धर्मशास्त्रहरू
सिद्धान्त र करार १०२


खण्ड १०२

कर्टल्याण्ड, ओहायोमा, फेब्रुअरी १७, १८३४ मा चर्चको पहिलो उच्च परिषद्को सङ्गठनको विवरण । मूल विवरणहरूको एल्डरहरू ओलिभर काउड्री र ओर्सन हाइडद्वारा अभिलेख राखिएको थियो । अगमवक्ताले अर्को दिन विवरणहरू परिमार्जन गरे र अर्को दिन सच्याइएका विवरणहरू चर्चको “उच्च परिषद्को स्थापित् विधि र आधारभूत सिद्धान्तहरू” का रूपमा उच्च परिषद्द्वारा सर्वसम्मतिले स्वीकार गरियो । पदहरू ३० देखि ३२ सम्म, बाह्र प्रेरितहरूको परिषद्सँग सम्बन्धित, १८३५ मा जोसेफ स्मिथको निर्देशनमा थपिएको थियो जब यो खण्ड सिद्धान्त र करारमा प्रकाशनका लागि तयार पारिएको थियो ।

१–८, चर्चमा उत्पन्न हुने महत्त्वपूर्ण कठिनाइहरू समाधान गर्न उच्च परिषद् नियुक्त गरिएको छ; ९–१८, सुनुवाइका अवस्थाहरूका लागि प्रक्रियाहरू दिइन्छ; १९–२३, परिषद्को अध्यक्षले निर्णय प्रस्तुत गर्छ; २४–३४, पुनरावेदन प्रक्रिया प्रस्तुत गरिन्छ ।

यस दिन चौबीस उच्च पादरीहरूको एक सामान्य परिषद् जोसेफ स्मिथ, जुनियरको घरमा प्रकाशद्वारा एकत्रित भयो र ख्रीष्टको चर्चको उच्च परिषद्लाई व्यवस्थित गर्न अगाडि बढ्यो, जसमा बाह्रजना उच्च पादरीहरू समावेश हुनुपर्‍थ्यो र एक वा तीन अध्यक्षहरू अवस्थाअनुसार हुन सक्ने छन् ।

चर्चमा उत्पन्न हुन सक्ने महत्त्वपूर्ण कठिनाइहरू समाधान गर्ने उद्देश्यले उच्च परिषद्लाई प्रकाशद्वारा नियुक्त गरिएको थियो, जुन चर्च वा बिशपको परिषद्ले समूहहरूको सन्तुष्टिमा समाधान गर्न सक्दैन ।

जोसेफ स्मिथ, जुनियर, सिड्नी रिग्डन र फ्रेडरिक जी. विलियम्स् लाई परिषद्को आवाजद्वारा अध्यक्षमा स्वीकार गरियो; र जोसेफ स्मिथ सिनियर, जोन स्मिथ, जोसेफ को, जोन जोन्सन, मार्टिन ह्यारिस, जोन एस्. कार्टर, जेरेड कार्टर, ओलिभर काउड्री, स्यामूएल एच्. स्मिथ, ओर्सन हाइड, सिल्भेस्टर स्मिथ र लूक जोन्सन, उच्च पादरीहरू, परिषद्को सर्वसम्मत आवाजद्वारा, चर्चका लागि स्थायी परिषद्का रूपमा छनोट गरिएका थिए ।

उपर्युक्त नामका परिषद्का सदस्यहरूलाई त्यसपछि तिनीहरूले आफ्नो नियुक्ति स्वीकार गर्छन् कि गर्दैनन् र तिनीहरूले स्वर्गको नियमअनुसार त्यो कार्यालयमा कार्य गर्छन् कि गर्दैनन् भनेर सोधियो, जसमा तिनीहरू सबैले जवाफ दिए कि तिनीहरूले आफ्नो नियुक्ति स्वीकार गरे र परमेश्वरले तिनीहरूलाई दिनुभएको अनुग्रहअनुसार आफ्नो कार्यभार पूरा गर्छन् ।

उपर्युक्त नामका परिषद्का सदस्यहरू नियुक्त गर्न नाममा र चर्चका लागि मतदान गर्ने परिषद्को सङ्ख्या यस प्रकार थियो: नौ उच्च पादरीहरू, सत्र एल्डरहरू, चार पादरीहरू र तेह्र सदस्यहरू ।

मतदान गरियो: कि उपर्युक्त नामका परिषद्का सदस्यहरूमध्ये सात जना वा नियमित रूपमा नियुक्त भएका उत्तराधिकारीहरूबिना उच्च परिषद्ले कार्य गर्ने अधिकार प्राप्त गर्न सक्दैन ।

यी सात जनासँग अन्य उच्च पादरीहरूलाई नियुक्त गर्ने अधिकार हुने छ, जसलाई तिनीहरूले अनुपस्थित परिषद् सदस्यहरूको स्थानमा कार्य गर्न योग्य र सक्षम भएको सोच्न सक्छन् ।

मतदान गरियो: कि जब उपर्युक्त नामका परिषद्का सदस्यहरूमध्ये कुनै एकको मृत्युका कारण, उल्लङ्घनका कारण पदबाट हटाइन्छ वा यस चर्चको प्रशासन क्षेत्र बाहिर भई हटाइएका कारण कुनै पद रिक्त भएमा यो अध्यक्ष वा अध्यक्षहरूको मनोनयनद्वारा पूर्ति गरिने छ र चर्चको नाममा कार्य गर्नको लागि त्यस उद्देश्यका लागि बोलाइएको उच्च पादरीहरूको सामान्य परिषद्को आवाजद्वारा स्वीकृत गरिने छ ।

चर्चका अध्यक्ष, जो परिषद्का अध्यक्ष पनि हुन्, प्रकाशद्वारा नियुक्त गरिन्छ र चर्चको आवाजद्वारा उनको प्रशासनमा स्वीकार गरिन्छ ।

१० अनि यो उनको पदको मर्यादाअनुसार हो कि उनले चर्चको परिषद्को अध्यक्षता गर्नु पर्छ; र अन्य दुई अध्यक्षहरूद्वारा सहयोग पाउनु उनको सुअवसर हो जसलाई सोही तरिकाद्वारा नियुक्त गरियो जसरी उनलाई नियुक्त गरिएको थियो ।

११ अनि उनलाई सहयोग गर्न नियुक्त भएका मध्ये एक वा दुबैको अनुपस्थितिमा, उनलाई सहायक बिना परिषद्को अध्यक्षता गर्ने अधिकार हुन्छ; र यदि उनी आफै अनुपस्थित भएमा, अन्य अध्यक्षहरूलाई दुबै जना वा दुबैमध्ये एक जनालाई उनको सट्टामा अध्यक्षता गर्ने अधिकार हुन्छ ।

१२ ख्रीष्टको चर्चको उच्च परिषद् नियमित रूपमा पहिले उल्लेख गरिएको नमूनाअनुसार सङ्गठित हुँदा, बाह्र परिषद् सदस्यहरूको कर्तव्य हुने छ सङ्ख्याका आधारमा चिट्ठा हाल्नु र यसरी बाह्रमध्ये कसले पहिले बोल्ने हो भनी पत्ता लगाउनु पर्छ, पहिलो नम्बरबाट प्रारम्भ भई सोही क्रममा बाह्र नम्बरसम्म ।

१३ कुनै पनि मुद्दामा कारबाही गर्नका लागि यो परिषद् मा एकत्रित हुँदा, बाह्र जना परिषद् सदस्यहरूले यो कठिन हो वा होइन भनेर विचार गर्ने छ; यदि यो होइन भने, माथि लेखिएको फारमअनुसार दुई जना परिषद् सदस्यहरूले मात्र यसमा बोल्ने छन् ।

१४ परन्तु यदि यो कठीन छ जस्तो लाग्छ भने, चार जना नियुक्त गरिनु पर्छ; र यदि अधिक कठीन छ भने, छ जना; तर कुनै पनि अवस्थामा बोल्नका लागि ६ जनाभन्दा बढी नियुक्त गरिनु हुँदैन ।

१५ अभियुक्तलाई, सबै अवस्थामा, अपमान वा अन्याय रोक्न, परिषद्को आधा अधिकार हुन्छ ।

१६ अनि परिषद् समक्ष बोल्न नियुक्त परिषद् सदस्यहरूले प्रमाणहरू परीक्षण गरिसकेपछि, परिषद्सामु सत्य प्रकाशमा मुद्दा पेश गर्नु पर्छ; र हरेक मानिसले निष्पक्ष र न्याय अनुसार बोल्नु पर्छ ।

१७ सम सङ्ख्या अर्थात् २, ४, ६, ८, १० र १२ अङ्क निकाल्ने परिषद्का सदस्यहरू अभियुक्तको पक्षमा उभिने र अपमान र अन्यायलाई रोक्ने व्यक्ति हुन् ।

१८ सबै अवस्थामा आरोप लगाउने र आरोपितले प्रमाणहरू सुनिसकेपछि र मुद्दामा बोल्न नियुक्त भएका परिषद्का सदस्यहरूले आफ्नो टिप्पणी समाप्त गरेपछि परिषद्सामु बोल्ने विशेषाधिकार प्राप्त गर्ने छन् ।

१९ प्रमाणहरू सुनिसकेपछि, परिषद्का सदस्यहरू, आरोप लगाउने व्यक्ति र अभियुक्तले बोलिसकेपछि, अध्यक्षले मुद्दामा आफूले बुझेको बुझाइअनुसार निर्णय दिने छन् र बाह्र जना परिषद्का सदस्यहरूलाई उनीहरूको मतले स्वीकृत गर्न आह्वान गर्ने छन् ।

२० परन्तु बाँकी परिषद्का सदस्यहरू जसले बोलेका छैनन् वा तीमध्ये कसैले निष्पक्षतापूर्वक प्रमाण र निवेदनहरू सुनेपछि अध्यक्षको निर्णयमा त्रुटि भेटिएमा तिनीहरूले प्रकट गर्न सक्ने छन् र अवस्थाको पुनः सुनुवाइ हुनु पर्छ ।

२१ अनि यदि, सावधानीपूर्वक पुनः सुनुवाइ पछि, मुद्दामा कुनै अतिरिक्त प्रकाश देखिएमा, सोहीअनुसार निर्णय परिमार्जन गरिनु पर्छ ।

२२ परन्तु कुनै थप प्रकाश नदिइएमा, पहिलो निर्णय मान्य हुने छ, परिषद्को बहुमतले निर्णय गर्ने अधिकार हुन्छ ।

२३ सिद्धान्त वा आधारलाई सम्मान गर्न कठिनाइको अवस्थामा, परिषद्को विचारमा अवस्था स्पष्ट पार्न पर्याप्त लेखिएको छैन भने, अध्यक्षले सोधपुछ गरी परमप्रभुको चाहनालाई प्रकाशद्वारा प्राप्त गर्न सक्छन् ।

२४ उच्च पादरीहरू, टाढा हुँदा, पक्ष वा तिनीहरूमध्ये कुनै एकले अनुरोध गर्दा, कठिनाइहरू समाधान गर्न माथि उल्लिखित तरिकाअनुसार परिषद् बोलाउने र आयोजना गर्ने अधिकार हुन्छ ।

२५ अनि उच्च पादरीहरूको उक्त परिषद्लाई तत्कालका लागि त्यस्तो परिषद्को अध्यक्षता गर्न तिनीहरूको आफ्नै सङ्ख्या मध्ये एक जना नियुक्त गर्ने अधिकार हुने छ ।

२६ तिनीहरूको कार्यवाहीको प्रतिलिपि, तिनीहरूको निर्णयसँगै गवाहीको पूर्ण विवरणसहित, चर्चको प्रथम अध्यक्षताको प्रधान कार्यालयको उच्च परिषद् मा तत्कालै पठाउने यो उक्त परिषद्को कर्तव्य हुने छ ।

२७ उक्त परिषद्को निर्णयसँग दुबै समूहहरू वा तिनीहरूमध्ये कुनै एक असन्तुष्ट भएमा, तिनीहरूले चर्चको प्रथम अध्यक्षताको मुख्यालयको उच्च परिषद् मा पुनरावेदन गर्न सक्छन् र पुनः सुनुवाइ गर्न सक्छन्, पहिलेको ढाँचामा लेखिएअनुसार त्यहाँ कुन मुद्दा चलाइने छ, जस्तो कि यस्तो कुनै निर्णय गरिएको थिएन ।

२८ टाढा रहेका उच्च पादरीहरूको यो परिषद्लाई चर्चका सम्बन्धमा सबैभन्दा कठिन अवस्थाहरूमा मात्र बोलाइन्छ; र कुनै पनि सामान्य वा साधारण अवस्थामा त्यस्तो परिषद् बोलाउन पर्याप्त कारण हुँदैन ।

२९ यात्रा गर्ने वा टाढा अवस्थित उच्च पादरीहरूसँग त्यस्तो परिषद् बोलाउनु आवश्यक छ वा छैन भन्न सक्ने अधिकार हुन्छ ।

३० उच्च परिषद् वा यात्रा गर्ने उच्च पादरीहरू र बाह्र प्रेरितहरू मिलेर बनेको यात्रा गर्ने उच्च परिषद्, तिनीहरूका निर्णयहरूमा भिन्नता छ ।

३१ पहिलोको निर्णयबाट त्यहाँ पुनरावेदन हुन सक्छ; तर पछिल्लोको निर्णयबाट त्यहाँ हुन सक्दैन ।

३२ पछिल्लालाई चर्चका साधारण अधिकारीहरूले उल्लङ्घनका सम्बन्धमा मात्र प्रश्न गरिन सक्छ ।

३३ निर्णय गरियो: कि चर्चको प्रथम अध्यक्षताको प्रधान कार्यालयका अध्यक्ष वा अध्यक्षहरूलाई पुनरावेदन गर्न सकिने कुनै पनि मुद्दा, पुनरावेदन र प्रमाणहरू र साथका कथनहरू परीक्षण गरिसकेपछि पुनः सुनुवाइको अधिकार छ कि छैन भनेर निर्धारण गर्ने अधिकार हुने छ ।

३४ त्यसपछि बाह्र जना परिषद् सदस्यहरूले चिट्ठा वा मतपत्र हाल्न अघि बढे, कसले पहिले बोल्ने भनेर पत्ता लगाउन र परिणामहरू निम्न थिए, ती हुन्: १, ओलिभर काउड्री; २, जोसेफ को; ३, स्यामूएल एच् स्मिथ; ४, लुक जोन्सन; ५, जोन एस्. कार्टर; ६, सिल्भेस्टर स्मिथ; ७, जोन जोन्सन; ८, ओर्सन हाइड; ९, जेरेड कार्टर; १०, जोसेफ स्मिथ सिनियर; ११, जोन स्मिथ; १२, मार्टिन ह्यारिस ।प्रार्थनापश्चात् सम्मेलन स्थगित भयो ।

ओलिवर काउड्री,

ओर्सन हाइड,

कारिन्दाहरू