धर्मशास्त्रहरू
३ नफी १८


अध्याय १८

येशूले नफीहरूमाझ प्रभुभोजको स्थापना गर्नुहुन्छ—उनीहरूलाई उहाँको नाउँमा सदैव प्रार्थना गर्न आज्ञा दिइन्छ—जसले अयोग्यपूर्वक उहाँको शरीरलाई खान्छ र उहाँको रगतलाई पिउँछ उसलाई दोषी ठहऱ्याइन्छ—शिष्यहरूलाई पवित्र आत्मा प्रदान गर्ने शक्ति दिइन्छ। लगभग ई.सं. ३४।

अनि यस्तो हुन गयो कि येशूले आफ्ना शिष्यहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले केही रोटी र दाखरस ल्याउनुपर्दछ।

अनि जब उनीहरू रोटी र दाखरस लिन गएका थिए, उहाँले भीडलाई आज्ञा दिनुभयो कि उनीहरू भूइंमा बस्नु पर्दछ।

अनि जब शिष्यहरू रोटी र दाखरसका साथ आएका थिए, उहाँले रोटी लिनुभयो र टुक्र्याउनुभयो र त्यसलाई आशीष दिनुभयो; र उहाँले शिष्यहरूलाई दिनुभयो र आज्ञा दिनुभयो कि उनीहरूले खानुपर्दछ।

अनि जब उनीहरूले खाए र सन्तुष्ट भए, उहाँले आज्ञा दिनुभयो कि उनीहरूले भीडलाई दिनुपर्छ।

अनि जब भीडले खाए र सन्तुष्ट भए, उहाँले शिष्यहरूलाई भन्नुभयो: हेर तिमीहरूमाझ एक व्यक्ति नियुक्त हुनेछ र उसलाई म शक्ति दिनेछु कि उसले रोटी टुक्र्याउनेछ र यसलाई आशीष दिनेछ र मेरा चर्चका जनसामु दिनेछ, तिनीहरू सबैलाई जसले मेरा नाउँमा विश्वास गर्नेछन् र बप्तिस्मा लिनेछन्।

अनि यो तिमीहरूले सधैँ पालना गर्नु, जसरी मैले गरेको छु, जसरी मैले रोटीलाई टुक्र्याएको छु र त्यसलाई आशीष दिएको छु र तिमीहरूसामु त्यो दिएको छु।

अनि यो तिमीहरूले मेरो शरीरको सम्झनामा गर्नेछौ, जुन मैले तिमीहरूसामु देखाएँ। अनि यो पितासामु एउटा गवाही हुनेछ कि तिमीहरूले सदैव मलाई सम्झनेछौ। अनि यदि तिमीहरूले सदैव मलाई सम्झेमा तिमीहरूसँग मेरो आत्मा तिमीहरूका साथ हुनेछ।

अनि यस्तो हुन गयो कि जब उहाँले यी कुराहरू भन्नुभयो, उहाँले आफ्ना शिष्यहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले दाखरसको कचौरालाई लिनुपर्दछ र त्यसबाट पिउनुपर्दछ र उनीहरूले भीडलाई पनि दिनुपर्दछ कि उनीहरूले त्यसबाट पिउन सकून्।

अनि यस्तो हुन गयो कि उनीहरूले त्यसो गरे र त्यसबाट पिए र सन्तुष्ट भए; र उनीहरूले भीडलाई दिए र उनीहरूले पनि पिए र उनीहरू सन्तुष्ट भए।

१० अनि जब शिष्यहरूले यो गरेका थिए, येशूले उनीहरूसामु भन्नुभयो: तिमीहरू यी कुराका लागि आशीषित छौ जुन तिमीहरूले गरेका छौ, किनकि यसले मेरा आज्ञाहरू पूरा गर्दछ र यसले पितासामु गवाही दिन्छ कि तिमीहरू त्यो गर्न इच्छुक छौ जुन मैले तिमीहरूलाई आज्ञा दिएको छु।

११ अनि यो तिमीहरूले सदैव तिनीहरूका निम्ति गर्नु जसले पश्चात्ताप गर्छन् र मेरा नाउँमा बप्तिस्मा लिन्छन्; र तिमीहरूले यो मेरो रगतको सम्झनामा गर्नेछौ, जुन मैले तिमीहरूका निम्ति बगाएको छु, कि तिमीहरूले पितासामु गवाही दिन सक कि तिमीहरूले सदैव मलाई सम्झन्छौ। अनि यदि तिमीहरूले सदैव मलाई सम्झेमा तिमीहरूसँग मेरो आत्मा तिमीहरूका साथमा हुनेछ।

१२ अनि म तिमीहरूलाई आज्ञा दिन्छु कि तिमीहरूले यी कुराहरू गर्नू। अनि यदि तिमीहरूले यी कुराहरू गरेमा तिमीहरू आशीषित हुन्छौ, किनकि तिमीहरू मेरो चट्टानमा निर्माण गरिएका हौ।

१३ तर तिमीहरूमध्ये जसले यी भन्दा घटी वा बढी गर्छ मेरा चट्टानमा निर्मित गरिएका होइनन्, तर बालुवाको जगमाथि बनेका हुन्; अनि जब पानी पर्छ र बाढी आउँछ र हुरी चल्छ र उनीहरूमाथि बजारिन्छ, ती ढल्नेछन् र नरकका द्वारहरू उनीहरूलाई ग्रहण गर्न खोल्न तयार छन्।

१४ त्यसकारण तिमीहरू आशीषित छौ यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गरेमा, जुन पिताले मलाई आज्ञा दिनुभएको छ कि मैले तिमीहरूलाई दिनुपर्छ।

१५ साँचै नै, साँचै नै म तिमीहरूसामु भन्छु, तिमीहरू सदैव होसियार हुनुपर्छ र सदैव प्रार्थना गर्नुपर्छ, कथंकदाचित तिमीहरूलाई सैतानद्वारा लोभ्याइन्छ र तिमीहरूलाई उसद्वारा बन्दी बनाएर अगुवाइ गरिन्छ।

१६ अनि जसरी मैले तिमीहरूमाझ प्रार्थना गरेको छु त्यसरी नै तिमीहरूले मेरो चर्चमा, पश्चात्ताप गर्ने र मेरो नाउँमा बप्तिस्मा लिने मेरा जनमाझ प्रार्थना गर्नू। हेर म प्रकाश हुँ; म तिमीहरूका निम्ति एउटा उदाहरण बनेको छु।

१७ अनि यस्तो हुन गयो कि जब येशूले आफ्ना शिष्यहरूसामु यी वचनहरू बोल्नुभएको थियो, उहाँ फेरि भीडतिर फर्कनुभयो र उनीहरूसामु भन्नुभयो:

१८ हेर, साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, तिमीहरू सदैव होसियार हुनुपर्छ र प्रार्थना गर्नु पर्दछ कथंकदाचित तिमीहरू प्रलोभनमा प्रवेश गर्नेछौ; किनकि सैतान तिमीहरूलाई लिन चाहन्छ, कि उसले तिमीहरूलाई गहूँ जस्तै निफन्न सकोस्।

१९ त्यसकारण तिमीहरूले सदैव पितासमक्ष मेरा नाउँमा प्रार्थना गर्नुपर्दछ;

२० अनि तिमीहरूले पितासमक्ष मेरा नाउँमा जे माग्छौ, जुन असल छ, विश्वास गर्दै कि तिमीहरूले प्राप्त गर्नेछौ, हेर त्यो तिमीहरूलाई दिइनेछ।

२१ आफ्ना परिवारहरूमा मेरा नाउँमा पितासमक्ष सदैव प्रार्थना गर्नू, कि तिमीहरूका श्रीमती र तिमीहरूका छोराछोरी आशीषित होऊन्।

२२ अनि हेर, तिमीहरू सधैँ एकसाथ भेला हुनू; र तिमीहरूले कुनै मानिसलाई पनि तिमीहरूसामु आउन निषेध नगर्नू जब तिमीहरू एकसाथ भेला हुनेछौ, तर उनीहरूलाई अनुमति दिनू कि उनीहरू तिमीहरूसामु आउन सकून् र उनीहरूलाई निषेध नगर्नू;

२३ तर तिमीहरूले उनीहरूका निम्ति प्रार्थना गर्नू र उनीहरूलाई निकाला नगर्नू; र यदि यस्तो भयो कि उनीहरू तिमीहरूसामु सधैँ आउँछन् भने तिमीहरूले उनीहरूका निम्ति पितासमक्ष मेरा नाउँमा प्रार्थना गर्नू।

२४ त्यसकारण, आफ्नो प्रकाश देखाऊ कि यो संसारसामु चम्किन सकोस्। हेर म त्यही प्रकाश हुँ जुन तिमीहरूले उचाल्ने छौ—त्यो जुन तिमीहरूले मैले गरेको देखेका छौ। हेर तिमीहरूले देख्छौ कि मैले पितासामु प्रार्थना गरेको छु र तिमीहरू सबैले प्रत्यक्ष देखेका छौ।

२५ अनि तिमीहरूले देख्छौ कि मैले आज्ञा दिएको छु कि तिमीहरूमध्ये कोही पनि जानु पर्दैन, तर आज्ञा दिएको छु कि तिमीहरू मसमक्ष आउनु पर्दछ, कि तिमीहरूले अनुभव गर्न सक्छौ र देख्न सक्छौ; त्यसरी नै तिमीहरूले संसारसामु गर्नेछौ; र जसले यो आज्ञा तोड्दछ उसले आफैँलाई प्रलोभनतिर अगुवाइ गरेको सहन्छ।

२६ अनि अब यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो, उहाँले आफ्ना आँखाहरू फेरि शिष्यहरूतिर फर्काउनुभयो जसलाई उहाँले चुन्नुभएको थियो र उनीहरूसामु भन्नुभयो:

२७ हेर साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, म तिमीहरूलाई अर्को आज्ञा दिन्छु र त्यसपछि म मेरा पितासमक्ष जानुपर्छ कि मैले उहाँले दिनुभएका अरु आज्ञाहरू पूरा गर्न सकूँ।

२८ अनि अब हेर, यो आज्ञा हो जुन म तिमीहरूलाई दिन्छु, कि तिमीहरू कसैले पनि जानी जानी अयोग्य रुपमा मेरो शरीर र रगत खाएको नसहनू, जब तिमीहरूले त्यसको प्रशासन गर्दछौ;

२९ किनकि जसले मेरो शरीर र रगतलाई अयोग्य हुँदाहुँदै खान्छ र पिउँछ आफ्नो जीवात्माको अभिशाप खाँन्छ र पिउँछ; त्यसकारण यदि तिमीहरूले थाहा पायौ कि एउटा मानिस मेरो शरीर र रगत खान र पिउन अयोग्य छ तिमीहरूले उसलाई निषेध गर्नेछौ।

३० तैपनि, तिमीहरूले उसलाई आफ्नामाझ बाट निकाला गर्नु हुँदैन, तर तिमीहरूले उसको सेवा गर्नुपर्दछ र उसका निम्ति मेरा नाउँमा पितासमक्ष प्रार्थना गर्नुपर्दछ; र यदि यस्तो भयो कि उसले पश्चात्ताप गर्दछ र मेरा नाउँमा बप्तिस्मा लिन्छ भने, तब तिमीहरूले उसलाई ग्रहण गर्नू र उसलाई मेरो शरीर र रगत दिनू।

३१ तर यदि उसले पश्चात्ताप गर्दैन भने ऊ मेरा जनमाझ गणना हुँदैन, कि उसले मेरा जनको विनाश नगरोस्, किनकि हेर म मेरा भेडालाई चिन्दछु र उनीहरूको गणना गरिएको छ।

३२ तैपनि, तिमीहरूले उसलाई आफ्ना सभाघरहरूबाट, अथवा तिमीहरूका आराधनाका स्थानहरूबाट निकाला नगर्नू, किनकि तिमीहरूले त्यस्ताको निरन्तर सेवा गर्नू; किनकि तिमीहरूलाई थाहा छैन कि उनीहरू कहिले फर्कनेछन् र पश्चात्ताप गर्नेछन् र हृदयको पूरा प्रयोजनसहित मसमक्ष आउनेछन् र म उनीहरूलाई चङ्गाइ गर्नेछु; र तिमीहरू उनीहरूसमक्ष मुक्ति ल्याउने माध्यम हुनेछौ।

३३ त्यसकारण, यी भनाइहरूको पालना गर्नू जुन मैले तिमीहरूलाई आज्ञा दिएको छु कि तिमीहरूलाई तिरस्कार अन्तर्गत आउन नपरोस्; किनकि धिक्कार छ उसलाई जसलाई पिताले तिरस्कार गर्नुभएको छ।

३४ अनि म तिमीहरूलाई यी आज्ञाहरू तिमीहरूमाझ भएका विवादहरूका कारण दिन्छु। अनि तिमीहरू आशीषित छौ यदि तिमीहरूमाझ तिमीहरूसँग विवाद छैन भने।

३५ अनि अब म पितासामु जान्छु, किनभने यो आवश्यक छ कि म तिमीहरूका निमित्त पितासामु जानुपर्दछ।

३६ अनि यस्तो हुन गयो कि जब येशूले यी भनाइहरूको अन्त्य गर्नु भएको थियो, उहाँले आफ्ना हातले शिष्यहरूलाई उहाँले उनीहरू सबैलाई नछोइन्जेलसम्म एक एक गरेर छुनुभयो जसलाई उहाँले चुन्नुभएको थियो र उनीहरूसामु बोल्नुभयो जब उहाँले उनीहरूलाई छुनुभयो।

३७ अनि उहाँले बोलेका वचनहरू भीडले सुनेन, त्यसकारण उनीहरूले गवाही दिएनन्; तर शिष्यहरूले गवाही दिए कि उहाँले उनीहरूलाई पवित्र आत्मा दिन शक्ति दिनुभयो। म तिमीहरूलाई यसपछि देखाउने छु कि त्यो अभिलेख सत्य छ।

३८ अनि यस्तो हुन गयो कि जब येशूले उनीहरू सबैलाई छुनुभएको थियो, त्यहाँ एउटा बादल आयो र भीडलाई ढाक्यो कि उनीहरूले येशूलाई देख्न सकेनन्।

३९ अनि जब उनीहरूलाई ढाकिएको थियो उहाँले उनीहरूबाट प्रस्थान गर्नु भयो र स्वर्गतिर आरोहण गर्नुभयो। अनि शिष्यहरूले देखे र गवाही दिए कि उहाँले फेरि स्वर्गतिर आरोहण गर्नुभयो।