धर्मशास्त्रहरू
२ नफी २९


अध्याय २९

धेरै गैह्र-यहूदीहरूले मोर्मोनको पुस्तकलाई अस्वीकार गर्नेछन्—उनीहरू भन्नेछन्, हामीलाई अर्को बाइबल चाहिँदैन—परमप्रभु धेरै राष्ट्रहरूसँग बोल्नुहुनेछ—लेखिएको पुस्तकहरूबाट उहाँले संसारको न्याय गर्नुहुनेछ। लगभग ई.पु. ५५९–५४५।

तर हेर, त्यहाँ धेरै हुनेछन्—त्यस दिनमा जब म तिनीहरूमाझ एक विस्मयकारी कार्य थाल्नेछु, कि म मानिसका छोराछोरीसँग गरेका करारहरू सम्झन सकूँ, कि इस्राएलका घरानाका मेरा जनलाई फेरि पाउन म दोस्रो पटक मेरो हात अगाडि सार्न सकूँ।

अनि पनि, कि म तिमी नफी र तिम्रा पितासँग पनि गरेका वाचाहरू सम्झन सकूँ, कि तिम्रा सन्ततिलाई म सम्झूँ; अनि कि तिम्रा सन्ततिका वचनहरू मेरा मुखबाट अघि बढ्नेछन्; अनि मेरा वचनहरू पृथ्वीको पल्लो छेउसम्म सुसेलिने छन्, मेरा जनका निम्ति, जुन इस्राएलका घरानाका हुन्।

अनि किनभने मेरा वचनहरू सुसेलिने भएकाले—धेरै गैह्र-यहूदीहरू भन्नेछन्: एउटा बाइबल! एउटा बाइबल! हामीसँग एउटा बाइबल छ, अनि त्यहाँ अरु कुनै बाइबल हुन सक्दैन।

तर परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मूर्खहरू हो, उनीहरूसँग बाइबल हुनेछ, अनि यहूदीहरू, मेरा प्राचीनकालका करारबद्ध जनबाट यो अगाडि बढ्नेछ। अनि उनीहरूबाट पाएको बाइबलका निम्ति उनीहरू कसरी यहूदीहरूलाई धन्यवाद दिन्छन्? हो, गैह्र-यहूदीहरूका के चाहन्छन्? गैह्र-यहूदीहरूसामु मुक्ति ल्याउनमा यहूदीहरूका दु:खहरू, अनि परिश्रमहरू, अनि पीडाहरूलाई, अनि मप्रतिको उनीहरूको लगनशीलतालाई के उनीहरू सम्झन्छन्?

हे तिमी गैह्र-यहूदीहरू, के तिमीले मेरा प्राचीनकालका करारबद्ध जन, ती यहूदीहरूलाई सम्झेका छौ? छैनौ, तर तिमीहरूले तिनीहरूलाई सरापेका छौ, अनि घृणा गरेका छौ, अनि उनीहरूलाई फर्काउन प्रयास गरेका छैनौ। तर हेर, म यी सबै कुराहरु तिमीहरूका शिरमा फर्काउने छु, किनकि मैले मेरा जनलाई बिर्सेको छैनँ।

तिमी मूर्ख, जो भन्नेछ: एउटा बाइबल, हामीसँग एउटा बाइबल छ, अनि हामीलाई अरु बाइबल आवश्यक छैन। के तिमीहरूले यहूदीहरूद्वारा बाहेक बाइबल पाएका छौ?

के तिमीहरूलाई थाहा छैन कि त्यहाँ एक भन्दा धेरै राष्ट्रहरू छन्? के तिमीलाई थाहाछैन कि म, परमप्रभु तिम्रा परमेश्वरले सबै मानिसको सृष्टि गरेको हुँ, र म समुद्रका टापुहरूमा भएकालाई सम्झनेछु; र म माथि स्वर्गमा र तल पृथ्वीमा शासन गर्दछु; अनि म मेरा वचनहरू मानिसका छोराछोरीसामु लैजान्छु, हो, पृथ्वीका सारा राष्ट्रहरूमा समेत?

तिमीहरू किन गनगनाउछौ, किनकि तिमीहरूले मेरा अरु बढी वचनहरू पाउनेछौ भनेर? के तिमीहरूलाई थाह छैन कि दुइटा राष्ट्रहरूका गवाही तिमीहरूसामु एक साक्षी हो कि म परमेश्वर हुँ, कि म एक राष्ट्रलाई जस्तै अर्कोलाई सम्झन्छु? यसकारण, म एउटा राष्ट्रसामु जस्तै अर्कोसामु उही वचनहरू बोल्दछु। अनि जब दुई राष्ट्रहरू मिल्छन् दुई राष्ट्रहरूका गवाही पनि मिल्नेछन्।

अनि म यसो गर्दछु कि म धेरैलाई प्रमाणित गर्न सकूँ कि म हिजो, आज, र सदासर्वदा उस्तै हुँ; अनि कि म मेरो आफ्नै राजिखुसिअनुसार मेरा वचनहरू बोल्दछु। अनि किनभने कि मैले एउटा वचन बोलेको छु भन्दैमा अर्को बोल्न सक्दिन भनेर नठान;किनकि मेरो कार्य अझै सकिएको छैन; न त मानिसको अन्त्यसम्म सकिनेछ, न त त्यस समयउपरान्त अनि सदासर्वदासम्म।

१० यसकारण, किनभने तिमीसँग एउटा बाइबल छ भन्दैमा तिमीहरू नठान कि यसमा मेरा सबै वचनहरू छन्; न त तिमीहरू ठान कि मैले अरु लेखाउन लगाएको छैन।

११ किनकि म पूर्वमा, अनि पश्चिममा, अनि उत्तरमा, अनि दक्षिणमा अनि समुद्रका टापुहरूमा, यत्रतत्र सबै मानिसहरूलाई आज्ञा दिन्छु कि मैले उनीहरूसामु बोलेका वचनहरू उनीहरूले लेखून्; किनकि लेखिएका पुस्तकहरूबाट म संसारको न्याय गर्नेछु, प्रत्येक मानिसको उनीहरूका कार्यहरूअनुसार, जे लेखिएको छ त्यसअनुसार।

१२ किनकि हेर, म यहूदीहरूसामु बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्; अनि म नफीहरूसामु बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्; अनि म इस्राएलका घरानाका मैले अगुवाइ गरेर लगेका अन्य कूलहरूसामु बोल्नेछु, अनि उनीहरू त्यो लेख्नेछन्; अनि म पृथ्वीका सारा राष्ट्रहरूसामु पनि बोल्नेछु अनि उनीहरू त्यो लेख्नेछन्।

१३ अनि यस्तो हुनेछ कि यहूदीहरूसँग नफीहरूका वचनहरू हुनेछन्, अनि नफीहरूसँग यहूदीहरूका वचनहरू हुनेछन्; अनि नफीहरूसँग र यहूदीहरूसँग हराइएका इस्राएलका कुलहरूका वचनहरू हुनेछन्; अनि इस्राएलका हराएका कुलहरूसँग नफीहरूका र यहूदीहरूका वचनहरू हुनेछन्।

१४ अनि यस्तो हुन जानेछ कि मेरा जन, जो इस्राएलका घरानाका हुन्, उनीहरूका अधीनका भूमिहरूमा भेला गरिनेछन्; अनि मेरा वचन पनि एकैसाथ जम्मा गरिनेछ। अनि म मेरा वचन र मेरा जन इस्राएलका घरानाकाहरूविरुद्ध लड्नेलाई देखाउनेछु कि म परमेश्वर हुँ, र मैले अब्राहामसँग करार गरेको थिएँ कि म उनका सन्तानलाई सदासर्वदा सम्झनेछु।