धर्मशास्त्रहरू
२ नफी ११


अध्याय ११

याकूबले आफ्ना उद्धारकर्तालाई देखे—मोशाको व्यवस्थाले ख्रीष्टलाई सङ्केत गर्छ र उहाँ आउनुहुनेछ भनेर प्रमाणित गर्छ। लगभग ई.पू. ५५९–५४५।

अनि अब, याकूबले त्यो समयमा मेरा जनसँग धेरै कुराहरू बोले; तैपनि केवल यी कुराहरू मात्रै मैले लेख्न लगाएँ, किनकि मैले लेखेका कुराहरू मेरा लागि पर्याप्त छन्।

अनि अब म, नफी, यशैयाका वचनहरू बढी लेख्दछु, किनकि मेरो हृदय उनका वचनहरूमा रमाउँदछ। किनकि म उनका वचनहरू मेरा जनमा प्रयोग गर्दछु र म यसलाई मेरा सबै सन्तानहरू अघि पठाउँदछु, किनकि उनले साँचै नै मैले उहाँलाई देखे झैँ मेरा उद्धारकर्तालाई देखेका थिए।

अनि मेरा भाइ याकूबले पनि मैले उहाँलाई देखे झैं उहाँलाई देखेका छन्; यसकारण, म तिनीहरूका वचनहरू मेरा सन्तानहरू कहाँ तिनीहरूलाई प्रमाण देखाउन पठाउँदछु कि मेरा वचनहरू सत्य छन्। यसकारण, तीनजनाका वचनहरूबाट, परमेश्वरले भन्नुभएको छ, म मेरा वचन स्थापित गर्दछु। तैपनि, परमेश्वरले अरु साक्षीहरू पठाउनुहुन्छ र उहाँले आफ्ना वचनहरूलाई प्रमाणित गर्नुहुन्छ।

हेर, मेरो हृदय मेरा जनलाई ख्रीष्टको आगमनको सत्यता प्रमाणित गराउन रमाउँछ; किनकि, यिनै उद्देश्यका लागि मोशाको व्यवस्था दिईएको छ; र सबै कुराहरू जुन संसारको प्रारम्भदेखि परमेश्वरबाट मानिसहरूलाई दिइएको छ, उहाँलाई सङ्केत गर्दछ।

अनि मेरो जीवात्मा परमप्रभुको करारमा रमाउँदछ जुन उहाँले हाम्रा पितापुर्खाहरुसँग गर्नुभएको छ; हो, उहाँको अनुग्रहमा र उहाँको न्यायमा र शक्ति र मृत्युबाट मुक्तिको महान् र अनन्त योजनामा भएको कृपामा मेरो जीवात्मा रमाउँदछ।

अनि मेरा जनसामु यो प्रमाणित गराउँदा मेरो जीवात्मा रमाउँदछ कि ख्रीष्ट आउनुभएन भने सबैको विनाश अवश्य हुन्छ।

किनकि यदि त्यहाँ ख्रीष्ट हुनुहुन्न भने त्यहाँ परमेश्वर हुनुहुन्न; र यदि त्यहाँ परमेश्वर हुनुहुन्न भने हामी छैनौ, किनकि त्यहाँ सृष्टि हुनेथिएन। तर त्यहाँ परमेश्वर हुनुहुन्छ र उहाँ ख्रीष्ट हुनुहुन्छ र उहाँ आफ्नै समयको परिपूर्णतामा आउनुहुन्छ।

अनि अब म यशैयाका केही वचनहरू लेख्दछु, ताकि मेरा जनमध्ये जसले पनि यी वचनहरू हेर्दछ उनीहरूका हृदयहरू उचालियून् र सबै मानिसहरूका लागि खुशी होऊन्। अब यी नै ती वचनहरू हुन् र तिमीहरूले तिमीहरूलाई र सबै मानिसहरूलाई यी प्रयोगमा ल्याओ।