धर्मशास्त्रहरू
२ नफी ९


अध्याय ९

याकूबले विस्तार गर्दछन कि यहूदीहरू वाचा गरिएका भूमिहरूमा भेला हुनेछन्—प्रायश्चित्तले मानिसहरूको पतनको मूल्य तिर्दछ—मृतकहरूको शरीर चिहानबाट र तिनीहरूको आत्माहरू नरकबाट र परमधामबाट बाहिर आउनेछन्—तिनीहरूले न्याय पाउनेछन्—प्रायश्चितले मृत्यु, नरक, सैतान र अन्त्यहीन पीडाबाट बचाउछ—धर्मीहरूलाई परमेश्वरको अधिराज्यमा बचाइन्छ—पापहरूको सजाय खडा गरिन्छ—इस्राएलका पवित्र उहाँ द्वारको रक्षक हुनुहुन्छ। लगभग ई.पू. ५५९–५४५।

अनि अब, मेरा प्रिय बन्धुहरू, मैले यी कुराहरू पढेको छु ताकि तिमीले परमप्रभुका करारहरूका बारे थाहा पाउन सक जुन उहाँले सबै इस्राएलका घरानासँग गर्नुभएको छ—

जुन उहाँले यहूदीहरूसमक्ष बोल्नुभएको छ, आफ्ना पवित्र अगमवक्ताहरूको मुखबाट, प्रारम्भदेखि नै समेत, एक पिँढीदेखि अर्को पिँढीसम्म, जबसम्म ती कुराहरू सत्य चर्च परमेश्वरको चर्चमा पुनर्स्थापित हुने समय आउँदैन; जब तिनीहरू आफ्ना रिक्थका भूमिहरूमा भेला गरिनेछन् र प्रतिज्ञा गरिएको सबै भूमिहरूमा स्थापित गराइनेछन्।

हेर, मेरा प्रिय बन्धुहरू, म यी कुराहरू भन्छु ताकि तिमीहरू रमाओ र सदासर्वदाका लागि शिर ठाडो पार, ती आशीषहरूका कारण जुन परमप्रभु परमेश्वरले तिम्रा छोराछोरीहरूलाई दिनुहुनेछ।

किनकि मलाई थाहा छ, तिमीहरू धेरैले आगामी कुराहरू जान्न धेरै खोजेका छौ; यसकारण मलाई थाहा छ कि हाम्रो शरीर कुहिएर मर्नुपर्छ भन्ने तिमीहरूलाई थाहा छ; तैपनि, हामीले आफ्ना शरीरमा परमेश्वरलाई देख्नेछौँ।

हो, मलाई थाहा छ कि शरीरमा उहाँले आफूलाई यरुशलेम, जहाँबाट हामी आयौ, त्यहाँका बासिन्दाहरूलाई देखाउनु हुनेछ भनेर तिमीहरूलाई थाहा छ; किनकि यसो तिनीहरूका माझमा हुनु उचित छ; किनकि महान् सृष्टिकर्ताका लागि यो आवश्यक थियो कि उहाँले आफूलाई शरीर भएको मानिसको अधीनमा रहन आफूलाई अनुमति दिनुहुन्छ र सबै मानिसका लागि मर्नुहुन्छ, ताकि सबै मानिसहरू उहाँको अधीनमा रहून्।

किनकि मृत्यु सबै मानिसहरूमा आएकाले, महान् सृष्टिकर्ताको दयालु योजना पूरा गर्न, त्यहाँ पुनरुत्थानको शक्ति हुन आवश्यक छ र पतनको कारण मानिसमा पुनरुत्थान आउन आवश्यक छ; र उल्लङ्घनको कारण पतन भएको हो; र मानिसको पतन भएको कारण तिनीहरू परमप्रभुको उपस्थितिबाट अलग्याइनेछन्।

यसकारण, एक अनन्त प्रायश्चित्तको आवश्यक थियो—यो अनन्त प्रायश्चित्त नभएसम्म यो अपभ्रंसले शुद्धको रुप धारण गर्न सक्दैनथ्यो। यसकारण, पहिलो न्याय जुन मानिसमा आयो त्यो अन्त्यविहीन अन्तरालसम्म रहिरहन आवश्यक थियो। अनि यदि यसो हुने हो भने, यो शरीर यस मातृभूमिमा कुहिन र थिचिन, फेरि नउठ्नेगरी राखिनेथियो।

हे परमेश्वरको ज्ञान, उहाँको कृपा र अनुग्रह! किनकि हेर, यदि शरीर फेरि नउठ्ने भएको भए हाम्रा आत्माहरू त्यो दूतको अधीनमा रहने थिए जो अनन्त परमेश्वरको उपस्थितिबाट झऱ्यो र कहिल्यै नउठ्नेगरी सैतान बन्यो।

अनि हाम्रा आत्माहरू तिनी जस्तै हुनुपर्थ्यो र हामी दुष्ट हुने थियौं, सैतानका दूतहरू, हाम्रा परमेश्वरको उपस्थितिबाट बन्द गरिइएर, झुटको पितासँग रहन, दयनीय अवस्थामा, ऊजस्तै; हो, त्यस प्राणीसँग जसले हाम्रा पहिलो मातापितालाई झुक्यायो, जसले आफूलाई प्रकाशका दूतको भेष धारण गरेर र मानिसका छोराछोरीलाई हत्याको गोप्य गुटबन्दी र अन्धकारका धेरै प्रकारका गोप्य कामहरू गर्न उक्साउँछ।

१० अहो हाम्रो परमेश्वरको कृपा कति महान् छ, उहाँले हामीलाई यी भयानक राक्षसको मुट्ठीबाट उम्कने मार्ग तयार गर्नुभएको छ; हो, त्यो राक्षस, मृत्यु र नरक, जसलाई म शरीरको मृत्यु र आत्माको मृत्यु भन्दछु।

११ अनि परमेश्वर, इस्राएलको पवित्र उहाँको मुक्तिको यो बाटोले गर्दा, यो मृत्यु, जुन मैले बताएकोछु, जुन लौकिक छ, जुन मृत्यु चिहान हो, जसले मृतकहरूको मुक्ति गर्दछ।

१२ अनि यो मृत्यु जुन मैले बताएको छु, जुन आत्मिक मृत्यु हो, यसले यसको मृतकहरूको मुक्ति गर्छ; जुन आत्मिक मृत्यु नरक हो; यसकारण, मृत्यु र नरकले त्यसका मृतकहरूलाई मुक्ति दिनुपर्छ र नरकले आफ्ना बन्दी आत्माहरूलाई मुक्ति दिनुपर्छ र चिहानले यसका बन्दी शरीरहरूलाई मुक्ति दिनुपर्छ र मानिसहरूका शरीर र आत्माहरू एक अर्कामा पुनर्स्थापित हुनेछन्; र यो इस्राएलका पवित्र उहाँको पुनरुत्थानको शक्तिद्वारा भएको हो।

१३ अहो हाम्रो परमेश्वरको योजना कति महान् छ! अर्कोतर्फ, परमेश्वरको परमधामले धर्मीहरूका आत्माहरूलाई मुक्ति दिनुपर्छ र चिहानले धर्मीहरूका शरीरलाई मुक्ति दिनुपर्दछ; र आत्मा र शरीर फेरि आफैँ पुनर्स्थापित हुन्छ र सबै मानिसहरू अमर र अविनाशी बन्नेछन् र तिनीहरू जीवित जीवात्माहरू हुनेछन्, शरीरमा हामीजस्तै पूर्ण ज्ञान भएको, यस बाहेक कि हाम्रो ज्ञान परिपूर्ण हुनेछ।

१४ यसकारण, हामीलाई हाम्रा सबै अपराध र हाम्रा अशुद्धता र हाम्रा नग्नताको पूर्ण ज्ञान हुनेछ; र धार्मिकहरूलाई आफ्नो आनन्द र आफ्नो धार्मिकता, पवित्रताले, हो, धार्मिकताको पोशाकले समेत पहिरिएको पूर्ण ज्ञान हुनेछ।

१५ अनि यस्तो हुनेछ कि जब सबै मानिसहरू यो पहिलो मृत्युबाट गुज्रेर जीवनमा जानेछन्, यतिसम्म कि तिनीहरू अविनाशी भएका छन्, तिनीहरू इस्राएलका पवित्र उहाँका न्यायको आसनसामु उपस्थित हुनुपर्नेछ र त्यसपछि न्याय आउनेछ र परमेश्वरको पवित्र न्यायानुसार तिनीहरूको न्याय हुनेछ।

१६ अनि विश्वासका साथ, जसरी परमप्रभु जीवित हुनुहुन्छ, किनकि परमप्रभु परमेश्वरले बोल्नुभएको छ र यो उहाँको अनन्त वचन हो, जुन समाप्त हुँदैन, कि जो धर्मी छन् तिनीहरू धर्मी नै रहिरहनेछन् र जो घिनलाग्दा छन् तिनीहरू घिनलाग्दा नै रहिरहनेछन्; यसकारण, जो घिनलाग्दा छन् तिनीहरू सैतान र त्यसका दूतहरू हुन्; र तिनीहरू तिनका लागि तयार गरिएका अनन्त आगोमा जानेछन्; र तिनीहरूका पीडा आगो र गन्धकको कुण्डझैँ हुनेछ, जसको राप सदासर्वदाका लागि निरन्तर माथि उठ्नेछ र जसको अन्त्य छैन।

१७ अहो हाम्रो परमेश्वरको महान्‌ता र न्याय! किनकि उहाँले आफ्ना वचनहरू पूरा गर्नुहुन्छ र ती उहाँको मुखबाट अघि गएका छन् र उहाँको न्याय पूरा हुनुपर्छ।

१८ तर, हेर, धर्मीहरू, इस्राएलका पवित्र उहाँका सन्तहरू, तिनीहरू जसले इस्राएलका पवित्र उहाँलाई विश्वास गरेका छन्, तिनीहरू जसले संसारका क्रूसहरूलाई सहेका छन् र यसको अपमान प्रति ध्यान दिएनन्, तिनीहरूले परमेश्वरको अधिराज्य प्राप्त गर्नेछन्, जुन उनीहरूका लागि संसारको उत्पत्तिदेखि नै तयार गरिएको थियो र तिनीहरूको आनन्द सदासर्वदाका लागि पूर्ण हुनेछ।

१९ अहो हाम्रो परमेश्वर, इस्राएलका पवित्र उहाँको कृपाको महान्‌ता! किनकि उहाँले आफ्ना सन्तहरूलाई त्यो भयानक दुष्ट राक्षस र मृत्यु र नरक र त्यो आगो र गन्धकको कुण्ड जो अन्त्यहीन पीडा हो, त्यसबाट जोगाउनु हुनेछ।

२० अहो हाम्रा परमेश्वरको पवित्रता कस्तो महान्‌ता छ! किनकि उहाँलाई सबै कुराहरू थाहा छ र त्यहाँ त्यस्तो केही कुरा छैन जुन उहाँलाई थाहा छैन।

२१ अनि उहाँ यस संसारमा आउनुहुन्छ ताकि उहाँले सबै मानिसहरूलाई बचाउन सक्नुहोओस् यदि तिनीहरूले उहाँको वचन सुने भने; किनकि हेर, उहाँले सबै मानिहरूको पीडा भोग्नुहुन्छ, हो, हरेक जीवित प्राणीहरूको पीडा, दुबै पुरुष, महिला र बालबालिका, जो आदमको परिवारका मातहातका हुन्।

२२ अनि उहाँले यो भोग्नुभयो ताकि सबै मानिसहरूमा पुनरुत्थान आओस्, ताकि सबैजना त्यो महान् र न्यायको दिन उहाँसामु उभियून्।

२३ अनि उहाँले सबै मानिसहरूलाई आज्ञा दिनुभयो कि तिनीहरूले पश्चात्ताप गर्नुपर्छ र उहाँको नाममा बप्तिस्मा लिनुपर्छ, इस्राएलका पवित्र उहाँमा पूर्ण आस्था राखेर, अन्यथा उनीहरूलाई परमेश्वरको अधिराज्यमा बचाइनेछैन।

२४ अनि यदि तिनीहरूले पश्चाताप गरेनन् र उहाँको नाममा विश्वास गरेनन् भने र उहाँको नाममा बप्तिस्मा लिएनन् भने र अन्त्यसम्म सहेनन् भने, तिनीहरूलाई दोषी ठहराइनेछ; किनकि परमप्रभु परमेश्वर, इस्राएलका पवित्र उहाँले बोल्नुभएको छ।

२५ यसकारण, उहाँले व्यवस्था दिनुभएको छ; र जहाँ व्यवस्था दिइँदैन त्यहाँ दण्ड हुँदैन र जहाँ दण्ड हुँदैन त्यहाँ तिरस्कार हुँदैन; जहाँ दण्डको सजाय सुनाइँदैन तिरस्कार हुँदैन प्रायश्चितका कारण इस्राएलका पवित्र उहाँका दयाको उनीहरूमा दावा हुन्छ, किनकि तिनीहरूलाई उहाँको शक्तिद्वारा उद्धार गरिन्छ।

२६ किनकि जसलाई व्यवस्था दिइएको हुँदैन तिनीहरूमाथि उहाँको न्यायको मांग प्रयाश्चित्तले पूरा गर्दछ, ताकि तिनीहरूलाई त्यो भयावह दुष्टबाट, मृत्यु र नरकबाट र त्यो सैतानबाट र आगो र गन्धकको कुण्डबाट, जुन अन्त्यहीन पीडा हो;त्यसबाट मुक्त गरिनेछ र तिनीहरूको ती परमेश्वरसामु पुनर्स्थापना हुनेछ जसले तिनीहरूलाई श्वास दिनुभयो, जो इस्राएलका पवित्र उहाँ हुनुहुन्छ।

२७ तर धिक्कार छ त्यसलाई जसलाई त्यो व्यवस्था दिएको छ, हो, जोसँग हामीसँग झैँ परमेश्वरका सबै आज्ञाहरू छन् र त्यसले ती उल्लङ्घन गर्छ र जसले आफ्ना परीक्षणकालका दिनहरू खेर फाल्छ, किनकि उसको अवस्था भयावह हुनेछ!

२८ अहो त्यो सैतानको धूर्त योजना! अहो त्यो निरर्थकता र त्यो कमजोरीपना, त्यो मानिसको मूर्खता! जब तिनीहरू शिक्षित हुन्छन् तिनीहरू सोच्दछन् कि तिनीहरू बुद्धिमानी छन् र तिनीहरू परमेश्वरको सल्लाहलाई सुन्दैनन्, किनकि तिनीहरूले यसलाई वास्ता गर्दैनन्, आफूलाई थाहा छ भन्ने ठान्दछन्, यसकारण, तिनीहरूको त्यो ज्ञान नै मूर्खता बन्छ र यसले तिनीहरूलाई फाइदा गर्दैन। र तिनीहरूको विनाश हुनेछ।

२९ तर यदि तिनीहरूले परमेश्वरको सल्लाहहरूलाई सुने भने शिक्षित हुनु राम्रो हो।

३० तर धिक्कार छ ती धनीलाई, जो संसारको कुराहरूमा धनी छन्। किनकि तिनीहरू धनी छन् तिनीहरूले गरिबलाई अपमान गर्दछन् र तिनीहरूले भलादमीहरूलाई सताउँदछन् र तिनीहरूका हृदय आफ्ना सम्पत्तिमा छन्; यसकारण, तिनीहरूका सम्पत्ति नै तिनीहरूका परमेश्वर हुन्। र हेर, तिनीहरूका सम्पत्ति तिनीहरूसँगै नासिने छन्।

३१ अनि धिक्कार छ ती बहिराहरूलाई जसले सुन्दैनन्; किनकि तिनीहरूको विनाश हुनेछ।

३२ अनि धिक्कार छ ती अन्धाहरूलाई जसले देख्दैनन्, किनकि तिनीहरूको पनि विनाश हुनेछ।

३३ धिक्कार छ ती हृदयका बेखतानाहरूलाई, किनकि तिनीहरूका दुष्टताका ज्ञानले तिनीहरूलाई अन्तिम दिनमा प्रहार गर्नेछ।

३४ धिक्कार छ त्यो झुठो बोल्नेलाई, किनकि उसलाई नरकमा पठाइने छ।

३५ धिक्कार छ त्यो हत्यारालाई जसले जानाजानी हत्या गर्दछ, किनकि ऊ मर्नेछ।

३६ धिक्कार छ तिनीहरूलाई जसले वेश्यावृत्ति गर्दछ, किनकि तिनीहरुलाई नरकमा पठाइने छ।

३७ हो, धिक्कार छ तिनीहरूलाई जसले मुर्ति पूजा गर्दछन्, किनकि सबै सैतानहरूका सैतानले तिनीहरूमा आनन्द लिनेछ।

३८ अनि, निष्कर्षमा, धिक्कार छ ती सबैलाई जो आफ्ना पापहरूमा मर्दछन्; किनकि तिनीहरू परमेश्वरसामु फर्कनेछन् र उहाँको अनुहार हेर्नेछन् र आफ्ना पापमा जिउनेछन्।

३९ अहो, मेरा प्रिय बन्धुहरू, पवित्र परमेश्वरविरुद्ध उल्लङ्घन गर्नुको भयावह सम्झ र त्यो धूर्तको प्रलोभनमा समर्पण हुनुको भयावह अवस्थालाई पनि। सम्झ कि, शारीरिक विचारको हुनु मृत्यु हो र आत्मिक विचारको हुनु जीवन अनन्त हो।

४० अहो, मेरा प्रिय बन्धुहरू, मेरा वचनहरूमा कान थाप। इस्राएलका पवित्र उहाँका महान्‌तालाई सम्झ। मैले तिमीहरूविरुद्ध कठोर वचनहरू बोलेको छु भनेर नभन; किनकि यदि तिमीहरूले यसो गरेमा, तिमीहरूले सत्यताको निन्दा गर्नेछौ; किनकि मैले तिम्रा सृष्टिकर्ताका वचनहरू बोलेको छु। मलाई थाहा छ कि सत्यताका वचनहरू सबै अशुद्धताविरुद्ध कठोर हुन्छन्; तर धर्मीहरू ती देखि डराउँदैनन, किनकि तिनीहरू सत्यता मन पराउँछन् र डगमगिदैनन्।

४१ अहो उसो भए, मेरा प्रिय बन्धुहरू, परमप्रभु, पवित्र उहाँसामु आओ। सम्झ कि उहाँका मार्गहरू धार्मिक छन्। हेर, मानिसका लागि मार्ग साँघुरो छ, तर त्यो उसकासामु सिधा खडा हुन्छ र द्वारको रक्षक इस्राएलका पवित्र जन हुनुहुन्छ; र उहाँले कुनै सेवक राख्नुभएको छैन; र त्यहाँ त्यो द्वार बाहेक अरु मार्ग छैन; किनकि उहाँलाई छकाउन सकिँदैन, किनकि परमप्रभु परमेश्वर उहाँको नाम हो।

४२ अनि जसले ढक्ढक्याउँछ, उसको लागि उहाँले खोल्नुहुनेछ; अनि ती बुद्धिमानी र ती शिक्षित, अनि ती जो धनी छन्, जो आफ्ना शिक्षामा र आफ्ना विद्वत्ता र आफ्ना धनको घमण्डमा फुलेका छन्—हो, तिनीहरू त्यही हुन् जसलाई उहाँले अपमान गर्नुहुनेछ; र तिनीहरूले यी सबै कुराहरू त्यागेर र आफूलाई परमेश्वरसामु मूर्ख ठानेर र विनम्रताको गहिराइमा तल नआएसम्म, उहाँले तिनीहरूका लागि खोल्नुहुनेछैन।

४३ तर ती बुद्धिमानी र ती विवेकीका कुराहरू तिनीहरूबाट सदासर्वदाका लागि लुकाइने छन्—हो, त्यो आनन्द जुन सन्तहरूका लागि तयार गरिएका छन्।

४४ अहो, मेरा प्रिय बन्धुहरू, मेरा वचनहरू सम्झ। हेर, म मेरो वस्त्र फुकाल्छु र म यसलाई तिम्रासामु टक्टक्याउँछु; म मेरो मुक्तिका परमेश्वरमा प्रार्थना गर्दछु कि उहाँले मलाई उहाँका सबैतिर खोज्ने आँखाले हेर्नुहुनेछ; यसकारण, तिमीहरूले अन्तिम दिनमा थाहा पाउनेछौ, जब सबै मानिसहरूले आफ्ना कार्य अनुसार न्याय पाउनेछन्, कि इस्राएलका परमेश्वरले देख्नुभयो कि मैले तिमीहरूको दुष्टता मेरो आत्मादेखि हल्लाएँ र ताकि म उहाँकोसामु चमकमा उभिन्छु र तिमीहरूको रगतबाट मुक्त छु।

४५ अहो, मेरा प्रिय बन्धुहरू, आफ्ना पापहरूबाट फर्क; त्यसको सिक्री हल्लाऊ जसले तिमीहरूलाई दरिलोसँग बाँद्धछ, ती परमेश्वरसामु आओ जो तिमीहरूका मुक्तिको चट्टान हुनुहुन्छ।

४६ आफ्ना आत्माहरूलाई त्यो महिमित दिन, त्यो न्यायको दिनका लागि समेत तयार गर जब धर्मीहरूलाई न्याय दिइने छ, ताकि तिमीहरू त्यो भयावह त्रासका साथ खुम्चिने छैनौ, ताकि तिमीहरूले त्यो भयावह दोष पूर्णरुपमा सम्झिनेछैनौ र पुकार्न बाध्य हुनेछैनौ: पवित्र, पवित्र छन् हजुरका न्यायहरू, हे सर्वशक्तिमान परमप्रभु परमेश्वर—तर मलाई मेरो दोष थाहा छ; मैले हजुरको व्यवस्थाको उल्लङ्घन गरेँ, मेरा उल्लङ्घनहरू मेरै हुन्; र सैतानले मलाई प्राप्त गरेको छ, कि म त्यसको भयावह दु:खको शिकार भएको छु।

४७ तर हेर, मेरा बन्धुहरू, मैले तिमीहरूलाई यी कुराहरूको भयावह सत्यतामा जगाउनु के यो उचित छ? यदि तिमीहरूका मस्तिष्क शुद्ध भएको भए के म तिमीहरूका जीवात्माको खेदो खन्थेँ होला त? यदि तिमीहरू पापमुक्त भएको भए सत्यताको सरलताअनुसार के म तिमीहरूसामु सरल हुन्थेँ होला त?

४८ हेर, यदि तिमीहरू पवित्र भएको भए म तिमीहरूसामु पवित्रताका बारेमा बोल्थेँ होला; तर तिमीहरू पवित्र नभएका कारण र तिमीहरूले मलाई शिक्षकका रुपमा हेर्ने भएकाले, यो उचित हुन आवश्यक छ कि मैले तिमीहरूलाई पापका परिणामहरूका बारेमा सिकाउँ।

४९ हेर, मेरो जीवात्माले पापको घृणा गर्दछ र मेरो हृदय धार्मिकतामा आनन्दित हुन्छ; र म मेरा परमेश्वरको पवित्र नामको प्रशंसा गर्नेछु।

५० आओ, मेरा बन्धुहरू, ती सबै जो तिर्खाएका छन्, पानीनेर आओ; र ती जोसँग पैसा छैन, आओ किन र खाओ, हो, आओ बिनापैसा र बिनामूल्य दाखमद्ध र दूध किन।

५१ यसकारण, जसको मूल्य छैन त्यसको लागि पैसा खर्च नगर र त्यो परिश्रम नगर जसले तिमीलाई सन्तोष दिदैन। लगनशीलतापूर्वक मलाई सुन र मैले भनेका वचनहरूलाई सम्झ; र इस्राएलका पवित्र उहाँकहाँ आओ र त्यो भोज खाओ जसको विनाश हुँदैन, न त त्यो भ्रष्ट नै हुन्छ र तिम्रो आत्मा प्रचुरतामा आनन्दित होओस्।

५२ हेर, मेरा प्रिय बन्धुहरू, तिम्रा परमेश्वरका वचनहरू सम्झ; निरन्तर रुपमा उहाँलाई दिनमा प्रार्थना गर र रातमा उहाँको पवित्र नाममा धन्यवाद देऊ। तिम्रो हृदय आनन्दित होओस्।

५३ अनि हेर परमप्रभुका करारहरू कति महान् छन् र मानिसका छोराछोरीहरुमाथि उहाँको विनम्रता कति महान् छ; र उहाँको महान्‌ता र उहाँको अनुग्रह र कृपाले गर्दा, उहाँले हामीलाई वाचा गर्नुभएको छ कि हाम्रा सन्तति मांशशरीरमा पूरै नासिने छैनन्, तर उहाँले तिनीहरूलाई जोगाउनु हुनेछ; र भावी पुस्ताहरूमा इस्राएलका घरानामा तिनीहरू धर्मी शाखा हुनेछन्।

५४ अनि अब, मेरा बन्धुहरू, म तिमीहरूसामु अझै बोल्न चाहन्छु; तर मेरा शब्दहरूको बाँकी भाग म तिमीहरूमाझ भोलिपल्ट भन्नेछु। आमिन।