धर्मशास्त्रहरू
२ नफी २१


अध्याय २१

यिशैका ठुटा(ख्रीष्ट)ले धार्मिकतामा न्याय गर्नेछ—सहस्राब्दीमा परमेश्वरका ज्ञानले पृथ्वीलाई ढाक्नेछ—परमप्रभुले झन्डा खडा गर्नुहुनेछ र इस्राएललाई भेला गर्नुहुनेछ—यशैया ११ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

अनि त्यहाँ यिशैका ठुटाबाट एक छड अघि आउनेछ, उसको जराबाट एक हाँगा उम्रनेछ।

अनि परमप्रभुको आत्मा उनीमाथि रहनेछ, विवेक र सुझबुझको आत्मा, परामर्श र शक्तिको आत्मा, ज्ञानको आत्मा र परमप्रभुको भय;

अनि उसलाई परमप्रभुको भयमा छिटो बुझाउन सकिनेछ; र उहाँले आफ्नो आँखाले देखेर न्याय गर्नुहुनेछैन, नत आफ्नो कानले सुनेर गाली गर्नुहुनेछ।

तर धार्मिकताका साथ उहाँले गरिबको न्याय गर्नुहुनेछ र पृथ्वीका विनयीका लागि उहाँले निष्पक्षताकासाथ गाली गर्नुहुनेछ; र उहाँले पृथ्वीलाई आफ्नो मुखको छडले प्रहार गर्नुहुनेछ र आफ्नो ओँठहरूको सासले उहाँले दुष्टको बध गर्नुहुनेछ।

अनि उहाँको नितम्बको पटुका धार्मिकता हुनेछ र वफादारिता उहाँको शासनको लगाम हुनेछ।

ब्वाँसो पनि थुमासित बस्नेछ, अनि चितुवा पाठो, अनि बाच्छो, अनि जवान शेर, अनि गाईवस्तुसँग एकसाथ सुत्नेछ; र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।

अनि गाई र भालु चर्नेछन्; तिनीहरूका बच्चाहरू एकसाथ रहनेछन्; र सिंहले गोरुले झैँ पराल खानेछ।

अनि दुधे बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ र भर्खर दूध छोडेको बालकले आफ्नो हात विषालु सर्पको दुलोमा हाल्नेछ।

तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि र विनाश गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।

१० अनि त्यस दिन त्यहाँ यिशैको एक जरा हुनेछ, जुन मानिसहरूको झन्डा भई खडा हुनेछ; यसलाई गैह्र-यहूदीहरूले खोज्नेछन्; र उसको विश्राम महिमामयी हुनेछ।

११ अनि त्यस दिन यस्तो हुन जानेछ कि परमप्रभुले दोस्रो पटक आफ्ना जनका अवशेषलाई फेला पार्नका लागि आफ्नो हात फेरि फैल्याउनुहुनेछ जुन बाँकी रहेका छन्, अश्शूरीबाट, मिश्र देशबाट, माथिल्लो मिश्रबाट, कूशबाट, एलामबाट, शिनारबाट, हमातबाट र समुद्रका टापुहरूबाट।

१२ अनि उहाँले राष्ट्रहरूका निम्ति झन्डा खडा गर्नुहुनेछ र इस्राएलका निकालिएकाहरूलाई भेला गर्नुहुनेछ र यहुदाका छरपष्ट भएकाहरूलाई पृथ्वीका चारै कुनाहरूबाट भेला गर्नुहुनेछ।

१३ एफ्राइमको डाह पनि हराउनेछ र यहूदाको शत्रुहरू अलग्गिनेछन्; एफ्राइमले यहूदालाई डाह गर्नेछैन र यहूदाले एफ्राइमलाई पिरोल्ने छैन।

१४ तर तिनीहरू पलिश्तीहरूका काँधहरूमा पश्चिमतिर उड्नेछन्; तिनीहरूले एकसाथ पूर्वका तिनीहरूलाई लुट्नेछन्; तिनीहरूले आफ्नो हात एदोम र मोआबमाथि हाल्नेछन्; र अम्मोनीका सन्तानहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन्।

१५ अनि परमप्रभुले मिश्र देशको समुद्रको जिब्रोलाई पूरै विनाश गर्नुहुनेछ; र उहाँको शक्तिशाली बतासले उहाँले नदीमाथि आफ्नो हात हल्लाउनु हुनेछ र त्यसलाई प्रहार गरेर सात खोलाहरूमा विभाजन गर्नुहुनेछ र मानिसहरूलाई जुत्ता लगाएर सुक्खै तर्न लगाउनुहुनेछ।

१६ अनि बाँकी रहेका उहाँका मानिसहरूका अवशेषका निम्ति त्यहाँ अश्शूरदेखि राजमार्ग हुनेछ, जस्तो मिश्र देशको भूमिबाट इस्राएल बाहिर आउँदा त्यो दिन उसलाई भएको थियो।