धर्मशास्त्रहरू
१ नफी १०


अध्याय १०

लही भविष्यवाणी गर्छन् कि यहूदीहरूलाई बेबिलोनीहरूले दास बनाएर लानेछन्—यहूदीहरूमाझ एक मसीह, एक मुक्तिदाता, एक उद्धारकर्ताका आगमनका बारेमा बताउँछन्-लही परमेश्वरका थुमालाई बप्तिस्मा दिने एक व्यक्तिको आगमनको बारेमा पनि बताउँछन्—लही मसीहको मृत्यु र पुनरुत्थानका बारेमा बताउँछन्, उनी इस्राएलको तितरबितरलाई जैतुनको रुखसँग तुलना गर्छन्—नफी परमेश्वरका पुत्रको, पवित्र आत्माको उपहारको, धार्मिकताको आवश्यकताका बारेमा बोल्छन्। लगभग ई.पू. ६००–५९२।

अनि अब म नफी यी पाताहरूमाथि मेरा काम-कारबाहीहरू र मेरो शासन र सेवाको विवरण दिन अघि बढ्दछु; यसकारण, मेरो विवरणसहित अघि बढ्न मैले मेरा पिताका कुराहरूका बारेमा र मेरा बन्धुहरूका बारेमा पनि केही बोल्नु पर्दछ।

किनकि हेर, यस्तो हुन गयो, मेरा पिताले आफ्नो सपनाका वचनहरू बोल्न र साथै उनीहरूलाई लगनशील हुन प्रोत्साहित गर्न अन्त्य गर्नु भएपछि उहाँले उनीहरूसँग यहूदीहरूका बारेमा बोल्नुभयो।

कि परमप्रभुको आफ्नै उचित समयअनुसार त्यो महान् सहर यरुशलेमसमेत उनीहरूको विनाश भएपछि र धेरैलाई बेबिलोनमा बन्दी बनाएर लगिएपछि उनीहरू पुन: फर्कनु पर्दछ, हो, बन्धनबाट फिर्ता समेत ल्याइनु पर्दछ; अनि बन्धनबाट फिर्ता ल्याइएपछि आफ्नो रिक्थको भूमिलाई उनीहरूले पुन: स्वामित्वमा लिनु पर्दछ।

हो, मेरा पिताले यरुशलेम छाडेको समयदेखि छ सय वर्षसम्ममा एउटा अगमवक्ता—एउटा मसीह समेत, वा, अर्को शब्दमा, संसारको एउटा मुक्तिदाता, परमप्रभु परमेश्वरले यहूदीहरूमाझ खडा गर्नु हुनेछ।

अनि यस मसीह, जसका बारेमा उहाँले बोल्नुभएको थियो, वा संसारको यस उद्दारकर्ताको बारेमा कति ठूलो सङ्ख्यामा अगमवक्ताहरूले यी कुराहरूको गवाही दिएका थिए भन्ने बारेमा पनि उहाँले बोल्नुभयो।

यसकारण, सारा मानव जाति हराएको र पतित अवस्थामा थिए र यस उद्धारकर्तामाथि भर नपरे सदा हराएका र पतित हालतमा रहने थिए।

अनि उहाँले परमप्रभुको बाटो तयार पार्न मसीहअगाडि आउने एउटा अगमवक्ताका बारेमा पनि बोल्नुभयो—

हो, उनीसमेत अघि जानेछन् अनि उजाड स्थानमा कराउनेछन्: तिमीहरू परमप्रभुको मार्ग तयार पार र उहाँका पथहरू सोझा बनाओ; किनकि तिमीहरूमाझ एक जना खडा हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौ; र उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने योग्यको म छैनँ। अनि मेरा पिताले यस कुराको बारेमा धेरै बोल्नुभयो।

अनि मेरा पिताले भन्नुभयो यर्दनपारि बेथानियामा उनले बप्तिस्मा दिनेछन्; अनि उहाँले यो पनि भन्नुभयो उनले पानीले बप्तिस्मा दिनेछन्; कि उनले मसीहलाई समेत पानीले बप्तिस्मा दिनेछन्।

१० अनि मसीहलाई पानीले बप्तिस्मा दिइसकेपछि उनले देख्नेछन् र उनले संसारका पापहरू हरणगर्ने परमेश्वरका थुमालाई बप्तिस्मा दिएका थिए भनेर गवाही दिनेछन्।

११ अनि यस्तो हुन गयो मेरा पिताले यी वचनहरू बोलिसक्नु भएपछि उहाँले मेरा बन्धुहरूसामु यहूदीहरूमाझ प्रचार गरिने सुसमाचारको बारेमा र यहूदीहरूको विश्वास क्षीण हुँदै जानेका बारेमा पनि बोल्नुभयो। अनि, हो, उनीहरूले आउनुहुने मसीहको बध गरिसकेपछि र उहाँको बध गरिइसकेपछि उहाँ मृत्युबाट उठ्नु हुनेछ र पवित्र आत्माद्वारा गैह्र-यहूदीहरूसामु आफैँलाई प्रकट गराउनुहुनेछ।

१२ हो, मेरा पिताले समेत गैह्र-यहूदीहरूका बारेमा र इस्राएलको घरानाको बारेमा पनि धेरै बोल्नुभयो, कि उनीहरूलाई जैतुनको रुखसँग तुलना गरिनेछ जसका हाँगाहरू भाँचिनेछन् र पृथ्वीको सारा सतहमाथि तितर-बितर पारिनेछ।

१३ यसकारण, उहाँले भन्नुभयो यो हुनु आवश्यक छ कि हामीलाई पृथ्वीको सारा सतहमाथि छरिनेछ भन्ने परमप्रभुका वचन पूरा हुने गरी हामीलाई एकरुपतामा प्रतिज्ञाको भूमितिर अगुवाइ गरिनेछ।

१४ अनि इस्राएलका घरानालाई तितर-बितर पारिएपछि उनीहरूलाई पुन: एकसाथ जम्मा गरिनेछ, वा, निष्कर्षमा, गैह्र-यहूदीहरूले सुसमाचारको पूर्णता प्राप्त गरिसकेपछि जैतूनको रुखका प्राकृतिक हाँगाहरूलाई, वा इस्राएलको घरानाका अवशेषहरूलाई, कलमी गरिनेछन्, वा साँचो मसीह, उनीहरूका परमप्रभु र उनीहरूका उद्धारकर्ताको ज्ञान पाउनेछन्।

१५ अनि यस प्रकारको वचनमा मेरा पिताले मेरा बन्धुहरूसामु अगमवाणी गर्नुभयो र बोल्नुभयो, अनि अन्य धेरै कुराहरू पनि बोल्नुभयो जुन म यस पुस्तकमा लेख्दिनँ; किनकि तिनीहरूमध्ये मलाई उचित लागेका जति मैले मेरा अन्य पुस्तकमा लेखिसकेको छु।

१६ अनि यी सारा कुराहरू, जसका बारेमा मैले बोलिसकेको छु, मेरा पिता लमुएलको उपत्यकाको पालमा बस्दा गरिएका थिए।

१७ अनि यस्तो हुन गयो म, नफीले उहाँले दर्शनमा देख्नुभएका कुराहरू र पवित्र आत्माको शक्ति, जुन शक्ति परमेश्वरका पुत्र—अनि आउनुहुने मसीह परमेश्वरका पुत्र हुनुहुन्थ्यो—उहाँमाथिको आस्थाबाट उहाँले प्राप्त गर्नुभयो, जसद्वारा उहाँले बोल्नुभएका कुराहरूका सवालमा मेरा पिताका सारा वचनहरू सुनिसकेपछि म नफी पनि इच्छुक थिएँ कि पवित्र आत्माको शक्ति, त्यो जुन प्राचीन समयमा जस्तै उहाँले स्वयमलाई मानिसका छोराछोरीहरूसामु प्रकट गराउने समयमा पनि लगनशीलताका साथ उहाँको खोजी गर्ने सबैका लागि परमेश्वरको उपहार हो, यी कुराहरू देख्न, सुन्न र जान्न सकूँ।

१८ किनकि उहाँ हिजो, आज र सदासर्वदा उस्तै हुनुहुन्छ; र यदि पश्चाताप गरेर उहाँसामु आए भने संसारको उत्पतिदेखिका सारा मानिसहरूका लागि बाटो तयार पारिएको छ।

१९ किनकि लगनशीलताका साथ खोज्नेले भेट्टाउनेछ; र परमेश्वरका रहस्यहरू प्राचीन समयहरूमा झैँ यी समयहरूमा पनि र आउने समयहरूमा झैँ प्राचीन समयहरूमा पनि पवित्र आत्माको शक्तिद्वारा उनीहरूका सामु खुलासा गरिनेछ; यसकारण, परमप्रभुको कार्यप्रणाली एउटा अनन्त चक्र हो।

२० त्यसकारण, याद गर, हे मानिस, तिम्रा सबै कामहरूका लागि तिमीलाई न्यायमा ल्याइनेछ।

२१ यसकारण, यदि तिम्रा परीक्षणका दिनहरूमा तिमीले दुष्ट्याइँ गर्न खोजेका छौ भने परमेश्वरको न्यायको आसनअगाडि तिमी अशुद्ध भेटिन्छौ; अनि कुनै अशुद्ध कुरा परमेश्वरसँग बस्न सक्दैन; यसकारण, तिमीलाई सदासर्वदाका निम्ति निष्कासित गरिनुपर्छ।

२२ अनि पवित्र आत्माले अधिकार दिनुहुन्छ कि मैले यी कुराहरू बोल्नुपर्छ र तिनीहरूलाई अस्वीकार गर्नुहुँदैन।