धर्मशास्त्रहरू
मोसीयाह २४


अध्याय २४

अमुलोनले अल्मा र उनका जनलाई सताउँछन्—यदि उनीहरूले प्रार्थना गरेमा उनीहरूलाई मारिनेछ—परमप्रभुले उनीहरूका बोझहरू हलुका बनाउनुहुन्छ—उहाँले तिनीहरूलाई दासत्वबाट मुक्त गराउनुहुन्छ र तिनीहरू जरहेम्लामा फर्कन्छन्। लगभग ई.पू. १४५–१२०।

अनि यस्तो हुन गयो कि अमुलोनले लमानीहरूका राजाका नजरमा कृपा पायो; त्यसकारण, लमानीहरूका राजाले उसलाई र उसका बन्धुहरूलाई अनुमति दिए कि उनका जनमाथि, हो, शेम्लोनको भूमिमा र शिलोमको भूमिमा र अमुलोनको भूमिमा समेत रहेका जनमाथि शिक्षक नियुक्त हुनुपर्दछ।

किनकि लमानीहरूले यी सबै भूमिहरू स्वामित्वमा लिएका थिए; त्यसकारण, लमानीहरूका राजाले यी सबै भूमिहरूमाथि राजाहरूको नियुक्ति गरेका थिए।

अनि अब लमानीहरूका राजाको नाउँ लामान थियो, उनका पिताको नाउँमा बोलाइएको र त्यसकारण उनलाई लामान राजा भनिन्थ्यो। अनि उनी अनगिन्ती जनमाथि राजा थिए।

अनि उनले अमुलोनका बन्धुहरूलाई उनका जनको अधीनमा रहेका प्रत्येक भूमिमा शिक्षकहरू नियुक्त गरे; र यसरी नफीको भाषा लमानीहरूका सबै जनमाझ सिकाइन थालियो।

अनि उनीहरू एकअर्का प्रति मैत्रीपूर्ण जन थिए; तैपनि उनीहरूले परमेश्वरलाई चिन्दैनथे; न त अमुलोनका बन्धुहरूले परमप्रभु उनीहरूका परमेश्वरका बारेमा केही सिकाए, न त मोशाका व्यवस्था; न त अबिनादीका वचनहरू उनीहरूले तिनीहरूलाई सिकाए।

तर उनीहरूले तिनीहरूलाई सिकाए कि तिनीहरूले आफ्नो अभिलेख राख्नु पर्दछ र उनीहरूले एक अर्कालाई लेखून्।

अनि यसरी लमानीहरू धनमा बढ्न थाले र एक अर्काको साथ व्यापार गर्न र बढ्न थाले र संसारको ज्ञानमा, एक धूर्त र विवेकी जन बन्न थाले, हो, अति धूर्त जन, उनीहरूका आफ्ना बन्धुहरूमाझ बाहेक सबै प्रकारका दुष्टता र लुटाइमा आनन्दित हुँदै।

अनि अब यस्तो हुन गयो कि अमुलोनले अल्मा र उनका बन्धुहरूमाथि अधिकारको अभ्यास गर्न थाल्यो र उनीहरूलाई सताउन थाल्यो र उसका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई सताउन अह्रायो।

किनकि अमुलोनले अल्मालाई चिन्थ्यो, कि उनी राजाका पादरीहरूमध्ये एक थिए र यो उनी थिए जसले अबिनादीहरूका वचनहरूमा विश्वास गरे र राजाअगाडि धपाइएका थिए र त्यसकारण ऊ उनीसँग क्रुद्ध थियो; किनकि ऊ लमानी राजाको आधिपत्यमा थियो, तैपनि उसले तिनीहरूमाथि अधिकारको अभ्यास गऱ्यो र तिनीहरूमाथि काम लाद्यो र उनीहरूमाथि कार्य सुपरीवेक्षकहरू राख्यो।

१० अनि यस्तो हुन गयो कि उनीहरूका कष्टहरू त्यति महान् थिए कि तिनीहरू परमेश्वरसामु शक्तिपूर्वक पुकार्न थाले।

११ अनि अमुलोनले उनीहरूलाई आज्ञा दियो कि उनीहरू आफ्नो रुवाइलाई रोक्नु पर्दछ; र उसले उनीहरूको पहरा दिन रक्षकहरू राख्यो, कि परमेश्वरसामु प्रार्थना गरिरहेको फेला पारिएकालाई मारिनेछ।

१२ अनि अल्मा र उनका जनले परमप्रभु उनीहरूका परमेश्वरसामु आफ्ना आवाजहरू उचालेनन्, तर उनीहरूका हृदयहरू उहाँलाई पोखे; र उहाँले तिनीहरूका हृदयका विचारहरू थाहा पाउनुभयो।

१३ अनि यस्तो हुन गयो कि उनीहरूका कष्टहरूमा परमप्रभुको आवाज उनीहरूसामु आयो, यसो भन्दै: तिमीहरूका शिर उठाओ र सान्त्वना लेओ, किनकि मलाई तिमीहरूले मसामु गरेको करार थाहा छ; र म मेरा जनसँग करार गर्नेछु र उनीहरूलाई दासत्वबाट मुक्त गर्नेछु।

१४ अनि म तिमीहरूका काँधमा राखिएका बोझ पनि हलुका गर्नेछु, कि तिमीहरूले आफ्ना पिठ्यूँमा समेत महसुस गर्न नपरोस्, तिमीहरू दासत्वमा हुँदासमेत; अनि म यो गर्नेछु कि तिमीहरू यसपछि मेरा लागि साक्षीका रुपमा खडा होओ र तिमीहरूले निश्चितताका साथ जान्न सक कि म, परमप्रभु परमेश्वर मेरा जनलाई उनीहरूको कष्टमा भेट्दछु।

१५ अनि यस्तो हुन गयो कि अल्मा र उनका बन्धुहरूमाथि राखिएका बोझहरू हलुका बनाइए; हो, परमप्रभुले उनीहरूलाई बलियो बनाउनुभयो कि उनीहरूले आफ्ना बोझहरू सजिलोसँग बोक्न सकून् र उनीहरू खुसी र धीरताका साथ परमप्रभुका सबै इच्छाहरूमा समर्पित भए।

१६ अनि यस्तो हुन गयो कि उनीहरूको आस्था र धीरता यति महान् थियो कि परमप्रभुको आवाज उनीहरूमा पुन: आयो, यसो भन्दै: सान्त्वाना लेओ, किनकि भोलि म तिमीहरूलाई दासत्वबाट मुक्त गर्नेछु।

१७ अनि उहाँले अल्मासामु भन्नुभयो: तिमी यी जनअगाडि जानेछौ र म तिमीसँग जानेछु र यी जनलाई दासत्वबाट मुक्त गर्नेछु।

१८ अब यस्तो हुन गयो कि अल्मा र उनका जनले रातिको समयमा उनीहरूका बथान र उनीहरूका अन्न पनि जम्मा गरे; हो, रातिको समयभरि समेत उनीहरूले आफ्ना बथान एकसाथ जम्मा गरिरहेका थिए।

१९ अनि बिहानमा परमप्रभुले लमानीहरूमाथि मस्त निद्रा पठाउनुभयो, हो र उनीहरूका सबै कार्य-सुपेरीवेक्षकहरू एक गहिरो निद्रामा थिए।

२० अनि अल्मा र उनका जन उजाड स्थानतिर प्रस्थान गरे; र जब उनीहरूले दिनभरि यात्रा गरेका थिए उनीहरूले एक उपत्यकामा आफ्नो पाल टाँगे र उनीहरूले उपत्यकालाई अल्मा भने, किनभने उनले उजाड स्थानमा उनीहरूको अगुवाइ गरेका थिए।

२१ हो, अनि अल्माको उपत्यकामा उनीहरूले परमेश्वरप्रतिको आफ्नो कृतज्ञता खन्याए किनभने उहाँ उनीहरूप्रति कृपालु हुनभएको थियो र उनीहरूका बोझहरू हलुका गरिदिनुभएको थियो र उनीहरूलाई दासत्वबाट मुक्त गर्नुभएको थियो; किनकि तिनीहरू दासत्वमा थिए र परमप्रभु तिनीहरूका परमेश्वरबाहेक कसैले तिनीहरूलाई मुक्त गर्न सक्दैनथ्यो।

२२ अनि उनीहरूले परमेश्वरलाई धन्यवाद दिए, हो बोल्न सक्ने उनीहरूका सबै मानिसहरूले र उनीहरूका सबै आइमाईहरूले र उनीहरूका सबै छोराछोरीहरूले उनीहरूका उच्च स्वरमा आफ्ना परमेश्वरको जयजयकार गरे।

२३ अनि अब परमप्रभुले अल्मासामु भन्नुभयो: तिमी हतार गर र तिमी र यी जनलाई यस भूमिबाट लैजाऊ, किनकि लमानीहरू ब्युँझे र तिमीहरूका पछि आएका छन्, त्यसकारण तिमी यो भूमिबाट जाऊ र म लमानीहरूलाई यो उपत्यकामा रोक्नेछु कि उनीहरू यी जनको खोजीमा अझ वर नआऊन्।

२४ अनि यस्तो हुन गयो कि उनीहरूले उपत्यकाबाट प्रस्थान गरे र उजाड स्थानतिरको यात्रा लिए।

२५ अनि उनीहरू बाह्र दिनसम्म उजाड स्थानमा रहेपछि जरहेम्लाको भूमिमा आइपुगे; अनि मोसीयाह राजाले पनि उनीहरूलाई हर्षका साथ ग्रहण गरे।