धर्मशास्त्रहरू
१ नफी २१


अध्याय २१

मसीह गैह्र-यहूदीहरूको प्रकाश हुनुहुनेछ र कैदीहरूलाई स्वन्त्रत गर्नुहुनेछ—शक्तिकासाथ इस्राएलको भेला गरिनेछ—राजाहरू उनीहरूका धाइबुबा हुनेछन्—यशैया ४९ सँग दाँज्नुहोस्। लगभग ई.पू. ५८८–५७०।

अनि पुन:सुन, हे तिमी इस्राएलका घराना, तिमीहरू सब जो मेरा जनको धर्माधिकारीहरूको दुष्टताको कारणले टुक्रिएका छौ र लखेटिएका छौ; हो, तिमीहरू सब जो टुक्रिएका छौ, जो परदेशमा छरिएका छौ, जो मेरा जनका हौ, हे इस्राएलका घराना। हे टापूहरू, मलाई सुन र ध्यान देओ तिमी टाढाका जन; गर्भबाटै परमप्रभुले मलाई बोलाउनुभएको छ; मेरी माताको कोखबाटै उहाँले मेरो नाम उल्लेख गर्नुभएकोछ।

अनि उहाँले मेरो मुखलाई धारिलो तरबार जस्तै बनाउनु भएको छ; उहाँको हातको छायाँमा उहाँले मलाई लुकाउनुभएको छ र मलाई चम्किलो तीर बनाउनुभएको छ; उहाँको ठोक्रोमा उहाँले मलाई लुकाउनुभएको छ।

अनि मलाई भन्नुभयो: हे इस्राएल, तिमी मेरा सेवक हौ, जसमा म महिमित हुनेछु।

तब मैले भनेँ, मैले बित्थामा परिश्रम गरेछु, मैले बेकारमा र बित्थामा आफ्नो शक्ति खर्चेछु; निश्चय नै मेरो फैसला परमप्रभुसँग छ र मेरो कार्य मेरा परमेश्वरसँग छ।

अनि अब, परमप्रभु भन्नुहुन्छ—जसले मलाई गर्भदेखि नै याकूबलाई पुन: उहाँकोमा ल्याउन उहाँको सेवक हुन सृष्टि गर्नुभयो—इस्राएल जम्मा गरिएको नभए तापनि परमप्रभुको नजरमा म अझै पनि कीर्तिमान हुनेछु र मेरा परमेश्वर मेरो शक्ति हुनुहुनेछ।

अनि उहाँले भन्नुभयो: याकूबका घरानाहरूलाई हुर्काउन र इस्राएलका सुरक्षितहरूलाई प्रतिस्थापित गर्न तिमीले मेरो सेवक बन्नु हल्का कुरा हो। गैह्र-यहूदीहरूको ज्योतिका लागि पनि म तिमीलाई दिनेछु, ताकि पृथ्वीको पल्लो छेउसम्मै तिमी मेरो मुक्ति बन्न सक।

परमप्रभु, इस्राएलका उद्धारकर्ता, उहाँका परमपवित्र जसलाई मानिसले अपहेलना गरे, उहाँ जसलाई राष्ट्रहरूले घृणा गरे, शासकहरूका सेवकलाई यसो भन्नुहुन्छ: आस्थावान् परमप्रभुका कारणले राजाहरूले देख्नेछन् र जाग्नेछन्, राजकुमारहरूले पनि आराधना गर्नेछन्।

परमप्रभु यसो भन्नुहुन्छ: हे समुद्रका टापुहरू, एउटा स्वीकार्य समयमा मैले तिमीहरूलाई सुनेको छु र मुक्तिको दिनमा मैले तिमीहरूलाई सहयोग गरेको छु; अनि म तिमीलाई सुरक्षित राख्नेछु र जनका करारको रुपमा पृथ्वीको स्थापना गर्न, उजाड सम्पदाहरू रिक्थको रुपमा प्राप्त गर्ने बनाउन तिमीहरूलाई मेरो सेवक दिनेछु;

ताकि तिमीहरूले कैदीहरूलाई: अघि बढ; अन्धकारमा बस्नेहरूलाई: स्वयम देखा पर भन्न सक। उनीहरू बाटाहरूमा चर्नेछन्; र तिनका चरनहरू उच्च स्थानहरूमा हुनेछन्।

१० तिनीहरू न भोकाउनेछन् न तिर्खाउनेछन्, उनीहरूलाई न त तापले न त सूर्यले नै प्रहार गर्नेछ; किनकि उनीहरूमाथि कृपा हुनेले उनीहरूको अगुवाइ गर्नुहुनेछ, पानीको मुहानहरू छेवैबाट समेत उहाँले तिनीहरूलाई डोऱ्याउनुहुनेछ।

११ अनि मेरा सारा पर्वतहरूलाई म बाटो बनाउनेछु र मेरा राजमार्गहरू उन्नत पारिनेछन्।

१२ अनि त्यसपछि, हे इस्राएलको घराना, यी टाढा टाढाबाट आउनेछन्; र लौ, यी उत्तरबाट र पश्चिमबाट; र यी सिनिमको भूमिबाट आउनेछन्।

१३ हे स्वर्गहरू, गाऊ; र हे पृथ्वी, खुशी होऊ; किनकि पूर्वमा रहनेहरूका पाउहरू स्थापित हुनेछन्; हे हिमालहरू, गायनमा प्रस्फुटित होऊ; किनकि उनीहरूलाई अरु बढी प्रहार गरिनेछैन; किनकि परमप्रभुले आफ्ना जनलाई सान्त्वना दिनुभएको छ र कष्टमा परेका उहाँकाहरूमाथि कृपा राख्नु हुनेछ।

१४ तर, हेर, सियोनले भनेकोछ: परमप्रभुले मलाई त्याग्नुभएको छ र मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ—तर उहाँले देखाउनु हुनेछ कि उहाँले त्यसो गर्नुभएको छैन।

१५ किनकि के एउटी आइमाईले आफ्नो गर्भको छोरामाथि सहानुभूति नहुने गरी आफ्नो दुधे बालकलाई बिर्सन सक्छिन्? हो, उनीहरूले बिर्सन सक्छन्, हे इस्राएलका घराना, तर पनि मैले तिमीहरूलाई बिर्सनेछैन।

१६ हेर, मेरा हातका हत्केलाहरूमाथि मैले तिमीलाई कुँदेको छु; तिम्रा पर्खालहरू अविच्छिन्न रुपमा मेरा अगाडि छन्।

१७ तिम्रा छोराछोरीहरूले तिम्रा विनाशकहरूविरुद्ध हतार गर्नेछन्; र तिम्रो विनाश गर्नेहरू तिम्रा अघि अघि जानेछन्।

१८ वरिपरि आफ्ना नजर उठाऊ र हेर; यी सब एक साथ स्वयम् जम्मा हुन्छन् र उनीहरू तिमीकहाँ आउनेछन्। अनि जसरी म जीवित छु, परमप्रभु भन्नुहुन्छ, तिमीले आफूलाई निश्चय नै गहनाले झैँ यी सबले विभूषित गर्नेछौ र बेहुलीझैँ तिनीहरूलाई बेर्नेछौ।

१९ किनकि तिम्रा बेकार र तिम्रा बन्जर स्थानहरू र तिम्रो विनाशको भूमि, बासिन्दाहरूका कारणले अब अति नै साँघुरो समेत हुनेछ; र तिमीलाई निल्नेहरू टाढा हुनेछन्।

२० पहिलोलाई गुमाइसकेपछि तिमीले जन्माउने छोराछोरीहरूले पुन: तिम्रा कानहरूमा भन्नेछन्: यो स्थान मलाई अति साँघुरो छ; मलाई बस्न सक्ने स्थान देऊ।

२१ त्यसपछि तिमीले आफ्नो हृदयमा भन्नेछौ: मैले छोराछोरी गुमाएँ र उजाड छु, कैदी छु र यत्र-तत्र सर्दैछु भन्ने देखेर कसले मलाई यी जन्माइदिएको हो? अनि यिनलाई कसले हुर्काएको हो? हेर, म एक्लो छोडिएको थिएँ; यी कहाँ गएका थिए?

२२ परमप्रभु परमेश्वर यसो भन्नु हुन्छ: हेर, म मेरो हात गैह्र-यहूदीहरूतिर उठाउँछु, जनमा मेरो झन्डा खडा गर्दछु; अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्ना पाखुराहरूमा लिनेछन् र तिम्रा छोरीहरू तिनका काँधहरूमाथि बोकिनेछन्।

२३ अनि राजाहरू तिम्रा धाईबुवाहरू र तिनका रानीहरू तिम्रा धाइआमाहरू हुनेछन्; उनीहरूले पृथ्वीतिर अनुहार पारेर तिमीलाई प्रणाम गर्नेछन् र तिम्रो पैतालाको धूलो चाट्नेछन्; अनि तिमीले थाहा पाउने छौ कि म परमप्रभु हुँ; किनकि मलाई पर्खेर बस्नेहरू लज्जित हुनेछैनन्।

२४ किनकि के शक्तिशालीहरूबाट शिकार हरिने छ, वा के कानुनसम्मत कैदीहरू मुक्त गरिने छन्?

२५ तर परमप्रभु यसो भन्नुहुन्छ, शक्तिशालीहरूका कैदीहरूसमेत हरण गरिनेछ र भयानकहरूका शिकार मुक्त गरिनेछ; किनकि तिमीसँग मुकाबिला गर्नेसँग म मुकाबिला गर्नेछु र म तिम्रा छोराछोरीहरूलाई बचाउनेछु।

२६ अनि तिमीमाथि शोषण गर्नेहरूलाई म उनीहरूको आफ्नै मासु खुवाउने छु; मीठो मदिराले झैँ उनीहरू आफ्नै रगतले मात्नेछन्; अनि सारा जीवहरूले जान्नेछन् कि म, परमप्रभु, तिम्रा मुक्तिदाता र उद्धारकर्ता, याकूबको एक मात्र शक्तिशाली हुँ।