धर्मशास्त्रहरू
सिद्धान्त र करार ५४


खण्ड ५४

अगमवक्ता जोसेफ स्मिथद्वारा नुवल नाइटलाई कर्टल्याण्ड, ओहायोमा, जुन १०, १८३१ मा दिइएको प्रकाश । थम्सन, ओहायोमा बस्ने सदस्यहरू समर्पित गरिएका सम्पत्तिहरूका सम्बन्धमा प्रश्न उठाउँदै विभाजित भए । स्वार्थ र लोभ देखा पर्‍यो । शेकर्सहरूमाझ सुसमाचार प्रचार पछि (हेर्नुहोस् खण्ड ४९ को शीर्षक), लेमन कोप्लेले आफ्नो विशाल खेत कोल्सविल, न्यू योर्कबाट आउने सन्तहरूलाई उत्तराधिकारको स्थानका रूपमा समर्पित गरिदिने उनको करार तोडेका थिए । परिणाम स्वरुप, नुवल नाइट (थम्सनमा बस्ने सदस्यहरूका अगुवा) र अन्य एल्डरहरू कसरी अगाडि बढ्ने भनेर सोध्न अगमवक्ताकहाँ आएका थिए । अगमवक्ताले परमप्रभुलाई सोधे र यो प्रकाश प्राप्त गरे, जसमा थम्सनका सदस्यहरूलाई लेमन कोप्लेको खेत छोड्न अनि मिजोरीतर्फ यात्रा गर्न आज्ञा गरिन्छ ।

१–६, कृपा प्राप्त गर्न सन्तहरूले सुसमाचारका करारको पालना गर्नु पर्छ; ७–१०, तिनीहरू महासङ्कटमा धैर्यवान् हुनु पर्छ ।

हेर, परमप्रभु यसो भन्नुहुन्छ, अल्फा र ओमेगालाई, प्रारम्भ र अन्त्यलाई, उहाँ समेत जसलाई संसारका पापहरूका लागि क्रूसमा टाँगिनु भएको थियो—

हेर साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, मेरा सेवक नुवल नाइट, मैले तिमीलाई नियुक्त गरेको विभागमा तिमी दृढ भएर उभिनु पर्ने छ ।

अनि यदि तिम्रा बन्धुहरू आफ्ना शत्रुहरूबाट उम्कन चाहन्छन् भने, उनीहरूले आफ्ना सबै पापहरूको पश्चात्ताप गर्नु पर्छ र मेरासामु साच्चैँ विनम्र र पश्चात्तापी बन्नु पर्छ ।

अनि उनीहरूले मसँग गरेका करार तोडिएकाले, यो शून्य र प्रभावहीन भएको छ ।

अनि धिक्कार छ उसलाई जसद्वारा यो अपराध आयो, किनकि ऊ समुद्रको गहिराइमा डुबेको भए उसका लागि उपयुक्त हुने थियो ।

परन्तु तिनीहरू अशीषित छन् जसले करारलाई पालना गरेका छन् र आज्ञाको पालना गरेका छन् किनकि तिनीहरूले कृपा प्राप्त गर्ने छन् ।

यसकारण, अब जाओ र यस भूमिबाट भाग, अन्यथा तिमीहरूका शत्रुहरू तिमीहरूकहाँ आउने छन्; अनि तिमीहरूका यात्रा सुरु गर, अनि तिमीहरूका इच्छाअनुसार कसैलाई आफ्ना अगुवा बन्न र तिमीहरूका लागि पैसा तिर्न नियुक्त गर ।

अनि यसरी तिमीहरूले आफ्नो यात्रा पश्चिमी क्षेत्रमा मिजोरीको भूमितर्फ, लमानीहरूका सिमाहरूतर्फ गर्नु पर्छ ।

अनि तिमीहरूको यात्रा टुङ्गिएपछि, हेर, म तिमीहरूलाई भन्छु, मैले तिमीहरूका लागि एक स्थान तयार नपारेसम्म अन्य मानिसहरूले जस्तै तिमीहरूले जीविकोपार्जनको खोजी गर ।

१० अनि, पुनः, म नआउन्जेलसम्म महासङ्कटमा धैर्यवान् होऊ; अनि, हेर, म छिट्टै आउँछु, अनि मेरो पुरस्कार मसँगै छ, अनि उनीहरू जसले मलाई सुरुदेखि नै खोजेका छन् आफ्ना जीवात्मामा शान्ति प्राप्त गर्ने छन् । अनुसार समेत । आमीन ।