धर्मशास्त्रहरू
२ नफी ६


अध्याय ६

याकूब यहूदी इतिहास सुनाउँछन्: बेबिलोनी दासत्व र फिर्ती; इस्राएलको पवित्र उहाँको सेवा र क्रूसारोहण; गैर यहूदीहरूबाट प्राप्त सहयोग; र यहूदीहरूको पछिल्लो दिनको पुनर्स्थापना जब उनीहरू मसीहमा विश्वास गर्दछन्। लगभग ई.पू. ५५९–५४५।

याकूब, नफीका भाइका वचनहरू जुन उनले नफीका जनमाझ बोले।

हेर, मेरा प्रिय बन्धुहरू हो, म, याकूब, परमेश्वरद्वारा बोलावट गरिएको र उहाँको पवित्र पादरित्वको अनुक्रम-बमोजिम नियुक्त गरिएको र मेरा दाजु नफीबाट अभिषेक गरिएको, जसलाई तिमीहरूले एउटा राजा वा संरक्षकका रुपमा हेर्दछौ र जसमाथि सुरक्षाकालागि तिमीहरू भर पर्दछौ, हेर तिमीहरूलाई थाहा छ कि मैले तिमीहरूसामु अत्यन्त धेरै कुराहरू बोलेको छु।

तैपनि, म तिमीहरूसामु फेरि बोल्दछु; किनकि म तिमीहरूको आत्माको कल्याणका लागि व्यग्र छु। हो, तिमीहरूका लागी मेरो चिन्ता ठूलो छ; र तिमीहरू स्वयम्‌लाई थाहा छ कि त्यो सदा रहिआएको छ। किनभने सारा परिश्रमका साथ मैले तिमीहरूलाई सजग तुल्याएको छु; र तिमीहरूलाई मेरा पिताका वचनहरू पढाएको छु; र मैले संसारको सृस्टिदेखि लेखिएका सबै कुराहरूका बारेमा तिमीहरूसामु बोलिसकेको छु।

अनि अब, हेर म तिमीहरूसामु जे कुराहरू छन् र जे आउनेवाला छन्, तिनका बारेमा बोल्दछु; यसकारण, म तिमीहरूलाई यशैयाका वचनहरू पढेर सुनाउनेछु। र यी तिनै वचनहरू हुन् जो मेरा दाजुले चाहनुभएको छ कि मैले तिमीहरूसामु बोलूँ। र म तिमीहरूसामु तिमीहरूका निमित्त बोल्दछु, ताकि तिमीहरूले सिक्नेछौ र आफ्ना परमेश्वरको नाउँ महिमित गर्नेछौ।

अनि अब, यी वचनहरू जुन म वाचन गर्नेछु ती हुन् जुन यशैयाले इस्राएलका सबै घरानाका बारेमा बोले; यसकारण, ती तिमीहरूसँग दाँजिन सक्छन, किनकि तिमीहरू इस्राएलका घरानाका हौ। र त्यहाँ धेरै कुराहरू छन् जो यशैयाद्वारा बोलिएका छन् जुन तिमीहरूसँग दाँजिन सक्छन, किनकि तिमीहरू इस्राएलका घरानाका हौ।

अनि अब, ती वचनहरू यी हुन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, म आफ्नो हात गैह्र-यहूदीहरूसम्म फैलाउनेछु र ती जनमाझ मेरो ध्वजा फहराउनेछु; र उनीहरूले तिम्रा छोराहरूलाई आफ्नो बाहुमा लिनेछन् र तिम्रा छोरीहरू उनीहरूका काँधमा बोकिनेछन्।

अनि राजाहरू तिम्रा धाईबुबाहरू र तिनका रानीहरू तिम्रा धाईआमाहरू हुनेछन्; तिनले धर्तितिर अनुहार झुकाएर तिमीहरूलाई प्रणाम गर्नेछन् र तिमीहरूको पैतालाको धूलो चाट्नेछन्; अनि तिमीहरूले थाहा पाउनेछौ कि म नै परमप्रभु हुँ; किनकि मेरो प्रतीक्षा गर्नेहरू लज्जित हुनेछैनन्।

अनि अब, म, याकूब, यी वचनहरूका सम्बन्धमा केही बोल्दछु। किनभने हेर, परमप्रभुले मलाई देखाउनुभएको छ कि ती जो यरूशलेममा थिए, जहाँबाट हामी आयौँ, तिनीहरूलाई मारिए र बन्दी बनाएर लगिए।

तैपनि, परमप्रभुले मलाई देखाउनुभएको छ कि उनीहरू पुन: फर्कनेछन। र उहाँले मलाई यो पनि देखाउनुभएको छ कि परमप्रभु परमेश्वर, इस्राएलका पवित्र उहाँ, उनीहरूसामु शारीरिक रूपमा स्वयम् प्रकट हुनुहुनेछ; र, यो मलाई बताउने स्वर्गदूतका वचनअनुसार, उहाँ स्वयम् प्रकट हुनुभएपछि उनीहरूले उहाँलाई कोर्राले हिर्काउनेछन् र उहाँलाई क्रुसमा टाङ्नेछन्।

१० अनि इस्राएलका पवित्र जनविरुद्ध आफ्ना हृदय कठोर बनाएपछि र घाँटीहरू दह्रो बनाएपछि, हेर, इस्राएलका पवित्र उहाँको न्याय उनीहरूमाथि आउनेछ। अनि त्यो दिन आउनेछ कि तिनीहरूलाई दण्ड र पीडा दिइनेछ।

११ यसकारण, उनीहरूलाई यत्रतत्र लखेटिएपछि, किनकि स्वर्गदूत यसो भन्नुहुन्छ, धेरैले शरीरमा कष्ट पाउनेछन्, र, आस्थावानहरूको प्रार्थनाहरूका कारणले, मर्ने गरी पीडा दिइनेछैन, उनीहरू यत्र-तत्र छरिनेछन् र दण्डित हुनेछन् र घृणित हुनेछन्; तैपनि, परमप्रभु उनीहरूसामु कृपालु हुनुहुनेछ, ताकि जब उनीहरूले आफ्ना उद्धारकर्ताका बारेमा थाहा पाउनेछन, तिनीहरूलाई उनीहरूको पैत्रिक भूमिहरूमा फेरि भेला गरिनेछ।

१२ अनि गैह्र-यहूदीहरू आशीषित होऊन्, ती जसकाबारेमा अगमवक्ताले लेखेका छन्; किनकि हेर, यदि उनीहरूले पश्चाताप गरे र सियोनका विरुद्ध लडाईं गरेनन् र त्यस विशाल र घृणित चर्चमा स्वयम् एकत्रित भएनन् भने उनीहरूलाई बचाइनेछ, किनकि परमप्रभु परमेश्वरले आफ्ना करारहरू जुन उहाँले आफ्ना सन्तानहरूसँग बाँध्नुभएको छ, पूरा गर्नुहुनेछ र यस कारणले अगमवक्ताले यी कुराहरू लेख्नुभएको छ।

१३ यसकारण, तिनले जसले सियोन र परमप्रभुका करारवद्ध जनविरुद्ध लडाइँ गर्दछन् उनीहरूका पैतालाको धूलो चाट्दछन् र परमप्रभुका जन लज्जित हुनेछैनन्। किनभने पपरमप्रभुका जन ती हुन् जो उहाँको प्रतीक्षा गर्दछन्; किनकि उनीहरू अझै पनि मसीहको आगमनको प्रतीक्षा गर्दछन्।

१४ अनि हेर, अगमवक्ताका वचनअनुसार, उनीहरूलाई फेरि फेला पार्नका लागि मसीह स्वयम् पुन: दोस्रो पटक खडा हुनुहुनेछ; यसकारण, उहाँ स्वयम् तिनीहरूका शत्रुहरूको सर्वनाश हुने गरी शक्ति र ठूलो महिमासहित उनीहरूसामु प्रकट हुनुहुनेछ, जब त्यो दिन आउँछ, तब उनीहरूले उहाँमा विश्वास गर्नेछन्; र उहाँले कसैको विनाश गर्नु हुनेछैन जसले उहाँमा विश्वास गर्नेछन्।

१५ अनि तिनीहरू जो उहाँमा विश्वास गर्दैनन् दुबै आगोबाट र आँधिबेहरीबाट र भूकम्पबाट र रक्तपातबाट र महामारीबाट र अनिकालबाट नासिनेछ्न्। अनि उनीहरूले थाहा पाउनेछन् कि परमप्रभु नै परमेश्वर, इस्राएलको पवित्र उहाँ, हुनुहुन्छ।

१६ किनकि के शक्तिशालीहरूबाट शिकार हरिने छ, वा के कानुनसम्मत कैदीहरू मुक्त गरिने छन्?

१७ तर परमप्रभु यसो भन्नुहुन्छ: शक्तिशालीहरूका कैदीहरू समेत खोसिनेछन् र डरलाग्दोको शिकार मुक्त गरिनेछ; किनकि सर्वशक्तिमान् परमेश्वरले आफ्ना करारवद्ध जनलाई मुक्त गर्नुहुनेछ। किनकि परमप्रभु यसो भन्नुहुन्छ: म तिनीहरूसँग लडाईँ गर्नेछु जसले तिमीहरूसँग लडाईँ गर्दछ—

१८ अनि म तिनीहरूलाई उनीहरूको आफ्नै मासु खुवाउनेछु जसले तिमीहरूलाई शोषण गर्दछन्; र तिनीहरू मीठो मदिराले झैँ आफ्नै रगतले मातिनेछन्; र सारा संसारले थाहा पाउनेछ कि म परमप्रभु नै तिमीहरूका मुक्तिदाता र उद्धारकर्ता, याकूबको सर्वशक्तिमान हुँ।