धर्मशास्त्रहरू
३ नफी १०


अध्याय १०

भूमिमा धेरै घण्टासम्म शान्ति हुन्छ—ख्रीष्टको आवाजले उहाँका जनलाई एउटा पोथीले आफ्ना चल्लाहरू बटुले जस्तै बटुल्ने वाचा गर्छ—जनहरूको बढी धर्मी भागलाई जोगाइएको छ। लगभग ई.सं. ३४–३५।

अनि अब हेर, यस्तो हुन गयो कि भूमिका सबै जनले यी कुराहरू सुने र यसलाई प्रत्यक्ष देखे। अनि यी भनाइहरूपछि भूमिमा धेरै घण्टाको अन्तरालसम्म शान्ति थियो।

किनकि जनको आश्चर्य यति महान् थियो कि उनीहरूले बध गरिएका उनीहरूका कुटुम्बहरूको क्षतिको निम्ति शोक गर्न र विलाप गर्न रोके; त्यसकारण भूमिमा धेरै घण्टाको अन्तरालसम्म शान्ति थियो।

अनि यस्तो हुन गयो कि जनसामु एउटा आवाज फेरि आयो र सबै जनले सुने र यसलाई देखे, यसो भन्दै:

हे पतन भएका यी महान् सहरहरूका जन हो, जो याकूबका सन्तति हुन्, हो, जो इस्राएलका घरानाका हुन्, पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेंटाहरूमुनि बटुले झैँ मैले कति पटक तिमीहरूलाई बटुलेको छु र पालनपोषण गरेको छु।

अनि फेरि, पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेँटाहरूमुनि बटुले झैँ म तिमीहरूलाई कति पटक बटुल्थेँ, हो, हे इस्राएलका घरानाका जन हो, जो पतित भएका छौ; हो, हे इस्राएलका घरानाका जन तिमीहरू, तिमीहरू जो यरुशलेममा बस्छौ र तिमीहरू जो पतित भएका छौ; हो, पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेँटाहरूमुनि बटुलेजस्तै म तिमीहरूलाई कति पटक बटुल्थेँ होला र तिमीहरूले मानेनौ।

हे इस्राएलका घरानाका जसलाई मैले जोगाएको छु, पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेँटाहरू मुनि बटुले जस्तै म तिमीहरूलाई कति पटक बटुल्ने छु, यदि तिमीहरूले आफ्नो हृदयको पूरा प्रयोजन सहित पश्चात्ताप गऱ्यौ र ममा फर्कियौ भने।

तर यदि त्यसो नभए, हे इस्राएलका घराना, तिमीहरूको आवासका स्थानहरू तिमीहरूका पितापुर्खाहरुसँगको करार पूरा नभइन्जेलसम्म उजाड बन्नेछन्।

अनि यस्तो हुन गयो कि जनले यी वचनहरू सुनेपछि, हेर, उनीहरूका कुटुम्बहरू र मित्रहरूको क्षतिका कारण उनीहरू रुन र डाँको छाडेर रुन थाले।

अनि यस्तो हुन गयो कि तीन दिन बिते। अनि यो बिहानमा थियो र अन्धकार पृथ्वीको सतहबाट हट्यो र पृथ्वी काँप्न रोकियो र चट्टानहरू टुक्रा टुक्रा हुन रोकिए र ती भयावह पीडाका आर्तनादहरू रोकिए र कोलाहलपूर्ण सम्पूर्ण हल्लाहरू बन्द भए।

१० अनि पृथ्वी फेरि एकसाथ मिल्यो, कि यो खडा भयो र जोगाइएका ती जनको शोक र रुवाइ र चिच्याहट रोकियो; र उनीहरूको शोक खुसीमा र उनीहरूका विलापहरू उनीहरूका उद्धारकर्ता परमप्रभु येशू ख्रीष्टप्रतिको प्रशंसा र कृतज्ञतामा परिणत भयो।

११ अनि अहिलेसम्म अगमवक्ताहरूले बोलेका धर्मशास्त्रहरू पूरा भए।

१२ अनि यो जनको बढी धर्मी भाग थियो जसलाई बचाइएको थियो र यी उनीहरू थिए जसले अगमवक्ताहरूलाई प्राप्त गरे र उनीहरूलाई ढुङ्गाले हानेनन्; र यी उनीहरू थिए जसले सन्तहरूको रगत बगाएनन्, जसलाई जोगाइएको थियो—

१३ अनि उनीहरूलाई जोगाइएको थियो र गाडिएन र पृथ्वीमा पुरिएन; अनि उनीहरू समुन्द्रको गहिराइहरूमा डुबेनन्; र उनीहरू आगोले जलेनन्, न त उनीहरूमाथि केही खस्यो र मृत्युसम्म किच्यो; र उनीहरूलाई भूमरीमा लगिएको थिएन; न त उनीहरूलाई धुवाँ र अन्धकारको तुवाँलोले वशमा नै पारेको थियो।

१४ अनि अब जसले पढ़दछ, उसलाई बुझ्न देऊ; ऊ जससँग धर्मशास्त्र छ, उसलाई तिनमा खोज्न र देख्न र हेर्न देऊ यदि ती सबै आगोद्वाराका र धुवाँद्वाराका र आँधिबेहेरीहरूद्वाराका र भूमरीहरूद्वाराका र उनीहरूलाई प्राप्त गर्ने पृथ्वीका धाँजाहरूका मृत्युहरू र विनाशहरू र ती कुराहरू सबै अगमवक्ताहरूमध्ये धेरैका अगमवाणीहरू पूरा भए कि भएनन्।

१५ हेर, म तिमीहरूलाई भन्दछु, हो, धेरैले ख्रीष्टको आगमनमा ती कुराहरूका बारेमा गवाही दिएका छन् र वध गरिए किनभने उनीहरूले ती कुराहरूको गवाही दिए।

१६ हो, अगमवक्ता येनोशले यी कुराहरूको गवाही दिए र जेनोकले पनि यी कुराहरूका बारेमा बोले किनभने उनीहरूले विशेष गरेर हाम्रा बारेमा गवाही दिए, जो उनीहरूका सन्तति हौँ।

१७ हेर, हाम्रा पिता याकूबले पनि योसेफका सन्ततिको अवशेषका बारेमा गवाही दिए। अनि हेर, के हामी योसेफका सन्ततिको अवशेष हैनौ? अनि यी कुराहरू जुनले हाम्रा बारेमा गवाही दिन्छन्, के ती हाम्रा पिता लहीले यरुशलेमबाट ल्याएका काँसका पाताहरूमा लेखिएका छैनन्?

१८ अनि यस्तो हुन गयो कि चौतीसौँ वर्षको अन्त्यमा, हेर, म तिमीहरूसामु देखाउनेछु कि नफीका जन जसलाई जोगाइयो र ती पनि जसलाई लमानीहरू भनिन्थ्यो, जसलाई जोगाइएको थियो, उनीहरूसमक्ष महान् कृपाहरू देखाइयो र उनीहरूका शिरहरूमा महान् आशीषहरू खन्याइयो, यतिसम्म कि ख्रीष्टको स्वर्गतिरको आरोहण पछि लगत्तै उहाँ उनीहरूसामु साँचै नै आफैँ प्रकट हुनुभयो—

१९ आफ्नो शरीर उनीहरूलाई देखाउँदै र उनीहरूलाई सेवा गर्दै; अनि उहाँको सेवाको एउटा विवरण यसपछि दिइनेछ। त्यसकारण यससमयका निम्ति म मेरा भनाइहरूको अन्त्य गर्दछु।