धर्मशास्त्रहरू
३ नफी १


तेस्रो नफी

नफीको पुस्तक
नफीका छोरा, जो हेलामानको छोरा थिए

अनि हेलामान हेलामानको छोरा थिए, जो अल्माको छोरा थिए, जो अल्माको छोरा थिए, नफीका सन्तति थिए जो लहीका छोरा भएकाले, जो यरुशलेमबाट यहूदाका राजा सिदकियाहको शासनको पहिलो वर्षमा आएका थिए।

अध्याय १

हेलामानको छोरा नफी भूमिबाट प्रस्थान गर्छन् र उनको छोरा नफीले अभिलेखहरू राख्छन्—चिन्हहरू र आश्चर्य प्रशस्त भए पनि, दुष्टले धर्मीहरूको बध गर्ने योजना गर्छन्—ख्रीष्टको जन्मको रात आइपुग्छ—चिन्ह दिइन्छ र नयाँ तारो उदाउँदछ—झुट र कपट बढ्दछ र गादियान्तोन डाँकाहरूले धेरैको बध गर्दछन्। लगभग इ.सं. १–४।

अब यस्तो हुन गयो कि एकानब्बेऔँ वर्ष गुज्रियो र लहीले यरुशलेम छाडेको समयदेखि छ सय वर्ष भयो; र यो वर्षमा थियो कि लाखोनेउस भूमिमाथि प्रधान न्यायकर्ता र राज्यपाल थिए।

अनि हेलामानको छोरा नफी, आफ्नो जेठो छोरा नफीलाई काँसका पाताहरूका बारेमा र राखिएका सबै अभिलेखहरू र लहीले यरुशलेमबाट प्रस्थान गरेदेखि राखिँदै आएका ती सबै पवित्र कुराहरूको जिम्मेवारी दिएर जरहेम्लाको भूमिबाट प्रस्थान गरेका थिए।

तब उनी भूमिबाट प्रस्थान गरे र उनी कहाँ गए, कुनै मानिसलाई थाहा छैन; र उनको छोरा नफीले उनको सट्टामा अभिलेखहरू, हो, यी जनका अभिलेख राखे।

अनि यस्तो हुन गयो कि बयानब्बेयौँ वर्षको प्रारम्भमा, हेर, अगमवक्ताहरूले गरेका अगमवाणीहरू झन् पूर्ण रुपमा पूरा हुन थाले, किनकि त्यहाँ जनमाझ झन् महान् चिन्हहरू र झन् महान् आश्चर्यकर्महरू हुन थाले।

तर त्यहाँ कोही थिए जसले भन्न थाले कि लमानी शमुएलले बोलेको वचनहरू पूरा हुने समय बितिसक्यो।

अनि उनीहरूले आफ्ना बन्धुहरूमाथि खुसी मनाउन थाले, यसो भन्दै: हेर समय वितिसकेको छ र शमुएलका वचनहरू पूरा भएका छैनन्; त्यसकारण यो कुराको बारेको तिमीहरूको हर्ष र तिमीहरूको आस्था व्यर्थ भएको छ।

अनि यस्तो हुन गयो कि उनीहरूले भूमि भरि ठूलो कोलाहल गरे; र विश्वास गर्ने जन ज्यादै दुखित हुन थाले, कथंकदाचित कुनै माध्यमद्वारा ती कुराहरू जुन बोलिएका थिए पूरा हुन नसकून्।

तर हेर, उनीहरूले दृढताका साथ जुन रात नभएजस्तै गरी एक दिन हुनुपर्ने त्यस दिन र त्यस रात र त्यस दिनको प्रतीक्षा गरे, कि उनीहरूले थाहा पाऊन् कि उनीहरूको आस्था व्यर्थको थिएन।

अब यस्तो हुन गयो कि अविश्वासीहरूले छुट्ट्याएर राखेको दिन थियो, कि ती परम्पराहरूमा विश्वास गर्ने ती सबैलाई यदि चिन्ह पूरा नभए मारिनुपर्छ, जुन अगमवक्ता शमुएलद्वारा दिइएको थियो।

१० अब यस्तो हुन गयो कि जब नफीको छोरा नफीले आफ्ना जनको यो दुष्टता देखे, उनको हृदय अत्यन्त दुखित भयो।

११ अनि यस्तो हुन गयो कि उनी गए र पृथ्वीमाथि आफैँले शिर झुकाए र उनका परमेश्वरसामु उनका जनका तर्फबाट शक्तिपूर्वक पुकारे, हो, ती जो उनीहरूका पितापुर्खाहरुका परम्पराहरूप्रतिको उनीहरूको आस्थाका कारणले विनाश हुन लागेका थिए।

१२ अनि यस्तो हुन गयो कि उनले त्यो दिनभरि परमप्रभुसामु शक्तिपूर्वक पुकारे; अनि हेर, परमप्रभुको आवाज उनीसामु आयो, यसो भन्दै:

१३ तिम्रो शिर उठाऊ र साहस गर; किनकि हेर, समय नजिक छ र यो रात चिन्ह दिइनेछ र भोलि म संसारमा आउँछु, यो संसारलाई देखाउन कि म मेरा पवित्र अगमवक्ताहरूको मुखबाट मैले बोल्न लगाएका ती सबै पूरा गर्नेछु।

१४ हेर, संसारको उत्पत्तिदेखि मानिसका छोराछोरीहरूसामु मैले अवगत गराएका कुराहरू सबै पूरा गर्न र पिता र पुत्र दुबै को इच्छा पूरा गर्न म मेरा आफ्नासामु आउँछु—पिताको मेरा कारणले र पुत्रको मेरा शरीरका कारणले। अनि हेर, समय नजिक छ र यो रात चिन्ह दिइनेछ।

१५ अनि यस्तो हुन गयो कि नफीसामु आएका वचनहरू बोलिएअनुसार पूरा भए; किनकि हेर, सूर्य अस्ताउने समयमा, त्यहाँ अँध्यारो भएन; र जन आश्चर्यचकित हुन थाले किनभने रात आउँदा त्यहाँ कुनै अँध्यारो भएन।

१६ अनि त्यहाँ अगमवक्ताका वचनहरूमा विश्वास नगर्ने धेरै थिए, जो पृथ्वीमा ढले र मृतक जस्तै बने, किनकि उनीहरूलाई थाहा थियो कि उनीहरूले अगमवक्ताहरूका वचनहरूमा विश्वास गर्नेहरूलाई भनेर बनाएको विनाशको त्यो भयानक योजना भङ्ग भयो; किनकि दिइएको चिन्ह अहिले नै पूरा भइसकेको थियो।

१७ अनि उनीहरूले थाहा पाउन थाले कि परमेश्वरको पुत्र छिट्टै नै आउनु हुनेछ; हो, निष्कर्षमा, पश्चिमदेखि पूर्वसम्मका सारा पृथ्वीका सतहमाथिका, उत्तर र दक्षिण दुबै भूमिका सबै जन यति अन्त्यन्त आश्चर्यचकित भए कि उनीहरू पृथ्वीमा ढले।

१८ किनकि उनीहरूलाई थाहा थियो कि अगमवक्ताहरूले धेरै वर्षहरूसम्म यी कुराहरूको गवाही दिँदै आएका थिए र दिइएको त्यो चिन्ह अहिले नै आइसकेको थियो; र उनीहरू आफ्ना दुष्टता र आफ्ना अविश्वासका कारण डराउन थाले।

१९ अनि यस्तो हुन गयो कि त्यस रात भरि अँध्यारो भएन, तर यो मध्य दिन जस्तै उज्यालो भयो। अनि यस्तो हुन गयो कि बिहानमा, सही रितअनुसार फेरि सूर्य उदायो; र दिइएको त्यो चिन्हको कारणले उनीहरूले थाहा पाए कि त्यो दिन थियो कि परमप्रभु जन्मनु हुनेछ।

२० अनि अगमवक्ताहरूका वचनहरूअनुसार, हो, सबै कुराहरू, प्रत्येक कण पूरा हुन गयो।

२१ अनि यस्तो पनि हुन गयो कि वचनअनुसार, एक नयाँ तारा पनि देखा पऱ्यो।

२२ अनि यस्तो हुन गयो यस समयदेखि त्यहाँ जनमाझ, उनीहरूका हृदयहरूलाई कठोर पार्न सैतानद्वारा पठाइएका झुटहरू हुन थाले, त्यो अभिप्रायले कि उनीहरूले देखेका ती चिन्हहरू र आश्चर्यहरूमा विश्वास नगरून्; तर ती झुट र छलकपट हुँदाहुँदै पनि जनको बढी भागले विश्वास गरे र परमप्रभुमा परिवर्तित भए।

२३ अनि यस्तो हुन गयो कि नफी जनमाझ अघि गए र अरुहरू धेरैले पनि, पश्चात्तापका निम्ति बप्तिस्मा दिँदै, जुनमा पापहरूको एक महान् छुटकारा थियो। अनि यसरी जनसँग भूमिमा फेरि शान्ति हुन थाल्यो।

२४ अनि त्यहाँ कुनै कलह थिएन, ती बाहेक जसले धर्मशास्त्रद्वारा मोशाका व्यवस्थाको पालना गर्न अब आवश्यक थिएन भनी प्रमाणित गर्न प्रयत्न गर्दै प्रचार गर्न थाले। अब धर्मशास्त्र नबुझेका कारणले उनीहरूले यो कुरामा गल्ती गरे।

२५ तर यस्तो हुन गयो कि उनीहरू छिट्टै परिवर्तित भए र आफूमा भएको गल्तीलाई स्वीकारे, किनकि यो उनीहरूलाई अवगत गराइएको थियो कि व्यवस्था अझै पूरा भएको थिएन र प्रत्येक कण पूरा गरिनुपर्दछ; हो, उनीहरूसामु वचन आयो कि यो पूरा हुनुपर्दछ; हो, कि सबै पूरा नभइन्जेलसम्म प्रत्येक मात्रा र प्रत्येक बिन्दुसमेत बित्ने छैन; त्यसकारण त्यही वर्षमा उनीहरूलाई तिनीहरूको गल्तीको ज्ञानमा ल्याइएको थियो र आफ्ना गल्तीहरूलाई स्वीकार गरे।

२६ अनि पवित्र अगमवक्ताहरूका अगमवाणीका वचनहरूअनुसार पूरा भएका चिन्हहरूका कारण जनसामु खुसीको खबर ल्याएर यसरी बयानब्बेयौँ वर्ष बित्यो।

२७ अनि यस्तो हुन गयो कि त्रियानब्बेयौँ वर्ष पनि शान्तिमा बित्यो, केवल त्यहाँ गादियान्तोन डाँकाहरू थिए, जो पर्वतहरूमा बस्थे, जसले भूमि ढाके; किनकि उनीहरूका किल्लाहरू र उनीहरूका गोप्य स्थान यति बलिया थिए कि जनले उनीहरूलाई जित्न सकेनन्; त्यसकारण उनीहरूले धेरै हत्याहरू गरे र जनमाझ धेरै संहार गरे।

२८ अनि यस्तो हुन गयो कि चौरानब्बेयौँ वर्षमा उनीहरू अधिक मात्रामा बढ्न थाले, किनभने नफीहरूका धेरै विमति राख्नेहरू थिए जो उनीहरूसामु भागे, जुनले भूमिमा रहेका ती नफीहरूलाई धेरै दुखित बनायो।

२९ अनि लमानीहरूमाझ पनि धेरै दु:खका कारण थिए; किनकि हेर, उनीहरूसँग धेरै छोराछोरीहरू थिए जो वर्षमा बढेर बलिया हुन थाले, कि उनीहरू आफ्ना निम्ति भए र जोरामीहरूका केहीद्वारा, उनीहरूका झुट र चाप्लुसी वचनहरूले गादियान्तोन डाँकाहरूसँग सम्मिलित हुन अगुवाइ गरिए।

३० अनि यसरी लमानीहरू पनि कष्टप्रद भए र हुर्कदो पिँढीको दुष्टताका कारण उनीहरूको आस्था र धार्मिकतामा घट्न थाले।