धर्मशास्त्रहरू
३ नफी १५


अध्याय १५

येशूले उद्घोषण गर्नुहुन्छ कि मोशाको व्यवस्था उहाँमा पूरा हुन्छ—नफीहरू अन्य भेडाहरू हुन् जसका बारेमा उहाँले यरुशलेममा बोल्नुभयो—दुष्टताका कारण, परमप्रभुका यरुशलेमका जनले छरपष्ट पारिएका इस्राएलका भेडाहरूका बारेमा थाहा पाउदैनन्। लगभग ई.सं. ३४।

अनि अब यस्तो हुन गयो कि जब येशूले यी भनाइहरूको अन्त्य गर्नुभएको थियो उहाँले आफ्ना आँखाहरू भीडतिर डुलाउनुभयो र उनीहरूसामु भन्नभयो: हेर, तिमीहरूले यी कुराहरू सुनेका छौ जुन मैले म मेरा पितासामु आरोहण गर्नुभन्दा पहिले सिकाएँ; त्यसकारण, जसले मेरा यी भनाइहरूलाई सम्झन्छ र पालना गर्छ, उसलाई म अन्तिम दिनमा उठाउनेछु।

अनि यस्तो हुन गयो कि जब येशूले यी कुराहरू भन्नुभएको थियो उहाँले सोच्नुभयो कि उनीहरूमध्ये केही थिए जसले मोशाको व्यवस्थाका बारेमा के गर्ने हो भनी विस्मय र आश्चर्य गरे; किनकि उनीहरूले त्यो भनाइलाई बुझेनन् कि पुराना कुराहरू बितिसकेका थिए र सबै कुराहरू नयाँ बनेका थिए।

अनि उहाँले उनीहरूसामु भन्नुभयो: विस्मय नगर कि मैले तिमीहरूसामु भनेँ कि प्राचीन कुराहरू बितिसकेका थिए र सबै कुराहरू नयाँ बनेका थिए।

हेर, म तिमीहरूसामु भन्दछु कि व्यवस्था पूरा भएका छन् जुन मोशालाई दिइएको थियो।

हेर, म उही हुँ जसले व्यवस्था दियो र म उही हुँ जसले मेरा जन इस्राएलसँग करार गऱ्यो; त्यसकारण ममा व्यवस्था पूरा भएको छ, किनकि म व्यवस्था पूरा गर्न आएको हुँ; त्यसकारण यसको अन्त्य छ।

हेर, म अगमवक्ताहरूको विनाश गर्दिनँ, किनकि जति ममा पूरा भएका छैनन्, साँचै नै म तिमीहरूसामु भन्दछु, सबै पूरा हुनेछन्।

अनि किनभने मैले तिमीहरूसामु भनेँ कि प्राचीन कुराहरू बितिसकेका छन्, म तिनको विनाश गर्दिनँ जुन आउने कुराहरूका बारेमा बोलिएका छन्।

किनकि हेर, मैले मेरा जनसँग गरेको करार सबै पूरा भएका छैनन्; तर मोशालाई दिइएको व्यवस्था ममा अन्त्य हुन्छन्।

हेर, म नै व्यवस्था र प्रकाश हुँ। मलाई हेर र अन्त्यसम्म सह र तिमीहरू जिउनेछौ; किनकि जसले अन्त्यसम्म सहन्छ उसलाई म अनन्त जीवन दिनेछु।

१० हेर, मैले तिमीहरूलाई आज्ञाहरू दिएको छु; त्यसकारण मेरा आज्ञाहरू पालना गर। अनि यो नै व्यवस्था र अगमवाणीहरूको सारांश हो, किनकि तिनले मेरा बारेमा गवाही दिए।

११ अनि अब यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो, उहाँले ती बाह्रसामु भन्नुभयो जसलाई उहाँले चुन्नुभएको थियो:

१२ तिमीहरू मेरा शिष्यहरू हौ; तिमीहरू यी जनसामु ज्योति हौ र जो योसेफको घरानाका अवशेष हुन्।

१३ अनि हेर, यो तिमीहरूको रिक्थको भूमि हो; र पिताले तिमीहरूलाई यो दिनुभएको छ।

१४ अनि कुनै पनि समयमा पिताले मलाई आज्ञा दिनुभएन कि मैले यो तिमीहरूका यरुशलेमका बन्धुहरूलाई भन्नुपर्छ।

१५ न त कुनै पनि समयमा पिताले मलाई आज्ञा दिनुभएको छ कि मैले उनीहरूलाई इस्राएलका घरानाका अन्य कूलहरूका बारेमा भन्नुपर्छ, जसलाई पिताले भूमिबाट बाहिर अगुवाइ गर्नुभएको छ।

१६ पिताले यति आज्ञा दिनुभयो, कि मैले उनीहरूलाई भन्नुपर्छ:

१७ कि अन्य भेडा मसँग छन् जुन यो बथानका होइनन्; उनीहरूलाई पनि मैले ल्याउनु पर्दछ र उनीहरूले मेरो आवाज सुन्नेछन्; र त्यहाँ एक बथान र एक गोठालो हुनेछ।

१८ अनि अब, हठीपना र अविश्वासका कारण उनीहरूले मेरो वचनलाई बुझेनन्, त्यसकारण मलाई पिताद्वारा यो कुराको बारेमा उनीहरूलाई अरु नभन्न आज्ञा दिइएको थियो।

१९ तर, साँचै नै, म तिमीहरूसामु भन्दछु कि पिताले मलाई आज्ञा दिनुभएको छ र म तिमीहरूसामु यो भन्दछु, कि तिमीहरूलाई उनीहरूको दुष्टताका कारण उनीहरूमाझबाट अलग्याइएको थियो; त्यसकारण यो उनीहरूको दुष्टताका कारण हो कि उनीहरूलाई तिमीहरूका बारेमा थाहा छैन।

२० अनि साँचै नै, म तिमीहरूसामु फेरि भन्दछु कि अन्य कूलहरूलाई पिताले उनीहरूबाट अलग्याउनुभएको छ; र यो उनीहरूको दुष्टताका कारण हो कि उनीहरूलाई तिनीहरूका बारेमा थाहा छैन।

२१ अनि साँचै नै म तिमीहरूसामु भन्दछु, कि तिमीहरू उनीहरू हौ जसका बारेमा मैले भनेँ: अन्य भेडा मसँग छन् जुन यो बथानका होइनन्; उनीहरूलाई पनि मैले ल्याउनु पर्दछ र उनीहरूले मेरो आवाज सुन्नेछन्; र त्यहाँ एक बथान र एक गोठालो हुनेछन्।

२२ अनि उनीहरूले मलाई बुझेनन्, किनकि उनीहरूले अनुमान गरे यी गैह्र यहुदीहरू थिए; किनकि उनीहरूले बुझेनन् कि गैह्र यहुदीहरू उनीहरूका प्रवचनमार्फत् परिवर्तित हुनुपर्दछ।

२३ अनि उनीहरूले मलाई बुझेनन् कि मैले भनेँ उनीहरूले मेरो आवाज सुन्नेछन्; र उनीहरूले मलाई बुझेनन् कि गैह्र यहुदीहरूले कुनै पनि समयमा मेरो आवाज सुन्ने छैनन्—कि म आफैँ उनीहरूसामु पवित्र आत्माद्वारा बाहेक प्रकट हुनेछैन।

२४ तर हेर, तिमीहरूले मेरो आवाज सुनेका छौ र मलाई देखेका पनि छौ; र तिमीहरू मेरा भेडा हौ र तिमीहरूलाई तीमाझ गणना गरिन्छ जसलाई पिताले मलाई दिनुभएको छ।