धर्मशास्त्रहरू
सिद्धान्त र करार १०३


खण्ड १०३

अगमवक्ता जोसेफ स्मिथद्वारा कर्टल्याण्ड, ओहायोमा, फेब्रुअरी २४, १८३४ मा दिइएको प्रकाश । यो प्रकाश पार्ली पि. प्राट र लाइमन वाइटको कर्टल्याण्ड, ओहायोमा आगमन पछि प्राप्त भएको थियो, जो मिजोरीबाट ज्याक्सन प्रदेशमा सन्तहरूलाई उनीहरूको भूमिमा राहत र पुनर्स्थापनाका लागि अगमवक्तासँग सल्लाह गर्न आएका थिए ।

१–४, किन परमप्रभुले ज्याक्सन प्रदेशका सन्तहरूलाई सताइन अनुमति दिनुभयो; ५–१०, यदि सन्तहरूले आज्ञाहरू पालना गर्छन् भने तिनीहरू विजयी हुने छन्; ११–२०, सियोनको छुटकारा शक्तिद्वारा आउने छ र परमप्रभु उहाँका मानिसहरूका अगाडि जानु हुने छ; २१–२८, सन्तहरू सियोनमा एकत्रित हुनु पर्छ र आफ्नो प्राण अर्पण गर्नेहरूले तिनीहरूलाई पुनः भेट्टाउने छन्; २९–४०, विभिन्न बन्धुहरूलाई सियोनको शिविर व्यवस्थित गर्न र सियोन जान बोलाइन्छ; यदि तिनीहरू आस्थावान् भएमा उनीहरूलाई विजयको प्रतिज्ञा गरिएको छ ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, हेर, म तिमीहरूलाई एउटा प्रकाश र आज्ञा दिने छु, ताकि तिमीहरूले सियोनको भूमिमा छरिएका आफ्ना बन्धुहरूको मुक्ति र उद्धारका सम्बन्धमा आफ्ना कर्तव्यहरूको निर्वाहमा कसरी कार्य गर्ने भनेर बुझ्न सक्षम हुन सक्छौ;

जो मेरा शत्रुहरूका हातबाट लखेटिए र प्रहार भए, ती शत्रुहरू जसमाथि मेरो क्रोध म आफ्नै समयमा बिना मापन खन्याउने छु ।

किनकि मैले तिनीहरूलाई अहिले सम्म अनुमति दिएको छु, ताकि तिनीहरूले आफ्ना दुष्टताको नाप भर्न सक्छन्, ताकि तिनीहरूको प्याला भरिन सक्छ;

अनि मेरो नामद्वारा पुकारिनेहरूलाई थोरै समयका लागि पीडादायी र कठोर सजायका साथ हप्काइन सक्छ किनकि तिनीहरूले मैले उनीहरूलाई दिएका निर्देशन र आज्ञाहरू पूर्ण रूपमा सुनेनन् ।

परन्तु म तिमीहरूलाई साच्चैँ नै भन्छु, कि मैले एउटा उर्दी जारी गरेको छु जुन मेरा मानिसहरूले महसुस गर्ने छन्, जति जति तिनीहरूले यही क्षणबाट सल्लाह सुन्ने छन् जुन म, परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिने छु ।

हेर, तिनीहरू, किनकि मैले यो उर्दी गरेको छु, यही क्षणबाट मेरा शत्रुहरू विरुद्ध विजयी हुन सुरू गर्ने छन् ।

अनि म, परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूसामु बोल्ने सबै वचनहरू पालना गर्न सावधान रहँदै, संसारका अधिराज्यहरू मेरा पाउमुनि नराखेसम्म र पृथ्वी सन्तहरूलाई सदा र सदासर्वदाका लागि अधिकार नदिइएसम्म विजयी हुन तिनीहरू कहिल्यै रोकिने छैनन् ।

परन्तु तिनीहरूले मेरा आज्ञाहरू पालना गर्दैनन् र मेरा सबै वचनहरू पालना गर्न सुन्दैनन् भने संसारका अधिराज्यहरू तिनीहरूका विरुद्धमा विजयी हुने छन् ।

किनकि तिनीहरू संसारका लागि ज्योति हुन र मानिसहरूका मुक्तिदाता हुन नियुक्त गरिएका थिए;

१० अनि जति जति तिनीहरू मानिसहरूका मुक्तिदाताहरू होइनन्, तिनीहरू नुनजस्तै हुन् जसले यसको स्वाद गुमाएका छन् र त्यसपछि बाहिर फ्याँकिन र मानिसहरूको पाउमुनि कुल्चन बाहेक अरू केहीका लागि उपयोगी हुँदैन ।

११ परन्तु म तिमीहरूलाई साच्चैँ नै भन्छु, मैले उर्दी गरेको छु कि तितरबितर भएका तिमीहरूका बन्धुहरू आफ्नो उत्तराधिकारको भूमिमा फर्किने छन् र सियोनको उजाड स्थानहरू निर्माण गर्ने छन् ।

१२ किनकि अधिक महासङ्कष्ट पछि, मैले तिमीहरूलाई पहिलेको आज्ञामा भने जस्तै, आशीर्वादहरू आउने छन् ।

१३ हेर, यो आशीर्वाद हो जुन मैले तिमीहरूका महासङ्कष्टहरू र तिमीहरूका बन्धुहरूका महासङ्कष्टहरू पछि प्रतिज्ञा गरेको छु—तिमीहरूको उद्धार र तिमीहरूका बन्धुहरूको उद्धार, सियोनको भूमिमा तिनीहरूको पुनर्स्थापना, स्थापित् हुन, पुनः कहिल्यै नफ्याँकिन ।

१४ यद्यपि, यदि तिनीहरूले आफ्नो उत्तराधिकारलाई दूषित पारे भने तिनीहरू तल फ्याँकिने छन्; किनभने यदि तिनीहरूले आफ्नो उत्तराधिकारलाई दूषित गरे भने म तिनीहरूलाई छाड्ने छैन ।

१५ हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, सियोनको उद्धार शक्तिद्वारा आउनु पर्छ;

१६ त्यसकारण, म मेरा जनहरूका लागि एक जना मानिस खडा गर्ने छु, जसले तिनीहरूलाई मोशाले इस्राएलका सन्ततिहरूलाई अगुवाइ गरे जस्तै नेतृत्व गर्ने छन् ।

१७ किनकि तिमीहरू इस्राएलका सन्तान र अब्राहामका सन्तति हौ र तिमीहरूलाई शक्तिद्वारा र तन्किएको बाहुसहित दासत्वबाट बाहिर ल्याउनु आवश्यक छ ।

१८ अनि जसरी तिमीहरूका पिता-पुर्खाहरूलाई पहिले अगुवाइ गरियो, त्यसरी नै सियोनको उद्धार हुने छ ।

१९ त्यसकारण, तिमीहरूका हृदयहरू कमजोर नहोऊन्, किनकि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई भने जस्तै म तिमीहरूलाई भन्दिनँ: तर मेरो उपस्थिति नभई मेरा स्वर्गदूत तिमीहरूसामु जाने छन् ।

२० परन्तु म तिमीहरूलाई भन्छु: मेरा स्वर्गदूतहरू तिमीहरूका अघि माथि जाने छन् र मेरो उपस्थिति पनि र समयमा तिमीहरूले असल भूमि प्राप्त गर्ने छौ ।

२१ साच्चैँ नै, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि मेरा सेवक जोसेफ स्मिथ जुनियर, त्यो मानिस हो जसलाई मैले त्यो सेवकसँग तुलना गरेँ जसलाई अङ्गुरको बगैँचाका परमप्रभुले मैले तिमीहरूलाई दिएको दृष्टान्तमा बोल्नु भयो ।

२२ त्यसकारण मेरा सेवक जोसेफ स्मिथ जुनियरले, मेरो गृहको शक्ति, मेरा जवानहरू र अधबैंसे उमेरकाहरूलाई भन्नु पर्छ—सियोनको भूमिमा आफूलाई एकत्रित गराओ, जुन भूमिलाई मैले पैसाले किनेको छु जुन मलाई समर्पित गरिएको छ ।

२३ अनि सबै चर्चहरूले आफ्नो पैसाले बुद्धिमानी मानिसहरू पठाउनु पर्छ र मैले तिनीहरूलाई आज्ञा गरे जस्तै जमीनहरू किन्नु पर्छ ।

२४ अनि जति जति मेरा शत्रुहरू तिमीहरूलाई मेरो असल भूमिबाट धपाउन तिमीहरूका विरुद्धमा आउँछन्, जुन मैले सियोनको भूमि हुन पवित्र गरेको छु, तिमीहरूको आफ्नै भूमिबाट समेत यी साक्षीहरू पछि, जुन तिमीहरूले तिनीहरूका विरुद्धमा मेरासामु ल्याएका छौ, तिमीहरूले तिनीहरूलाई सराप्ने छौ;

२५ अनि जसलाई तिमीहरूले सराप्छौ, म सराप्ने छु र तिमीहरूले मेरा शत्रुहरूबाट मलाई बदला लिने छौ ।

२६ अनि मलाई घृणा गर्ने तेस्रो र चौथो पुस्तालाई मेरा शत्रुहरूबाट बदला लिने क्रममा समेत मेरो उपस्थिति तिमीहरूसँग हुने छ ।

२७ मेरा लागि आफ्नो प्राण अर्पण गर्न कोही पनि डराउनु हुँदैन; किनकि जसले मेरा लागि आफ्नो प्राण अर्पण गर्छ उसले त्यो पुनः भेट्टाउने छ ।

२८ अनि जो मेरा लागि आफ्नो प्राण अर्पण गर्न इच्छुक छैन, त्यो मेरो शिष्य होइन ।

२९ यो मेरो चाहना हो कि मेरा सेवक सिड्नी रिग्डनले चर्चहरूलाई सियोनको पुनर्स्थापना र उद्धारका सम्बन्धमा मैले उनीहरूलाई दिएको आज्ञाहरू पालना गर्न तयार पार्दै पूर्वी देशहरूका सभाहरूमा आफ्नो आवाज उठाउने छन् ।

३० यो मेरो चाहना हो कि जबसम्म तिनीहरूले सियोनको भूमिमा जानका लागि साथीहरू प्राप्त गर्दैनन्, दशौँ वा बीसौँ वा पचासौँ वा सयौँ, मेरो गृहको शक्तिको पाँच सयौँको सङ्ख्यामा तिनीहरूले प्राप्त नगरेसम्म मेरा सेवक पार्ली पि. प्राट र मेरा सेवक लाइमन वाइट आफ्ना बन्धुहरूको भूमिमा फर्कनु हुँदैन ।

३१ हेर यो मेरो चाहना हो; माग र तिमीहरूले प्राप्त गर्ने छौ; तर मानिसहरूले सधैँ मेरो चाहना पूरा गर्दैनन् ।

३२ त्यसकारण, यदि तिमीहरूले पाँच सय प्राप्त गर्न सक्दैनौ भने, प्रयास गर ताकि सम्भवतः तिमीहरूले तीन सय प्राप्त गर्न सक्छौ ।

३३ त्यसकारण, यदि तिमीहरूले तीन सय प्राप्त गर्न सक्दैनौ भने, प्रयास गर ताकि सम्भवतः तिमीहरूले एक सय प्राप्त गर्न सक्छौ ।

३४ परन्तु म तिमीहरूलाई साच्चैँ नै भन्छु, म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि तिमीहरूले सियोनको भूमिमा तिमीहरूसँग जान मेरो गृहको एक सय शक्ति प्राप्त नगरेसम्म सियोनको भूमिमा तिमीहरू जानु हुँदैन ।

३५ त्यसकारण, मैले तिमीहरूलाई भनेअनुसार माग र तिमीहरूले प्राप्त गर्ने छौ; दृढतापूर्वक प्रार्थना गर ताकि सम्भवतः मेरा सेवक जोसेफ स्मिथ जुनियर, तिमीहरूसँग जान सक्छन् र मेरा मानिसहरूका बीचमा अध्यक्षता गर्न सक्छन् र पवित्रिकृत भूमिमा मेरो अधिराज्यलाई सङ्गठित गर्न सक्छन् र तिमीहरूलाई दिइएका र दिइने नियमहरू र आज्ञाहरूमा सियोनका सन्ततिहरूलाई स्थापित गक्छन् ।

३६ सबै विजय र महिमा तिमीहरूको लगनशीलता, आस्थावादिता र आस्थाको प्रार्थनाद्वारा तिमीहरूकहाँ ल्याइएको छ ।

३७ मेरा सेवक पार्ली पि. प्राटले मेरा सेवक जोसेफ स्मिथ जुनियरसँग यात्रा गर्नु पर्छ ।

३८ मेरा सेवक लाइमन वाइटले मेरा सेवक सिड्नी रिग्डनसँग यात्रा गर्नु पर्छ ।

३९ मेरा सेवक हाइरम स्मिथले मेरा सेवक फ्रेडरिक जि विलियम्स् सँग यात्रा गर्नु पर्छ ।

४० मेरा सेवक ओर्सन हाइडले मेरा सेवक ओर्सन प्राटसँग यात्रा गर्नु पर्छ, जहाँ कहीँ भए पनि मेरा सेवक जोसेफ स्मिथ जुनियरले उनीहरूलाई सल्लाह दिने छन्, मैले तिमीहरूलाई दिएको यी आज्ञाहरूको पूर्णता प्राप्त गर्न र बाँकी मेरो हातमा छोडिदेऊ । तसर्थ यस्तै हुने छ । आमीन ।