धर्मशास्त्रहरू
मोसीयाह १५


अध्याय १५

कसरी ख्रीष्ट पिता र पुत्र हुनुहुन्छ—उहाँले मध्यस्थता गर्नुहुनेछ र उहाँका जनका उल्लङ्घनहरू बोक्नुहुनेछ—उहाँहरू र सबै पवित्र अगमवक्ताहरू उहाँका सन्तान हुन्—उहाँले पुनरुत्थान ल्याउनुहुनेछ—साना बालबालिकाहरूसँग अनन्त जीवन छ। लगभग ई.पू. १४८।

अनि अब अबिनादीले उनीहरूसामु भने: म चाहन्छु कि तिमीहरूले बुझ्नुपर्दछ कि परमेश्वर आफैँ मानिसका छोराछोरीहरूमाझ तल आउनुहुनेछ र उहाँका जनको उद्धार गर्नुहुनेछ।

अनि किनभने उहाँ शरीरमा बास गर्नुहुनेछ उहाँलाई परमेश्वरको पुत्र भनिनेछ र शरीरलाई पिताको इच्छाको अधीनमा राखेकाले, पिता र पुत्र भएकाले—

पिता, किनभने उहाँ परमेश्वरको शक्तिद्वारा गर्भमा हुनुहुन्थ्यो; र पुत्र, शरीरका कारणले; त्यसरी पिता र पुत्र बनेकाले—

अनि उहाँहरू एक परमेश्वर हुनुहुन्छ; हो, स्वर्गको र पृथ्वीका उही अनन्त पिता।

अनि त्यसरी शरीर आत्माको अधीनमा रहेर, अथवा पिताको पुत्र, एक परमेश्वर भएर, प्रलोभन सहनुहुन्छ, प्रलोभनमा समर्पण गर्नुहुन्न, तर उहाँका जनद्वारा खिल्ली उडाइँदा र कोर्रा हानिँदा र निकाला गरिँदा र बहिस्कृत गरिँदा सहनुहुन्छ।

अनि यो सबै पछि, मानिसका छोराछोरीहरूमाझ धेरै शक्तिशाली आश्चर्य कर्महरू गरेपछि, उहाँलाई डोऱ्याइनेछ, हो, यशैयाले भनेझैं समेत, जसरी एउटा भेडो उन कत्रनेहरूका अगाडि लाटो हुन्छ, त्यसरी उहाँले आफ्नो मुख खोल्नु भएन।

हो, त्यसरी समेत उहाँलाई डोऱ्याइनेछ, क्रुसमा टाँगिनेछ र बध गरिनेछ, शरीर मृत्यको समेत अधीनमा रहेर, पुत्रको इच्छा पिताको इच्छामा गाभिएर।

अनि त्यसरी परमेश्वरले मृत्युका बन्धनहरूलाई तोड्नुहुन्छ मृत्युमाथि विजय प्राप्त गरेर; पुत्रलाई मानिसका छोराछोरीहरूका निम्ति मध्यस्थता गर्ने शक्ति दिएर—

स्वर्गसम्म आरोहण गरेर, कृपाका हृदयहरू भएर, मानिसका छोराछोरीहरू प्रति सहानुभूतिले भरिएर; उनीहरू र न्यायबीच उभिएर; मृत्युका बन्धनहरू तोडेर, उनीहरूका दुष्टता र उनीहरूका उल्लङ्घनहरू आफैँमाथि लिएर, उनीहरूको उद्धार गरेर, न्यायले गरेको मागहरूलाई पूरा गरेर।

१० अनि अब म तिमीहरूसामु भन्दछु, उहाँका पिँढीका बारेमा कसले घोषणा गर्नेछ? हेर, म तिमीहरूसामु भन्दछु, कि जब उहाँको जीवात्मालाई पापका निम्ति भेटी बनाइन्छ उहाँले आफ्ना सन्तति देख्नुहुनेछ। अनि अब तिमीहरू के भन्दछौ? अनि उहाँका सन्तति को हुन्?

११ हेर म तिमीहरूसामु भन्दछु, कि जसले अगमवक्ताका वचनहरूलाई सुनेको छ, हो, ती सबै पवित्र अगमवक्ताहरू जसले परमप्रभुको आगमनका बारेमा अगमवाणी गरेका छन्—म तिमीहरूसामु भन्दछु, कि ती सबै जसले उनीहरूका वचनहरू सुनेका छन् र विश्वास गरेका छन् कि परमप्रभुले उहाँका जनको उद्धार गर्नुहुनेछ र उनीहरूका पापहरूको छुटकाराको निम्ति त्यो दिनको बाटो हेरेकाछन्, म तिमीहरूसामु भन्दछु, कि ती उहाँका सन्तति हुन, अथवा उनीहरू परमेश्वरका अधिराज्यका उत्तराधिकारीहरू हुन्।

१२ किनकि उनीहरू ती हुन् जसको पापहरू उहाँले बोक्नुभएको छ; उनीहरू ती हुन् जसका निम्ति उहाँ मर्नुभएको छ, उनीहरूका उल्लङ्घनहरूबाट उनीहरूलाई उद्धार गर्न। अनि अब, के उनीहरू उहाँका सन्तति होइनन्?

१३ हो, अनि के अगमवक्ताहरू होइनन्, प्रत्येक जसले अगमवाणी गर्न मुख खोलेका छन्, जो उल्लङ्घनमा पतन भएका छैनन्, मेरो अर्थ संसारको प्रारम्भदेखि समेतका सबै पवित्र अगमवक्ताहरू? म तिमीहरूसामु भन्दछु कि उनीहरू उहाँका सन्तति हुन्।

१४ अनि ती हुन् उनीहरू जसले शान्तिको प्रकाशन गरेका छन्, जसले शुभसमाचार ल्याएका छन्, जसले मुक्ति प्रकाशन गरेका छन्; अनि सियोनसामु भनेका छन्: तिम्रा परमेश्वरले शासन गर्नुहुन्छ!

१५ अनि हे कति सुन्दर छन् पर्वतहरूमाथि उनीहरूका पाउहरू!

१६ अनि फेरि, कति सुन्दर छन् पर्वतहरूमाथि तिनका पाउहरू जसले अझै शान्ति प्रकाशन गरिरहेका छन्!

१७ अनि फेरि, कति सुन्दर छन् पर्वतहरूमाथि तिनका पाउहरू जसले अब उपरान्त शान्ति प्रकाशन गर्नेछन्, हो, अब यस समयदेखि उपरान्त र सदासर्वदा।

१८ अनि हेर, म तिमीहरूसामु भन्दछु, यो मात्रै होइन। किनकि हे कति सुन्दर छन् पर्वतहरूमाथि उनका पाऊहरू जसले सुसमाचार ल्याउँछ; जो शान्तिको संस्थापक हो, हो, परमप्रभु समेत, जसले उहाँका जनको उद्धार गर्नुभएको छ; हो, उहाँ जसले उहाँका जनसामु मुक्ति दिनुभएको छ।

१९ किनकि यदि उहाँले उहाँका जनका निम्ति गरेको त्यो उद्धार नभएको भए, जुन संसारको उत्पत्तिदेखि तयार गरिएको थियो, म तिमीहरूसामु भन्दछु, यदि यो नभएको भए, सबै मानव जातिको नाश हुनुपर्दथ्यो।

२० तर हेर, मृत्युका बन्धनहरू तोडिनेछन्, अनि पुत्र शासन गर्नुहुन्छ र मृतकमाथि शक्तिशालि हुनुहुन्छ, त्यसकारण, उहाँले मृतकहरूको पुनरुत्थान पूरा गर्नुहुन्छ।

२१ अनि त्यहाँ पुनरुत्थान आउनेछ, प्रथम पुनरुत्थान समेत, हो, उनीहरूको पुनरुत्थान समेत, जो थिए, अनि जो छन्, अनि जो हुनेछन्, ख्रीष्टको पुनरुत्थान नहुन्जेलसम्म समेत—किनकि उहाँलाई त्यसै भनिनेछ।

२२ अनि अब, सबै अगमवक्ताहरूको पुनरुत्थान र ती सबै जसले उनीहरूका वचनहरूमा विश्वास गरेका छन्, अथवा ती सबै जसले परमेश्वरका आज्ञाहरू पालन गरेका छन्, प्रथम पुनरुत्थानमा अघि आउनेछन्; त्यसकारण, उनीहरू प्रथम पुनरुत्थान हुन्।

२३ उनीहरूलाई परमेश्वरसँग बास गर्न उठाइन्छ जसलाई उहाँले उद्धार गर्नुभएको छ; यसरी उनीहरूसँग ख्रीष्टमार्फत् अनन्त जीवन छ, जसले मृत्युका बन्धनहरू तोड्नुभएको छ।

२४ अनि यी ती हुन् जसको प्रथम पुनरुत्थानमा भाग छ; अनि यी ती हुन् जो ख्रीष्ट आउनुभन्दा अगाडि मरेका हुन्, उनीहरूका अज्ञानतामा, उनीहरूसामु मुक्तिको घोषणा नगरिएकोले। अनि यसरी परमप्रभुले यिनीहरूको पुनर्स्थापना ल्याउनुहुन्छ; अनि उनीहरूसँग प्रथम पुनरुत्थानमा भाग छ, अथवा अनन्त जीवन छ, परमप्रभुद्वारा उद्धार गरिएकाले।

२५ अनि साना बालबालिकाहरूसँग पनि अनन्त जीवन छ।

२६ तर हेर, अनि परमेश्वरअगाडि डराओ र काँप, किनकि तिमीहरूले काँप्नु पर्छ; किनकि परमप्रभुले त्यस्तो कसैलाई उद्धार गर्नुहुन्न जो उहाँविरुद्ध विद्रोह गर्छ र आफ्ना पापहरूमा मर्छ; हो, ती सबै समेत जो संसार प्रारम्भ भएदेखि उनीहरूका पापहरूमा नाश गरिएका छन्, जसले इच्छापूर्वक परमेश्वरविरुद्ध विद्रोह गरेका छन्, जसले परमेश्वरका आज्ञाहरू थाहा पाएका छन्, र तिनको पालना गर्दैनन्; यिनीहरू ती हुन् जसको प्रथम पुनरुत्थानमा कुनै भाग छैन।

२७ त्यसकारण के तिमीहरूले काम्नु पर्दैन? किनकि मुक्ति त्यस्तो कसैलाई आउँदैन; किनकि परमप्रभुले त्यस्तो कसैलाई उद्धार गर्नुभएको छैन; हो, न त त्यस्तो कसैलाई उद्धार गर्न सक्नुहुन्छ; किनकि उहाँले आफैँलाई अस्वीकार गर्न सक्नुहुन्न; उहाँले न्यायलाई अस्वीकार गर्न सक्नुहुन्न जब त्यससंग त्यसको दावा छ।

२८ अनि अब, म तिमीहरूसामु भन्दछु कि समय आउनेछ कि परमप्रभुको मुक्तिको प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जनसामु घोषणा गरिनेछ।

२९ हो, परमप्रभु, हजुरका चौकीदारहरूले आफ्ना आवाज उचाल्नेछन्; एकै आवाजमा उनीहरूले गाउनेछन्; किनकि उनीहरूले आफ्नै आँखाले देख्नेछन्, जब परमप्रभुले सियोन फेरि ल्याउनुहुनेछ।

३० एक्कासी हर्षित होओ, यरुशलेमका भग्नावशेषहरू तिमीहरू एकसाथ गाओ किनकि परमप्रभुले उहाँका जनलाई सान्त्वना दिनुभएको छ, उहाँले यरुशलेमको उद्धार गर्नुभएको छ।

३१ सारा राष्ट्रहरूका आँखाहरूमा परमप्रभुले आफ्ना पवित्र बाहु प्रदर्शन गर्नुभएको छ; अनि पृथ्वीका पल्लो छेउका सबैले हाम्रा परमेश्वरको मुक्ति देख्नेछन्।