धर्मशास्त्रहरू
३ नफी १६


अध्याय १६

येशू इस्राएलका हराएका अरु भेडाहरूलाई भेट्नुहुनेछ—पछिल्ला दिनहरूमा सुसमाचार गैह्र यहुदीहरूकोमा र तब इस्राएलका घरानाकोमा जानेछ—परमप्रभुका जनले आफ्नै आँखाले देख्नेछन् जब उहाँले फेरि सियोन ल्याउनुहुन्छ। लगभग ई.सं. ३४।

अनि साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु कि मसँग अन्य भेडा छन्, जुन यो भूमिका होइनन्, न त यरुशलेमको भूमिका, न त त्यो भूमि वरिपरिका कुनै भागका हुन् जहाँ म सेवा गर्न गएको छु।

किनकि तिनीहरू जसका बारेमा म बोल्दछु उनीहरू हुन् जसले मेरो आवाज अझै सुनेका छैनन्; न त कुनै समयमा म आफैँ उनीहरूसामु प्रकट भएको छु।

तर मैले पिताबाट आज्ञा प्राप्त गरेको छु कि म उनीहरूसामु जानुपर्दछ र उनीहरूले मेरो आवाज सुन्नेछन् र मेरा भेडामाझ गनिनेछन्, कि त्यहाँ एक बथान र एक गोठालो हुनेछ; त्यसकारण म आफैँलाई उनीहरूसामु देखाउन जान्छु।

अनि म तिमीहरूलाई आज्ञा दिन्छु कि तिमीहरूले यी कुराहरू म गइसकेपछि लेख्नु पर्दछ, कि यदि त्यस्तो भयो कि यरुशलेमका मेरा जनले, उनीहरूले जसले मलाई देखेका छन् र मेरो सेवामा मसँग थिए, पितासँग मेरो नाउँमा अनुरोध गर्दैनन् भने, कि उनीहरूले पवित्र आत्माद्वारा तिमीहरूको र उनीहरूले नजानेका अन्य कूलहरूका बारेमा ज्ञान प्राप्त गरून्, कि यी कुराहरू जुन तिमीहरूले लेख्नेछौ त्यो लुकाइनेछ र गैह्र यहुदीहरूसामु प्रकट गरिनेछ, कि गैह्र यहुदीहरूको पूर्णतामार्फत्, उनीहरूका सन्ततिका अवशेष, जो उनीहरूको अविश्वासका कारण पृथ्वीको सतहमा छरपष्ट पारिनेछन्, उनीहरूलाई ल्याउन सकियोस्, अथवा म, उनीहरूको उद्धारकर्ताको ज्ञानमा ल्याउन सकियोस्।

अनि तब म उनीहरूलाई पृथ्वीका चारै दिशाबाट भेला गराउनेछु; अनि तब म करार पूरा गर्नेछु जुन पिताले इस्राएलका घरानाका सबै जनसामु गर्नुभएको छ।

अनि गैह्र यहुदीहरू आशीषित छन्, उनीहरूको ममाथिको विश्वासका कारण, पवित्र आत्मामा र उनीबाटको, जुनले उनीहरूसामु मेरो र पिताको गवाही दिन्छन्।

हेर, उनीहरूको ममाथिको विश्वासका कारण, पिता भन्नुहुन्छ र तिमीहरूको अविश्वासका कारण, हे इस्राएलका घराना, पछिल्ला दिनहरूमा सत्यता गैह्र यहुदीहरूसामु आउनेछ, कि यी कुराहरूको परिपूर्णता उनीहरूलाई अवगत गराइनेछ।

तर धिक्कार छ विश्वास नगर्ने गैह्र यहुदीहरूलाई, पिता भन्नुहुन्छ—किनकि त्यस्तो हुँदाहुँदै पनि कि उनीहरू यो भूमिको सतहमा आएका छन् र मेरा जन जो इस्राएलका घरानाका हुन् तिनीहरूलाई छरपष्ट पारेका छन् र मेरा जन जो इस्राएलका घरानाका हुन् तिनीहरूलाई आफू माझबाट निकाला गरेका छन् र उनीहरूद्वारा पाउमुनि कुल्चिएको छ;

अनि पिताको गैह्र यहुदीहरूप्रतिका कृपाहरूका र पिताको मेरा जन जो इस्राएलका घरानाका हुन् तिनीहरूमाथिको न्यायका कारण, साँचै नै, साँचै नै म तिमीहरूसामु भन्दछु, कि यो सबै पछि, मैले मेरा जन जो इस्राएलका घरानाका हुन् तिनीहरूमाथि प्रहार गराउन र कष्ट दिन र बध गराउन र उनीहरूमाझबाट निकाला गराउन, उनीहरूद्वारा घृणा गराउन र निन्दा र उखानको पात्र बनाउन अह्राएको छु—

१० अनि यसरी पिताले आज्ञा दिनुहुन्छ कि मैले तिमीहरूसामु भन्नुपर्दछ: त्यो दिनमा जब गैह्र यहुदीहरूले मेरो सुसमाचार विरुद्ध पाप गर्नेछन् र मेरो सुसमाचारको परिपूर्णतालाई अस्वीकार गर्नेछन् र आफ्ना हृदयको घमण्डमा अरु राष्ट्रहरू र सारा पृथ्वीका सबै जनमाथि उचालिनेछन् र सबै प्रकारका झुट र छलकपट र उपद्रव र सबै प्रकारका ढोँग र हत्या र पाखण्ड र वेश्यावृत्ति र गोप्य संयोजनले भरिनेछन् र यदि उनीहरूले ती सबै कुराहरू गर्नेछन् र मेरो सुसमाचारका पूर्णतालाई अस्वीकार गर्नेछन् भने, हेर, पिता भन्नुहुन्छ, म मेरो सुसमाचारका पूर्णतालाई उनीहरूका माझबाट झिक्नेछु।

११ अनि तब म मेरो करारलाई सम्झनेछु जुन मैले मेरा जनसामु गरेको छु, हे इस्राएलका घराना र म मेरो सुसमाचार उनीहरूसामु लैजानेछु।

१२ अनि म तिमीलाई देखाउनेछु, हे इस्राएलका घराना, कि गैह्र यहुदीहरूसँग तिमीहरूमाथि शक्ति हुनेछैन; तर म तिमीहरूसँगको मेरा करार सम्झनेछु, हे इस्राएलका घराना र तिमीहरू मेरो सुसमाचारको परिपूर्णताको ज्ञानमा आउनेछौ।

१३ तर यदि गैह्र यहुदीहरूले पश्चात्ताप गर्नेछन् र मकहाँ फर्कनेछन् भने, पिता भन्नुहुन्छ, हेर, उनीहरूलाई मेरा जनमाझ गणना गरिनेछ, हे इस्राएलका घराना।

१४ अनि म मेरा जनलाई, जो इस्राएलका घरानाका हुन्, तिनीहरूमाझ जान र तिनीहरूमाथि कुल्चिन दिइनेछैन, पिता भन्नुहुन्छ।

१५ तर यदि तिनीहरू मकहाँ फर्केनन् र मेरो आवाजलाई सुनेनन् भने, म उनीहरूलाई दिनेछु, हो, म मेरा जनलाई दिनेछु, हे इस्राएलका घराना, कि उनीहरू तिनीहरू भएमाझ जानेछन् र तिनीहरूमाथि कुल्चिनेछन् र तिनीहरू स्वाद हराएको नुनजस्तै हुनेछन्, जुन फ्याँकिन र मेरा जनका पाउमुनि कुल्चिनबाहेक केहीका लागि पनि उपयोगी छैन, हे इस्राएलका घराना।

१६ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, पिताले मलाई यसरी आज्ञ दिनुभएको छ—कि मैले यी जनलाई यो भूमि उनीहरूको रिक्थका निम्ति दिनुपर्दछ।

१७ अनि तब यशैया अगमवक्ताका वचनहरू पूरा हुनेछन्, जसले भन्दछन्:

१८ तिम्रा चौकीदारहरूले आवाज उच्च पार्ने छन्; एकै स्वरमा उनीहरूले गाउनेछन्, किनकि जब परमप्रभुले पुन: सियोन ल्याउनुहुन्छ, उनीहरूले आफ्नै आँखाले देख्नेछन्।

१९ एकाएक हर्षित होओ, यरुशलेमका भग्नावशेषहरू तिमीहरू एकसाथ गाओ; किनकि परमप्रभुले उहाँका जनलाई शान्त्वना दिनुभएको छ, उहाँले यरुशलेमलाई उद्धार गर्नुभएको छ।

२० सारा राष्ट्रहरूका आँखाहरूमा परमप्रभुले आफ्ना पवित्र बाहु प्रदर्शन गर्नुभएको छ; अनि पृथ्वीका पल्लो छेउसम्मका सबैले परमेश्वरको मुक्ति देख्नेछन्।