धर्मशास्त्रहरू
१ नफी १३


अध्याय १३

नफी सैतानको चर्चको गैह्र-यहूदीहरू बीचमा स्थापनाको, अमेरिकाको अन्वेषण र औपनिवेशीकरणको, बाइबलको स्पष्ट र बहुमूल्य अंश गुमाएको, गैह्र्-यहूदीहरूको धर्मत्यागको प्रतिफलितको अवस्था, सुसचामारको पुनर्स्थापनाको, पछिल्ला दिनहरूका धर्मशास्त्रको आगमनको र सियोनको निर्माणको दर्शन देख्छन्। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि स्वर्गदूतले यसो भन्दै मसँग बोले: हेर! अनि मैले हेरेँ र धेरै राष्ट्रहरू र अधिराज्यहरू देखेँ।

अनि स्वर्गदूतले मलाई भने: तिमी के देख्छौ? अनि मैले भनेँ: म धेरै राष्ट्रहरू र अधिराज्यहरू देख्छु।

अनि उनले मलाई भने: यिनीहरू गैह्र-यहूदीहरूका राष्ट्रहरू र अधिराज्यहरू हुन्।

अनि यस्तो हुन गयो कि मैले गैह्र-यहूदीहरूका राष्ट्रहरूमाझ एउटा ठूलो चर्चको स्थापना भएको देखेँ।

अनि स्वर्गदूतले मलाई भने: एउटा चर्चको स्थापना भएको हेर जुन अन्य सबै चर्चहरू भन्दा अति घृणित छ, जसले परमेश्वरका सन्तहरूको बध गर्छ, हो र उनीहरूलाई यातना दिन्छ र उनीहरूलाई बाँधेर राख्छ र फलामको जुवामा उनीहरूलाई नार्छ र तिनीहरूलाई बन्धनतिर ल्याउँछ।

अनि यस्तो हुन गयो कि मैले यो विशाल र घृणित चर्च देखेँ; अनि मैले सैतानलाई देखेँ कि ऊ यसको संस्थापक थियो।

अनि मैले सुन र चाँदी र रेशमी कपडाहरू र सिम्रिके कपडाहरू र मसिनो गरी बाटिएका सुती कपडाहरू र सबै किसिमका बहुमूल्य वस्त्रहरू पनि देखेँ; अनि मैले धेरै वेश्याहरू देखेँ।

अनि स्वर्गदूतले यसो भन्दै मसँग बोले: हेर सुन र चाँदी र रेशमी कपडाहरू र सिम्रिके कपडाहरू र मसिनो गरी बाटीएका सुतीका कपडाहरू र बहुमूल्य वस्त्रहरू र वेश्याहरू यस विशाल र घृणित चर्चका चाहनाहरू हुन्।

अनि संसारको प्रशंसाका लागि पनि उनीहरू परमेश्वरका सन्तहरूको विनाश गर्दछन् र तिनीहरूलाई बन्धनतिर ल्याउँदछन्।

१० अनि यस्तो हुन गयो कि मैले हेरेँ र अथाह पानी देखेँ; र तिनीहरूले गैह्र-यहूदीहरूलाई मेरा बन्धुहरूका सन्ततिबाट विभाजन गरे।

११ अनि यस्तो हुन गयो कि स्वर्गदूतले मलाई भने: हेर, परमेश्वरको क्रोध तिम्रा बन्धुहरूका सन्ततिमाथि छ।

१२ अनि मैले हेरेँ र गैह्र-यहूदीहरूमाझ एउटा मानिसलाई देखेँ, जो अथाह पानीद्वारा मेरा बन्धुहरूका सन्ततिबाट अलग्याइएका थिए; अनि मैले परमेश्वरको आत्मा देखेँ कि यो तल आयो र त्यस मानिसमाथि काम गऱ्यो; अनि उनी अथाह पानीमाथि अघि बढे, मेरा बन्धुहरूका सन्ततिसमेत, जो प्रतिज्ञाको भूमिमा थिए।

१३ अनि यस्तो हुन गयो कि मैले परमेश्वरको आत्मालाई देखेँ कि यसले अन्य गैह्र-यहूदीहरू माथि काम गऱ्यो; अनि उनीहरू बन्धनबाट बाहिर निस्केर अथाह पानीमाथि हुँदै अघि बढे।

१४ अनि यस्तो हुन गयो कि मैले प्रतिज्ञाको भूमिमाथि गैह्र-यहूदीहरूका धेरै भीड देखेँ; अनि मैले परमेश्वरको क्रोध देखेँ, कि यो मेरा बन्धुहरूका सन्ततिमाथि थियो र उनीहरूलाई गैह्र-यहूदीहरूका अगाडि तितर-बितर पारिए र प्रहार गरियो।

१५ अनि मैले परमप्रभुको आत्मालाई देखेँ, कि यो गैह्र-यहूदीहरूमाथि थियो, अनि उनीहरूले उन्नति गरे र आफ्नो रिक्थका लागि त्यो भूमि प्राप्त गरे; अनि मैले देखेँ कि उनीहरू मारिनुभन्दा अगाडिका मेरा जनताहरू जस्तै सफेद, अत्यन्तै गोरा र सुन्दर थिए।

१६ अनि यस्तो हुन गयो कि म, नफीले देखेँ कि बन्धनबाट बाहिर निस्केर अघि बढेका गैह्र-यहूदीहरूले स्वयमलाई परमप्रभुअगाडि विनम्र तुल्याए; र परमप्रभुको शक्ति उनीहरूसँग थियो।

१७ अनि मैले देखेँ कि उनीहरूका गैह्र-यहूदी आमाहरू उनीहरूविरुद्ध लडाईं गर्न पानीमाथि र जमिनमाथि पनि एकसाथ जम्मा भए।

१८ अनि मैले देखेँ कि परमेश्वरको शक्ति उनीहरूसँग थियो, अनि यो पनि कि परमेश्वरको क्रोध ती सबैमाथि थियो जो उनीहरूका विरुद्ध लडाईं गर्न एकसाथ जम्मा भएका थिए।

१९ अनि म, नफीले देखेँ कि बन्धनबाट बाहिर निस्केका गैह्र-यहूदीहरूलाई परमेश्वरको शक्तिद्वारा अन्य राष्ट्रहरूका हातहरूबाट बचाइयो।

२० अनि यस्तो हुन गयो कि म, नफीले देखेँ कि उनीहरूको त्यो भूमिमा उन्नति भयो; अनि मैले एउटा पुस्तक देखेँ र यसलाई उनीहरूमाझ अघि लगियो।

२१ अनि स्वर्गदूतले मलाई भने: के तिमीलाई त्यस पुस्तकको अर्थ थाहा छ?

२२ अनि मैले उनलाई भनेँ: मलाई थाहा छैन।

२३ अनि उनले भने: हेर एउटा यहूदीको मुखबाट यो अघि बढ्दछ। अनि म, नफीले यसलाई देखेँ; अनि उनले मलाई भने: तिमीले देखेको त्यो पुस्तक यहूदीहरूको अभिलेख हो, जसले परमप्रभुका करारहरू, जुन उहाँले इस्राएलका घरानासँग गर्नु भएकोछ, त्यसलाई समेट्दछ; अनि यसले पवित्र अगमवक्ताहरूका अगमवाणीहरूमध्ये धेरैलाई समेत समेट्दछ; र यो काँसका पाताहरूमाथि भएका कुँदाइहरू जस्तै एउटा अभिलेख हो, तर ती धेरै छैनन्; तथापि, तिनीहरूले परमप्रभुका करारहरू समेट्दछन्, जुन उहाँले इस्राएलका घरानासँग गर्नु भएकोछ; यसकारण, तिनीहरू गैह्र-यहूदीहरूकासामु ठूलो मूल्यका छन्।

२४ अनि परमप्रभुका स्वर्गदूतले मलाई भने: तिमीले देखेका छौ कि त्यो पुस्तक एउटा यहूदीको मुखबाट अघि बढ्यो; अनि जब एउटा यहूदीको मुखबाट यो अघि बढ्यो यसले परमप्रभु, जसका बारेमा बाह्र प्रेरितहरूले गवाही दिन्छन्, उहाँका सुसमाचारको पूर्णता समेट्यो; अनि उनीहरूले परमेश्वरका थुमामा रहेको सत्यताअनुसार गवाही दिन्छन्।

२५ यसकारण, यी कुराहरू परमेश्वरमा रहेको सत्यताअनुसार यहूदीहरूदेखि शुद्धतामा गैह्र-यहूदीहरूसम्म अघि बढ्दछ।

२६ अनि थुमाका बाह्र प्रेरितहरूको हातद्वारा यहूदीहरूदेखि गैह्र-यहूदीहरूसम्म तिनीहरू अघि बढेपछि तिमी त्यस विशाल र घृणित चर्च, जुन अन्य सबै चर्चहरूभन्दा अति घृणित छ, त्यसको रचना भएको देख्दछौ; किनकि हेर, उनीहरूले थुमाको सुसमाचारबाट धेरै भागहरू हरण गरेका छन् जुन् स्पष्ट र अति मूल्यवान छन्; अनि परमप्रभुका धेरै करारहरू पनि उनीहरूले हरण गरेका छन्।

२७ अनि यो सब उनीहरूले गरेका छन् ताकि उनीहरूले परमप्रभुका सही मार्गहरू भ्रष्ट गर्न सकून्, ताकि उनीहरूले मानिसका छोराछोरीहरूका आँखाहरू अन्धा र हृदयहरू कठोर तुल्याउन सकून्।

२८ यसकारण, तिमी देख्छौ कि त्यो पुस्तक विशाल र घृणित चर्चका हातहरूमार्फत् अघि बढिसकेपछि, त्यो पुस्तक, जुन परमेश्वरका थुमाको पुस्तक हो, त्यसबाट थुप्रै स्पष्ट र मूल्यवान् कुराहरू हरण गरिएकाछन्।

२९ अनि यी स्पष्ट र मूल्यवान् कुराहरू हरण गरिएपछि यो गैह्र-यहूदीहरूका सबै राष्ट्रहरूसम्म अघि बढ्दछ; अनि गैह्र-यहूदीहरूका सबै राष्ट्रहरूसम्म, हो, बन्धनबाट बाहिर निस्केर अघि बढेका गैह्र-यहूदीहरूसँग तिमीले देखेका अथाह पानीपारि समेत अघि बढेपछि, तिमी देख्दछौ—त्यस पुस्तकबाट हरण गरिसकिएका थुप्रै स्पष्ट र बहुमूल्य कुराहरूको कारणले, जुन परमेश्वरका थुमामा रहेको स्पष्टताअनुसार मानिसका छोराछोरीहरूले बुझ्ने गरी स्पष्ट थिए—थुमाको सुसमाचारबाट हरण गरिएका यी कुराहरूको कारणले अत्यन्त धेरै ठेस लगाउँछन्, हो, यतिसम्म कि सैतानले उनीहरूमाथि शक्ति जमाउँछ।

३० तथापि, बन्धनबाट बाहिर निस्केर र परमेश्वरको शक्तिद्वारा अन्य सबै राष्ट्रहरूभन्दा माथि उठाइएर अन्य सबै भूमिहरूभन्दा उत्तम भूमि, जुन परमप्रभु परमेश्वरले तिम्रा पितासँग उनका सन्ततिले उनीहरूको रिक्थको भूमिको रूपमा प्राप्त गर्नुपर्दछ भनी करार गर्नुभएको भूमि हो, त्यसको सतहमाथि अघि बढेका गैह्र-यहूदीहरू तिमी देख्छौ; यसकारण, तिमी देख्छौ कि गैह्र-यहूदीहरूले तिम्रा सन्ततिको मिश्रण, जुन तिम्रा बन्धुहरूमाझ छन्, तिनलाई पूरै विनाश गरेको परमप्रभु परमेश्वरले सहनु हुनेछैन।

३१ न त उहाँले सहनुहुनेछ कि गैह्र-यहूदीहरूले तिम्रा बन्धुहरूका सन्ततिको विनाश गरून्।

३२ न त परमप्रभु परमेश्वरले सहनुहुनेछ कि त्यस घृणित चर्च, जसको स्थापना तिमीले देखिसकेका छौ, त्यसैद्वारा लुकाएर राखिएको थुमाको सुसमाचारका स्पष्ट र अति मूल्यवान भागहरूको कारणले गैह्र-यहूदीहरू अन्धोपनको त्यस भयावह अवस्था, जसमा तिमी देख्छौ उनीहरू छन्, त्यसैमा सदासर्वदा रहून्।

३३ यसकारण परमेश्वरका थुमा भन्नुहुन्छ: महान् न्यायमा इस्राएलका घरानाका अवशेषलाई भेट नगरेसम्म म गैह्र-यहूदीहरूसमक्ष दयालु हुनेछु।

३४ अनि यस्तो हुन गयो कि परमप्रभुको स्वर्गदूतले यसो भन्दै मसँग बोले: हेर, परमेश्वरका थुमा भन्नुहुन्छ, इस्राएलका घरानाको अवशेषलाई भेट गरिसकेपछि—अनि यो अवशेष जसका बारेमा म बोल्दछु तिम्रा पिताका सन्तति हुन्—यसकारण, मैले उनीहरूलाई न्यायमा भेट गरिसकेपछि र गैह्र-यहूदीहरूका हातद्वारा उनीहरूलाई प्रहार गरिसकेपछि र त्यस घृणित चर्च, जुन वेश्याहरूको जननी हो, त्यसद्वारा खैंचिएर राखिएका थुमाको सुसमाचारका अति स्पष्ट र बहुमूल्य भागहरूका कारणले गैह्र-यहूदीहरूले अत्यन्त ठेस खाएपछि, थुमा भन्नुहुन्छ—म त्यस दिनमा गैह्र-यहूदीहरूसमक्ष दयालु हुनेछु, यतिसम्म कि मेरो आफ्नै शक्तिमा मेरो अधिक सुसमाचार उनीहरूसामु अगाडि ल्याउनेछु, जुन स्पष्ट र बहुमूल्य हुनेछ, थुमा भन्नुहुन्छ।

३५ किनकि, हेर, थुमा भन्नुहुन्छ: म स्वयम् तिम्रा सन्ततिसामु प्रकट हुनेछु, कि मैले उनीहरूसामु सेवा गरेका धेरै कुराहरू उनीहरूले लेख्नेछन्, जुन स्पष्ट र बहुमूल्य हुनेछन्; अनि तिम्रा सन्ततिको विनाश भएपछि र अनि तिम्रा बन्धुहरूका सन्तति पनि विश्वासमा क्षीण हुँदै गएपछि, हेर, थुमाका उपहार र शक्तिद्वारा गैह्र-यहूदीहरूसामु अघि आउनबाट यी कुराहरूलाई लुकाइनेछ।

३६ अनि थुमा भन्नुहुन्छ, तिनीहरूमा मेरो सुसमाचार र मेरो चट्टान र मेरो मुक्ति लेखिनेछ।

३७ अनि आशीषित हुनेछन् तिनीहरू जो त्यस दिनमा मेरो सियोनलाई अघि ल्याउन खोजी गर्छन्, किनकि उनीहरूसँग पवित्र आत्माको उपहार र शक्ति हुनेछ; अनि यदि उनीहरूले अन्त्यसम्म सहे भने अन्तिम दिनमा उनीहरूको उत्थान गरिनेछ र थुमाको चीरस्थायी अधिराज्यमा मुक्ति हुनेछ; अनि जस-जसले शान्तिको, हो, ठूलो आनन्दका समाचारहरूको प्रकाशन गर्नेछन्, उनीहरू पर्वतमाथि कति सुन्दर हुनेछन्।

३८ अनि यस्तो हुन गयो कि मैले मेरा बन्धुहरूका सन्ततिका अवशेषलाई र परमेश्वरका थुमाको पुस्तकलाई पनि देखेँ, जुन यहूदीको मुखबाट अघि बढेको थियो, कि यो गैह्र-यहूदीहरूबाट मेरा बन्धुहरूका सन्ततिका अवशेषसामु अघि आयो।

३९ अनि यो उनीहरूसामु आइसकेपछि मैले अन्य पुस्तकहरू देखेँ, जुन गैह्र-यहूदीहरू र मेरा बन्धुहरूका सन्ततिका अवशेष, अनि पृथ्वीको सबै सतहभरि छरिएका यहूदीहरूलाई समेत अगमवक्ताहरू र थुमाका बाह्र प्रेरितहरूका अभिलेखहरू सत्य छन् भनी चित्त बुझाउने गरी थुमाको शक्तिद्वारा गैह्र-यहूदीहरूदेखि उनीहरूसामु अघि आए।

४० अनि स्वर्गदूतले यसो भन्दै मसँग बोले: यी अन्तिम अभिलेखहरू, जुन तिमीले गैह्र-यहूदीहरूमाझ देखेका छौ, त्यसले पहिलो चाहिँ, जुन थुमाका बाह्र प्रेरितहरूका हुन्, त्यसको सत्यता स्थापित गर्नेछन् र तिनीहरूदेखि हरण गरिएका स्पष्ट र मूल्यवान् कुराहरू अवगत गराउनेछन्; अनि सारा बन्धुबान्धव, भाषा र जनलाई अवगत गराउनेछन् कि परमेश्वरका थुमा नै अनन्त पिताका पुत्र र संसारको मुक्तिदाता हुनुहुन्छ; र सबै मानिसहरू उहाँसमक्ष आउनुपर्दछ, अन्यथा उनीहरूलाई बचाउन सकिनेछैन।

४१ अनि ती थुमाको मुखबाट स्थापित गरिने वचनहरूअनुसार आउनुपर्दछ; अनि थुमाका वचनहरूलाई थुमाका बाह्र प्रेरितहरूका अभिलेखहरू लगायत तिम्रा सन्ततिका अभिलेखहरूमा अवगत गराइनेछ; यसकारण ती दुबैलाई एउटामा स्थापित गरिनेछ; किनकि सारा पृथ्वीमाथि एउटा परमेश्वर र एउटा गोठालो हुनुहुन्छ।

४२ अनि समय आउँछ कि उहाँ, दुबै यहूदीहरूसामु र गैह्र-यहूदीहरूसामु समेत, सारा राष्ट्रहरूसामु स्वयम् प्रकट हुनुहुनेछ; अनि स्वयमलाई यहूदीहरूसामु र गैह्र-यहूदीहरूसामु समेत प्रकट गरिसकेपछि, त्यसपछि उहाँले स्वयमलाई गैह्र-यहूदीहरूसामु र यहूदीहरूसामु समेत प्रकट गर्नुहुनेछ र अन्तिमचाहिँ पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ।