धर्मशास्त्रहरू
सिद्धान्त र करार ११


खण्ड ११

अगमवक्ता जोसेफ स्मिथद्वारा आफ्ना दाजु हाइरम स्मिथलाई हार्मोनी, पेन्सिल्भेनियामा मे १८२९ मा दिइएको प्रकाश । यो प्रकाश जोसेफको बिन्ती र सोधपुछको उत्तरमा ऊरीम र तुम्मीमका माध्यमबाट प्राप्त गरिएको थियो । जोसेफ स्मिथको इतिहासले पेश गर्छ कि यो प्रकाश हारुनको पादरीत्वको पुनर्स्थापनापछि प्राप्त भएको हो ।

१–६, अङ्गुरको बगैँचाका मजदुरहरूले मुक्ति पाउने छन्; ७–१४, ज्ञान खोज, पश्चात्तापको घोषणा गर, आत्मामा विश्वास गर; १५–२२, आज्ञाहरूको पालना गर, अनि परमप्रभुका वचनलाई अध्ययन गर; २३–२७, प्रकाश र अगमवाणीको आत्मालाई अस्वीकार नगर; २८–३०, तिनीहरू जसले ख्रीष्टलाई ग्रहण गर्दछन् परमेश्वरका पुत्रहरू बन्छन् ।

एक महान् अनि विस्मयकारी कार्य मानिसहरूका छोराछोरीहरू अघि आउँदैछ ।

हेर, म परमेश्वर हुँ; मेरा वचनलाई ध्यान देऊ, जुन जिउँदो अनि शक्तिशाली छ, दुईधारे तरबारभन्दा पनि धारिलो छ, जोर्नी र हड्डीको मासी दुबैलाई टुक्रा टुक्रा पार्ने; त्यसैले मेरा वचनलाई ध्यान देऊ ।

हेर, बाली काट्नका लागि सेतो भएको छ; त्यसकारण, जसले फसल काट्ने इच्छा गर्छ उसले आफ्नो बलका साथ हँसियाले जोर लगाउनु पर्छ, अनि दिन रहुन्जेलसम्म फसल काट्नु पर्छ, ताकि उसले परमेश्वरको अधिराज्यमा आफ्नो जीवात्माका लागि चिरस्थायी मुक्ति भण्डार गरोस् ।

हो, जसले आफ्नो हँसियाले जोर लगाउने छ र फसल काट्ने छ, उसैलाई परमेश्वरद्वारा बोलावट गरिन्छ ।

त्यसकारण, यदि तिमीले मलाई सोधेमा तिमीले प्राप्त गर्ने छौ; यदि तिमीले ढकढक्याएमा यो तिम्रो लागि उघारिने छ ।

अब, तिमीले सोधेकाले, हेर, म तिमीलाई भन्छु, मेरा आज्ञाहरूको पालना गर, अनि सियोनको उद्देश्यलाई अघि ल्याउन र स्थापित गर्नका लागि प्रयास गर ।

धन नखोज तर ज्ञान खोज; अनि, हेर, परमेश्वरका रहस्यहरू तिमी सामु खोलिने छन्, अनि त्यसपछि तिमीलाई धनवान् बनाइने छ । हेर, ऊ जोसँग अनन्त जीवन छ धनवान् छ ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, तिमीले मबाट इच्छा गरेकाले तिमीमा त्यस्तै हुने छ; अनि, यदि तिमीले चाहना गरेमा, तिमी यस समयावधिका लागि धेरै असल गर्ने माध्यम हुने छौ ।

यस पुस्तालाई पश्चात्तापबाहेक अरू केही नभन । मेरा आज्ञाहरूको पालना गर, अनि मेरा कार्यलाई मेरा आज्ञाअनुसार अघि ल्याउन सहायता गर, अनि तिमीले आशीर्वाद प्राप्त गर्ने छौ ।

१० हेर, तिमीसँग एक उपहार छ, अथवा येशू ख्रीष्टको शक्तिमा वा तिम्रासामु बोल्दै गरेका मेरा शक्तिमा विश्वास गरेमा वा यदि तिमीले इमानदार हृदयले आस्थासहित मबाट इच्छा गरेमा तिमीले एक उपहार प्राप्त गर्ने छौ;

११ किनकि, हेर, त्यो म नै हुँ जो बोल्छु; हेर, म प्रकाश हुँ जो अँध्यारामा चम्कन्छु, अनि मेरो शक्तिद्वारा म तिमीलाई यी वचनहरू दिन्छु ।

१२ अनि अब, साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, तिम्रो आस्था त्यो आत्मामा राख जसले सत्कर्म गर्न—हो, न्यायसंगत कार्य गर्न, नम्रतापूर्वक हिंड्न, धार्मिकतामा न्याय दिन प्रभावित गर्छ; अनि यो नै मेरो आत्मा हो ।

१३ साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, म तिमीलाई मेरो आत्माका सम्बन्धमा जानकारी दिन्छु, जसले तिम्रो मस्तिष्कमा ज्ञान दिन्छ, जसले तिम्रो जीवात्मालाई प्रसन्नताले भर्ने छ;

१४ अनि त्यसपछि तिमीले थाहा पाउने छौ, अथवा यसद्वारा तिमीले सबै विषयहरू थाहा पाउने छौ, जुन तिमीले मबाट इच्छा गर्छौ, जुन धार्मिकताका विषयहरू सम्बन्धी हुन्, ममा आस्थाद्वारा विश्वास गर्दै कि तिमीले प्राप्त गर्ने छौ ।

१५ हेर, म तिमीलाई आज्ञा दिन्छु कि तिमीलाई नबोलाइएसम्म प्रवचन दिन बोलाइएको छ भनेर तिमीले नसोच्नू ।

१६ अलि समय पर्ख, तिमीले मेरा वचन, मेरो चट्टान, मेरो चर्च, अनि मेरो सुसमाचार नपाउन्जेलसम्म, ताकि तिमीले मेरो सिद्धान्त निश्चितताका साथ बुझ्न सक्षम हुन सक्छौ ।

१७ अनि त्यसपछि, हेर, तिम्रा चाहनाहरूअनुसार, हो, तिम्रो आस्थाअनुसार समेत यो तिम्रा लागि गरिने छ ।

१८ मेरा आज्ञाहरूको पालना गर; शान्त होऊ; मेरो आत्मासामु अनुरोध गर;

१९ हो, तिम्रो पूर्ण हृदयले ममा लाग, ताकि भनिएका ती विषयहरूलाई प्रकाशमा ल्याउन तिमीले सहायता गर्न सक्षम होऊ—हो, मेरा कार्यको अनुवाद; तिमीले यसलाई पूरा नगरेसम्म धीर होऊ ।

२० हेर, यो तिम्रो कार्य हो, हो, तिम्रा सबै क्षमता, मस्तिष्क र सामर्थ्यका साथ मेरा आज्ञाहरू पालना गर्ने ।

२१ मेरा वचन घोषणा गर्न नखोज, तर पहिले मेरा वचन प्राप्त गर्न खोज, अनि त्यसपछि तिम्रो जिब्राको बन्धन फुकिने छ; त्यसपछि, यदि तिमीले चाहेमा तिमीले मेरो आत्मा अनि मेरा वचन पाउन सक्ने छौ, हो, मानिसहरूलाई विश्वास दिलाउने परमेश्वरको शक्ति ।

२२ परन्तु अब शान्त होऊ; मानिसहरूका छोराछोरीहरूमाझ गएका मेरा वचनलाई अध्ययन गर, अनि मानिसहरूका छोराछोरीहरूमाझ आउने मेरा वचनलाई पनि अध्ययन गर, अथवा ती जुन अहिले अनुवाद हुँदै छन्, हो, मैले यस समयावधिमा मानिसहरूका छोराछोरीहरूलाई दिने ती सबै तिमीले प्राप्त नगरेसम्म, अनि त्यसपछि सबै विषयवस्तुहरू यसमा थपिने छन् ।

२३ हेर तिमी हाइरम हौ, मेरा पुत्र; परमेश्वरको अधिराज्यको खोजी गर, अनि त्यसमा सबै विषयवस्तुहरू थपिने छन् जुन न्यायोचित छ ।

२४ मेरो चट्टानमा बनाऊ, जुन मेरो सुसमाचार हो;

२५ प्रकाशको आत्मालाई अस्वीकार नगर, न त अगमवाणीको आत्मालाई नै, किनकि धिक्कार छ त्यसलाई जसले यी विचारहरूलाई अस्वीकार गर्छ;

२६ त्यसकारण, तिम्रो हृदयमा सह्मालेर राख त्यो समयसम्म जब तिमी मेरो ज्ञानमा अघि जाने छौ ।

२७ हेर, म सबैलाई भन्छु जसमा राम्रो चाहना छ, अनि आफ्नो हँसियाले जोर लगाएको छ र फसल काटेको छ ।

२८ हेर, म परमेश्वरको पुत्र येशू ख्रीष्ट हुँ । म संसारको जीवन र ज्योति हुँ ।

२९ म मेरा आफ्नाहरू समक्ष आएँ र मेरा आफ्नाहरूले मलाई ग्रहण गरेनन्;

३० परन्तु साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, कि जतिले मलाई ग्रहण गर्छन्, उनीहरूलाई म परमेश्वरका छोराहरू बन्न अधिकार दिने छु, तिनीहरूलाई समेत जसले मेरो नाममा विश्वास गर्दछन् । आमीन ।