धर्मशास्त्रहरू
सिद्धान्त र करार ५९


खण्ड ५९

अगमवक्ता जोसेफ स्मिथद्वारा सियोन, ज्याक्सन काउन्टी, मिजोरीमा, अगष्ट ७, १८३१ मा दिइएको प्रकाश । यो प्रकाश अगाडि, परमप्रभुका निर्देशनअनुसार त्यस भूमिलाई पवित्र पारियो अनि भविष्यका मन्दिरका लागि त्यस स्थललाई समर्पण गरियो । यो प्रकाश प्राप्त भएको दिनमा, जोसेफ नाईट सिनियरकी श्रीमती पली नाईटको मृत्यु भयो, सियोनमा मृत्यु हुने चर्चको पहिलो सदस्य । प्रारम्भिक सदस्यहरूले यस प्रकाशलाई यसरी व्याख्या गरे “कसरी शबाथलाई पालना गर्ने र कसरी उपवास बस्ने र प्रार्थना गर्ने सम्बन्धमा सन्तहरूलाई निर्देशन दिने ।”

१–४, सियोनका आस्थावान् सन्तहरूलाई आशीषित गरिने छ; ५–८, तिनीहरूले परमप्रभुलाई प्रेम र सेवा गर्नु पर्छ अनि उहाँका आज्ञाहरू पालना गर्नु पर्छ; ९–१९, परमप्रभुको दिनलाई पवित्र राखेर, सन्तहरू भौतिक र आध्यात्मिक रूपमा आशिषित हुन्छन्; २०–२४, धर्मीहरूलाई यस संसारमा शान्ति अनि आउने संसारमा अनन्त जीवनको प्रतिज्ञा गरिएको छ ।

परमप्रभु भन्नुहुन्छ, हेर, आशीषित तिनीहरू नै हुन् जो मेरा आज्ञाहरू अनुसार यस भूमिमा मेरो महिमामा केन्द्रित भएर आएका छन् ।

जो बाँच्ने छन् तिनीहरूले पृथ्वीमा उत्तराधिकार प्राप्त गर्ने छन्, अनि जो मर्ने छन् तिनीहरूले सबै परिश्रमहरूबाट विश्राम प्राप्त गर्ने छन्, अनि तिनीहरूका कार्यहरूले तिनीहरूलाई पछ्याउने छन्; अनि तिनीहरूले मेरा पिताका महलमा एक मुकुट प्राप्त गर्ने छन्, जुन मैले तिनीहरूका लागि तयार पारेको छु ।

हो, तिनीहरू आशीषित छन् जसका पाइलाहरू सियोनका जमीनमा खडा छन्, जसले मेरो सुसमाचारलाई पालना गरेका छन्; किनकि तिनीहरूले आफ्ना पुरस्कारमा पृथ्वीका असल विषयहरू प्राप्त गर्ने छन्, अनि पृथ्वीले आफ्नो शक्तिमा प्रचुर मात्रामा ल्याउने छ ।

अनि तिनीहरूलाई पनि माथिबाट आशीषहरूका साथ मुकुट पहिर्‍याइने छ, हो, अनि आज्ञाहरू जुन थोरै छैन, अनि तिनीहरूकै समयमा प्रकाशहरू सहित—तिनीहरू जो मेरा अगाडि आस्थावान् र लगनशील छन् ।

यसकारण, म तिनीहरूलाई आज्ञा दिन्छु, यसो भन्दै: तिमीले आफ्ना परमप्रभु तिम्रा परमेश्वरलाई तिम्रो सम्पूर्ण हृदयले, तिम्रो सम्पूर्ण क्षमताले, मस्तिष्कले र सामर्थ्यले प्रेम गर्नू; अनि येशू ख्रीष्टको नाममा तिमीले उहाँको सेवा गर्नू ।

तिमीले आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू । तिमीले चोरी नगर्नू; न त व्यभिचार नै, न त हत्या नै, न त यस्ता किसिमका अन्य कुनै कार्य ।

तिमीले परमप्रभु तिम्रा परमेश्वरलाई सबै परिस्थितिहरूमा धन्यवाद दिनू ।

तिमीले परमप्रभु तिम्रा परमेश्वरलाई चूर्ण हृदय र एक पछुताएको आत्मा समेतले धार्मिकतामा बलिदान अर्पण गर्नू ।

अनि तिमीले आफूलाई यस संसारबाट पूर्णरूपमा निष्कलङ्क राख्नू, तिमीहरू प्रार्थनाको गृहमा जानू अनि मेरो पवित्र दिनमा आफ्ना प्रभुभोजका विधिहरू अर्पण गर्नू;

१० किनकि साच्चैँ नै तिम्रा श्रमबाट विश्राम लिन अनि सर्वोच्चलाई तिमीहरूका भक्ति अर्पण गर्न तिमीलाई नियुक्त गरिएको दिन यही हो;

११ यद्यपि तिम्रा प्रतिज्ञाहरू सबै दिन र सबै समय धार्मिकतामा अर्पण गर्नु पर्ने छ;

१२ परन्तु स्मरण गर कि तिमीले आफ्ना पापहरू आफ्ना बन्धुहरू र परमप्रभुप्रति स्वीकार गर्नू, परमप्रभुको यस दिनमा तिमीले सर्वोच्चलाई आफ्ना भेटीहरू र आफ्ना प्रभुभोजहरू अर्पण गर्नू ।

१३ अनि यस दिन तिमीले अन्य कुनै कार्य नगर्नू, केवल तिम्रा खाना हृदयमा पूर्ण भक्तिका साथ तयार पार्नु पर्छ ताकि तिम्रो उपवास परिपूर्ण हुन सकोस् अथवा अर्को शब्दमा भन्दा तिम्रा खुसी परिपूर्ण होस् ।

१४ साच्चैँ नै, यो उपवास र प्रार्थना हो अथवा अर्को शब्दमा भन्दा प्रफुल्लता र प्रार्थना हो ।

१५ अनि तिमीले कृतज्ञता, प्रफुल्ल हृदय र मुहारका साथ, धेरै नहाँसेर किनकि यो पाप हो तर खुसी हृदय अनि प्रफुल्ल हृदय र प्रसन्न मुहारले यी कार्यहरू गरिरह्यौ भने—

१६ साच्चैँ नै म भन्छु, कि तिमीले यो गरिरह्यौ भने पृथ्वीको पूर्णता तिम्रो हुन्छ, जमिनका जनावर अनि आकाशका पक्षीहरू अनि ती जुन रुखमा चढ्छन् र पृथ्वीमा हिंड्छन्;

१७ हो, अनि जडीबुटी अनि पृथ्वीबाट आउने असल वस्तुहरू चाहे खानाका लागि या पहिरनका लागि या घरहरूका लागि या भकारीहरूका लागि या वाटिकाहरूका लागि या वगैँचाहरूका लागि या अङ्गुरका वगैँचाहरूका लागि;

१८ हो, यसको मौसममा, पृथ्वीबाट आउने सबै वस्तुहरू, मानिसहरूका लाभ र प्रयोगका लागि, आँखालाई खुसी पार्न र हृदयलाई आनन्द पार्नका लागि बनाइएका हुन्;

१९ हो, खानाका लागि र पहिरनका लागि, स्वादका लागि र बास्नाका लागि, शरीरलाई मजबूत बनाउन अनि जीवात्मालाई जीवन्त पार्नका लागि हुन् ।

२० अनि यसले परमेश्वरलाई खुशी तुल्याउँछ कि उहाँले यी सबै वस्तुहरू मानिसलाई दिनुभएको छ; किनकि यही उद्देश्यका लागि, न्यायका साथ, तिनीहरूको प्रयोगका लागि तिनीहरूको निर्माण गरिएको हो अधिक प्रयोगका लागि होइन, न त जबरजस्ती गर्न नै हो ।

२१ अनि कुनै पनि कार्यमा मानिसले परमेश्वरलाई अप्रसन्न पार्न सक्दैन अथवा कसैको विरुद्धमा उहाँको क्रोध प्रज्वलित हुँदैन, केवल तिनीहरूसँग जो सबै परिस्थितिहरूमा उहाँका हातलाई स्वीकार गर्दैनन् र उहाँका आज्ञाहरू पालना गर्दैनन् ।

२२ हेर, यो नियम र अगमवक्ताहरूअनुसार छ; यसकारण, यस विषयमा मलाई अरु दुःख नदेऊ ।

२३ परन्तु सिक कि ऊ जसले धार्मिकताका कार्यहरू गर्छ त्यसले आफ्नो पुरस्कार, यो संसारमा शान्ति समेत अनि आउने संसारमा अनन्त जीवन प्राप्त गर्छ ।

२४ म, परमप्रभुले यसो भनेको छु र आत्माले गवाही दिन्छ । आमीन ।