धर्मशास्त्रहरू
२ नफी १२


अध्याय १२

यशैयाले पछिल्ला दिनका मन्दिर, इस्राएलको भेला र सहस्राब्दीको न्याय र शान्ति देख्दछन्—घमण्डी र दुष्टलाई दोस्रो आगमनमा तल झारिन्छ—यशैया २ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

यहूदा र यरुशलेमको बारेमा आमोजका छोरा यशैयाले देखेका वचन:

अनि अन्तिम दिनहरूमा यस्तो हुन जानेछ, जब परमप्रभुका घरको पर्वत त्यस पर्वतको शिखरमा स्थापना गरिनेछ र सबै डाँडाहरू भन्दा माथि त्यो उच्च उठाइनेछ र सबै राष्ट्रहरू त्यहाँ ओइरिएर आउनेछन्।

अनि धेरै मानिसहरू जानेछन् र भन्नेछन्, तिमीहरू आओ र हामी परमप्रभुको पर्वतमा जाऔँ याकूबका परमेश्वरको घरमा; र उहाँले हामीलाई आफ्नो मार्गहरूबारे सिकाउनु हुनेछ र हामी उहाँका बाटाहरूमा हिड्नेछौँ; किनकि सियोनबाट व्यवस्था र यरुशलेमबाट परमप्रभुका वचन अघि जानेछ।

अनि उहाँले राष्ट्रहरूका बीचमा न्याय दिनुहुनेछ र धेरै मानिसहरूलाई हप्काउनु हुनेछ: र तिनीहरूले आफ्ना तरबारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउनेछन्—राष्ट्रले राष्ट्र विरुद्ध तरबार उठाउने छैनन्, नत तिनीहरूले लडाईं गर्न तालिम नै लिनेछन्।

हे याकूबका घराना, तिमीहरू आओ र हामी परमप्रभुको ज्योतिमा हिँडौँ; हो, आओ, किनकि तिमीहरू सबै पथभ्रष्ट भएका छौँ, हरेक आ-आफ्नै दुष्ट मार्गहरूमा।

यसकारण, हे परमप्रभु, हजुरले आफ्ना जन, याकूबका घरानालाई त्याग्नु भएको छ, किनभने तिनीहरू पूर्वदेखिकाहरूले भरिएका छन् र पलिश्तीहरूझैँ जोखना हेराउने व्यक्तिहरूलाई सुन्दछन् र आफू बिरानो व्यक्तिका सन्तानहरूसँग रमाउँदछन्।

तिनीहरूका भूमि सुन र चाँदीले भरिएको छ, न त तिनीहरूको धनको अन्त छ; तिनीहरूका भूमि घोडाहरूले पनि भरिएका छन्, न त तिनीहरूका रथहरूको कुनै गन्ती छ।

तिनीहरूका भूमि मूर्तिहरूले पनि भरिएका छन्; आफ्नै हातका कार्यलाई तिनीहरू आराधना गर्दछन्, जुन तिनीहरूले आफ्नै औंलाले बनाएका छन्।

सामान्य मानिस निहुरिने छैनन् र त्यो महान् मानिसले आफूलाई विनम्र तुल्याउने छैन, त्यसकारण, तिनीहरूलाई क्षमा नगर।

१० हे तिमी दुष्टहरू, ढुङ्गाभित्र पस र माटोभित्र लुक, किनकि परमप्रभुको भय र उहाँको प्रतापको महिमाले तिमीलाई प्रहार गर्नेछ।

११ अनि यस्तो हुनेछ कि मानिसको अभिमानी हेराइलाई विनम्र तुल्याइनेछ र मानिसहरूको सेखी झारिनेछ र त्यस दिन परमप्रभुलाई मात्र उच्च बनाइनेछ।

१२ किनकि सैन्यहरूका अधिपतिका दिन सबै राष्ट्रहरूमा चाँडै आउनेछ, हो, घमण्डी र अभिमानीमाथि र प्रत्येक जो माथि उठेका छन् र उसलाई तल ल्याइनेछ।

१३ हो र परमप्रभुको त्यो दिन लेबनानका सबै देवदारुहरूमाथि आउनेछ, किनकि तिनीहरू उच्च छन् र उचालिएका छन्; र बाशानका फलाँटका रुखहरू माथि पनि।

१४ अनि सबै अग्ला पर्वतहरूमाथि र सबै डाँडाहरूमाथि र ती राष्ट्रहरूमाथि जो उचालिएका छन् र सबै मानिसहरूमाथि पनि।

१५ अनि हरेक उच्च धरहरामाथि र सबै सुरक्षित पर्खालमाथि।

१६ अनि समुद्रका सबै पानीजहाजहरूमाथि र तर्शिशका सबै पानीजहाजहरूमाथि र सबै रमाइलो तस्वीरहरूमाथि।

१७ अनि मानिसको अभिमानलाई तल झुकाइनेछ र मानिसहरूको सेखी झारिनेछ; र त्यस दिन परमप्रभुलाई मात्र उच्च पारिनेछ।

१८ अनि मूर्तिहरू पूरै उहाँले उन्मूलन गर्नुहुनेछ।

१९ अनि तिनीहरू चट्टानका गुफामा र पृथ्वीका प्वालहरूमा जानेछन्, किनकि परमप्रभुप्रति तिनीहरूमा भय आउनेछ र उहाँको प्रतापको महिमाले तिनिहरूलाई प्रहार गर्नेछ, जब उहाँ पृथ्वीलाई भयानक रुपमा हल्लाउन उठ्नुहुनेछ।

२० त्यस दिन एउटा मानिसले आफ्ना निम्ति पुज्नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्द्रा र चमेराका अघि फालिदिनेछन्।

२१ चट्टानका चिराहरू र दाँतेदार चट्टानका शिखरहरू भित्र जानलाई, किनकि परमप्रभु प्रतिको भय तिनीहरूमाथि आउनेछ र उहाँको प्रतापको महिमाले तिनिहरूलाई प्रहार गर्नेछ, जब उहाँ पृथ्वीलाई भयानक रुपमा हल्लाउन उठ्नुहुनेछ।

२२ नाकको प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?