धर्मशास्त्रहरू
१ नफी ७


अध्याय ७

लहीका छोराहरू यरूशलेम फर्कन्छन् र इश्माएल र उनका गृहस्थलाई यात्रामा सहभागी बन्न निम्त्याउँछन्—लमान र अन्यले विद्रोह गर्छन्—नफी उनका दाजुहरूलाई आस्थावान् हुन अनुरोध गर्छन्—तिनीहरूले उनलाई डोरीले बाँध्छन् र उनको विनाशको योजना बनाउँछन्—आस्थाका शक्तिद्वारा उनले छुट्कारा पाउँछन्—उनका दाजुहरूले माफी माग्छन्—लही र उनका सहयात्रीहरूले बलि र होमबलिहरू चढाउँछन्। लगभग ई.पू. ६००–५९२।

अनि अब म तिमीहरूलाई थाहा होस् भन्ने चाहन्छु कि मेरा पिता लहीले उहाँका सन्ततीका बारेमा अगमवाणी गर्न अन्त्य गर्नु भएपछि यस्तो हुन गयो कि परमप्रभु पुन: उहाँसँग बोल्नु भयो, यसो भन्दै कि आफ्नो परिवारलाई एक्लै उजाड स्थानभित्र लैजानु उहाँ, लहीका लागि उचित थिएन; तर उहाँका छोराहरूले छोरीहरूलाई पत्नीका रुपमा लिनु पर्नेछ ताकि प्रतिज्ञाको भूमिमा उनीहरूले परमप्रभुसामु सन्तति हुर्काउन सकून्।

अनि यस्तो हुन गयो कि परमप्रभुले उहाँलाई आज्ञा दिनुभयो कि म, नफी र मेरा दाजुहरू पुन: यरुशलेमको भूमिमा फर्कनु पर्दछ र इश्माएल र उनको परिवारलाई उजाड स्थानतिर ल्याउनु पर्दछ।

अनि यस्तो हुन गयो कि म, नफी, पुन: मेरा दाजुहरूसँग यरुशलेमसम्म जानका लागि पुन: उजाड स्थानतिर अघि बढेँ।

अनि यस्तो हुन गयो कि हामी इश्माएलको घरसामु गयौँ र इश्माएलको नजरमा हामीले कृपा पायौँ, यतिसम्म कि हामीले परमप्रभुका वचनहरू उनकासामु बोल्यौँ।

अनि यस्तो हुन गयो कि परमप्रभुले इश्माएल र उनको गृहस्थको पनि हृदय कोमल बनाइदिनुभयो, यतिसम्म कि उनीहरूले उजाड स्थानतिर हाम्रा पिताको पालसम्म हामीसँग यात्रा गरे।

अनि यस्तो हुन गयो कि जब हामीले उजाड स्थानभित्र यात्रा गऱ्यौँ, हेर लमान र लमुएल र इश्माएलका छोरीहरूमध्ये दुई र इश्माएलका दुई छोराहरू र तिनका परिवारहरूले हामीविरुद्ध विद्रोह गरे; हो, म, नफी र साम र तिनीहरूका पिता, इश्माएल र उनकी पत्नी, उनका अन्य तीन छोरीहरूविरुद्ध विद्रोह गरे।

अनि त्यस विद्रोहमा यस्तो हुन गयो, उनीहरू यरुशलेमको भूमिमा फर्कन इच्छुक भए।

अनि अब म, नफी, उनीहरूका हृदयका कठोरताका कारणले व्याकुल भएर, त्यसकारण म उनीहरूसामु, हो, लमानसामु र लमुएलसामु समेत यसो भन्दै बोलेँ: हेर, तिमीहरू मेरा दाजुहरू हौ, अनि कसरी तिमीहरू आफ्ना हृदयहरूमा यति कठोर र आफ्ना मस्तिष्कहरूमा यति अन्धा छौ, कि तिमीहरूलाई आवश्यक छ कि म, तिमीहरूको भाइले तिमीहरूसामु बोल्नुपर्दछ, हो र तिमीहरूका लागि उदाहरण बन्नुपर्दछ?

कसरी तिमीहरूले परमप्रभुका वचनलाई नसुनेका हौ त?

१० कसरी तिमीहरूले परमप्रभुको स्वर्गदूत देखेका छौ भन्ने बिर्सेका हौ त?

११ हो, अनि कसरी तिमीहरूले यो बिर्सेका हौ कि लाबानका हातहरूबाट हामीलाई बचाएर, अनि साथै हामीलाई अभिलेख उपलब्ध गराएर परमप्रभुले हाम्रा लागि कति महान् कुराहरू गर्नु भएको छ?

१२ हो, अनि परमप्रभु मानिसका सन्तानहरूका निम्ति, यदि उनीहरूले उहाँमा आस्था अभ्यास गरेको खण्डमा, आफ्नो इच्छाअनुसार सबै कुराहरू गर्न सक्षम हुनुहुन्छ भन्ने कसरी तिमीहरूले बिर्सेका हौ त? यसकारण, हामी उहाँप्रति आस्थावान् होऔँ।

१३ अनि यदि हामी उहाँमा आस्थावान् भयौँ भने हामीले प्रतिज्ञाको भूमि प्राप्त गर्नेछौँ; अनि भविष्यको कुनै अवधिमा तिमीहरूले थाहा पाउनेछौ कि यरुशलेमको विनाशको बारेमा परमप्रभुका वचन पूरा हुनेछ; किनकि यरुशलेमको विनाशका बारेमा परमप्रभुले बोल्नु भएका सम्पूर्ण कुराहरू पूरा हुनुपर्दछ।

१४ किनकि हेर, परमप्रभुको आत्मा चाँडै उनीहरूसँग रहन छाड्ने छ; किनकि हेर, उनीहरूले अगमवक्ताहरूलाई अस्वीकार गरेका छन् र यर्मियालाई उनीहरूले कारागारमा फ्याँकेका छन्। अनि उनीहरूले मेरा पिताको ज्यान लिन खोजेका छन्, यतिसम्म कि उनीहरूले उहाँलाई भूमिबाट बाहिर लखेटेका छन्।

१५ अब हेर, म तिमीहरूलाई भन्दछु कि यदि तिमीहरू यरुशलेम फर्कियौ भने तिमीहरू पनि उनीहरूसँगै नष्ट हुनेछौ। अनि अब, यदि तिमीहरूलाई इच्छा छ भने त्यस भूमिमा जाओ र मैले तिमीहरूसामु बोलेका वचनहरू याद राख, कि यदि तिमीहरू गयौ भने तिमीहरू पनि नष्ट हुनेछौ; किनकि मैले यसरी बोल्नु पर्छ भनेर परमप्रभुको आत्माले मलाई विवश पार्छ।

१६ अनि यस्तो हुन गयो कि जब म, नफीले मेरा दाजुहरूसामु यी वचनहरू बोलेँ, उनीहरू मसँग रिसाए। अनि यस्तो हुन गयो कि उनीहरूले ममाथि हात हाले, किनकि हेर, उनीहरू अत्यन्तै क्रुद्ध थिए र उनीहरूले मलाई डोरीहरूले बाँधे, किनकि उनीहरूले मेरो ज्यान लिन खोजे, ताकि उनीहरू मलाई जङ्गली जनावरहरूद्वारा खाइयोस् भनी उजाड स्थानमा छोड्न सकून्।

१७ तर यस्तो हुन गयो कि मैले परमप्रभुसामु यसो भन्दै प्रार्थना गरेँ: हे परमप्रभु, हजुरमा भएको मेरो आस्थाअनुसार मेरा दाजुहरूका हातहरूबाट मलाई मुक्त गर्नुहुन्छ कि; हो, मलाई शक्ति पनि दिनुहोस् ताकि म आफू बाँधिएको यी बन्धनहरू तोड्न सकूँ।

१८ अनि यस्तो हुन गयो कि जब मैले यी वचनहरू भनेँ, हेर, मेरा हात र खुट्टाहरूबाट बन्धनहरू फुकाइए, अनि म मेरा दाजुहरूअगाडि खडा भएँ र म पुन: उनीहरूसामु बोलेँ।

१९ अनि यस्तो हुन गयो कि उनीहरू फेरि मसँग रिसाए र ममाथि हात हाल्न खोजे; तर हेर, इश्माएलका छोरीहरूमध्ये एक, हो र उनकी माता समेत र इश्माएलका छोराहरूमध्ये एकले मेरा दाजुहरूसँग विन्ति गरे, यतिसम्म कि उनीहरूले आफ्ना हृदयहरू कोमल बनाए; र उनीहरूले मेरो ज्यान लिने प्रयत्न गर्न छोडे।

२० अनि यस्तो हुन गयो कि आफ्नो दुष्टताका कारणले उनीहरू उदास भए, यतिसम्म कि उनीहरूले मेरा अगाडि शिर झुकाए र मसँग बिन्ती गरे कि उनीहरूले मेरा विरुद्ध गरेका कुराहरूको लागि म उनीहरूलाई क्षमा गरूँ।

२१ अनि यस्तो हुन गयो कि मैले उदारताका साथ उनीहरूले गरेका सबै कुराका निम्ति उनीहरूलाई क्षमा गरेँ र क्षमाको लागि परमप्रभु आफ्ना परमेश्वरसामु प्रार्थना गरून् भनी मैले उनीहरूलाई प्रोत्साहित गरेँ। अनि यस्तो हुन गयो कि उनीहरूले त्यसो गरे। अनि उनीहरूले परमप्रभुसामु प्रार्थना गरिसकेपछि हाम्रा पिताको पालभए तर्फको यात्रामा हामी पुन: प्रस्थान गऱ्यौँ।

२२ अनि यस्तो हुन गयो कि हामी हाम्रा पिताको पालसामु तल आयौँ। अनि म र मेरा दाजुहरू र इश्माएलको सम्पूर्ण परिवार मेरा पिताको पालसामु आइसकेपछि उनीहरूले परमप्रभु आफ्ना परमेश्वरसामु धन्यवाद दिए; र उहाँ समक्ष बलि र होमबलीहरू अर्पण गरे।