धर्मशास्त्रहरू
१ नफी १२


अध्याय १२

नफी दर्शनमा प्रतिज्ञाको भूमि, त्यहाँका आदिवासीहरूको धर्म, पाप र उनीहरूको पतनका बारेमा, परमेश्वरका थुमाको उनीहरूबिचको आगमनको बारेमा; बाह्र चेला र बाह्र प्रेरितहरू कसरी इस्राएलको फैसला गर्नेछन् भन्ने बारेमा; र विश्वासमा क्षीण हुनेहरूको घृणित र घिनलाग्दो अवस्थाका बारेमा। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि स्वर्गदूतले मलाई भने: हेर र तिम्रा सन्तति र तिम्रा बन्धुहरूका सन्ततिलाई पनि हेर। अनि मैले हेरेँ र प्रतिज्ञाको भूमि देखेँ; अनि मैले मानिसको भीड, हो, समुद्रको बालुवा जतिकै ठूलो सङ्ख्यामा भए जस्तै समेत देखेँ।

अनि यस्तो हुन गयो कि एक-अर्का विरुद्ध लडाईँ गर्न भीड एकसाथ जम्मा भएको मैले देखेँ; र मैले मेरा जनमाझ युद्धहरू र युद्धहरूका हल्लाहरू र तरबारद्वारा महान् संहारहरू भएको देखेँ।

अनि यस्तो हुन गयो कि त्यस भूमिमा युद्ध र कलहमा मैले धेरै पुस्ताहरू बितेको देखेँ; र मैले धेरै सहरहरू देखेँ, हो, कि मैले तिनीहरूको गणना समेत गरिनँ।

अनि यस्तो हुन गयो कि मैले प्रतिज्ञाको भूमिको सतहमा अन्धकारको तुवाँलो देखेँ; र मैले बिजुली चम्केको देखेँ र मेघ गर्जेको र भूकम्पहरू र सबै किसिमका कोलाहलपूर्ण आवाजहरू सुनेँ; अनि मैले पृथ्वी र चट्टानहरू देखेँ कि तिनीहरू टुक्रा टुक्रा भए; अनि मैले पर्वतहरू टुक्रा टुक्रा भएर ढलेको देखेँ; अनि मैले पृथ्वीका मैदानहरू देखेँ कि ती फाटे; अनि मैले धेरै सहरहरू देखेँ कि ती डुबे; अनि मैले धेरैलाई देखेँ कि ती आगोद्वारा जलाइए; अनि मैले कम्पनको कारण पृथ्वीमा ढलेका धेरैलाई देखेँ।

अनि मैले यी कुराहरू देखि सकेपछि यस्तो हुन गयो, मैले अन्धकारको तुवाँलो देखेँ कि यो पृथ्वीको सतहबाट हट्यो; अनि हेर, मैले परमप्रभुका महान् र भयानक न्यायहरूका कारणले पतन नभएका भीड देखेँ।

अनि मैले स्वर्गहरू खुलेको र परमेश्वरका थुमा स्वर्गबाट ओर्लंदै गरेको देखेँ; अनि उहाँ तल आउनुभयो र उनीहरूसामु स्वयमलाई देखाउनुभयो।

अनि मैले यो पनि देखेँ र गवाही दिन्छु कि पवित्र आत्मा अन्य बाह्रमाथि ओर्लियो; अनि उनीहरूलाई परमेश्वरद्वारा नियुक्त गरियो र चुनियो।

अनि स्वर्गदूतले यसो भन्दै मसँग बोले: थुमाका बाह्र शिष्यहरूलाई हेर, जसलाई मेरा सन्ततिको सेवा गर्न चुनिएको छ।

अनि उनले मलाई भने: थुमाका बाह्र प्रेरितहरू तिमी सम्झन्छौ? हेर, तिनीहरू ती हुन् जसले इस्राएलका बाह्र कुलहरूको न्याय गर्नेछन्; यसकारण, तिम्रा सन्ततिमध्येका बाह्र सेवकहरूको पनि उनीहरूबाट न्याय गरिनेछ; किनकि तिमी इस्राएलका घरानाका हौ।

१० अनि तिमीले देखेका यी बाह्र सेवकहरूले तिम्रा सन्ततिको न्याय गर्नेछन्। अनि, हेर, तिनीहरू सदासर्वदा धर्मी छन्; किनकि परमेश्वरका थुमामा उनीहरूको आस्थाका कारण तिनीहरूका वस्त्रहरूलाई उहाँको रगतमा सफेद तुल्याइएको छ।

११ अनि स्वर्गदूतले मलाई भने: हेर! अनि मैले हेरेँ र तीन पुस्ताहरू धार्मिकतामा गुज्रेको देखेँ; अनि उनीहरूका वस्त्रहरू परमेश्वरका थुमाका जस्तै सफेद थिए। अनि स्वर्गदूतले मलाई भने: उहाँमा तिनीहरूको आस्थाको कारणले यिनीहरूलाई थुमाको रगतमा सफेद तुल्याइएको छ।

१२ अनि म, नफीले धार्मिकतामा बितेका चौथो पुस्ताका धेरैलाई पनि देखेँ।

१३ अनि यस्तो हुन गयो कि मैले पृथ्वीका भीडलाई एकसाथ जम्मा भएको देखेँ।

१४ अनि स्वर्गदूतले मलाई भने: तिम्रा सन्तति र तिम्रा बन्धुहरूका सन्ततिलाई पनि हेर।

१५ अनि यस्तो हुन गयो कि मैले हेरेँ र मेरा सन्ततिका जन मेरा बन्धुहरूका सन्ततिविरुद्ध भीडमा एकसाथ जम्मा भएको देखेँ; र उनीहरू लडाईं गर्न एकसाथ जम्मा भएका थिए।

१६ अनि स्वर्गदूतले यसो भन्दै मसँग बोले: तिम्रा पिताले देखेको घिनलाग्दो पानीको फोहोरालाई हेर; हो, त्यो नदीसमेत जसका बारेमा उनले कुरा गरेका थिए; र त्यसका गहिराईहरू नरकका गहिराईहरू हुन्।

१७ अनि अन्धकारका तुवाँलोहरू सैतानका प्रलोभनहरू हुन् जसले मानिसका छोराछोरीहरूका आँखाहरूलाई अन्धो र हृदयहरूलाई कठोर तुल्याउँछन् र उनीहरूलाई चौडा सडकहरू तिर डोऱ्याउँछन्, कि उनीहरू नासिन्छन् र हराउँछन्।

१८ अनि ठूलो र फराकिलो भवन, जुन तिम्रा पिताले देखे, मानिसका छोराछोरीहरूका ब्यर्थ कल्पना र घमण्ड हुन्। अनि ठूलो र भयानक खाडीले तिनीहरूलाई छुट्याउँछ; हो, अनन्त परमेश्वरको न्यायको वचन र मसीह जो परमेश्वरका थुमा हुनुहुन्छ, जसका बारेमा संसारको प्रारम्भदेखि यस समयसम्म र यससमयदेखि उपरान्त र सदासर्वदा पवित्र आत्माले गवाही दिन्छ।

१९ अनि जब स्वर्गदूतले यी वचनहरू बोले, मैले हेरेँ र देखेँ कि स्वर्गदूतका वचनहरूअनुसार मेरा बन्धुहरूका सन्ततिले मेरा सन्ततिविरुद्ध कलह गरे; अनि मेरा सन्ततिको घमण्ड र सैतानको प्रलोभनका कारणले मैले देखेँ कि मेरा बन्धुहरूका सन्ततिले मेरा सन्ततिका जनमाथि शक्ति जमाए।

२० अनि यस्तो हुन गयो कि मैले हेरेँ र मेरा बन्धुहरूका सन्ततिका जनलाई देखेँ कि उनीहरूले मेरा सन्ततिलाई पराजित गरिसकेका थिए; अनि उनीहरू भूमिको सतहमाथि भीडमा अघि बढे।

२१ अनि मैले उनीहरूलाई भीडमा एकसाथ जम्मा भएको देखेँ; अनि मैले उनीहरूमाझ युद्ध र युद्धका हल्लाहरू देखेँ; अनि युद्ध र युद्धका हल्लाहरूमा मैले धेरै पुस्ताहरू गुज्रेको देखेँ।

२२ अनि स्वर्गदूतले मलाई भने: हेर यिनीहरूको विश्वास क्षीण हुँदै जानेछ।

२३ अनि यस्तो हुन गयो कि मैले देंखे, उनीहरूको विश्वास क्षीण भएपछि उनीहरू काला र घृणास्पद र फोहरी, आलस्यले भरिपूर्ण र सबै प्रकारले कुकर्मी मानिसहरू बने।