धर्मशास्त्रहरू
सिद्धान्त र करार १०१


खण्ड १०१

अगमवक्ता जोसेफ स्मिथलाई कर्टल्याण्ड, ओहायोमा, डिसेम्बर १६ र १७, १८३३ मा दिइएको प्रकाश । यस समयमा मिजोरीमा एकत्रित भएका सन्तहरूले अत्यधिक सतावट भोगिरहेका थिए । उत्तेजित भीडले उनीहरूलाई ज्याक्सन प्रदेशमा तिनीहरूका घरहरूबाट लखेटेका थिए; अनि केही सन्तहरूले आफूहरूलाई भ्यान बुरेन, लाफेयेट र रे प्रदेशहरूमा स्थापित् गर्न खोजेका थिए तर सतावटले उनीहरूलाई पछ्यायो । सन्तहरूको प्रमुख समूह त्यति बेला क्ले प्रदेश, मिजोरीमा थियो । चर्चका व्यक्तिहरू विरुद्ध ज्यान मार्ने धम्कीहरू धेरै थिए । ज्याक्सन प्रदेशका सन्तहरूले घरेलु फर्निचर, लत्ताकपडा, पशुधन र अन्य व्यक्तिगत सम्पत्ति गुमाएका थिए; अनि तिनीहरूका धेरै बालीहरू नष्ट गरिएका थिए ।

१–८, सन्तहरूलाई उनीहरूका उल्लङ्घनहरूका कारण हप्काइन्छ र कष्ट दिइन्छ; ९–१५, परमप्रभुको क्रोध राष्ट्रहरूमा खस्ने छ तर उहाँका मानिसहरूलाई एकत्रित गरिने छ र सान्त्वना दिइने छ; १६–२१, सियोन र तिनका किलाहरू स्थापित गरिने छन्; २२–३१, सहस्राब्दीको समयमा जीवनको प्रकृतिको व्याख्या गरिन्छ; ३२–४२, सन्तहरूलाई आशीर्वाद र त्यसपछि पुरस्कार दिइने छ; ४३–६२, कुलीन र जैतूनका रूखहरूको दृष्टान्तले सियोनका समस्याहरू र अन्ततः उद्धारलाई जनाउँछ; ६३–७५, सन्तहरूले एकत्रित हुन निरन्तरता दिनु पर्छ; ७६–८०, परमप्रभुले संयुक्त राज्यको संविधान स्थापना गर्नुभयो; ८१–१०१, नारी र अन्यायी न्यायकर्ताको दृष्टान्तअनुसार, सन्तहरूले अन्यायहरूको क्षतिपूर्तिका लागि निवेदन गर्नु पर्छ ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरूका बन्धुहरूका सम्बन्धमा, जो कष्टमा परेका छन् र सताइएका छन् र आफ्नो उत्तराधिकारको भूमिबाट निकालिएका छन्—

म, परमप्रभुले तिनीहरूमाथि कष्ट आउन दिएको छु, जुन तिनीहरूले, तिनीहरूका उल्लङ्घनहरूको परिणाममा भोगेका छन्;

तैपनि म तिनीहरूको दाबी गर्ने छु र तिनीहरू मेरा हुने छन् जुन दिन म मेरा गहनाहरू बनाउन आउने छु ।

त्यसकारण, अब्राहामलाई आफ्नो एकमात्र पुत्र अर्पण गर्न आज्ञा दिइएजस्तै तिनीहरूलाई पनि हप्काइनु र परीक्षण गरिनु आवश्यक छ ।

ती सबै जो हप्काइ सहँदैनन् तर मलाई अस्वीकार गर्छन्, ती पवित्र पारिन सकिँदैन ।

हेर, म तिमीहरूलाई भन्छु, त्यहाँ तिनीहरूमाझ विवादहरू र कलहहरू र ईर्ष्याहरू र द्वेषहरू र कामुक र लोभी चाहनाहरू थिए; त्यसकारण यी कार्यहरूद्वारा तिनीहरूले आफ्नो उत्तराधिकारलाई प्रदूषित पारे ।

तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वाणी सुन्न ढिला गरे; त्यसकारण, परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूको सङ्कटको दिनमा तिनीहरूलाई जवाफ दिन, तिनीहरूका प्रार्थनाहरू सुन्न ढिला गर्नु हुन्छ ।

तिनीहरूको शान्तिको दिनमा तिनीहरूले मेरो सल्लाहलाई हल्का रूपमा लिए; तर तिनीहरूको समस्याको दिनमा, आवश्यकतामा तिनीहरू मलाई खोज्ने प्रयास गर्छन् ।

साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिनीहरूका पापहरूका बावजुद, मेरो हृदय तिनीहरूप्रति सहानुभूतिले भरिएको छ । म तिनीहरूलाई पूर्ण रूपमा त्याग्ने छैन; अनि क्रोधको दिनमा म कृपा सम्झने छु ।

१० मैले प्रतिज्ञा गरेको छु र यो उर्दी पूर्व आज्ञाद्वारा अघि बढेको छ जुन मैले तिमीहरूलाई दिएको छु, ताकि म मेरा मानिसहरूको पक्षबाट मेरो क्रोधको तरवार खस्न दिने छु; अनि मैले भनेजस्तै यो हुने छ ।

११ मेरो क्रोध चाँडै नै सबै राष्ट्रहरूमा मापन बिना खन्याइने छ; अनि तिनीहरूको दुष्टताको प्याला भरिएपछि म यसो गर्ने छु ।

१२ अनि त्यस दिनमा सबै जो पहरेदारमा भेटिन्छन् वा अर्को शब्दमा, मेरा सबै इस्राएल, मुक्त हुने छन् ।

१३ अनि तितरबितर भएका ती सबैलाई एकत्रित गरिने छ ।

१४ अनि शोक गर्ने ती सबैलाई सान्त्वना दिइने छ ।

१५ अनि मेरो नामका लागि आफ्नो जीवन अर्पण गर्ने ती सबैलाई मुकुट लगाइने छ ।

१६ त्यसकारण, सियोनका सम्बन्धमा तिमीहरूको हृदयलाई सान्त्वना देऊ; किनकि सबै जीवन मेरा हातमा छन्; शान्त होऊ र जान कि म परमेश्वर हुँ ।

१७ सियोनलाई तिनका सन्ततिहरू तितरबितर भए तापनि उनको स्थानबाट हटाइने छैन ।

१८ जो बाँकी छन् र हृदयमा शुद्ध छन्, तिनीहरू र तिनीहरूका सन्ततिहरू, अनन्त प्रसन्नताका गीतहरूका साथ, सियोनका उजाड ठाउँहरू निर्माण गर्न फर्कने छन् र तिनीहरूका उत्तराधिकारहरूमा आउने छन्—

१९ अनि अगमवक्ताहरूका यी सबै अगमवाणीहरू पूरा हुन सक्छन् ।

२० अनि, हेर, मैले नियुक्त गरेको बाहेक त्यहाँ अन्य कुनै स्थान नियुक्त गरिएको छैन; न त मेरा सन्तहरूको एकत्रित हुने कार्यका लागि, मैले नियुक्त गरेको स्थानबाहेक त्यहाँ अन्य कुनै स्थान हुने छ—

२१ त्यो दिन नआउञ्जेलसम्म जब तिनीहरूका लागि कुनै स्थान हुने छैन; अनि त्यसपछि मसँग अन्य स्थानहरू छन् जुन म तिनीहरूलाई नियुक्त गर्ने छु र तिनीहरूलाई पर्दाहरू वा सियोनको सामर्थ्यका लागि किलाहरू भनिने छन् ।

२२ हेर, यो मेरो चाहना हो, कि मेरो नाम पुकार्ने र मेरो अनन्त सुसमाचारअनुसार मेरो आराधना गर्नेहरू सबै एकसाथ एकत्रित हुनु पर्छ र पवित्र स्थानहरूमा उभिनु पर्छ;

२३ अनि आउँदै गरेको प्रकाशका लागि तयारी गर, जब मेरो मन्दिरको आवरणको पर्दा, मेरो मण्डपमा, जसले पृथ्वीलाई लुकाउँछ, हटाइने छ र सबै प्राणीले मलाई एकसाथ देख्ने छन् ।

२४ अनि पृथ्वीको सम्पूर्ण सतहमा बसोबास गर्ने हरेक भ्रष्ट वस्तु, मानिस वा खेतका जनावरहरू वा स्वर्गका पक्षीहरू वा समुद्रका माछाहरू नष्ट गरिने छन्;

२५ अनि त्यो तत्व पनि प्रचूर तापक्रमका कारण पग्लिने छ; र सबै विषयवस्तुहरू नयाँ हुने छन्, ताकि मेरो ज्ञान र महिमा सारा पृथ्वीमा अवस्थित हुन सक्छ ।

२६ अनि त्यस दिनमा मानिसको शत्रुता र जनावरहरूको शत्रुता, हो, सबै प्राणीको शत्रुता, मेरो मुहारसामुबाट अन्त्य हुने छ ।

२७ अनि त्यस दिन हरेक मानिसले जे माग्छ, त्यो उसलाई दिइने छ ।

२८ अनि त्यस दिन शैतानसँग कुनै मानिसलाई प्रलोभनमा पार्ने शक्ति हुने छैन ।

२९ अनि त्यहाँ कुनै दुःख हुने छैन किनभने त्यहाँ मृत्यु छैन ।

३० त्यस दिन एउटा बालक बूढो नभएसम्म मर्ने छैन; अनि उसको जीवन वृक्षको उमेर जस्तै हुने छ;

३१ अनि जब उनको मृत्यु हुन्छ उनी सुत्ने छैनन्, अर्थात् पृथ्वीमा तर आँखाको एक निमेषमा परिवर्तन हुने छ, अनि माथि लगिने छ र उनको विश्राम महिमामयी हुने छ ।

३२ हो, साच्चैँ नै म तिमीहरूलाई भन्छु, त्यस दिनमा जब परमप्रभु आउनु हुने छ, उहाँले सबै विषयहरू प्रकट गर्नु हुने छ—

३३ बितिसकेका विषयहरू र लुकाइएका विषयहरू जुन मानिसहरूलाई जानकारी थिएन, पृथ्वीका सन्दर्भहरू, जसद्वारा यो बनाइएको थियो र यसको उद्देश्य र अन्त्य—

३४ सबैभन्दा बहुमूल्य विषयहरू, माथिका विषयहरू र तलका विषयहरू, पृथ्वीमा र पृथ्वीमाथि र स्वर्गमा भएका विषयहरू ।

३५ अनि मेरो नामका लागि सतावट सहने र आस्थामा सहने ती सबै, यद्यपि तिनीहरूलाई मेरा लागि आफ्नो जीवन अर्पण गर्न बोलाइएको छ तर तिनीहरूले यो सबै महिमा प्राप्त गर्ने छन् ।

३६ यसकारण, मृत्युदेखि पनि नडराओ; किनकि यस संसारमा तिमीहरूको प्रसन्नता पूर्ण छैन, तर ममा तिम्रो प्रसन्नता पूर्ण छ ।

३७ त्यसकारण, शरीरको वास्ता नगर, न त शरीरको जीवनको; तर आत्मा र आत्माको जीवनको हेरचाह गर ।

३८ अनि सदैव परमप्रभुको मुहारलाई खोज, ताकि धीरतामा तिमीहरूले आफ्ना आत्माहरू कायम राख्न सक्छौ र तिमीहरूले अनन्त जीवन प्राप्त गर्ने छौ ।

३९ जब मानिसहरूलाई मेरो अनन्त सुसमाचारमा बोलाइन्छ र अनन्त करारका साथ करार गरिन्छ, तिनीहरूलाई पृथ्वीको नुन र मानिसहरूको स्वादका रूपमा लिइन्छ;

४० तिनीहरूलाई मानिसहरूको स्वाद हुन बोलाइन्छ; त्यसकारण, यदि पृथ्वीको त्यो नुनले आफ्नो स्वाद गुमायो भने, हेर, नुन त्यसपछि बाहिर फ्याँकिन र मानिसहरूका पाउहरूमुनि कुल्चनबाहेक केहीका लागि पनि उपयोगी हुँदैन ।

४१ हेर, यहाँ सियोनका सन्ततिहरूका सम्बन्धमा ज्ञान छ, धेरै समेत, तर सबै होइन; उनीहरू उल्लङ्घनकारी पत्ता लागेका थिए, त्यसैले उनीहरूलाई हप्काइनु पर्छ—

४२ जसले आफूलाई उच्च पार्छ, त्यसलाई विनम्र तुल्याइने छ र जसले आफूलाई विनम्र तुल्याउँछ, उसलाई उच्च पारिने छ ।

४३ अनि अब, म तिमीहरूलाई एउटा दृष्टान्त देखाउने छु, ताकि तिमीहरूले सियोनको उद्धारका सम्बन्धमा मेरो चाहना बुझ्न सक्ने छौ ।

४४ एक निश्चित कुलीन मानिससँग धेरै छनोटको जमीनको एक टुक्रा थियो; अनि उसले आफ्ना सेवकहरूलाई भने: तिमीहरू मेरो अङ्गुरको बगैँचामा जाओ, यो धेरै छनोटको जमीनमा समेत पनि र बाह्रवटा जैतूनका वृक्षहरू रोप;

४५ अनि तिनीहरूको वरिपरि चौकीदारहरू खडा गर र एउटा धरहरा बनाओ, ताकि कसैले वरिपरिको भूमिलाई माथिबाट हेर्न सक्छ, धरहरामा चौकीदार हुनका लागि, ताकि शत्रुहरू लुट्न आउँदा र मेरो अङ्गुरको बगैँचाको फल आफ्नो लागि लिँदा मेरा जैतुनका वृक्षहरू भाँचिने छैनन् ।

४६ अब, कुलीनका सेवकहरू गए र तिनीहरूका मालिकले तिनीहरूलाई आज्ञा गरेअनुसार गरे र जैतूनका वृक्षहरू रोपे र वरिपरि एउटा झाडीको बार बनाए र चौकीदारहरू राखे र एउटा धरहरा निर्माण गर्न सुरू गरे ।

४७ अनि जब तिनीहरू अझै यसको आधार बसाल्दै थिए, तिनीहरूले एक-आपसमा भन्न थाले: अनि मेरा मालिकलाई यो धरहराको के आवश्यकता छ?

४८ अनि लामो समय सम्म सल्लाह गरे, एक-आपसमा यसो भन्दै: मेरा मालिकलाई यो धरहराको के आवश्यकता छ, किनकि यो शान्तिको समय हो?

४९ के यो पैसा साट्नेहरूलाई दिन सकिँदैन? किनभने यी विषयवस्तुहरूको कुनै आवश्यकता छैन ।

५० अनि जब तिनीहरू एक-अर्कासँग असहमतिमा थिए तिनीहरू धेरै अल्छी भए र तिनीहरूले आफ्ना मालिकको आज्ञाहरू पालना गरेनन् ।

५१ अनि शत्रुहरू राती आए र झाडीको बार भत्काए; र ती कुलीनका सेवकहरू उठे र डराएर भागे; र शत्रुहरूले तिनीहरूका कामहरू नष्ट गरे र जैतूनका वृक्षहरू भत्काए ।

५२ अब, हेर, ती कुलीन, अङ्गुरको बगैँचाका मालिकले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “किन! यो महान् दुष्टताको कारण के हो?

५३ मैले तिमीहरूलाई आज्ञा गरेअनुसार तिमीहरूले गर्नु हुँदैनथ्यो र—तिमीहरूले अङ्गुरको बगैँचा रोपिसकेपछि र चारैतिर झाडीको बार बनाएपछि र त्यसका पर्खालहरूमा चौकीदारहरू राखिसकेपछि—धरहरा पनि बनाएर र धरहरामा चौकीदार राखेर र मेरो अङ्गुरको बगैँचाको हेरचाह गरेर र ननिदाएको भए, शत्रु तिमीमाथि आउलान् भन्ने डर हुन्थ्यो र?

५४ अनि हेर, धरहराको चौकीदारले शत्रुलाई टाढा हुँदा देख्ने थियो; अनि तब तिमीहरूले तयारी गर्न सक्थ्यौ र शत्रुलाई त्यो बार भत्काउनबाट जोगाउन सक्थ्यौ र मेरो अङ्गुरको बगैँचालाई विनाशकारीको हातबाट जोगाउन सक्थ्यौ ।

५५ अनि अङ्गुरको बगैँचाका मालिकले आफ्ना सेवकहरूमध्ये एकलाई भने: जाओ र मेरा बाँकी सेवकहरूलाई एकसाथ एकत्रित गर र मेरो गृहको सम्पूर्ण शक्ति नेतृत्व गर, जो मेरा योद्धाहरू, मेरा जवानहरू र मेरा सबै सेवकहरू मध्येका अधबैंसे उमेरका तिनीहरू पनि जो मेरो गृहका शक्ति हुन्, तिनीहरू बाहेक जसलाई मैले बस्न नियुक्त गरेको छु;

५६ अनि तिमीहरू तत्कालै मेरो अङ्गुरको बगैँचाको भूमिमा जाओ र मेरो अङ्गुरको बगैँचाको पुनर्स्थापना गर; किनभने यो मेरो हो; यो मैले पैसाले किनेको हुँ ।

५७ त्यसकारण, तत्कालै मेरो भूमिमा जाओ; मेरा शत्रुहरूको पर्खाल भत्काओ; तिनीहरूको धरहरा भत्काओ र तिनीहरूका चौकीदारहरूलाई तितरबितर पार ।

५८ अनि जति जति तिनीहरू तिम्रा विरुद्धमा एकसाथ एकत्रित हुन्छन्, मेरा शत्रुहरूबाट मेरा लागि बदला लिय, ताकि म मेरो गृहका बाँकी रहेकाहरूका साथ आउन सक्छु र भूमिलाई अधिकारमा लिन सक्छु ।

५९ अनि सेवकले आफ्नो मालिकलाई भन्यो: यी कार्यहरू कहिले हुने छन्?

६० अनि उसले आफ्नो सेवकलाई भन्यो: जब म चाहन्छु; तिमी तत्कालै जाऊ र मैले तिमीलाई आज्ञा गरेका सबै कार्यहरू गर;

६१ अनि यो तिम्रा लागि मेरो मोहर र आशीर्वाद हुने छ—मेरो गृहको बीचमा एक आस्थावान् र बुद्धिमान् रखवाला, मेरो अधिराज्यमा एक शासक ।

६२ अनि उसको सेवक तत्कालै गयो र तिनका मालिकले आज्ञा गरेका सबै कार्यहरू गर्‍यो; र धेरै दिनपछि सबै कार्यहरू पूरा भए ।

६३ पुनः, म तिमीहरूलाई साच्चैँ नै भन्छु, म तिमीहरूलाई सबै चर्चहरूका सम्बन्धमा ममा ज्ञान देखाउने छु, जति जति तिनीहरू आफ्नो मुक्तिका लागि सही र उचित मार्गमा डोऱ्याइन इच्छुक छन्—

६४ मेरा सन्तहरूलाई एकसाथ एकत्रित गर्ने कार्य जारी रहन सक्छ, ताकि म तिनीहरूलाई मेरो नाममा पवित्र स्थानहरूमा निर्माण गर्न सक्छु; किनकि फसल काट्ने समय आएको छ र मेरो वचन पूरा हुनु आवश्यक छ ।

६५ त्यसकारण, गहुँ र सामाको दृष्टान्तअनुसार मैले मेरा मानिसहरूलाई एकसाथ एकत्रित गर्नै पर्छ, ताकि गहुँ अनन्त जीवन प्राप्त गर्नका लागि भण्डारहरूमा सुरक्षित हुन सकिने छ र सेलेस्टियल महिमाको मुकुट लगाइने छ, जब म हरेक मानिसलाई उसको कार्यअनुसारको पुरस्कार दिन मेरा पिताको अधिराज्यमा आउने छु;

६६ जबकि सामाहरू बिटामा बाँधिनु पर्छ र तिनीहरूका डोरीहरू मजबूत बनाइनु पर्छ, ताकि तिनीहरू ननिभ्ने आगोमा जल्ने छन् ।

६७ त्यसकारण, म सबै चर्चहरूलाई एक आज्ञा दिन्छु, ताकि तिनीहरूले मैले तोकेका स्थानहरूमा एकसाथ एकत्रित हुन जारी राख्नु पर्छ ।

६८ तैपनि, मैले तिमीहरूलाई पहिलेको आज्ञामा भने जस्तै, तिमीहरूको एकीकरण हतारमा वा खतराबाट भागेर गरिनु हुँदैन; तर सबै कार्यहरू तिमीहरूका अगाडि तयार गरिनु पर्छ ।

६९ अनि तिमीहरूसामु सबै विषयवस्तुहरू तयार हुनका लागि, मैले यी विषयहरूका सम्बन्धमा दिएका आज्ञा पालना गर—

७० जसले भन्छ वा सिकाउँछ, मेरा सन्तहरूको एकीकरणको प्रारम्भका लागि मैले सियोनको भूमि हुन नियुक्त गरेको भूमिको वरिपरिको क्षेत्रमा पैसामा किन्न सकिने सबै जमीनहरू पैसाले किन्न सकिन्छ;

७१ ज्याक्सन प्रदेश र यस वरपरका प्रदेशहरूमा किन्न सकिने सबै जमीनहरू र बाँकी मेरो हातमा छोडिदेऊ ।

७२ अब, म तिमीहरूलाई साच्चैँ नै भन्छु, सबै चर्चहरूले आफ्ना सबै पैसाहरू एकसाथ जम्मा गर्नु पर्छ; यी विषयहरू तिनीहरूको समयमा हुनु पर्छ तर हतारमा होइन; र आफ्नो अगाडि सबै सन्दर्भहरू तयार गर्दै अवलोकन गर ।

७३ अनि सम्मान्य मानिसहरू, बुद्धिमान् मानिसहरू पनि नियुक्त गरिनु पर्छ र तिनीहरूलाई यी भूमिहरू किन्न पठाइनु पर्छ ।

७४ अनि पूर्वी भागहरूमा चर्चहरू, जब तिनीहरू निर्माण हुन्छन्, यदि तिनीहरूले यो सल्लाह सुनेमा तिनीहरूले जमीनहरू किन्न सक्छन् र तिनीहरूमा एकसाथ एकत्रित हुन सक्छन्; र यसरी तिनीहरूले सियोन स्थापना गर्न सक्छन् ।

७५ त्यहाँ अघिबाटै ढुकुटीमा पहिले नै पर्याप्त छ, हो, एक प्रशस्तता पनि, सियोनलाई उद्धार गर्न र उनका उजाड स्थानहरूलाई स्थापित गर्न, अब तल फ्याँकिने छैन, चर्चहरू थिए, जसले मेरो आवाज सुन्न इच्छुक हुँदै आफूलाई मेरो नाममा बोलाउँछन् ।

७६ अनि पुनः म तिमीहरूलाई भन्छु, जो आफ्ना शत्रुहरूद्वारा तितरबितर भएका छन्, यो मेरो चाहना हो कि उनीहरूले शासकहरूका रूपमा राखिएका र तिमीहरूमाथि अधिकार भएकाहरूका हातबाट मुक्ति र क्षतिपूर्तिका लागि निवेदन गरिरहनु पर्छ—

७७ जनहरूका नियम र संविधानअनुसार, जुन मैले स्थापित हुनका लागि अनुमति दिएको छु र न्यायोचित र पवित्र सिद्धान्तहरूअनुसार सबै प्राणीको अधिकार र संरक्षणका लागि कायम गरिनु पर्छ;

७८ ताकि हरेक मानिसले भविष्यसँग सम्बन्धित सिद्धान्त र आधारभूत सत्य कार्य गर्न सक्ने छन्, मैले उनलाई दिएको नैतिक क्षमताअनुसार, ताकि प्रत्येक मानिस न्यायको दिनमा आफ्नै पापहरूका लागि जवाफदेही हुन सक्ने छन् ।

७९ त्यसकारण, कुनै पनि मानिसले एक अर्काको बन्धनमा बस्नु उचित हुँदैन ।

८० अनि यस उद्देश्यका लागि मैले यस भूमिको संविधान स्थापना गरेको छु, बुद्धिमानी मानिसहरूका हातद्वारा जसलाई मैले यही उद्देश्यका लागि खडा गरेको छु र रगत बगाएर भूमिलाई पुनः प्राप्त गरेको छु ।

८१ अब, म सियोनका सन्ततिहरूलाई केसँग तुलना गरूँ? म तिनीहरूलाई नारी र अन्यायी न्यायकर्ताको दृष्टान्तसँग तुलना गर्ने छु, किनकि जनहरूले सदैव प्रार्थना गर्नु पर्छ र निराश हुनु हुँदैन, जसले भन्छ—

८२ एउटा सहरमा एक न्यायकर्ता थिए जो न त परमेश्वरसँग डराउँथे, न त मानिसलाई मान्थे ।

८३ अनि त्यो सहरमा एउटी विधवा थिईन् र उनी तिनीकहाँ आईन्, यसो भन्दै: मलाई मेरो शत्रुको बदला लिनुहोस् ।

८४ अनि उनले केही समयका लागि चाहँदैनन् तर केही समयपछि उनले आफैँमा भने: यद्यपि म परमेश्वरसँग डराउँदिनँ, न मानिसलाई मान्छु, तर पनि यस विधवाले मलाई सताएका कारणले म उनको बदला लिने छु, अन्यथा उनको निरन्तर आगमनले उनले मलाई थकाउने छिन् ।

८५ तसर्थ म सियोनका सन्तानहरूलाई तुलना गर्ने छु ।

८६ तिनीहरूलाई न्यायकर्ताको चरणमा बिन्ती गर्न दिनु पर्छ;

८७ अनि यदि उनले तिनीहरूलाई ध्यान दिएनन् भने, तिनीहरूलाई राज्यपालको चरणमा बिन्ती गर्न दिनुपर्छ;

८८ अनि यदि राज्यपालले उनीहरूलाई ध्यान दिएनन् भने, उनीहरूलाई अध्यक्षको चरणमा बिन्ती गर्न दिनु पर्छ;

८९ अनि यदि अध्यक्षले तिनीहरूलाई ध्यान दिएनन् भने, तब परमप्रभु उठ्नु हुने छ र आफ्नो लुक्ने स्थानबाट बाहिर आउनु हुने छ र आफ्नो क्रोधमा राष्ट्रलाई सताउनु हुने छ;

९० अनि उहाँको चरम असन्तुष्टिमा र उहाँको भयङ्कर क्रोधमा, उहाँको समयमा, ती क्षुद्र, अविश्वासी र अन्यायी रखवालाहरूलाई अलग्याउनु हुने छ र तिनीहरूलाई कपटीहरू र अविश्वासीहरूका बीचमा तिनीहरूको अंश नियुक्त गर्नु हुने छ;

९१ बाहिरी अन्धकारमा समेत, जहाँ रुवाइ र चिच्याहट र दाह्रा किटाइ हुने छ ।

९२ त्यसकारण, प्रार्थना गर, ताकि तिनीहरूका कानहरू तिमीहरूका पुकारामा खोलिन सक्छन्, ताकि म उनीहरूप्रति दयालु हुन सकूँ, ताकि यी घटनाहरू तिनीहरूमाथि आउने छैन ।

९३ मैले तिमीहरूलाई के भनेँ त्यो हुनु आवश्यक छ, ताकि सबै मानिसहरूलाई बिना बहाना छोड्न सकिन्छ;

९४ ताकि ज्ञानी मानिसहरू र शासकहरूले सुन्न र बुझ्न सक्छन् जुन तिनीहरूले कहिल्यै सोचेका छैनन्;

९५ ताकि म मेरो काम, मेरो कठिन काम र मेरो कार्य, मेरो कठिन कार्य अघि बढाउन सक्छु ताकि मानिसहरूले धर्मी र क्षुद्रलाई छुट्याउन सक्छन्, भनेर तिमीहरूका परमेश्वर भन्नु हुन्छ ।

९६ अनि पुनः, म तिमीहरूलाई भन्छु, जुन मैले मेरा मानिसहरूलाई नियुक्त गरेको छु, मेरा सेवक सिड्नी गिल्बर्टले मेरो ढुकुटी मेरा शत्रुहरूको हातमा बेच्नु मेरो आज्ञा र मेरो चाहना विपरित छ ।

९७ मेरो नाममा बोलाउनेहरूको सहमतिले मैले नियुक्त गरेको विषय मेरा शत्रुहरूद्वारा अपवित्र पार्नु हुँदैन;

९८ किनकि यो मेरा विरुद्धमा र मेरा जनहरूका विरुद्धमा एक अति नै पीडादायी र जघन्य पाप हो, ती विषयहरूको फलस्वरूप जुन मैले निर्णय गरेको छु र जुन छिट्टै राष्ट्रहरूमाथि आइ पर्ने छ ।

९९ त्यसकारण, यो मेरो चाहना हो कि मेरा जनहरूले दाबी गर्नु पर्छ र मैले तिनीहरूलाई नियुक्त गरेको विषयमा दाबी गर्नु पर्छ, यद्यपि तिनीहरूलाई त्यहाँ बस्न अनुमति दिइनु हुँदैन ।

१०० यद्यपि, म भन्दिन कि तिनीहरू त्यहाँ बस्नु हुँदैन; किनकि जति जति तिनीहरूले फल फलाउँछन् र मेरो अधिराज्यका लागि उपयुक्त कार्यहरू गर्छन् तिनीहरू त्यहाँ बस्ने छन् ।

१०१ तिनीहरूले निर्माण गर्ने छन् र अन्य कोही यसको उत्तराधिकारी हुने छैन; तिनीहरूले अङ्गुरको बगैँचाहरू रोप्ने छन् र तिनीहरूले त्यसको फल खाने छन् । तसर्थ यस्तै हुने छ । आमीन ।