धर्मशास्त्रहरू
१ नफी १४


अध्याय १४

एक स्वर्गदूत गैह्र-यहूदीमाथि पर्ने श्राप र आशीषहरूका बारेमा नफीलाई बताउँछन्—त्यहाँ दुई चर्चहरू मात्र छन्: परमेश्वरका थुमाको चर्च र सैतानको चर्च-सबै राष्ट्रका परमेश्वरका सन्तहरूलाई विशाल र घृणित चर्चद्वारा कष्ट दिइन्छ-संसारको अन्त्यका बारेमा प्रेरित यहुन्नाले लेख्नुहुनेछ। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन जानेछ कि यदि गैह्र-यहूदीहरूले परमेश्वरका थुमालाई उहाँ बास्तवमै उनीहरूका ठेस लगाउने ढुङ्गाहरूलाई हरण गर्ने गरी वचनमा र शक्तिमा पनि उनीहरूसामु स्वयम् प्रकट हुनुहुने दिनमा सुने भने—

अनि परमेश्वरका थुमाविरुद्ध आफ्नो हृदय कठोर पारेनन् भने उनीहरूलाई तिम्रो पिताका सन्ततिमाझ गणना गरिनेछ; हो, उनीहरूलाई इस्राएलका घरानामाझ गणना गरिनेछ; अनि उनीहरू प्रतिज्ञाको भूमिमाथि सदासर्वदा आशीषित जन हुनेछन्; उनीहरूलाई बन्धनतिर अरु बढी ल्याइने छैन; र इस्राएलका घरानालाई अरु बढी खल्बल्याइने छैन।

अनि त्यो ठूलो खाडल, जुन उनीहरूका लागि सैतान र उसका छोराछोरीहरूले स्थापना गरेको त्यस विशाल र घृणित चर्चद्वारा खनिएको छ, ताकि उसले मानिसहरूका जीवात्माहरूलाई तल नरकसम्म अगुवाइ गरेर लैजान सकोस्—हो, मानिसको विनाशका लागि खनिएको त्यो ठूलो खाडल तिनीहरूको पूरा विनाश हुने गरी त्यो खन्नेहरूले नै भरिनेछ, परमेश्वरका थुमा भन्नुहुन्छ; अन्त्य नभएको त्यस नरकतिर फ्याँकिएबाहेक जीवात्माको विनाश हुनेछन्।

किनकि हेर, यो सैतानको बन्धनअनुसार हो, अनि उहाँअगाडि दुष्टता र कुकर्म गर्ने सबैमाथिको परमेश्वरको न्यायअनुसार पनि हो।

अनि यस्तो हुन गयो कि स्वर्गदूतले म नफीसँग यसो भन्दै बोले: तिमीले देखेका छौ कि यदि गैह्र-यहूदीहरूले पश्चात्ताप गरे भने उनीहरूलाई राम्रै हुनेछ; तिमीले इस्राएलका घरानासामु परमप्रभुको करारका बारेमा जानेका छौ; अनि तिमीले यो पनि सुनेका छौ कि जसले पश्चात्ताप गर्दैन, उसको विनाश हुनैपर्छ।

त्यसकारण, गैह्र-यहूदीहरूलाई धिक्कार छ यदि यसो भयो कि उनीहरूले परमेश्वरका थुमाविरुद्ध आफ्ना हृदयहरू कठोर पारे भने।

किनकि समय आउँछ, परमेश्वरका थुमा भन्नुहुन्छ, कि मानिसका छोराछोरीहरूमाझ म एउटा महान् र विस्मयकारी कार्य सम्पन्न गर्नेछु; एउटा कार्य जुन अजर हुनेछ, एकतिर होस् वा अर्कोतिर—शान्ति र अनन्त जीवनका लागि उनीहरूलाई मनाउने गरी होस्, वा सैतानको बन्धन, जसका बारेमा मैले बोलेको छु, त्यसअनुसार उनीहरूलाई बन्धनतिर र सांसारिक र आत्मिक दुबै विनाशतिर ल्याउने गरी वा उनीहरूलाई उनीहरूका हृदयका कठोरता र उनीहरूका मस्तिष्कहरूका अन्धोपनासम्म ल्याउने गरी होस्।

अनि यस्तो हुन गयो कि जब स्वर्गदूतले यी वचनहरू बोलिसके, उनले मलाई भने: इस्रायलका घरानासामु पिताको करार तिमी सम्झन्छौ? मैले उनलाई भनेँ, सम्झन्छु।

अनि यस्तो हुन गयो कि उनले मलाई भने: हेर, अनि त्यो विशाल र घृणित चर्चलाई हेर, जुन कुकर्मको जननी हो, जसको संस्थापक सैतान हो।

१० अनि उनले मलाई भने: हेर चर्चहरू केवल दुईवटामात्र छन्; एउटा चाहिँ परमेश्वरका थुमाको चर्च हो र अर्को चाहिँ सैतानको चर्च हो; यसकारण, परमेश्वरका थुमाको चर्चको मातहतमा नरहनेहरू त्यस विशाल चर्चको मातहतमा रहन्छन्, जुन कुकर्मको जननी हो; र त्यो सारा पृथ्वीको वेश्या हो।

११ अनि यस्तो हुन गयो कि मैले हेरेँ र सारा पृथ्वीको वेश्यालाई देखेँ, अनि त्यो अथाह पानीमाथि बसी; र सारा पृथ्वीमाथि, सबै राष्ट्र, कुटुम्ब, भाषा र जनमाझ त्यसको अधिपत्य थियो।

१२ अनि यस्तो हुन गयो कि मैले परमेश्वरका थुमाको चर्चलाई देखेँ र अथाह पानीमाथि बसेकी वेश्याको दुष्टता र कुकर्मको कारणले यसका सदस्यहरू थोरै थिए; तथापि, मैले देखेँ कि परमेश्वरका सन्तहरू भएको थुमाको चर्च पनि पृथ्वीको सारा सतहमाथि थियो; र मैले देखेको त्यस विशाल बेश्याको दुष्टताका कारणले पृथ्वीको सतहमाथि उनीहरूको आधिपत्य सानो थियो।

१३ अनि यस्तो हुन गयो कि कुकर्मकी त्यो महान् जननीले परमेश्वरका थुमाविरुद्ध लड्न गैह्र-यहूदीहरूका सबै राष्ट्रहरूमाझ सारा पृथ्वीको सतहमाथि भीड एक साथ जम्मा गरी।

१४ अनि यस्तो हुन गयो कि म, नफीले परमेश्वरका थुमाको शक्ति देखेँ कि यो पृथ्वीको सारा सतहमाथि छरिएर रहेका थुमाको चर्चका सन्तहरूमाथि र परमप्रभुका करारवद्ध जनहरूमाथि अवतरण भयो; र उनीहरू धार्मिकताले र महान् महिमाको परमेश्वरको शक्तिले सुसज्जित भए।

१५ अनि यस्तो हुन गयो कि मैले देखेँ कि परमेश्वरको क्रोध त्यस विशाल र घृणित चर्चमाथि खनिएको थियो, यतिसम्म कि पृथ्वीका सबै राष्ट्रहरू र कुटुम्बहरूमाझ युद्ध र युद्धका हल्लाहरू थिए।

१६ अनि कुकर्मकी जननीको मातहतमा रहेका सारा राष्ट्रहरूमाझ जब युद्ध र युद्धका हल्लाहरू सुरु हुन थाल्यो, स्वर्गदूतले यसो भन्दै मसँग बोले: हेर, परमेश्वरको क्रोध वेश्याहरूकी जननीमाथि छ; अनि हेर, तिमी यी सब कुराहरू देख्छौ—

१७ अनि जब त्यो दिन आउँछ कि परमेश्वरको क्रोध वेश्याहरूकी जननी, जुन सारा पृथ्वीको विशाल र घृणित चर्च हो, जसको संस्थापक सैतान हो, त्यसमाथि खनिन्छ, त्यसपछि, त्यस दिनमा, इस्राएलका घरानाका आफ्ना जनलाई गर्नु भएका उहाँका करारहरू पूरा गर्नका लागि बाटो तयार गर्ने पिताको कार्य आरम्भ हुनेछ।

१८ अनि यस्तो हुन गयो कि स्वर्गदूतले यसो भन्दै मसँग बोले: हेर!

१९ अनि मैले हेरेँ र एकजना मानिसलाई देखेँ र उनले सफेद लबेदा पहिरेका थिए।

२० अनि स्वर्गदूतले मलाई भने: थुमाका बाह्र प्रेरितहरूमध्ये एकलाई हेर।

२१ हेर, बाँकी यी कुराहरूलाई; हो र भएका धेरै कुराहरूलाई पनि उनले हेर्नेछन् र लेख्नेछन्।

२२ अनि उनले संसारको अन्त्यको बारेमा पनि लेख्नेछन्।

२३ यसकारण, उनले लेख्ने कुराहरू सही र सत्य छन्; अनि हेर तिनीहरू यहूदीको मुखबाट अगाडि बढेको तिमीले देखेको पुस्तकमा लेखिन्छन्; यहूदीको मुखबाट तिनीहरूअगाडि बढेको समयमा, वा, यहूदीको मुखबाट त्यो पुस्तकअगाडि बढेको समयमा, लेखिएका कुराहरू स्पस्ट र शुद्ध, अनि अति मूल्यवान र सबै मानिसहरूलाई बुझ्न सजिला थिए।

२४ अनि हेर, थुमाका ती प्रेरितले लेख्ने कुराहरू धेरै छन् जुन तिमीले देखेका छौ; अनि हेर, बाँकी तिमीले देख्नेछौ।

२५ तर तिमीले यसपछि देख्ने कुराहरू तिमीले लेख्नेछैनौ; किनकि परमप्रभु परमेश्वरले परमेश्वरका थुमाको प्रेरित नियुक्त गर्नुभएको छ कि उनले तिनलाई लेख्नुपर्दछ।

२६ अनि आएका अरुलाई पनि उहाँले सबै कुराहरू देखाउनुभएको छ र उनीहरूले तिनलाई लेखेका छन्; अनि परमप्रभुमा भएको सत्यताअनुसार, परमप्रभुको आफ्नै समयमा, इस्राएलका घरानासामु तिनको शुद्धतामा अघि आउन तिनीहरूलाई छाप लगाएर बन्द गरिएको छ।

२७ अनि म, नफीले सुनेँ र स्वर्गदूतको वचनअनुसार गवाही दिन्छु कि थुमाका ती प्रेरितको नाम यूहन्ना थियो।

२८ अनि हेर, म नफीलाई मैले देखेका र सुनेका बाँकी कुराहरू लेख्न निषेधित गरिएको छ; यसकारण मैले लेखेका कुराहरू नै मलाई पर्याप्त छन्; अनि मैले देखेका कुराहरूको एउटा सानो अंश मात्र मैले लेखेको छु।

२९ अनि म गवाही दिन्छु कि मेरा पिताले देख्नुभएका कुराहरू मैले देखेँ, अनि परमप्रभुका स्वर्गदूतले ती मलाई ज्ञात गराए।

३० अनि अब म आत्माले लगेको बेलामा मैले देखेका कुराहरूको बारेमा बोल्न अन्त्य गर्छु; अनि यदि मैले देखेका सबै कुराहरू नलेखिए भने पनि मैले लेखेका कुराहरू सत्य छन्। अनि यो यस्तै हो। आमिन।