धर्मशास्त्रहरू
१ नफी २२


अध्याय २२

इस्राएललाई पृथ्वीको सम्पूर्ण सतहभरी तितरबितर गरिनेछ-गैह्र-यहूदीहरूले सुसमाचारद्वारा अन्तिम दिनमा इस्राएलको पालनपोषण गर्नेछन्—इस्राएललाई भेला गराइनेछ र बचाइनेछ र दुष्टलाई रूखको ठुटोजस्तै बालिनेछ—सैतानको अधिराज्यको विनाश गरिनेछ र सैतानलाई बाधिँनेछ। लगभग ई.पू. ५८८–५७०।

अनि यस्तो हुनगयो कि म नफीले काँसका पाताहरूमाथि कुँदिएका यी कुराहरू पढिसकेपछि मेरा बन्धुहरू मेरासामु आए र मलाई भने: तैँले पढेका यी कुराहरूका अर्थ के हो? हेर, के तिनलाई शरीरको अनुसार नभई आत्माको अनुसार हुन आउने आत्मिक कुराहरूका आधारमा बुझिनु पर्ने हो?

अनि म नफीले उनीहरूलाई भनेँ: हेर आत्माको स्वरद्वारा ती अगमवक्तासामु प्रकट गरिएका थिए; किनकि आत्माद्वारा मांशशरीरअनुसार मानिसका छोराछोरीहरूमाथि आइपर्ने सबै कुराहरू अगमवक्ताहरूलाई अवगत गराइन्छ।

यसकारण, मैले पढेका कुराहरू सांसारिक र आत्मिक दुबै कुराहरूसँग सम्बन्धित कुराहरू हुन्; किनकि यस्तो देखिन्छ कि इस्राएलका घराना ढिलो वा चाँडो पृथ्वीको सारा सतहभरि र सबै राष्ट्रहरूमाझ छरिनेछन्।

अनि हेर, यरुशलेममा रहनेहरू बारेको ज्ञानबाट उहिल्यै हराउनेहरू धेरै छन्। हो, सबै कूलहरूका बढी भाग अगुवाइ गरेर लगिसकिए; र तिनीहरू समुद्रका टापुहरूमाथि यत्र-तत्र छरिएका छन्; अनि उनीहरू कहाँ छन् हामीहरू कसैलाई थाहा छैन, केवल हामीलाई थाहा छ कि उनीहरू अगुवाइ गरेर लगिसकिए।

अनि उनीहरूलाई अगुवाइ गरेर लगिसकिएको हुनाले तिनीहरूका बारेमा र इस्राएलका पवित्र उहाँका कारणले यसपछि तितरबितर पारिने र खल्बल्याइने ती सबैका बारेमा पनि यी कुराहरू अगमवाणी गरिएका छन्; किनकि उहाँको विरुद्धमा उनीहरूले आफ्ना हृदयहरू कठोर पार्नेछन्; यसकारण, उनीहरू सबै राष्ट्रहरूमाझ छरिनेछन् र सबै मानिसहरूद्वारा घृणित हुनेछन्।

तथापि, गैह्र-यहूदीहरूद्वारा पालनपोषण गरिएपछि र परमप्रभुले आफ्नो हात गैह्र-यहूदीहरूमाथि उठाउनु भएर उनीहरूलाई एउटा निशानाको लागि खडा गरिसक्नु भएपछि र उनीहरूका छोराछोरीहरू तिनका पाखुराहरूमा बोकिएपछि र उनीहरूका छोरीहरूलाई तिनका काँधहरूमाथि बोकिएपछि, हेर यी कुराहरू जसका बारेमा बोलिएका छन् सांसारिक हुन्; किनकि हाम्रा पितापुर्खाहरुसँगको परमप्रभुका करारहरू यस्तै छन्; अनि आउने दिनहरूमा हामीलाई र इस्राएलका घरानाका हाम्रा सारा बन्धुहरूलाई पनि यसको अर्थ रहन्छ।

अनि यसको अर्थ हुन्छ कि सकल इस्राएलका घराना छरपष्ट भएपछि र खल्बल्याइएपछि समय आउँछ कि परमप्रभुले गैह्र-यहूदीहरूमाझ, हो, यो भू-सतहमाथि समेत एउटा शक्तिशाली राष्ट्र खडा गर्नुहुनेछ; र तिनीहरूद्वारा हाम्रा सन्तति तितरबितर पारिनेछन्।

अनि हाम्रा सन्ततिलाई तितर-बितर पारिएपछि परमप्रभु परमेश्वरले गैह्र-यहूदीहरूमाझ एउटा विस्मयकारी कार्य गर्न थाल्नुहुनेछ, जुन हाम्रा सन्ततिका लागि ठूलो मूल्यको हुनेछ; यसकारण, यसलाई गैह्र-यहूदीहरूद्वारा उनीहरूको पालन-पोषण गरिएको र उनीहरूका बाहूहरूमा र उनीहरूका काँधहरूमाथि बोकिएकोसँग दाँजिन्छ।

अनि गैह्र-यहूदीहरूसामु; र गैह्र-यहूदीहरूसामु मात्र होइन तर अब्राहामसामु तिम्रा सन्ततिमा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन् भन्दै स्वर्गका पिताको करार ज्ञात गराउने गरी सबै इस्राएलका घरानासामु यो मूल्यको हुनेछ।

१० अनि म चाहन्छु, मेरा बन्धुहरू, कि तिमीहरूले थाहा पाउनुपर्दछ कि राष्ट्रहरूको नजरमा उहाँले आफ्नो बाहु प्रदर्शन नगरेसम्म पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुन सक्दैनन्।

११ यसकारण, इस्राएलका घरानाकाहरूकासामु उहाँका करारहरू र उहाँको सुसमाचार ल्याउन परमप्रभु परमेश्वरले सारा राष्ट्रहरूको नजरमा आफ्नो बाहु प्रदर्शन गर्न थाल्नुहुनेछ।

१२ यसकारण, उहाँले पुन: उनीहरूलाई बन्धनबाट बाहिर ल्याउनुहुनेछ र उनीहरूको रिक्थको भूमिहरूमा उनीहरूलाई एक साथ जम्मा गरिने छ; अनि उनीहरूलाई अस्पष्टताबाट बाहिर र अन्धकारबाट बाहिर ल्याइनेछ; अनि उनीहरूले थाहा पाउने छन् कि परमप्रभु उनीहरूका मुक्तिदाता र उनीहरूका उद्धारकर्ता, इस्राएलका शक्तिशाली एक हुनहुन्छ।

१३ अनि त्यो ठूलो र घृणित चर्च, जुन सारा पृथ्वीको वेश्या हो, त्यसको रगत उनीहरूको आफ्नै टाउकामाथि खनिनेछ; किनकि उनीहरू आफ्नैमाझमा युद्ध गर्नेछन् र उनीहरूका आफ्नै हातको तरबार उनीहरूका आफ्नै शिरमाथि खस्नेछ र उनीहरू आफ्नै रगतले मात्तिनेछन्।

१४ अनि तिम्रो विरुद्धमा युद्ध गर्ने हरेक राष्ट्र, हे इस्राएलको घराना, एक-अर्काविरुद्ध खनिनेछन् र परमप्रभुका जनलाई पासो थाप्न उनीहरूले खनेका खाडलमा आफै खस्ने छन्। अनि सियोनविरुद्धको त्यो सबै झगडा नाश हुनेछ र त्यो महान् वेश्या, जसले परमप्रभुका सही मार्गहरूलाई भ्रष्ट गरेकी छ, हो, त्यो विशाल र घृणित चर्च, धूलोमा ढल्नेछ र यसको पतन ठूलो हुनेछ।

१५ किनकि हेर, अगमवक्ता भन्नुहुन्छ, समय द्रूतगतिले आउँछ कि मानिसका छोराछोरीहरूका हृदयहरूमाथि सैतानको कुनै शक्ति हुनेछैन; किनकि त्यो दिन चाँडै आउँछ कि सबै घमण्डीहरू र दुष्ट्याइँ गर्नेहरू छ्वाली जस्तो हुनेछन्; र दिन आउनेछ कि उनीहरूलाई जलाइनेछ।

१६ किनकि समय चाँडै आउँछ कि परमेश्वरको क्रोधको पराकाष्ठ मानिसका सबै छोराछोरीहरूमाथि खन्याइने छ; किनकि दुष्टले धर्मात्माको विनाश गरेको उहाँले सहनुहुनेछैन।

१७ यसकारण, उहाँको क्रोधको पूर्णता र उहाँले रक्षा गर्नु भएका धर्मात्माहरू आउनु पर्ने भए तापनि, आगोद्वारा उनीहरूका शत्रुहरूको विनाश हुने गरी उहाँले आफ्नो शक्तिद्वारा धर्मात्माको रक्षा गर्नुहुनेछ। यसकारण, धर्मात्माहरूले डराउनु पर्दैन; किनकि अगमवक्ता यसो भन्नुहुन्छ, आगोबाटजस्तै गरी भएपनि उनीहरू बचाइनेछन्।

१८ हेर, मेरा बन्धुहरू, म तिमीहरूलाई भन्दछु कि यी कुराहरू छिट्टै आउनेछन्; हो, रगत र आगो र धुवाँको तुवाँलो समेत आउनेछन्; र यो यस पृथ्वीको सतहमाथि हुनेछ; र यस्तो भयो कि इस्राएलको पवित्र उहाँको विरुद्ध उनीहरूले आफ्ना हृदयहरू कठोर तुल्याए भने मांशशरीरअनुसार यो मानिससामु आउनेछ।

१९ किनकि हेर, धर्मात्माहरू नासिने छैनन्; किनकि समय निश्चय नै आउनेछ कि सियोनको विरुद्ध लडाईं गर्नेहरू सबैलाई हटाइनेछ।

२० अनि परमप्रभुले आफ्ना जनका लागि निश्चय नै बाटो तयार गर्नुहुनेछ, मोशाका वचनहरू पूरा हुने गरी, जुन उहाँले यसो भन्दै बोल्नुभयो: परमप्रभु तिम्रा परमेश्वरले तिम्रोसामु म जस्तै एउटा अगमवक्ता खडा गर्नुहुनेछ; उनले तिमीलाई भन्ने सबै कुराहरू तिमीले सुन्नेछौ। अनि यस्तो हुन जानेछ कि ती अगमवक्तालाई नसुन्ने सबैलाई जनमाझबाट अलग्याइनेछ।

२१ अनि अब म नफी तिमीहरूसामु घोषणा गर्दछु कि मोशाले कुरा गरेको यो अगमवक्ता इस्राएलको पवित्र उहाँ हुनुहुन्थ्यो; यसकारण, उहाँले धार्मिकतामा न्यायको अभ्यास गर्नुहुनेछ।

२२ अनि धर्मात्माहरूले डराउनु पर्दैन, किनकि तिनीहरू ती हुन् जसलाई हराइने छैन। तर यो सैतानको अधिराज्य हो, जुन मानिसका छोराछोरीहरूमाझ निर्माण गरिने छ, जुन राज्य शरीरमा रहनेहरूमाझ स्थापना गरिन्छ—

२३ किनकि समय शीघ्र आउनेछ कि सबै चर्चहरू जुन फाइदा लिन निर्माण गरिएका छन् र ती सब जो शरीरमाथि शक्ति जमाउन निर्माण गरिएकाछन् र ती जो संसारको नजरमा लोकप्रिय हुन निर्माण गरिएका छन् र ती जो शरीरको बासना र संसारका कुराहरू र सबै प्रकारका दुष्टता गर्न खोज्छन्; हो, निष्कर्षमा, सैतानको अधिराज्यमा आवद्ध हुनेहरू ती हुन् जसले डराउनु र काम्नु र डगमगाउनु पर्दछ; तिनीहरू ती हुन् जसलाई धूलोमा मिलाइनेछ; तिनीहरू ती हुन् जो ठुटो झैँ डढ्नेछन्; र यो अगमवक्ताको वचनहरूअनुसार हो।

२४ अनि समय द्रूतगतिले आउँछ कि धर्मात्माहरूलाई गोठका बाच्छाहरू जस्तै अगुवाइ गरिनेछ र इस्राएलको पवित्र उहाँले आधिपत्य र पराक्रम र शक्ति र ठूलो महिमामा शासन गर्नुहुनेछ।

२५ अनि पृथ्वीको चारै दिशाबाट उहाँले आफ्ना छोराछोरीहरू भेला गर्नुहुनेछ; अनि उहाँले आफ्ना भेडाहरू गन्नुहुनेछ; र उनीहरू उहाँलाई चिन्नेछन्; अनि त्यहाँ एउटा बथान र एउटा गोठालो हुनेछ; र उहाँले आफ्नो भेडाहरूलाई खुवाउनुहुनेछ र उहाँमा उनीहरूले आफ्नो चरन भेट्टाउनेछन्।

२६ अनि उहाँका जनको धार्मिकताका कारणले सैतानको शक्ति छैन; यसकारण, धेरै वर्षको अन्तरालसम्म उसलाई फुकुवा गर्न सकिँदैन; किनकि जनका हृदयहरूमाथि उसको कुनै शक्ति छैन, किनकि उनीहरू धार्मिकतामा बस्दछन् र इस्राएलको पवित्र उहाँले राज्य गर्नुहुन्छ।

२७ अनि अब हेर, म नफी तिमीहरूसामु भन्दछु कि यी सबै कुराहरू मांशशरीरअनुसार आउनेछन्।

२८ तर, हेर, सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनले यस्तो भयो कि उनीहरूले पश्चाताप गरे भने इस्राएलको पवित्र उहाँमा सुरक्षित तरिकाले बस्छन्।

२९ अनि अब म नफी अन्त्य गर्दछु; किनकि अझ पनि यी कुराहरूको बारेमा अगाडि बोल्न म साहास गर्दिनँ।

३० यसकारण, मेरा बन्धुहरू, म चाहन्छु कि काँसका पाताहरूमाथि लेखिएका कुराहरू सत्य छन् भनी तिमीहरू विचार गर; अनि तिनीहरूले गवाही दिन्छन् कि मानिस परमेश्वरको आज्ञाहरूप्रति आज्ञाकारी हुनुपर्छ।

३१ यसकारण, गवाही दिने र तिनलाई सिकाउने पनि म र मेरा पिता मात्रै हौँ भन्ने तिमीहरूले ठान्नुहुँदैन। यसकारण, यदि तिमीहरू आज्ञाहरू प्रति आज्ञाकारी भयौ भने र अन्त्यसम्मै सह्यौ भने अन्तिम दिनमा तिमीहरूलाई बचाइनेछ। अनि यो यस्तै हो। आमिन।