धर्मशास्त्रहरू
सिद्धान्त र करार ६६


खण्ड ६६

अगमवक्ता जोसेफ स्मिथद्वारा हाइरम, ओहायोमा, अक्टोबर २९, १८३१ मा दिइएको प्रकाश । विलियम ई. मक्लेलिनले गोप्य रूपमा अगमवक्ताद्वारा पाँच प्रश्नहरूका उत्तरको जानकारी प्राप्त गर्न परमप्रभुसँग बिन्ती गरेका थिए, जसका सम्बन्धमा जोसेफ स्मिथ अज्ञात थिए । मक्लेलिनको अनुरोधमा अगमवक्ताले परमप्रभुलाई सोधे अनि यो प्रकाश प्राप्त गरे ।

१–४, अनन्त करार सुसमाचारको परिपूर्णता हो; ५–८, एल्डरहरूले प्रवचन दिनुपर्छ, गवाही दिनुपर्छ र मानिसहरूसँग छलफल गर्नु पर्छ; ९–१३, आस्थावान् परोपकारी सेवाले अनन्त जीवनको उत्तराधिकार निश्चित गर्छ ।

हेर, परमप्रभु मेरा सेवक विलियम ई. मक्लेलिनलाई यसो भन्नुहुन्छ—तिमी आशीषित छौ, जति जति तिमीले तिम्रा दुष्टताहरूलाई त्यागेका छौ र मेरा सत्यता ग्रहण गरेका छौ, वास्तवमा मेरा नाममा विश्वास गर्नेहरू जति सबैको संसारका मुक्तिदाता, परमप्रभु तिम्रा उद्धारकर्ता भन्नुहुन्छ ।

साच्चैँ नै म तिमीलाई भन्छु, तिमी आशीषित छौ मानिसहरूका छोराछोरीहरूमा पठाइएका मेरा अनन्त करार, मेरा सुसमाचारको परिपूर्णता ग्रहण गरेका कारण, ताकि तिनीहरूले जीवन प्राप्त गर्न सक्छन् र प्राचीन दिनका अगमवक्ताहरू र प्रेरितहरूले लेखेअनुसार अन्तिम दिनहरूमा प्रकट गरिने महिमाहरूका सहभागी बनाइन सक्छन् ।

साच्चैँ नै म तिमीलाई भन्छु, मेरा सेवक विलियम, कि तिमी शुद्ध छौ, तर पूर्ण रूपमा होइन; त्यसकारण, परमप्रभु भन्नुहुन्छ, मेरो दृष्टिमा सन्तोषजनक नभएका विषयहरूको पश्चात्ताप गर, कि परमप्रभुले ती विषयहरू तिमीलाई देखाउनुहुने छ ।

अनि अब, साच्चैँ नै, म, परमप्रभु, तिम्रा सम्बधमा म के चाहन्छु तिमीलाई देखाउँछु अथवा तिम्रा सम्बन्धमा मेरो चाहना के हो ।

हेर, साच्चैँ नै, म तिमीलाई भन्छु, कि यो मेरो चाहना हो कि तिमीले मेरो सुसमाचार एउटा भूमिदेखि अर्को भूमिसम्म र एउटा सहरदेखि अर्को सहरसम्म घोषणा गर्नुपर्छ, हो, ती क्षेत्रहरू वरिपरि जहाँ यसको घोषणा भएको छैन ।

यो स्थानमा धेरै दिन नबस्नू; सियोनको भूमिमा अझै नजानू; तर तिमीले जति जतिलाई पठाउन सक्छौ पठाऊ; अन्यथा तिमीले आफ्ना सम्पत्तिका सम्बन्धमा नसोच ।

पूर्वी भूमिहरूमा जाऊ, प्रत्येक स्थानमा, प्रत्येक मानिसलाई र सभा-गृहहरूमा तर्क दिँदै गवाही देऊ ।

मेरा सेवक स्यामूयल एच. स्मिथ तिमीसँग जानुपर्छ र उनलाई नछोड अनि तिम्रा निर्देशनहरू देऊ; अनि जो आस्थावान् छ उसलाई हरेक स्थानमा बलियो बनाइने छ; अनि म, परमप्रभु, तिमीसँग जाने छु ।

बिरामीहरूमाथि आफ्ना हातहरू राख र उनीहरू निको हुने छन् । म, परमप्रभुले, तिमीलाई नपठाएसम्म, नफर्कनू । कष्टहरूमा धीर होऊ । माग र तिमीले प्राप्त गर्ने छौ; ढक्ढक्याओ र त्यो तिम्रा निम्ति उघारिने छ ।

१० बोझिलो नहुन प्रयास गर । सबै अधार्मिकतालाई त्याग । व्यभिचार नगर—प्रलोभन जसबाट तिमी सताइएका छौ ।

११ यी भनाइहरूको पालना गर, किनकि ती सत्य र विश्वासिला छन्; अनि तिमीले आफ्नो विभागको सम्मान गर्नुपर्छ र धेरै मानिसहरूलाई तिनीहरूको शिरमाथि अनन्त खुशीको गीतका साथ सियोनतर्फ एकत्रित गराउनु पर्छ ।

१२ यी कार्यहरूमा अन्त्यसम्म निरन्तरता देऊ र तिमीले मेरा पिताको दाहिने हाततर्फ अनन्त जीवनको मुकुट प्राप्त गर्ने छौ, जो अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्छ ।

१३ साच्चैँ नै, परमप्रभु तिम्रा परमेश्वर, तिम्रा उद्धारकर्ता, जो येशू ख्रीष्ट हुनुहुन्छ, यसो भन्नुहुन्छ । आमीन ।