धर्मशास्त्रहरू
१ नफी ५


अध्याय ५

सरियाह लहीको विरुद्ध गुनासो गर्छिन्—उनीहरूका छोराहरूको पुनरागमनमा दुबै खुशी हुन्छन्—उनीहरू बलि चढाउँछन्—काँसका पाताहरूमा मोसा र अगमवक्ताहरूका लेखाइहरू थिए—पाताहरूले लहीलाई योसेफको सन्ततिका रूपमा चिनाए—लहीले आफ्ना सन्तान र पाताहरूको संरक्षणका बारेमा अगमवाणी गर्छन्। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि जब हामी उजाड स्थानभित्र हाम्रा पितासामु तल आयौँ, हेर, उहाँ आनन्दले भरिनुभयो, अनि मेरी माता सरियाह पनि अत्यन्तै हर्षित हुनुभयो, किनकि हाम्रा कारणले उहाँले साँचै नै शोक गर्नु भएको थियो।

किनकि उजाड स्थानमा हाम्रो विनाश भयो भन्ने उहाँले ठान्नु भएको थियो; अनि उहाँले मेरा पिताका विरुद्धमा उहाँ एउटा दर्शनधारी मानिस हुनुभएको बताउँदै यसो भन्दै गुनासो पनि गर्नु भएको थियो: हेर, हाम्रो रिक्थको भूमिबाट तिमीले अगुवाइ गरेर हामीलाई बाहिर लिएर आएका छौ, अनि मेरा छोराहरू पनि रहेनन् र हामी उजाड स्थानमा नासिन्छौँ।

अनि यस प्रकारको भाषामा मेरी माताले मेरा पिताका विरुद्धमा गुनासो गर्नुभएको थियो।

अनि यस्तो हुन गयो कि मेरा पिताले यसो भन्दै उहाँसँग बोल्नु भयो: मलाई थाहा छ कि म दर्शनधारी मानिस हुँ; किनकि यदि मैले दर्शनमा परमेश्वरका कुराहरू नदेखेको भए मैले परमेश्वरको कृपा थाहा पाउने थिइनँ, तर यरुशलेममा नै बस्ने थिएँ र मेरा दाजुभाइहरूसँगै नासिने थिएँ।

तर हेर, मैले एउटा प्रतिज्ञाको भूमि प्राप्त गरेकोछु, जुन कुरामा म खुशी हुन्छु; हो, अनि मलाई थाहा छ कि परमप्रभुले मेरा छोराहरूलाई लाबानका हातहरूबाट मुक्त गर्नुहुनेछ र उनीहरूलाई उजाड स्थानमा हाम्रासामु पुन: ल्याउनुहुनेछ।

अनि यस प्रकारको भाषामा मेरा पिता लहीले हाम्रा बारेमा मेरी माता सरियाहलाई सान्त्वना दिनुभयो जब हामीले यहूदीहरूको अभिलेख प्राप्त गर्नका लागि यरुशलेमको भूमिसम्म उजाड स्थानमा यात्रा गऱ्यौँ।

अनि जब हामी मेरा पिताको पालमा फर्कियौँ, हेर उहाँहरूको खुशी भरिपूर्ण भयो र मेरी मातालाई सान्त्वना मिल्यो।

अनि उहाँले यसो भन्दै बोल्नु भयो: अब मलाई निश्चितताका साथ थाहा छ कि परमप्रभुले मेरा पतिलाई उजाड स्थानतिर भागेर बच्न आज्ञा दिनुभएको छ; हो, अनि मलाई यो पनि निश्चितताका साथ थाहा छ कि परमप्रभुले मेरा छोराहरूको सुरक्षा गर्नु भएको छ, अनि उनीहरूलाई लाबानका हातहरूबाट मुक्त गर्नुभएको छ र उनीहरूलाई शक्ति दिनुभएको छ जसबाट उनीहरूले त्यो कुरा सम्पन्न गर्न सकून् जुन परमप्रभुले उनीहरूलाई आज्ञा दिनुभएको छ। अनि यस प्रकारको भाषामा उहाँले बोल्नुभयो।

अनि यस्तो हुन गयो कि उहाँहरू अत्यन्तै खुशी हुनुभयो, अनि परमप्रभुसामु बलि र होमबलि चढाउनुभयो; र उहाँहरूले इस्राएलका परमेश्वरसामु धन्यवाद ज्ञापन गर्नुभयो।

१० अनि उहाँहरूले इस्राएलका परमेश्वरसामु धन्यवाद ज्ञापन गरिसके पछि मेरा पिता लहीले काँसका पाताहरूमाथि कुँदिएका अभिलेखहरू लिनुभयो र प्रारम्भदेखि नै तिनीहरूमा अनुसन्धान गर्नुभयो।

११ अनि उहाँले देख्नुभयो कि तिनीहरूले मोशाका पाँच पुस्तकहरू समेटेका थिए, जसले संसारको सृष्टिको र हाम्रा प्रथम मातापिता आदम र हव्वाको पनि विवरण दिन्थे।

१२ अनि त्यसमा सुरुदेखि यहूदाका राजा सिदकियाहको शासनको प्रारम्भसम्मकै यहूदीहरूको अभिलेख पनि थियो;

१३ अनि प्रारम्भदेखि यहूदाका राजा सिदकियाहको शासनको प्रारम्भसम्मकै पवित्र अगमवक्ताहरूका अगमवाणीहरू समेत; र धेरै अगमवाणीहरू समेत जुन यर्मियाको मुखबाट बोलिएका छन्।

१४ अनि यस्तो हुन गयो कि मेरा पिता लहीले काँसका पाताहरूमाथि उहाँका पितापुर्खाहरुको एउटा वंशावली समेत भेट्टाउनुभयो; यसकारण उहाँलाई थाहा भयो कि उहाँ योसेफको सन्तान हुनुहुन्थ्यो; हो, त्यही योसेफ जो याकूबका छोरा थिए, जसलाई मिश्र देशतिर बेचिएको थियो र जसलाई परमप्रभुका हातद्वारा जोगाइएको थियो ताकि उनले आफ्ना पिता याकूब र उनका सारा गृहस्थलाई अनिकालका कारण विनाश हुनबाट संरक्षण गर्नसकून्।

१५ अनि उनीहरूलाई बन्धनबाट र मिश्र देशको भूमिबाट अगुवाइ गरेर पनि लगिएको थियो, तिनै परमेश्वरबाट जसले उनीहरूलाई संरक्षण गर्नुभएको थियो।

१६ अनि यसरी मेरा पिता लहीले उहाँका पितापुर्खाहरुको वंशावली पत्ता लगाउनुभयो। अनि लाबान पनि योसेफको सन्तान थियो, यसकारण ऊ र उसका पितापुर्खाहरुले त्यो अभिलेख राखेका थिए।

१७ अनि अब जब मेरा पिताले यी सबै कुराहरू देख्नुभयो, उहाँ आत्माले भरिनुभयो र उहाँका सन्ततिका बारेमा अगमवाणी गर्न थाल्नु भयो—

१८ कि काँसका यी पाताहरू सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र उनका सन्ततिबाट आएका मानिसहरूसामु जानेछन्।

१९ यसकारण, उहाँले भन्नुभयो कि काँसका यी पाताहरू कहिल्यै नासिने छैनन्; न त समयद्वारा अरु बढी खिइने छन्। अनि उहाँका सन्ततिका बारेमा उहाँले धेरै कुराहरूको अगमवाणी गर्नुभयो।

२० अनि यस्तो हुन गयो कि यति बेलासम्म म र मेरा पिताले आज्ञाहरू पालन गरेका थियौँ जुन परमप्रभुले हामीलाई आज्ञा दिनुभएको थियो।

२१ अनि परमप्रभुले हामीलाई आज्ञा दिनुभएका अभिलेखहरू हामीले प्राप्त गऱ्यौँ, अनि तिनीहरूमा खोजी गऱ्यौँ र तिनीहरू सन्तोषजनक भएको पायौँ; हो, हाम्रा लागि ठूलो मूल्यको पनि, यतिसम्म कि हाम्रा छोराछोरीहरूसामु हामी परमप्रभुका आज्ञाहरू जोगाउन सकौँ।

२२ यसकारण, परमप्रभुका लागि यो ज्ञान थियो कि उजाड स्थानमा प्रतिज्ञाको भूमितर्फ यात्रा गर्दा हामी तिनीहरूलाई आफूसँगै लैजाऔँ।