धर्मशास्त्रहरू
३ नफी २४


अध्याय २४

परमप्रभुको सन्देशवाहकले दोस्रो आगमनका निम्ति बाटो तयार गर्नेछन्—ख्रीष्ट न्यायमा बस्नुहुनेछ—इस्राएललाई दशांशहरू र भेटीहरू तिर्न आज्ञा दिइन्छ—सम्झनाको पुस्तक राखिन्छ—मलाकी ३ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।

अनि यस्तो हुन गयो कि उहाँले आज्ञा दिनुभयो कि उनीहरूले ती वचनहरू लेख्नु पर्दछ जुन पिताले मलाकीलाई दिनुभएको थियो, जुन उहाँले उनीहरूलाई भन्नुपर्दछ। अनि यस्तो हुन गयो कि ती लेखिएपछि उहाँले तिनको व्याख्या गर्नुभयो। अनि यी वचनहरू हुन् जुन उहाँले उनीहरूसामु भन्नुभयो, यसो भन्दै: यसरी पिताले मलाकीसामु भन्नुभयो—हेर, म मेरो सन्देशवाहकलाई पठाउनेछु र उनले मेरा अगाडि बाटो तयार गर्नेछन् र परमप्रभु जसलाई तिमीहरूले खोज्छौ अकास्मात् आफ्नो मन्दिरमा आउनुहुनेछ, करारको सन्देशवाहक समेत, जसमा तिमी हर्ष मनाउँछौ; हेर, उहाँ आउनुहुनेछ, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

तर को उहाँको आगमनको त्यो दिनमा रहनसक्छ र को खडा हुनेछ जब उहाँ देखिनुहुन्छ? किनकि उहाँ सुनारको आगो जस्तो र धोबीको साबून जस्तो हुनुहुन्छ।

अनि उहाँ चाँदीलाई खार्ने र शुद्ध पार्ने जस्तै बस्नुहुनेछ; र उहाँले लेवीका छोराहरूलाई पवित्र बनाउनुहुनेछ र सुन र चाँदीलाई जस्तै शुद्ध पार्नुहुनेछ, कि उनीहरूले परमप्रभुसामु धार्मिकतामा भेटी चढाउन सकून्।

तब प्राचीन दिनहरूमा जस्तै, पहिलेका वर्षहरूमा जस्तै, यहूदा र यरुशलेमका भेटी परमप्रभुसामु ग्रहणयोग्य हुनेछन्।

अनि म न्यायका निम्ति तिमीहरू नजिक आउनेछु; र म जादुगरहरूविरुद्ध र व्यभिचारीहरूविरुद्ध र झुठो कसम खानेहरूविरुद्ध र तिनीहरूविरुद्ध जसले कामदारलाई उसको ज्यालामा, विधवा र पिता नभएकाहरूको शोषण गर्छ र जसले अपरिचितलाई वास्ता गर्दैन र मदेखि डराउँदैन उनीहरूविरुद्ध तुरुन्तै गवाही दिनेछु, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

किनकि म परमप्रभु हुँ, म परिवर्तन हुन्नँ; त्यसकारण याकूबका छोराहरू तिमीहरू भष्म हुन्नौ।

तिमीहरूका पितापुर्खाहरुका दिनहरूदेखि समेत तिमीहरू मेरा विधिहरूबाट पर तर्केका छौ र तिनको पालना गरेका छैनौ। मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु, सैन्यहरूको अधिपति भन्नुहुन्छ। तर तिमीहरू भन्छौ: हामी कसरी फर्कौं?

के मानिसले परमेश्वरलाई लुट्छ? तैपनि तिमीहरूले मलाई लुटेका छौ। तर तिमीहरू भन्छौ: हामीले हजुरलाई कसरी लुटेका छौँ? दशांशहरूमा र भेटीहरूमा।

तिमीहरू एक श्रापले श्रापित छौ, किनकि तिमीहरूले मलाई लुटेका छौ, यो पूरै राष्ट्रले समेत।

१० सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, कि मेरो घरमा भोजन होओस्; र अब अहिले मलाई जाँचेर हेर, सैन्यहरूका अधिपति भन्नुहुन्छ, यदि तिमीहरूलाई स्वर्गका झ्यालहरू खोलेर प्राप्त गर्ने पर्याप्त ठाउँ नहुने गरी म तिमीहरूलाई आशीष खन्याउँछु कि खन्याँउदिनँ।

११ अनि म तिमीहरूका निमित्त भष्मकर्तालाई हप्काउनेछु र उसले तिमीहरूका जमिनका फलहरूको विनाश गर्नेछैन, न त खेतमा तिमीहरूका दाखले फल समयभन्दा पहिले फ्याँक्नेछन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

१२ अनि सबै राष्ट्रहरूले तिमीहरूलाई आशीषित भन्नेछन्, किनकि तिमीहरू एक आनन्ददायक भूमि हुनेछौ, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

१३ तिम्रा वचनहरू मेरा विरुद्ध कडा भएका छन्, परमप्रभु भन्नुहुन्छ। तैपनि तिमीहरू भन्छौ: हामीले हजुरविरुद्ध के बोलेका छौँ?

१४ तिमीहरूले भनेका छौ: परमेश्वरको सेवा गर्नु व्यर्थ हो र यसले के नाफा नै गरेको छ कि हामीले उहाँका विधिहरू पालना गरेका छौँ र सैन्यहरूका अधिपतिअगाडि हामी विलापपूवर्क हिँडेका छौँ?

१५ अनि अब हामी घमण्डीलाई खुसी भन्छौँ, हो, उनीहरू जो दुष्टता गर्दछन् स्थापित छन्, हो, जसले परमेश्वरको परीक्षा लिन्छन् उनीहरूलाई मुक्त समेत गरिएको छ।

१६ तब जो परमप्रभुदेखि डराउँछन् उनीहरू पटक पटक एक अर्कासँग बोले र परमप्रभुले ध्यान दिनुभयो र सुन्नुभयो र सम्झनाका पुस्तक उहाँअगाडि उनीहरूका निम्ति लेखिएको छ जो परमेश्वरसँग डराउँछन् र जसले उहाँको नाउँलाई सम्मान गर्छन्।

१७ अनि उनीहरू मेरा हुनेछन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ, त्यो दिनमा जब म मेरा गहनाहरू बनाउनेछु; र म उनीहरूलाई जोगाउनेछु जसरी मानिसले उसलाई सेवा गर्ने उसको आफ्नो छोरालाई जोगाउँछ।

१८ तब तिमीहरू फर्कनेछौ र धर्मी र दुष्ट बीच, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्ने बीच छुट्याउनेछौ।