धर्मशास्त्रहरू
सिद्धान्त र करार १


यो
सिद्धान्त र करार

खण्ड १

अगमवक्ता जोसेफ स्मिथद्वारा, नोभेम्वर १, १८३१ मा, हाइरम, ओहायोमा आयोजित चर्चका एल्डरहरूको विशेष सम्मेलनका क्रममा दिइएको प्रकाश । यस समयभन्दा पूर्व परमप्रभुबाट धेरै प्रकाशहरू प्राप्त भइसकेका थिए र पुस्तकका रूपमा प्रकाशन गर्नका लागि यिनीहरूको सङ्कलन गर्नु, सम्मेलनमा पारित गर्नु पर्ने प्रमुख विषयहरूमध्येको एक थियो । यस खण्डले यस युगमा दिइएका सिद्धान्तहरू, करारहरू र आज्ञाहरूलाई परमप्रभुको प्रस्तावना बनाउँछ ।

१–७, चेतावनीको आवाज सबै जनहरूका लागि हो; ८–१६, दोस्रो आगमनपूर्व धर्मविमुखता र क्षुद्रता हुन्छ; १७–२३, जोसेफ स्मिथलाई पृथ्वीमा परमप्रभुका सत्य र शक्तिहरू पुनर्स्थापित गर्न बोलावट गरिएको हो; २४–३३, मोर्मोनको पुस्तक बाहिर ल्याइन्छ र सत्य चर्च स्थापित भएको छ; ३४–३६, पृथ्वीबाट शान्ति खोसिनेछ; ३७–३९, यी आज्ञाहरू खोज ।

हे मेरो चर्चका तिमी जनहरू, सुन, उहाँको वाणीले भन्दछ जो शीर्षस्थ हुनुहुन्छ र जसका नयन सबै मानिसहरूमाथि छन्; हो, साच्चैँ नै, म भन्दछु: तिमी जनहरू टाढाबाट सुन; र समुद्रका टापुहरूमा बस्नेहरू सँगै सुन ।

किनकि साच्चैँ नै, परमप्रभुको वाणी सबै मानिसहरूका लागि हो र त्यहाँबाट उम्कने कोही पनि छैन; अनि त्यहाँ कुनै आँखा छैनन् जसले देख्ने छैन, न त कान नै छन् जसले सुन्ने छैन, न त हृदय नै छ जसमा घुस्ने नै छ ।

अनि विद्रोहीहरूलाई धेरै दुःखले छेडिने छ; किनभने तिनीहरूका दुष्टताहरू घरको धूरीबाट कराउने छन् र तिनीहरूका गोप्य कार्यहरू प्रकट गरिने छन् ।

अनि चेतावनीको आवाज सबै जनहरूसामु हुने छ, मेरा शिष्यहरूको मुखबाट, जसलाई मैले यी अन्तिम दिनहरूमा छनोट गरेको छु ।

अनि तिनीहरू अगाडि बढ्छन् र कसैले पनि तिनीहरूलाई रोक्ने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई आज्ञा दिएको छु ।

हेर, यो मेरो अधिकार हो र मेरा सेवकहरूको अधिकार हो र मेरा आज्ञाहरूका पुस्तकमा मेरो प्रस्तावना हो, जुन मैले तिनीहरूलाई तिमीहरूसामु प्रकाशित गर्न दिएको छु, हे पृथ्वीका बासिन्दाहरू ।

यसकारण, हे मानिसहरू, डराओ र थरथर काँप, किनकि म परमप्रभुले तिनीहरूमा जे उर्दी जारी गरेको छु त्यो पूरा हुनेछ ।

अनि म साच्चैँ नै, तिमीहरूलाई भन्दछु, कि ती जो पृथ्वीका बासिन्दाहरूलाई यी सन्देशहरू सुनाउँदै अगाडि बढ्छन् तिनीहरूलाई पृथ्वी र स्वर्ग दुबैमा, अविश्वासी र विद्रोहीहरूलाई बाँध्न लगाउने शक्ति दिइएको छ;

हो, साच्चैँ नै, परमेश्वरको क्रोधबिना मापन पतितहरूमाथि खन्याइने दिनसम्म तिनीहरूलाई बाँध्न—

१० त्यस दिनसम्म जब परमप्रभुले प्रत्येक मानिसलाई उसको कार्यअनुसार क्षतिपूर्ति दिन आउनुहुने छ र उसले आफ्नो छिमेकीलाई मुल्याङ्कन गरेअनुसार प्रत्येक मानिसलाई मूल्याङ्कन गर्नु हुने छ ।

११ यसकारण परमप्रभुको वाणी पृथ्वीको सीमान्तसम्म छ, ती सबै जसले सुन्ने छन् त्यो सुन्न सकून्:

१२ तयार रहनु, आउन लागेका विषयका लागि तयार रहनु, किनकि परमप्रभु समीप हुनुहुन्छ;

१३ अनि परमप्रभुको क्रोध दन्किएको छ र स्वर्गमा उहाँको तरबार पखालिन्छ र यो पृथ्वीका बासिन्दाहरूमाथि बज्रिने छ ।

१४ अनि परमप्रभुका बाहु प्रकट हुने छन्; र त्यो दिन आउँदै छ कि जसले परमप्रभुको वाणीमा सूचित बन्दैनन्, न उहाँका सेवकहरूको आवाजमा नै सुचित बन्दछन्, न त अगमवक्ताहरू र प्रेरितहरूका वचनहरूमा कान थाप्छन्, तिनीहरूलाई जनहरूबाट अलग्याइने छ;

१५ किनकि तिनीहरू मेरा विधिहरूबाट विचलित भएका छन् र मेरा अनन्त करार भङ्ग गरेका छन्;

१६ तिनीहरूले उहाँको धार्मिकता स्थापित गर्न परमप्रभुलाई खोज्दैनन् तर हरेक मानिस आफ्नै मार्गमा हिँड्छन् र आफ्नै परमेश्वरको छविको पछि लाग्छन्, जसको छवि संसारको प्रतिरूपमा छ र जसको पदार्थ मूर्तिको जस्तै हो, जुन पुरानो हुन्छ र बेबिलोनमा नाश हुने छ, महान् बेबिलोन समेत, जो पतन हुने छ ।

१७ यसकारण, म परमप्रभुले, पृथ्वीका बासिन्दाहरूमाथि आइपर्ने विपत्तिलाई बुझेर, मेरा सेवक जोसेफ स्मिथ, जुनियरलाई बोलावट गरेँ र स्वर्गबाट ​​उनीसँग बोलेँ र उनलाई आज्ञाहरू दिएँ;

१८ अनि अरूहरूलाई आज्ञाहरू पनि दिएँ, ताकि तिनीहरूले संसारमा यी विषयहरू घोषणा गर्नु पर्छ; अनि ताकि यो सबै पूरा होस्, जुन अगमवक्ताहरूद्वारा लेखिएको थियो—

१९ संसारका कमजोर विषयहरू बाहिर आउने छन् र शक्तिशाली र मजबुतहरूलाई विनाश गर्ने छन्, ताकि मानिसले आफ्ना छिमेकीलाई सल्लाह दिनु हुँदैन, न त शरीरका पाखुरामा भरोसा राख्नु हुन्छ—

२० परन्तु ताकि हरेक मानिसले संसारका परमेश्वर परमप्रभु, मुक्तिदाता समेतका नाममा बोल्न सकोस्;

२१ ताकि त्यो आस्था पृथ्वीमा पनि बढ्न सकोस्;

२२ ताकि मेरो अनन्त करार स्थापित हुन सकोस्;

२३ ताकि मेरो सुसमाचारको परिपूर्णता कमजोर र साधारणहरूद्वारा अनि राजाहरू र शासकहरूका सामु संसारको सीमान्तसम्म घोषणा गर्न सकियोस् ।

२४ हेर, म परमेश्वर हुँ र मैले यो बोलेको छु; यी आज्ञाहरू मेरा हुन् र मेरा सेवकहरूलाई तिनीहरूका कमजोरीमा, तिनीहरूका भाषाका तरिका अनुसार दिइएका हुन्, ताकि तिनीहरूले बुझ्न सकून् ।

२५ अनि जति जति तिनीहरूले गल्ती गर्दछन् यो प्रकट गर्न सकिन्छ;

२६ अनि जति जति तिनीहरूले ज्ञानको खोजी गर्दछन् तिनीहरूलाई निर्देशन गर्न सकिन्छ;

२७ अनि जति जति तिनीहरूले पाप गर्दछन् तिनीहरूले पश्चात्ताप गर्न सक्छन् भनेर तिनीहरूलाई हप्काउन सकिन्छ;

२८ अनि जति जति तिनीहरू विनम्र हुन्छन् तिनीहरूलाई मजबुत बनाउन सकिन्छ र उच्चबाट आशीर्वाद प्रदान गर्न सकिन्छ र समय-समयमा ज्ञान प्राप्त गर्न सक्छन् ।

२९ अनि नफीहरूका अभिलेख प्राप्त गरिसकेपछि, हो, मेरा सेवक जोसेफ स्मिथ, जुनियरलाई समेत परमेश्वरको कृपाद्वारा, परमेश्वरको शक्तिद्वारा, मोर्मोनको पुस्तकलाई अनुवाद गर्ने शक्ति हुने छ ।

३० अनि जसलाई यी आज्ञाहरू दिइएका थिए, तिनीहरूसँग यस चर्चको आधार तयार पार्ने र यसलाई अज्ञानताबाट बाहिर र अन्धकारबाट बाहिर ल्याउने शक्ति हुने छ, सारा पृथ्वीको सतहमा एक मात्र सत्य र जीवित चर्च, जसबाट म, परमप्रभु, चर्चसँग व्यक्तिगत रूपमा होइन सामूहिक रूपमा बोल्दै, अत्यन्तै खुसी छु—

३१ किनकि म परमप्रभुले पापलाई थोरै मात्राको स्वीकृतिले पनि हेर्न सक्दिन;

३२ यद्यपि, जसले पश्चात्ताप गर्दछ र परमप्रभुका आज्ञाहरू पालना गर्दछ उसलाई क्षमा दिइनु पर्दछ;

३३ अनि जसले पश्चात्ताप गर्दैन, उसले पाएको ज्योति पनि खोसिने छ; किनकि मेरो आत्माले सदैव मानिससँग सङ्घर्ष गर्ने छैन, सैन्यहरूका अधिपति भन्नुहुन्छ ।

३४ अनि पुनः साच्चैँ नै म तिमीहरूलाई भन्दछु, हे पृथ्वीका बासिन्दाहरू: म परमप्रभु यी विषयहरू सबै प्राणीहरूलाई बताउन इच्छुक छु;

३५ किनकि म मानिसहरूलाई पक्षपात गर्दिन र सबै मानिसहरूले बुझ्नु पर्दछ कि दिन छिट्टै आउँदै छ; समय अझै आएको छैन, तथापि नजिकै छ, जब पृथ्वीबाट शान्ति खोसिने छ र शैतानले आफ्नै आधिपत्यमा शक्ति प्राप्त गर्ने छ ।

३६ अनि परमप्रभुले पनि आफ्ना सन्तहरूमाथि शक्ति राख्नु हुने छ र तिनीहरूका बीचमा शासन हुने छ र एदोम वा संसारमा फैसला गर्नका लागि तल आउनु हुने छ ।

३७ यी आज्ञाहरूको खोजी गर, किनकि तिनीहरू सत्य र विश्वासिला छन् र तिनीहरूमा भएका अगमवाणीहरू र प्रतिज्ञाहरू सबै पूरा हुनु पर्छ ।

३८ म परमप्रभुले जे बोलेको छु, मैले बोलेको छु र म आफैमा खेद प्रकट गर्दिन; अनि स्वर्ग र पृथ्वी बितेर गए तापनि, मेरा वचन बितेर जाने छैनन् तर सबै पूरा हुने छन्, चाहे मेरो आफ्नै वाणीद्वारा होस् वा मेरा सेवकहरूको आवाजद्वारा, यो उस्तै हो ।

३९ किनकि हेर, अनि हेर, परमप्रभु परमेश्वर हुनुहुन्छ र आत्माले अभिलेख व्यक्त गर्दछ र अभिलेख सत्य हो र सत्य सदासर्वदा रहिरहन्छ । आमीन ।