धर्मशास्त्रहरू
१ नफी १


नफीको प्रथम पुस्तक

उनको शासन र सेवाकाइ

लही र उनकी पत्नी र (जेठा देखि) लमान, लमुएल, साम र नफी भनिने उनका चार छोराहरूको एक विवरण। परमप्रभुले लहीलाई यरुशलेमको भूमिबाट प्रस्थान गर्न सचेत गराउनुहुन्छ, किनभने उनले जनसामु उनीहरूका दुष्टताका वारेमा अगमवाणी गर्दछन् र उनीहरूले उनको जीवनको विनाश गर्न खोज्छन्। उनले आफ्नो परिवार सहित उजाड स्थानतिर तीन दिनको यात्रा गर्छन्। नफीले उनका दाजुहरूलाई लैजान्छन् र यहूदीहरूको अभिलेखका निम्ति यरुशलेमको भूमि फर्कन्छन्। उनीहरूका दु:खको विवरण। उनीहरूले इश्माएलका छोरीहरूलाई पत्नी बनाउँछन्। उनीहरूले उनीहरूका परिवारहरू लैजान्छन् र उजाड स्थानतिर प्रस्थान गर्दछन्। उजाड स्थानमा उनीहरूका दु:खहरू र कष्टहरू। उनीहरूको यात्राको बाटो। उनीहरू अथाह पानी भएको ठाउँमा आउँछन्। नफीका वन्धुहरूले उनका विरुद्ध विद्रोह गर्दछन्। उनले उनीहरूलाई पराजित गर्दछन् र पानीजहाज बनाउँछन्। उनीहरूले त्यो ठाउँलाई बाउन्टीफुल भन्दछन्। उनीहरू प्रतिज्ञाको भूमितिर अथाह पानी पार गर्छन् र आदि-इत्यादि। यो नफीको विवरणअनुसार हो; अथवा अर्को शब्दमा, म, नफीले यो अभिलेख लेख्दछु।

अध्याय १

नफी उनका जनको अभिलेखको सुरुवात गर्छन्—लही दर्शनमा आगोको खम्बा देख्छन् र अगमवाणीको पुस्तक पढ्छन्—उनले परमेश्वरको प्रशंसा गर्छन्, मसीहको आगमनको पूर्व वाणी गर्छन् र यरुशलेमको नाशको अगमवाणी गर्छन्। लगभग ई.पू. ६००।

म नफी असल मातापिताबाट जन्मिएको हुनाले, त्यसकारण, मेरा पिताको सबै ज्ञानमा मलाई केही हदसम्म शिक्षा दिइयो र मैले मेरा दिनहरूको अन्तरालमा धेरै कष्टहरू देखेको, परन्तु, मेरा सारा दिनहरूमा परमप्रभुबाट धेरै कृपा पाएको हुनाले; हो, परमेश्वरको कृपा र रहस्यहरूको महान् ज्ञान भएको हुनाले, त्यसकारण म मेरा दिनहरूका काम-कारबाहीहरूको अभिलेख बनाउँदछु।

हो, म मेरा पिताको भाषामा अभिलेख बनाउँदछु, जुन यहूदीहरूको ज्ञान र मिश्रीहरूको भाषाबाट बनेको छ।

अनि म जान्दछु कि मैले बनाउने अभिलेख साँचो छ; र म यसलाई मेरा आफ्नै हातले बनाउँदछु र म यसलाई मेरो ज्ञानअनुसार बनाउँदछु।

किनकि यहूदाका राजा सिदकियाहको शासनको पहिलो वर्षको प्रारम्भमा यस्तो हुन गयो, (मेरा पिता लही उहाँका सारा दिनहरूमा यरुशलेममा बस्नुभएकोले); अनि त्यही वर्षमा त्यहाँ धेरै अगमवक्ताहरू मानिसहरूसामु तिनीहरूले पश्चात्ताप गर्नु पर्ने अन्यथा महान् सहर यरुशलेमको विनाश हुने अगमवाणी गर्दै आए।

यसकारण, यस्तो हुन गयो कि जब मेरा पिता लही अघि बढ्नुभयो, उहाँले आफ्नो सारा हृदयको साथ समेत उहाँका मानिसहरूको तर्फबाट परमप्रभुसामु प्रार्थना गर्नुभयो।

अनि यस्तो हुन गयो जब उहाँले परमप्रभुसामु प्रार्थना गर्नुभयो, त्यहाँ एउटा आगोको खम्बा आयो र उहाँसामुन्ने एउटा चट्टानमाथि बस्यो; र उहाँले धेरै देख्नुभयो र सुन्नुभयो; र उहाँले देखेका र सुनेका कुराहरूको कारणले उहाँ काँप्नु भयो र अत्यन्तै थरथराउनुभयो।

अनि यस्तो हुन गयो कि उहाँ यरुशलेममा उहाँको आफ्नै घरमा फर्कनुभयो; र आत्माद्वारा र आफूले देखेका कुराहरूबाट विह्वल भएर उहाँ स्वयम् आफ्नो ओछ्यानमा पल्टनुभयो।

अनि आत्माद्वारा नियन्त्रित भएर उहाँलाई एउटा दर्शनमा पर लगियो, यतिसम्म कि उहाँले स्वर्गहरू खुलेको देख्नुभयो, अनि उहाँले सोंच्नु भयो उहाँले गाउने र आफ्ना परमेश्वरको प्रशंसा गर्ने प्रवृतिका असङ्ख्य स्वर्गदूतहरूको समूहले घेरिएर आफ्नो सिंहासन माथि बसिरहेको देख्नुभयो।

अनि यस्तो हुन गयो कि उहाँले एक जनालाई स्वर्गको बीचबाट ओर्लदै गरेको देख्नुभयो, अनि उहाँले देख्नुभयो कि उहाँको तेज मध्यदिनको सूर्यको भन्दा उच्च थियो।

१० अनि उहाँले आफूलाई पछ्याइरहेका अन्य बाह्रलाई पनि देख्नुभयो, अनि उनीहरूको चमक आकाशका ताराहरूको भन्दा बढी थियो।

११ अनि उनीहरू अवतरण गरे र पृथ्वीको सतहमाथि अघि बढे; र पहिलो चाहिँ आए र मेरा पिताअगाडि खडा भए र उहाँलाई एउटा पुस्तक दिए र उहाँले पढ्नुपर्छ भनेर अह्राए।

१२ अनि यस्तो हुन गयो कि जब उहाँले पढ्नुभयो, उहाँ परमप्रभुको आत्माले भरिनुभयो।

१३ अनि उहाँले यसो भन्दै पढ्नुभयो, यरुशलेमलाई धिक्कार, धिक्कार छ, किनकि मैले तेरो कुकर्म देखेको छु! हो, अनि यरुशलेमको बारेमा मेरा पिताले धेरै कुराहरू पढ्नुभयो—कि यसको र यसका बासिन्दाहरूको विनाश हुनेछ; धेरै तरबारद्वारा नासिनेछन् र धरैलाई बेबिलोनमा बन्दी बनाएर लगिनेछ।

१४ अनि यस्तो हुन गयो कि जब मेरा पिताले महान् र अद्भूत कुराहरू पढ्नुभयो र देख्नुभयो, उहाँले परमप्रभुसामु धेरै कुराहरू पुकार्नु भयो; महान् र अद्भूत छन् हजुरका कामहरू, हे सर्वशक्तिमान परमप्रभु परमेश्वर! हजुरको सिंहासन स्वर्गमा उच्च छ र हजुरको शक्ति र असलपना र कृपा संसारका सारा बासिन्दाहरूमाथि छन्; र किनभने हजुर कृपालु हुनुहुन्छ, जो हजुरसामु आउँछन्, तिनीहरूलाई हजुरले नासिन दिनुहुने छैन।

१५ अनि यस प्रकारको थियो मेरा पिताको भाषा उहाँको परमेश्वरको प्रशंसा गर्दा; किनकि उहाँको जीवात्मा खुशी भयो र उहाँको पूरै हृदय भरियो उहाँले देख्नु भएका कुराहरूको कारणले, हो, जुन परमप्रभुले उहाँसामु देखाउनु भएको थियो।

१६ अनि अब म, नफी, ती कुराहरूको पूरा विवरण बनाउँदिनँ जुन मेरा पिताले लेख्नुभएको छ, किनकि उहाँले धेरै कुराहरू लेख्नुभएकोछ जुन उहाँले दर्शनहरूमा र सपनाहरूमा देख्नुभयो; अनि उहाँले धेरै कुराहरू पनि लेख्नुभएकोछ जुन उहाँले अगमवाणी गर्नुभयो र आफ्ना छोराछोरीहरूसामु बोल्नुभयो, जसको म पूरा विवरण बनाउने छैनँ।

१७ तर म मेरा दिनहरूमा मेरा कामहरूको एउटा विवरण बनाउनेछु। हेर, म मेरा पिताको अभिलेखको एउटा संक्षेप बनाउँछु, मैले मेरा आफ्नै हातहरूले बनाएका पाताहरूमाथि; यसकारण, मैले मेरा पिताको अभिलेखको संक्षेपीकरण गरिसकेपछि म मेरो आफ्नै जीवनको विवरण बनाउनेछु।

१८ त्यसकारण, म चाहन्छु कि तिमीहरूले जान्नुपर्दछ कि परमप्रभुले मेरा पिता लहीसामु यति धेरै विस्मयकारी कुराहरू देखाउनु भएपछि, हो, यरुशलेमको विनाशका बारेमा, हेर उहाँ मानिसहरूमाझ अघि जानुभयो र उहाँले देख्नु र सुन्नु भएका कुराहरूका बारेमा उनीहरूसामु अगमवाणी गर्न र घोषणा गर्न थाल्नुभयो।

१९ अनि यस्तो हुन गयो कि यहूदीहरूले उहाँले तिनीहरूका बारेमा गवाही दिनुभएका कुराहरूको कारणले उहाँको खिल्ली उडाए; किनकि उहाँले साँचै नै तिनीहरूको दुष्टता र तिनीहरूका कुकर्महरूका बारेमा गवाही दिनुभयो; अनि उहाँले गवाही दिनुभयो कि उहाँले देख्नुभएका र सुन्नुभएका कुराहरू र उहाँले त्यो पुस्तकमा पढ्नुभएका कुराहरूले मसीहको आगमन र संसारका उद्धारको बारेमा समेत स्पष्टसँग देखाउँछन्।

२० अनि जब यहूदीहरूले यी कुराहरू सुने उनीहरू उहाँदेखि रिसाए, हो, प्राचीन कालका अगमवक्ताहरूसँग जस्तै जसलाई उनीहरूले निकाला गरेका थिए, ढुङ्गा प्रहार गरेका थिए र मारेका थिए; र उनीहरूले उहाँको पनि ज्यान लिन खोजे ताकि उनीहरूले त्यसलाई लिन सकून्। तर हेर, म, नफी, तिमीहरूसामु देखाउनेछु कि परमप्रभुका कोमल कृपाहरू ती सबैमाथि छन् जसलाई उहाँले उनीहरूको आस्थाको कारणले मुक्तिको शक्तिसम्म समेत शक्तिशाली बनाउन चुन्नुभएको छ।