धर्मशास्त्रहरू
२ नफी १


नफीको दोस्रो पुस्तक

लहीको मृत्युको एक विवरण। नफीका दाजुहरूले उनका विरुद्धमा विद्रोह गर्छन्। परमप्रभुले नफीलाई उजाड स्थानतर्फ प्रस्थान गर्न सचेत गर्नुहुन्छ। उनको उजाड स्थानको यात्रा र आदि-इत्यादि।

अध्याय १

लहीले स्वतन्त्रताको भूमिका बारेमा अगमवाणी गर्छन्—यदि तिनीहरूले इस्राएलका पवित्र उहाँलाई अस्वीकार गरेमा उनका सन्तति यत्रतत्र छरिनेछ्न् र दण्डित हुनेछन्—उनले आफ्ना छोराहरूलाई धार्मिकताको कवच लगाउन सजग गराउँछन्। लगभग ई.पू. ५८८–५७०।

अनि अब यस्तो हुन गयो कि म नफीले मेरा दाजुहरूलाई सिकाउन अन्त्य गरेपछि, मेरा पिता लहीले पनि उनीहरूसमक्ष धेरै कुराहरू बोल्नुभयो र उनीहरूलाई सुनाउनुभयो कसरी परमप्रभुले उनीहरूलाई यरुशलेमको भूमिबाट बाहिर ल्याउनमा कस्ता महान् कुराहरू गर्नुभएको थियो।

अनि उहाँले तिनीहरूसामु तिनीहरूको पानीमाथिको विद्रोह र उनीहरूका ज्यान जोगाउनमा परमेश्वरका कृपाहरू जसले गर्दा उनीहरू समुद्रमा निलिएनन् तिनीहरूका बारेमा बोल्नुभयो।

अनि उहाँले प्रतिज्ञाको भूमिका बारेमा पनि तिनीहरूसँग बोल्नुभयो, जुन तिनीहरूले प्राप्त गरेका थिए—हामीले यरुशलेमको भूमिबाट भाग्नु पर्छ भनेर हामीलाई सचेत गराउनमा परमप्रभु कति दयालु हुनुभएको थियो।

किनकि, हेर, उहाँ भन्नुहुन्छ, मैले एउटा दर्शन देखेकोछु, जसमा मलाई थाहा छ कि यरुशलेमको विनाश भयो; र यदि हामी यरुशलेममा नै रहेको भए हाम्रो पनि विनाश हुनेथियो।

तर, उहाँ भन्नुहुन्छ, हाम्रा कष्टहरू हुँदाहुँदै पनि हामीले प्रतिज्ञाको भूमि पाएका छौँ, त्यस्तो भूमि जुन अन्य सबै भूमिहरूभन्दा उत्तम छ; त्यस्तो भूमि जुन परमप्रभु परमेश्वरले मसँग करार गर्नुभएको थियो जुन मेरा सन्ततिका लागि रिक्थको भूमि हुनेछ। हो, परमप्रभुले यो भूमि म र मेरा सन्तानहरूका लागि सदासर्वदाका लागि करार गर्नुभएको थियो र ती सबैका लागि पनि जसलाई परमप्रभुका हातद्वारा अरु देशहरूबाट अगुवाइ गरेर ल्याइनेछ।

यसकारण, म लही आफूमा भएको आत्माको कार्यअनुसार अगमवाणी गर्दछु कि परमप्रभुका हातबाट ल्याइएकाहरु बाहेक यस भूमिमा अरु कोही आउने छैनन्।

यसकारण, यो भूमि तिनका लागि पवित्रीकृत गरिएको छ जसलाई उहाँले ल्याउनुहुनेछ। अनि यदि यसो भयो कि तिनीहरूले उहाँलाई ती आज्ञाहरू बमोजिम सेवा गर्नेछन् जुन उहाँले दिनुभएको छ, यो तिनीहरूका लागि स्वतन्त्रताको भूमि हुनेछ; त्यसकारण तिनीहरूलाई कहिल्यै पनि बन्धन्‌मा ल्याइनेछैन; यदि यसो हो भने त्यो दुष्टताका कारण हो; किनकि यदि दुष्टता अधिक भएमा उनीहरूका निम्ति त्यो भूमि श्रापित हुनेछ, तर धर्मीहरूका लागि यो सदासर्वदाका लागि आशीष हुनेछ।

अनि हेर, यो बिद्दता हो कि यो भूमिलाई अझै अन्य राष्ट्रहरूबाट गोप्य राखिनु पर्छ; किनकि, हेर, धेरै राष्ट्रहरूले यो भूमि खचाखच हुनेछ, कि रिक्थका लागि त्यहाँ कुनै ठाउँ हुनेछैन।

यसकारण, म लहीले एउटा वाचा प्राप्त गरेको छु, कि यरुशलेमको भूमिबाट परमप्रभुले ल्याउनुभएकाहरूले उहाँका आज्ञाहरू पालना गरेमा, उनीहरूले यस भूमिको सतहमा उन्नति गर्नेछन्; र तिनीहरूलाई अन्य राष्ट्रहरूबाट गोप्य राखिनेछ, कि तिनीहरूले आफ्ना लागि यो भूमि स्वामित्वमा लिनेछन्। अनि यसो भयो कि यदि तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेमा उनीहरूलाई यस भूमिको सतहमा अशीषित गरिनेछ र तिनीहरूलाई सताउने अथवा तिनीहरूको रिक्थका भूमि हडप्ने कोही पनि हुनेछैन; र तिनीहरू सदासर्वदाका लागि सुरक्षाका साथ बसोबास गर्नेछन्।

१० तर हेर, जब समय आउँछ कि तिनीहरूले परमप्रभुका हातबाट यस्ता महान् आशीषहरू पाइसकेपछि तिनीहरू विश्वासमा क्षीण हुनेछ्न्—पृथ्वीको सृष्टिको र सबै मानवको ज्ञान पाएर, संसारको सृष्टिदेखि परमप्रभुको महान् र अद्भूत कार्यहरू थाहा पाएर; आस्थाद्वारा सबै कुराहरू गर्ने शक्ति पाएर; प्रारम्भदेखिनै सबै आज्ञाहरू पाएर र प्रतिज्ञाको यो अमूल्य भूमिमा उहाँको अनन्त कृपाद्वारा ल्याईएर—हेर, म भन्छु, कि यदि त्यो दिन आयो भने जुन दिन तिनीहरूले इस्राएलका पवित्र उहाँ, सत्य मसीह, तिनीहरूका उद्दारकर्ता र तिनीहरूका परमेश्वरलाई अस्वीकार गर्नेछन्, हेर, उहाँको न्याय तिनीहरूमा रहनेछ जुन उपयुक्त छ।

११ हो, उहाँले तिनीहरूसमक्ष अन्य राष्ट्रहरू ल्याउनुहुनेछ र उहाँले तिनीहरूलाई शक्ति दिनुहुनेछ र उहाँले तिनीहरूबाट तिनका अधीनमा रहेका भूमिहरू हरण गर्नुहुनेछ र उहाँले तिनीहरूलाई तितरबितर हुन र दण्डित हुन लगाउनुहुनेछ।

१२ हो, जब एक पुस्ताबाट अर्को पुस्तामा अघि बढ्दछ त्यहाँ रक्तपात र भीषण दैवी प्रकोप हुनेछ, यसकारण, मेरा छोराहरू हो, म प्रोत्साहित गर्दछु कि तिमीहरूले सम्झने छौ, हो, म प्रोत्साहित गर्दछु कि मेरा वचनहरू सुन्नेछौ।

१३ ओहो तिमी जाग; गहिरो निन्द्राबाट जाग, हो, नरकको निन्द्राबाट समेत र तिमीलाई बाँध्ने भयावह सिक्रीहरू झट्काउ, जुन मानिसका छोराछोरीहरूलाई बाँध्ने सिक्रीहरू हुन्, कि तिनीहरूलाई दु:ख र शोकको अनन्त खाडीमा बन्दी बनाएर लगिन्छ।

१४ ब्यूँझ! र धुलोबाट उठ र काँपिरहेका बाबुआमाका वचनहरू सुन, जसका अङ्गप्रत्यङ्गहरू तिमीले चाँडैनै त्यो चिसो र सुनसान चिहानमा छोड्नु पर्नेछ, जहाँ बाट कुनै यात्री फर्कन सक्ने छैन; अरु केहि दिनहरू अनि म पृथ्वीका सबैले जानुपर्ने बाटोबाट जान्छु।

१५ तर हेर, परमप्रभुले मेरो जीवात्मालाई नरकबाट उद्धार गर्नु भएको छ; मैले उहाँको महिमा देखेको छु र मलाई अनन्ततासम्म उहाँका प्रेमका पाखुरामा घेरा हालिएको छ।

१६ अनि म चाहन्छु कि तिमीले परमप्रभुको विधान र न्याय बारे अवलोकन गर्न सम्झनु पर्दछ; हेर, प्रारम्भदेखिनै यो मेरो जीवात्माको चिन्ता भएको छ।

१७ मेरो हृदय समय समयमा दु:खले भारि बन्न पुगेको छ, किनकि मलाई डर लागेको छ, कथंकदाचित् तिमीहरूका हृदयको कठोरताका कारण परमप्रभु तिम्रा परमेश्वर तिमीहरूमाथि उहाँको रिसले भरिपूर्ण भएर बाहिर आउनुपर्दछ कि तिमीहरूलाई अलग्याइनेछ र सदासर्वदाका लागि विनाश गरिनेछ;

१८ वा, धेरै पुस्ताहरूको अन्तरालसम्म तिमीहरूमाथि एउटा श्राप आउनेछ; र तिमीहरूलाई तरबार र अनिकालद्वारा भेट गरिनेछ र घृणा गरिनेछ र सैतानको इच्छा र बन्धनअनुसार डोर्याइनेछ।

१९ हे मेरा छोराहरू हो, कि यी कुराहरू तिमीहरूमाथि आइनपरून्, तर कि तिमीहरू परमप्रभुका रोजिएका र प्रिय मानिसहरू हुन सक। तर हेर, उहाँको इच्छा पूरा हुनेछ; किनकि उहाँका मार्गहरू सदासर्वदाका लागि धार्मिक छन्।

२० अनि उहाँले भन्नुभएकोछ कि: जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछौ तिमीहरू यस भूमिमा उन्नति गर्नेछौ; र जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछैनौ तिमीहरूलाई मेरो उपस्थितिबाट अलग्याइनेछ।

२१ अनि अब मेरो जीवात्माले तिमीहरूमा आनन्द पाओस् र तिमीहरूका कारणले मेरो जीवात्मा यस संसारबाट खुशीका साथ जाओस्, कि मलाई वेदना र दु:खले चिहानमा नलगोस्, धुलोबाट उठ, मेरा छोराहरू हो र मानिसहरू बन र एक मन र एक हृदय भएर, सबै कुराहरूमा एक भएर दृढ सङ्कल्पित होऊ, ताकि तिमीहरू कहिल्यै बन्धनमा तल आउँनेछैनौ।

२२ कि तिमीहरूलाई एक कष्टदायक श्रापले श्रापित गरिनेछैन; र तिमीहरूले आफूमाथि एक न्यायी परमेश्वरको खेद ल्याउनेछैनौ, विनाशसम्म, हो, आत्मा र शरीर दुबैको अनन्त विनाश।

२३ उठ, मेरा छोराहरू हो; धार्मिकताको कवच लगाओ। तिमीलाई बाँधिएको सिक्री झट्काओ र अस्पष्टताबाट बाहिर आओ र धुलोबाट उठ।

२४ तिमीहरू आफ्ना भाइहरूविरुद्ध विद्रोह नगर, जसका सोचाइहरू महिमामयी रहेका छन् र जसले हामीले यरुशलेम छोडेको समयदेखि नै ती आज्ञाहरू पालना गरेको छ; र जो हामीलाई प्रतिज्ञाको भूमितिर अगाडि ल्याउन परमेश्वरका हातको औजार बनेको छ; किनकि उसको कारण यसो नभएको भए, त्यस उजाड स्थानमा भोकले हाम्रो विनाश हुनेथियो; तथापि, तिमीले उसको ज्यान लिन खोज्दैछौ; हो र तिमीहरूका कारण उसले धेरै दु:ख सहेको छ।

२५ अनि म तिमीहरूका कारण अत्यन्तै डराउँछु र काँप्छु, कहीँ फेरि उसले पीडित हुन नपरोस्; किनकि हेर, तिमीहरूले उसलाई दोष लगाएका छौ कि उसले तिमीहरूमाथि शक्ति र अधिकार जमाउन खोजेको छ; तर मलाई थाहा छ कि उसले तिमीहरूमाथि शक्ति र अधिकार जमाउन खोजेको छैन, तर उसले परमेश्वरको महिमा र तिमीहरूको आफ्नो अनन्त कल्याण खोजेको छ।

२६ अनि तिमीहरूले गनगनाएका छौ किनभने ऊ तिमीहरूसँग स्पष्ट भएको थियो। तिमीहरू भन्दछौ कि उसले कठोरता प्रयोग गरेको छ; तिमीहरू भन्दछौ कि ऊ तिमीहरूसँग रिसाएको छ; तर हेर, उसको कठोरता परमेश्वरका वचनको शक्तिको कठोरता हो, जुन उसमा थियो; र जुन तिमीले रिस भन्दछौ त्यो नै सत्य थियो, जुन परमेश्वरमा भएअनुसार हो, जुन उसले नियन्त्रण गर्न सकेन, तिमीहरूका दुष्टताहरूका बारेमा साहसका साथ प्रकट गऱ्यो।

२७ अनि यो आवश्यक छ कि परमेश्वरको शक्ति उससंग हुनुपर्दछ, तिमीहरू आज्ञाकारी हुनुपर्दछ भनेर आज्ञा दिनमा समेत। तर हेर, यो ऊ थिएन, बरु यो त परमप्रभुको आत्मा थियो जुन उसमा थियो, जसले बोल्नलाई उसको मुख खोलिदियो कि उसले यो बन्द गर्नै सकेन।

२८ अनि अब मेरो छोरा, लमान, अनि लमुएल र सामपनि र मेरा छोराहरू पनि जो इश्माएलका छोराहरू हुन्, हेर, यदि तिमीहरूले नफीका वचन सुन्यौ भने तिमीहरूको विनाश हुनेछैन। र यदि तिमीहरूले उसलाई सुन्यौ भने म तिमीहरूलाई एउटा आशीष दिनेछु, हो, मेरो पहिलो आशीष समेत।

२९ तर यदि तिमीहरूले उसलाई सुनेनौ भने म मेरो पहिलो आशीष फिर्ता लिनेछु, हो, मेरो आशीष समेत र यो उसमाथि थपिने छ।

३० अनि अब, जोरम, म तिमीसामु बोल्दछु: हेर, तिमी लाबानको नोकर हौ; तैपनि, तिमीलाई यरुशलेमको भूमिबाट बाहिर ल्याइएको छ र मलाई थाहा छ कि तिमी मेरो छोरा नफीको साँचो मित्र हौ, सदासर्वदाका लागि।

३१ यसकारण, किनकि तिमी इमान्दार रहेकाले तिम्रा सन्तति उसका सन्ततिसँगै आशीषित हुनेछन् कि उनीहरू यस भूमिको सतहमा सम्पन्नतामा लामो समयसम्म बास गर्नेछन्; र केहीले पनि उनीहरूलाई सदासर्वदाका लागि उनीहरूको सम्पन्नतामा हानि अथवा बिचल्ली पार्नेछैन केवल यो उनीहरूको दुष्टताका कारणले मात्र हुनेछ।

३२ यसकारण, यदि तिमीले परमप्रभुको आज्ञाहरू पालना गऱ्यौ भने परमप्रभुले मेरा छोराका सन्ततिसँगै तिम्रा सन्ततिको सुरक्षाका लागि यो भूमि पवित्र पार्नुभएकोछ।