ्वीमा मेरो अधिराज्यका विषयहरूसँग सम्बन्धित सबै विषयहरूको निश्चितता जान्न सक्षम हुन्छौ ।

१२ त्यसकारण, आफ्नो यात्रालाई निरन्तरता देऊ र तिमीहरूका हृदयहरूलाई आनन्दित बनाओ; किनकि हेर र अवलोकन गर, म अन्त्यसम्म समेत तिमीहरूका साथमा छु ।

१३ अनि अब म तिमीहरूलाई सियोनका सम्बन्धमा वचन दिन्छु । सियोनलाई छुट्कारा दिइने छ, यद्यपि थोरै समयका लागि उनलाई हप्काइन्छ ।

१४ तिमीहरूका बन्धुहरू, मेरा सेवकहरू ओर्सन हाइड र जोन गोल्ड, मेरा बाहुमा छन्; अनि तिनीहरूले मेरा आज्ञाहरू पालना गरेमा तिनीहरूलाई मुक्ति प्रदान गरिने छ ।

१५ त्यसकारण, तिमीहरूका हृदयहरूलाई सान्त्वना देओ; किनकि सबै विषयवस्तुहरूले तिनीहरूका लाभका लागि र चर्चको पवित्रीकरणका लागि कार्य गर्ने छन् ।

१६ किनकि म मेरा लागि एकजना विशुद्ध मानिस खडा गर्ने छु, जसले मलाई धार्मिकतामा सेवा गर्ने छ;

१७ अनि परमप्रभुको नाम पुकार्ने र उहाँका आज्ञाहरू पालना गर्ने सबैलाई मुक्ति प्रदान गरिने छ । तसर्थ यस्तै हुने छ । आमीन ।