धर्मशास्त्रहरू
२ नफी १५


अध्याय १५

परमप्रभुको दाखबारी(इस्राएल) उजाड हुनेछ र उहाँका मानिसहरू यत्र तत्र छरिनेछन्—तिनीहरूको धर्मत्यागी र छरिएको अवस्थामा तिनीहरू शोकले भरिनेछ—परमप्रभुले झन्डा उठाउनुहुनेछ र इस्राएललाई भेला गर्नुहुनेछ—यशैया ५ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

अनि त्यसपछि म उहाँको दाखबारी छोएर मेरो प्रियलाई मेरो प्रियबारे एउटा गीत गाउनेछु। एउटा अत्यन्तै फलदायक डाँडामा मेरो प्रियको दाखबारी छ।

अनि तिनले त्यसमा बार लगाए र त्यहाँका ढुङ्गाहरू जम्मा गरे र त्यसमा तिनले सबैभन्दा रोजिँदो दाख रोपे र त्यसको माझमा तिनले एउटा धरहरा बनाए र त्यहाँ एउटा कोलपनि खोपे; र असल दाख फल्छ कि भनेर तिनले आशा गर्न थाले र त्यसमा अमिलो दाख पो फल्यो।

अनि अब, हे यरुशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरू, म प्रार्थना गर्दछु, म र मेरो दाखबारीको बीचमा न्याय गरिदेओ।

मेरो दाखबारीको निम्ति मैले यसमा नगरेको अरु के थियो होला जुन गर्नुपर्थ्यो? यसकारण, जब मैले दाख फल्छ कि भनेर आशा गरेको त यसले अमिलो दाख पो फलायो।

अनि अब हेर; म मेरो दाखबारीलाई के गर्नेछु भनेर म तिमीहरूलाई भन्नेछु—म त्यसको बार उखेलिदिनेछु र त्यो खाएर सिद्धिन्छ; र म त्यसको पर्खाल भत्काईदिनेछु र त्यो किचिमिची गरिनेछ;

अनि म त्यसको विनाश गर्नेछु; त्यो न त छिमलिनेछ न गोडिनेछ, तर त्यसमा ब्राइअर र काँडाहरू उम्रनेछन्; त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु।

किनकि सैन्यहरूका अधिपतिका दाखबारी इस्राएलको घराना हो र यहूदाका मानिसहरू उहाँको आनन्दको बिरुवा हुन्; र उहाँले न्यायको आशा गर्नुभयो, तर शोषण देखियो; धार्मिकताको आशा गर्नुभयो, तर रुवाबासी पो देखियो।

धिक्कार छ तिनीहरूलाई जसले कुनै ठाउँ नरहने गरि घरसित घर जोड्दछन्, ताकि तिनीहरू पृथ्वीको बीचमा एक्लै रहनुपरोस्!

सैन्यहरूको अधिपतिले मेरो कानहरूमा भन्नुभयो, साँचै धेरै घरहरू उजाड हुनेछन् र महान् र सुन्दर सहरहरू कुनै बासिन्दा बिना नै रहनेछन्।

१० हो, पाँच बिघा दाखबारीले पाँच पाथी दाखमध उब्जाउनेछ र एक होमर बीउले एक इफा अन्न उब्जाउनेछ।

११ धिक्कार छ तिनीहरूलाई जो बिहानै उठेर मदिरा पिउँदछ, जो रातीसम्म पिउँदछ र मदिरापानले तिनीहरूलाई विषाक्त पार्दछ!

१२ तिनीहरूका भोजमा वीणा, सारङ्गी, खैँजडी, बाँसुरी र मदिरा हुन्छन्; तर तिनीहरू परमप्रभुको कामको वास्ता गर्दैनन्, नत उहाँका हातको कामलाई सोच्दछन्।

१३ यसकारण, मेरा जन बन्धनमा परेका छन्, किनभने तिनीहरूसँग ज्ञान छैन; र तिनीहरूका आदरणीय मानिसहरू भोकमरीले पीडित भएका छन् र तिनीहरूका भीड प्यासले सुकेका छन्।

१४ यसकारण, नरकले आफूलाई फैलाएको छ र आफ्नो मुख नाप्न नमिल्ने गरी खोलेको छ; र तिनीहरूका महिमा र तिनीहरूका भीड र तिनीहरूका भव्यता र ती जो खुशी मनाउँछन्, ती सबै त्यहाँ ओर्लनेछन्।

१५ अनि सामान्य व्यक्तिलाई तल ल्याईनेछ र शक्तिशाली मानिसलाई विनम्र तुल्याइनेछ र अभिमानीका आँखा विनम्र तुल्याइनेछ।

१६ तर सैन्यहरूका अधिपतिलाई न्यायमा उच्च पारिनेछ र पवित्र परमेश्वरलाई आफ्नो धार्मिकताद्वारा पवित्र बनाइनेछ।

१७ तब थुमाहरू आफ्नै तरिकाले चर्नेछन् र अपरिचितहरूले बेकम्मा स्थानका मोटा भेडाहरू खानेछन्।

१८ धिक्कार छ तिनीहरूलाई जसले दुष्ट्याइलाई खोक्रोपनका डोरीले र पापलाई गाडा तान्ने डोरीले झैँ तानेर ल्याउँछन्;

१९ तिनीहरू जसले भन्छन्: उहाँले छिटो गर्नुहोओस्, उहाँले आफ्नो काम हतार गर्नुहोओस्, ताकि हामीले यसलाई हेर्न सकौँ; र इस्राएलका पवित्र उहाँका परामर्श नजिकै आओस्, ताकि हामीले यसलाई थाहा पाऔँ।

२० धिक्कार छ तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोमा उज्यालो र उज्यालोमा अँध्यारो राख्दछन्, जसले तितोमा मिठो र मिठोमा तितो राख्दछन्।

२१ धिक्कार छ तिनीहरूलाई जो आफ्नै नजरमा वुद्धिमान र आफ्नै दृष्टिमा विवेकी छन्।

२२ धिक्कार छ तिनीहरूलाई जो दाखमध पिउनलाई वीर छन् र बलियो मानिस जो मध मिसाउनलाई निपुण छन्।

२३ जसले पुरस्कारका निम्ति दुष्टहरूलाई सफाइ दिन्छन् र धर्मीको धार्मिकता उसबाट खोसिदिन्छन्!

२४ यसकारण, जसरी आगोले पराललाई ध्वस्त पार्दछ र ज्वालाले सुकेको घाँसलाई भष्म गर्दछ, त्यसै गरी तिनीहरूका जरा सडेर जानेछन् र तिनीहरूका फूलहरू धूलो झैँ उडेर जानेछन्; किनभने तिनीहरूले सैन्यहरूका अधिपतिको नियमलाई फ्याकेका छन् र इस्राएलका पवित्र उहाँको वचनलाई हेला गरेका छन्।

२५ यसकारण, परमप्रभुको रिस आफ्ना जनमाथि उठेको छ र उहाँले आफ्नो हात तिनीहरूका विरुद्ध तन्काउनु भएको छ र तिनीहरूलाई प्रहार गर्नु भएको छ; र डाँडाहरू हल्लिए र मानिसहरूका लाशहरूलाई सडकहरूको बीचमा टुक्राइयो। यतिमा पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि फैलिएको छ।

२६ अनि उहाँले टाढाका राष्ट्रहरूका निम्ति एउटा झन्डा खडा गर्नुहुनेछ र पृथ्वीका सिमान्तका उनीहरूलाई सुसेलीले बोलाउनुहुनेछ र हेर, तिनीहरू चाँडो फूर्तिसित आउनेछन्; तिनीहरू मध्ये कोही थाक्ने वा ठक्कर खानेछैनन्।

२७ कोही पनि झुल्ने वा निदाउने छैन; तिनीहरूका कम्मरका पटुका खुकुला हुनेछैनन्, नत तिनीहरूका जुत्ताको फित्ता नै चुडिनेछन्;

२८ जसका तीरहरू तिखा हुनेछन् र तिनीहरूका धनुमा ताँदो चढाएका हुनेछन् र तिनीहरूका घोडाका टाप चकमके ढुङ्गा जस्तै र तिनीहरूका पाङ्ग्राहरू हावाको भुमरीजस्तै, तिनीहरूका गर्जन सिंहको जस्तै हुनेछन्।

२९ तिनीहरू जवान सिंहझैँ गर्जनेछन्; हो, तिनीहरू गर्जनेछन् र शिकार समाउनेछन् र बोकेर सुरक्षित लैजानेछन् र कसैले मुक्त गर्ने छैन।

३० अनि त्यस दिन तिनीहरू समुद्र गर्जे झैँ तिनीहरूमाथि गर्जनेछन्; र यदि तिनीहरूले भूमि तर्फ हेरेभने, हेर, अन्धकार र दु:ख र स्वर्गहरूमा पनि प्रकाश अँध्यारो हुनेछ।