धर्मशास्त्रहरू
सिद्धान्त र करार २०


खण्ड २०

अगमवक्ता जोसेफ स्मिथद्वारा फेएट, न्यू योर्कमा अथवा त्यसको नजिकै चर्च सङ्गठन र व्यवस्थापनका सम्बन्धमा दिइएको प्रकाश । यी प्रकाशका अंशहरू १८२९ को गृष्म ऋतुको प्रारम्भमा दिइएको हुन सक्छ । त्यस समयमा बुँदाहरू र करारका रूपमा परिचित, पूर्ण प्रकाशलाई सम्भवतः अप्रील ६, १८३० (चर्चको सङ्गठन भएको दिन) लगत्तै पछि अभिलेख गरिएको थियो । अगमवक्ताले लेखे, “अगमवाणी र प्रकाशको आत्माद्वारा हामीले उहाँ [येशू ख्रीष्ट] बाट निम्न विषयहरू प्राप्त गरेका थियौँ; जसले हामीलाई पर्याप्त जानकारी मात्र दिएन, परन्तु हामीलाई उहाँको चाहना र आज्ञाअनुसार हामीले पृथ्वीमा पुनः एक पटक उहाँको चर्चको सङ्गठन गर्न अघि बढ्नु पर्ने सही दिन समेत औँल्यायो ।”

१–१६, मोर्मोनको पुस्तकले पछिल्ला दिनका कार्यको देवत्व प्रमाणित गर्छ; १७–२८, सृष्टि, पतन, प्रायश्चित्त र बप्तिस्माका सिद्धान्तहरू प्रमाणित गरिएको छ; २९–३७, पश्चात्ताप, निर्दोष ठहर्‍याउनु, पवित्रीकरण र बप्तिस्मालाई व्यवस्थापन गर्ने नियमहरू निर्धारण गरिएका छन्; ३८–६७, एल्डरहरू, पादरीहरू, शिक्षकहरू र डिकनहरूका कर्तव्यहरू संक्षिप्त रूपमा उल्लेख गरिएका छन्; ६८–७४, सदस्यहरूका कर्तव्यहरू, बालबालिकाहरूलाई आशीर्वाद र बप्तिस्माका तरिका प्रकट गरिएका छन्; ७५–८४, प्रभुभोजका प्रार्थनाहरू र चर्चको सदस्यता व्यवस्थापन गर्ने नियमहरू दिइएका छन् ।

यी अन्तिम दिनहरूमा ख्रीष्टको चर्चको उदय भएको छ, हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्ट शरीरमा आउनुभए देखि एक हजार आठ सय तीस वर्ष भयो, हाम्रो देशको नियमको सहमतिमा यो उचित रूपमा सङ्गठित र स्थापित छ, परमेश्वरको चाहना र आज्ञाद्वारा, चौथो महिनामा र महिनाको छैठौँ दिनमा जसलाई अप्रिल भनिन्छ—

जुन आज्ञाहरू जोसेफ स्मिथ जुनियरलाई दिइएका थिए, जसलाई यस चर्चका प्रथम एल्डर हुनका लागि परमेश्वरद्वारा बोलावट गरिएको थियो र येशू ख्रीष्टका प्रेरित नियुक्त गरिएको थियो;

अनि ओलिवर काउड्री, जसलाई पनि परमेश्वरद्वारा बोलावट गरिएको थियो, येशू ख्रीष्टका प्रेरित, यस चर्चका दोस्रो एल्डर हुनका लागि र उनका हातबाट नियुक्त गरिनका लागि;

अनि यो हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रहअनुसार, जसमा अहिले अनि सदासर्वदा सबै महिमा रहोस् । आमीन ।

यस प्रथम एल्डरलाई उनले आफ्ना पापहरूको छुट्कारा प्राप्त गरेका थिए भनेर वास्तविक रूपमा प्रदर्शन भइसकेपछि, उनी पुनः एक पटक यो संसारका व्यर्थताहरूमा अलमलिए;

परन्तु पश्चात्ताप गरिसकेपछि र आस्थाद्वारा आफूलाई इमान्दारीतापूर्वक विनम्र बनाइसकेपछि, परमेश्वरले उनलाई पवित्र स्वर्गदूतद्वारा भेट गर्नुभयो, जसको मुहार चम्किलो थियो र वस्त्रहरू अन्य सबै सेतोपन भन्दा शुद्ध र सेता थिए;

अनि उनलाई आज्ञाहरू दिनुभयो जसले उनलाई प्रेरणा दियो;

अनि उनलाई मोर्मोनको पुस्तक अनुवाद गर्नका लागि पहिले नै तयार गरिएका माध्यमहरूद्वारा माथिबाट शक्ति दिनुभयो;

जसमा पतन भएका मानिसहरूको अभिलेख र गैह्र यहूदीहरू र यहूदीहरूका लागि पनि येशू ख्रीष्टको सुसमाचारको परिपूर्णता समावेश छ;

१० जुन प्रेरणाद्वारा दिइएको थियो र अरूलाई स्वर्गदूतहरूको सेवाद्वारा पुष्टि गरिएको थियो र उनीहरूद्वारा संसारमा घोषणा गरियो—

११ संसारलाई पवित्र धर्मशास्त्रहरू सत्य छन् भनेर प्रमाणित गर्दै, अनि यस समय र युगमा साथै पुरानो युगमा पनि, परमेश्वरले मानिसहरूलाई प्रेरणा दिनुहुन्छ र उहाँका पवित्र कार्य गर्न बोलवाट गर्नुहुन्छ;

१२ यसरी यो देखाउँदै कि उहाँ हिजो, आज र सदासर्वदा उस्तै परमेश्वर हुनुहुन्छ । आमीन ।

१३ त्यसकारण, यति महान् साक्षीहरू भएकाले, उनीहरूद्वारा संसारलाई न्याय गर्नेछन्, यसपछि धेरै भन्दा धेरैले यो कार्यको ज्ञान प्राप्त गर्नेछन् ।

१४ अनि जसले आस्थाका साथ यसलाई ग्रहण गर्दछ र धार्मिकताको कार्य गर्दछ, उसले अनन्त जीवनको मुकुट प्राप्त गर्नेछ;

१५ परन्तु जसले अविश्वासका कारण उनीहरूका हृदयहरू कठोर पार्दछन् र यसलाई अस्वीकार गर्दछन्, त्यो उनीहरूको आफ्नै तिरस्कारमा परिणत हुनेछ—

१६ किनकि परमप्रभु परमेश्वरले बोल्नुभएको छ; अनि हामी, चर्चका एल्डरहरूले सुनेका र गवाही दिएका छौँ उच्चका महिमित महामहिमका वचनहरूको, जसमा सदासर्वदा महिमा रहिरहोस् । आमीन ।

१७ यी विषयहरूबाट हामीलाई थाहा छ कि स्वर्गमा परमेश्वर हुनुहुन्छ, चिरस्थायीदेखि चिरस्थायीसम्म उस्तै कहिल्यै पनि परिवर्तन नहुने परमेश्वर, स्वर्ग र पृथ्वीका, अनि तिनीहरूमा भएका सबै विषयहरूका रचनाकार, जो असीमित र अनन्त हुनुहुन्छ;

१८ अनि उहाँले मानिसको सृष्टि गर्नुभयो, नर र नारीको, आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा, उहाँले तिनीहरूको सृष्टि गर्नुभयो;

१९ अनि उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले उहाँलाई प्रेम र सेवा गर्नु पर्दछ, एक मात्र जीवित र सत्य परमेश्वर, अनि कि उनीहरूले आराधना गर्ने उहाँमात्र एक हुनु पर्दछ ।

२० परन्तु यस पवित्र नियमहरूको उलङ्घनद्वारा मानिस कामुक र दानवी बने अनि पतीत मानिस बने ।

२१ यसकारण, सर्वशक्तिमान् परमेश्वरले आफ्ना जन्माइएका एक मात्र पुत्र दिनुभयो, ती जुन धर्मशास्त्रहरूमा लेखिए अनुसार उहाँका सम्बन्धमा दिइएको छ ।

२२ उहाँले प्रलोभनहरू सहनुभयो तर तिनीहरूलाई वास्ता गर्नुभएन ।

२३ उहाँलाई क्रूसमा टाँगियो, उहाँको मृत्यु भयो र तेस्रो दिनमा पुनः ब्युँतनुभयो;

२४ अनि पिताको दाहिने हाततर्फ बस्नका लागि, पिताको चाहना अनुसार सर्वशक्तिमान् शक्तिका साथ शासन गर्न, स्वर्गमा आरोहण गर्नुभयो;

२५ ताकि धेरैभन्दा धेरै जसले बिश्वास गर्नेछन् र उहाँको पवित्र नाममा बप्तिस्मा लिनेछन्, अनि आस्थामा अन्तसम्म सहनेछन्, उनीहरूलाई मुक्ति दिइनेछ—

२६ उहाँ समयको मध्यान्ह रेखामा शरीरमा आइसकेपछि बिश्वास गरेकाहरू मात्र नभई, प्रारम्भदेखिका सबै, उहाँ आउनुभन्दा अघिका धेरै भन्दा धेरै समेत, जसले पवित्र अगमवक्ताहरूका वचनहरूमा विश्वास गरे, जसले पवित्र आत्माका उपहारद्वारा प्रेरित भएर बोले, जसले सबै विषयहरूमा वास्तवमा उहाँको गवाही दिए, उनीहरूले अनन्त जीवन पाउनेछन् ।

२७ साथै तिनीहरू पनि जो पछाडि आउनेछन्, जसले पवित्र आत्माद्वारा दिइएको परमेश्वरका उपहारहरू र बोलावटहरूको बिश्वास गर्नेछन्, जसले पिता र पुत्रको अभिलेख राख्ने छन्;

२८ जुन पिता, पुत्र र पवित्र आत्मा एक परमेश्वर हुनुहुन्छ, असीमित अनि अनन्त, अन्त्य बिनाको । आमीन ।

२९ अनि हामी जान्दछौँ कि सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्दछ र येशू ख्रीष्टको नाममा विश्वास गर्नु पर्दछ, र उहाँको नाममा पितालाई आराधना गर्नु पर्दछ र उहाँको नाममा अन्त्यसम्म आस्थामा सहनु पर्दछ, अन्यथा तिनीहरूलाई परमेश्वरको अधिराज्यमा बचाउन सकिँदैन ।

३० अनि हामी जान्दछौँ कि हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रहबाट निर्दोष ठहर्‍याइनु न्यायोचित र सत्य छ;

३१ अनि हामी यो पनि जान्दछौँ, कि हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रहबाट आएको पवित्रीकरण न्यायोचित र सत्य छ, ती सबैका लागि जसले परमेश्वरलाई आफ्नो सम्पूर्ण क्षमता, मस्तिष्क र सामर्थ्यले प्रेम र सेवा गर्दछन् ।

३२ परन्तु त्यहाँ मानिस जीवित परमेश्वरका अनुग्रहबाट पतन र टाढा हुने संभावना छ;

३३ त्यसकारण चर्चलाई सचेत रहन र सधैँ प्रार्थना गर्न लगाओ, ताकि तिनीहरू प्रलोभनमा नपरून्;

३४ हो, अनि ती जो पवित्र पारिएका छन् उनीहरूलाई पनि सचेत गराओ ।

३५ अनि हामीलाई थाहा छ कि यी विषयहरू सत्य छन् र यूहन्नाका प्रकाश अनुसार छन्, न त त्यसमा थप गरेर, न उनका अगमवाणीका किताबबाट हटाएर, पवित्र धार्मशास्त्रहरू, अथवा परमेश्वरका प्रकाशहरू, परमेश्वरको वाणी अथवा स्वर्गदूतहरूका सेवाबाट जुन यसपछि पवित्र आत्माको उपहार र शक्तिद्वारा आउनु पर्दछ ।

३६ अनि परमप्रभु परमेश्वरले यो बोल्नुभएको छ; अनि सम्मान, शक्ति र महिमा उहाँको पवित्र नाममा अहिले अनि सदासर्वदाका लागि प्रदान गरियोस् । आमीन ।

३७ अनि पुनः, बप्तिस्माको तरिकाका सम्बन्धमा चर्चलाई दिइएको आज्ञाअनुसार—ती सबै जसले परमेश्वरसामु आफूलाई विनम्र तुल्याउँछन् र बप्तिस्मा लिन चाहन्छन् र चूर्ण हृदय र पश्चात्तापी आत्माका साथ अगाडि आउँछन्, अनि चर्चसामु गवाही दिन्छन् कि तिनीहरूले वास्तवमा आफ्ना सम्पूर्ण पापहरूका पश्चात्ताप गरेका छन् र आफूमा येशू ख्रीष्टको नाम लिन चाहन्छन्, अन्तसम्म उहाँको सेवा गर्ने दृढताका साथ र आफ्नो कार्यहरूद्वारा उनीहरूले आफ्ना पापहरूबाट छुट्काराका लागि ख्रीष्टको आत्मा प्राप्त गरेको वास्तवमा देखाएमा बप्तिस्माद्वारा उहाँको चर्चमा ग्रहण गरिनेछ ।

३८ एल्डरहरू, पादरीहरू, शिक्षकहरू, डिकनहरू र ख्रीष्टका चर्चका सदस्यहरूको कर्तव्य—प्रेरित भनेको एल्डर हो र बप्तिस्मा गर्नु उनको बोलावट हो;

३९ अनि अन्य एल्डरहरू, पादरीहरू, शिक्षकहरू र डिकनहरूलाई नियुक्त गर्न हो;

४० अनि रोटी र दाखमद्यको प्रशासन गर्न—ख्रीष्टका शरीर र रगतका प्रतीकहरू—

४१ अनि धर्मशास्त्रअनुसार आगो र पवित्र आत्माको बप्तिस्माका लागि हातहरू राखेर, चर्चमा बप्तिस्मा लिनेहरूलाई प्रमाणित गर्नका लागि;

४२ अनि सिकाउन, व्याख्या गर्न, प्रोत्साहित गर्न, बप्तिस्मा दिन र चर्चको हेरचाह गर्नका लागि;

४३ अनि हातहरू राखेर र पवित्र आत्मा दिएर चर्चलाई प्रमाणित गर्नका लागि;

४४ अनि सबै सभाहरूको अगुवाइ गर्नका लागि;

४५ एल्डरहरूले सभाहरूलाई पवित्र आत्माको निर्देशन अनुसार, परमेश्वरका आज्ञाहरू र प्रकाशहरू अनुसार सञ्चालन गर्नु पर्दछ ।

४६ पादरीको कर्तव्य भनेको प्रवचन दिनु, सिकाउनु, व्याख्या गर्नु, प्रोत्साहित गर्नु र बप्तिस्मा दिनु हो र प्रभुभोजको प्रशासन गर्नु हो,

४७ अनि प्रत्येक सदस्यको घरमा जाने र तिनीहरूलाई उच्च स्वरमा र गोप्य रूपमा प्रार्थना गर्न र सबै पारिवारिक कर्तव्यहरूमा उपस्थित हुन प्रोत्साहित गर्नु हो ।

४८ अनि उनले अन्य पादरीहरू, शिक्षकहरू र डिकनहरूलाई पनि नियुक्त गर्न सक्दछन् ।

४९ अनि कुनै पनि एल्डर उपस्थित नभएको समयमा उनले सभाहरूको नेतृत्व गर्नु पर्दछ;

५० परन्तु जब त्यहाँ एल्डर उपस्थित हुन्छ, उनले प्रवचन दिने, सिकाउने, व्याख्या गर्ने, प्रोत्साहित गर्ने र बप्तिस्मा गर्ने मात्र हो,

५१ अनि प्रत्येक सदस्यको घरमा जाने, तिनीहरूलाई उच्च स्वरमा र गोप्य रूपमा प्रार्थना गर्न र सबै पारिवारिक कर्तव्यहरूमा उपस्थित हुन प्रोत्साहित गर्ने ।

५२ यी सबै दायित्वहरूमा यदि आवश्यक परेमा पादरीले एल्डरलाई सहयोग गर्नु पर्दछ ।

५३ शिक्षकको कर्तव्य चर्चको हेरचाह गर्नु हो र तिनीहरूसँग रहेर तिनीहरूलाई मजबुत बनाउनु हो;

५४ अनि अवलोकन गर्ने हो कि चर्चमा कुनै दुष्टता नहोस्, न त एकअर्कासँग कठोरता, न झूट बोल्ने, निन्दा गर्ने, न त खराब बोल्ने नै;

५५ अनि अवलोकन गर्ने हो कि चर्च प्रायः सँगै भेट्छन् र सबै सदस्यहरूले आफ्नो कर्तव्य गर्दछन् ।

५६ अनि एल्डर वा पादरीको अनुपस्थितिमा उनले सभाहरूको नेतृत्व लिनु पर्दछ—

५७ अनि सधैं, चर्चमा उनका सबै कर्तव्यहरूमा, डिकनहरूद्वारा, यदि परिस्थितिमा आवश्यकता छ भने सहयोग गरिनु पर्दछ ।

५८ परन्तु न त शिक्षकहरू र न डिकनहरूलाई बप्तिस्मा गर्ने, प्रभुभोजको प्रशासन गर्ने वा अरूको शिरमाथि हात राख्ने अधिकार छ;

५९ यद्यपि, तिनीहरू चेतावनी दिन, व्याख्या गर्न, प्रोत्साहित गर्न र सिकाउन र सबैलाई ख्रीष्टमा आउन आमन्त्रित गर्नका लागि हुन् ।

६० प्रत्येक एल्डर, पादरी, शिक्षक वा डिकनलाई उनीहरूमा परमेश्वरका उपहारहरू र बोलावटहरूअनुसार नियुक्त गरिनु पर्दछ; र उनलाई पवित्र आत्माको शक्तिद्वारा नियुक्त गरिनु पर्दछ, जुन उनमा हुन्छ जसले उनलाई नियुक्त गर्दछन् ।

६१ ख्रीष्टको यो चर्च सङ्गठन गर्ने अनेक एल्डरहरूले तीन महिनामा एक पटक वा समय-समयमा ती सम्मेलनहरूले निर्देशन वा नियुक्त गरे अनुसार सम्मेलनमा भेट्नु पर्दछ;

६२ अनि ती सम्मेलनहरूले त्यो समयमा आवश्यक परेका जुनसुकै चर्चका कार्य गर्नुपर्ने छ ।

६३ एल्डरहरूले आफ्नो अनुमतिपत्र अन्य एल्डरहरूबाट, तिनीहरू सम्बन्धित चर्चको समर्थनद्वारा वा सम्मेलनहरूबाट प्राप्त गर्नु पर्दछ ।

६४ प्रत्येक पादरी, शिक्षक, वा डिकन, जो पादरीद्वारा नियुक्त गरिएको छ, उनले त्यस समयमा एउटा प्रमाणपत्र लिन सक्दछन्, जुन प्रमाणपत्र, एक एल्डरलाई पेश गर्दा, उसलाई अनुमतिपत्रको अधिकार दिइनेछ, जसले उनलाई आफ्नो बोलावटका कर्तव्यहरू पूरा गर्न अधिकार दिनेछ वा उनले सम्मेलनबाट यो प्राप्त गर्न सक्दछन् ।

६५ कुनै पनि व्यक्तिलाई यस चर्चमा त्यो चर्चको समर्थन बिना कुनै पनि पदमा नियुक्त गरिनु हुँदैन, जहाँ त्यसको नियमित रूपमा सङ्गठित शाखा छ;

६६ परन्तु अध्यक्षता गर्ने एल्डरहरू, यात्रा गर्ने विशपहरू, उच्च सल्लाहकारहरू, उच्च पादरीहरू र एल्डरहरूले नियुक्त गर्ने सुअवसर पाउन सक्छन्, जहाँ समर्थन गर्नका लागि चर्चको कुनै शाखा छैन ।

६७ उच्च पादरित्वको प्रत्येक अध्यक्ष (वा अध्यक्षता गर्ने एल्डर), विशप, उच्च सल्लाहकार र उच्च पादरीलाई, एक उच्च परिषद् वा साधारण सम्मेलनको निर्देशनद्वारा नियुक्त गरिनु पर्दछ ।

६८ बप्तिस्माद्वारा चर्चमा ग्रहण गरिए पछि सदस्यहरूका कर्तव्य—एल्डरहरू वा पादरीहरूसँग तिनीहरूले प्रभुभोज लिन र एल्डरहरूले हात राखेर प्रमाणित गर्नु अगाडि ख्रीष्टको चर्चका सम्बन्धमा सबै विषयहरू तिनीहरूको बुझाइमा व्याख्या गर्न पर्याप्त समय हुनु पर्दछ, ताकि सबै विषयहरू क्रमबद्ध रूपमा गरियोस् ।

६९ अनि सदस्यहरू चर्चका अगाडि र एल्डरहरूका अगाडि पनि, ईश्वरीय र आचरण र वचनद्वारा प्रस्तुत हुनेछन्, ताकि तिनीहरू यसको योग्य बन्ने छन्, कि पवित्र धर्मशास्त्रहरूका अनुसार त्यहाँ कार्यहरू र आस्था होओस्—परमप्रभुको अगाडि पवित्रतामा हिँड्दै ।

७० बालबालिकाहरू भएका ख्रीष्टको चर्चका प्रत्येक सदस्यले तिनीहरूलाई चर्चमा एल्डरहरूसामु ल्याउनु पर्दछ, जसले येशू ख्रीष्टको नाममा उनीहरूमाथि हात राख्नु पर्दछ र उहाँको नाममा उनीहरूलाई आशीर्वाद दिनु पर्दछ ।

७१ कुनै पनि व्यक्तिलाई ख्रीष्टको चर्चमा ग्रहण गर्न सकिँदैन जबसम्म ऊ परमेश्वरसामु जवाफदेहिताका वर्षहरूमा आइपुग्दैन र पश्चात्ताप गर्न सक्षम हुँदैन ।

७२ पश्चात्ताप गर्ने ती सबैलाई निम्न तरिकाले बप्तिस्मा प्रदान गरिनु पर्दछ—

७३ जो व्यक्ति परमेश्वरबाट बोलावट गरिएको छ र बप्तिस्मा दिन येशू ख्रीष्टबाट अधिकार प्राप्त गरेको छ, ऊ त्यो व्यक्तिसँग पानीमा तल जानु पर्दछ जसले आफूलाई बप्तिस्माका लागि प्रस्तुत गरेको छ र ऊ वा उनीको नाम पुकार्दै भन्नु पर्दछ: येशू ख्रीष्टबाट अधिकार दिइएकाले, म तपाईँलाई पिताका र पुत्रका र पवित्र आत्माका नाममा बप्तिस्मा दिन्छु । आमीन ।

७४ त्यसपछि उसले ऊ वा उनीलाई पानीमा डुबाउनु पर्दछ र पुनः पानीबाट बाहिर उठाउनु पर्दछ ।

७५ परमप्रभु येशूको सम्झनामा रोटी र दाखमद्य ग्रहण गर्नका लागि चर्चमा बारम्बार एकत्रित हुन जरूरी छ;

७६ अनि एल्डर वा पादरीले त्यसको प्रशासन गर्ने छन्; र यस तरिकामा उनले यसलाई प्रशासन गर्नुपर्दछ—उनले चर्चसँगै घुँडा टेक्नु पर्दछ र पितालाई गम्भीर प्रार्थनामा बोलाउनु पर्दछ, यसो भन्दै:

७७ हे परमेश्वर, अनन्त पिता, हामी हजुरका पुत्र येशू ख्रीष्टका नाममा यसमा भाग लिनेहरू सबैका आत्माहरूका लागि यो रोटी आशीषित गर्न र पवित्र पार्न हजुरलाई बिन्ती गर्दछौँ, ताकि तिनीहरूले हजुरका पुत्रको शरीरको सम्झनामा खान सक्ने छन् र हजुरसामु साक्षी हुन सक्ने छन्, हे परमेश्वर, अनन्त पिता, कितिनीहरू आफूमा हजुरका पुत्रको नाम लिन र उहाँलाई सधैँ सम्झन र उहाँले तिनीहरूलाई दिनुभएका उहाँका आज्ञाहरू पालना गर्न इच्छुक छन्; ताकि उहाँको आत्मा तिनीहरूको आफ्नो साथमा सधैँ रहिरहन सक्ने छ । आमीन ।

७८ दाखमद्यको प्रशासन गर्ने तरिका—उनले कप पनि लिनु पर्दछ र भन्नु पर्दछ:

७९ हे परमेश्वर, अनन्त पिता, हामी हजुरका पुत्र येशू ख्रीष्टका नाममा यो पिउनेहरू सबैका आत्माहरूका लागि यो दाखमद्य आशीषित गर्न र पवित्र पार्न हजुरलाई बिन्ती गर्दछौँ, ताकि तिनीहरूले हजुरका पुत्रको रगतका सम्झनामा यसो गर्न सक्ने छन् जुन तिनीहरूका लागि बगाइएको थियो; ताकि तिनीहरू हजुरसामु साक्षी हुन सक्ने छन्, हे परमेश्वर अनन्त पिता, कि तिनीहरूले उहाँलाई सधैँ सम्झने गर्दछन्, ताकि तिनीहरूको आफ्नो साथमा उहाँको आत्मा रहिरहन सक्ने छ । आमीन ।

८० ख्रीष्टको चर्चको कुनै पनि सदस्यले उल्लङ्घन गरेको छ वा गल्ती गरेर पक्राउमा परेको छ भने, धर्मशास्त्रको निर्देशनअनुसार व्यवहार गरिनु पर्दछ ।

८१ चर्चका एल्डरहरूद्वारा आयोजित विभिन्न सम्मेलनहरूमा भाग लिन तिनीहरूका एक वा बढी शिक्षकहरूलाई पठाउनु ख्रीष्टको चर्चको सङ्गठन गर्ने विभिन्न चर्चहरूको कर्तव्य हुनु पर्दछ,

८२ पछिल्लो सम्मेलनदेखि चर्चसँग एकजुट भएका धेरै सदस्यहरूका नामावलीको सूचीका साथ; वा कुनै पादरीको हातबाट पठाएका; ताकि सम्पूर्ण चर्चका सबै नामहरूको नियमित सूची एल्डरहरूमध्ये एकद्वारा पुस्तकमा राख्न सकियोस्, जो कोही जसलाई अन्य एल्डरहरूले समय-समयमा नियुक्त गर्ने छन्;

८३ अनि साथै, यदि कसैलाई चर्चबाट निष्कासन गरिएको छ भने, तिनीहरूका नामहरू सामान्य चर्च अभिलेखबाट मेटाउन सकियोस् ।

८४ आफू बसोबास गर्ने ठाउँको चर्चबाट हटाइएका सबै सदस्यहरूले, यदि तिनीहरू परिचित नभएको चर्चमा गएमा, उनीहरूले नियमित सदस्य र असल स्थितिमा रहेको प्रमाणित गर्ने पत्र लिन सक्ने छन्, जुन प्रमाणपत्रमा कुनै एल्डर वा पादरीले हस्ताक्षर गर्न सक्छन् यदि ती सदस्य व्यक्तिगत रूपमा एल्डर वा पादरीसँग परिचित छन् भने, अथवा यसमा चर्चका शिक्षकहरू वा डिकनहरूद्वारा हस्ताक्षर गर्न सकिन्छ ।