धर्मशास्त्रहरू
३ नफी ९


अध्याय ९

अन्धकारमा, ख्रीष्टको आवाजले धेरै जनको र सहरहरूको उनीहरूको दुष्टताका कारणको विनाशको घोषणा गर्दछ—उहाँले आफ्नो ईश्वरीयताको घोषणा गर्नुहुन्छ, उद्घोषण गर्नुहुन्छ कि मोशाको व्यवस्था पूरा भएको छ र सबै मानिसहरूलाई आफूमा आउन र मुक्ति प्राप्त गर्न निम्त्याउनु हुन्छ। लगभग ई.सं. ३४।

अनि यस्तो हुन गयो कि पृथ्वीका बासिन्दाहरूमाझ, यो भूमिको सम्पूर्ण सतहमा, एउटा आवाज सुनिएको थियो, कराउँदै:

धिक्कार, धिक्कार, धिक्कार छ यी जनलाई; उनीहरूले पश्चात्ताप नगरे सारा पृथ्वीका बासिन्दाहरूलाई धिक्कार छ; किनकि सैतान हाँस्दछ र उसका दूतहरू खुसी मनाउँदछन्, मेरा जनका राम्रा छोराहरू र छोरीहरूका बधका कारण; र यो उनीहरूका दुष्टता र कुकर्महरूका कारण हो कि उनीहरू पतित छन्।

हेर, त्यो महान् सहर जरहेम्ला र त्यसका बासिन्दाहरूलाई मैले आगोले जलाएको छु।

अनि हेर, त्यो महान् सहर मोरोनीलाई समुन्द्रको गहिराइमा डुब्न लगाएँ र त्यसका बासिन्दाहरूलाई डुबाएँ।

अनि हेर, त्यो महान् सहर मोरोनीहाह र त्यसका बासिन्दाहरूलाई, उनीहरूका दुष्टताहरू र उनीहरूका कुकर्महरू मेरो अनुहारअगाडि बाट लुकाउन पृथ्वीले ढाकेँ, ताकि अगमवक्ताहरूका र सन्तहरूका रगत उनीहरू विरुद्ध मेरासामु अरु आउनेछैन।

अनि हेर, गिलगालको सहरलाई पुर्न लगाएको छु र त्यहाँका बासिन्दाहरूलाई पृथ्वीको गहिराइमा डुबाएँ;

हो, अनि ओनीहाहको सहर र त्यसका बासिन्दाहरू र मोकूमको सहर र त्यसका बासिन्दाहरू र यरुशलेमको सहर र त्यसका बासिन्दाहरू; त्यसको सट्टामा मैले पानी ल्याएँ, उनीहरूका दुष्टता र कुकर्महरू मेरा अनुहारअगाडि बाट लुकाउन, कि अगमवक्ताहरू र सन्तहरूका रगत उनीहरूविरुद्ध मेरासामु अरु आउनेछैन।

अनि हेर, गादियान्दीको सहर र गादिओम्नाहको सहर र याकूबको सहर र गिम्गिम्नोको सहर, ती सबैलाई मैले पुर्न लगाएँ र ती स्थानहरूका सट्टामा पहाडहरू र उपत्यकाहरू बनाएँ; र त्यहाँका बासिन्दाहरूलाई मैले पृथ्वीको गहिराइमा गाढ़े, उनीहरूका दुष्टता र कुकर्महरू मेरो सम्मुखबाट लुकाउन, ताकि अगमवक्ताहरू र सन्तहरूका रगत उनीहरूविरुद्ध अब अरु मेरासामु आउनेछैन।

अनि हेर, त्यो महान् सहर याकूबगोत, जुन याकूब राजाका जनद्वारा बसालिएको थियो, मैले उनीहरूका दुष्टता र कुकर्महरूका कारण जलाउन लगाएँ, जुन सारा पृथ्वीको दुष्टताभन्दा अधिक थियो, उनीहरूका गोप्य हत्याहरू र गुटबन्दीहरूका कारण; किनकि यो यिनीहरू थिए जसले मेरा जन र भूमिको सरकारको शान्तिको विनाश गरे, त्यसकारण मैले उनीहरूलाई जल्न, मेरा सम्मुखबाट विनाश हुन लगाएँ, ताकि अगमवक्ताहरू र सन्तहरूका रगत उनीहरूविरुद्ध अब अरु मेरासामु आउनेछैन।

१० अनि हेर, लामानको सहर र योशको सहर र गादको सहर र कीश्कुमेनको सहर र तिनीहरूका बासिन्दाहरूलाई मैले आगोले जल्न लगाएँ, अगमवक्ताहरूलाई निकाला गर्नमा र मैले उनीहरूका दुष्टता र उनीहरूका कुकर्महरूका बारेमा उनीहरूसामु घोषणा गर्न पठाएका तिनीहरूलाई ढुङ्गाले हान्नुको उनीहरूको दुष्टताको कारण।

११ अनि किनभने उनीहरूले तिनीहरू सबैलाई निकाला गरे, कि उनीहरूमाझ कोही धर्मी भएनन्, मैले आगो तल पठाएँ र उनीहरूलाई विनाश गरेँ, ताकि उनीहरूको दुष्टता र कुकर्महरू मेरो अनुहारअगाडि बाट लुकून्, कि मैले उनीहरूमाझ पठाएका अगमवक्ताहरू र सन्तहरूको रगत जमिनबाट उनीहरूविरुद्ध मेरासामु नकराओस्।

१२ अनि मैले यो भूमिमा र यी जनसामु, उनीहरूका दुष्टता र उनीहरूका कुकर्महरूका कारण मैले धेरै महान् विनाशहरू आउन लगाएँ।

१३ हे तिमीहरू सबै जसलाई जोगाइएको छ किनभने तिमीहरू उनीहरू भन्दा बढी धर्मी थियौ, के तिमीहरू अब मेरा सामु फर्कदैनौ र आफ्ना पापहरूको पश्चात्ताप गर्दैनौ र परिवर्तित हुँदैनौ, कि मैले तिमीहरूको चङ्गाइ गर्न सकूँ?

१४ हो, म तिमीहरूसामु साँचै भन्दछु, यदि तिमीहरू मसमक्ष आयौ भने तिमीहरूले अनन्त जीवन पाउने छौ। हेर, मेरा कृपाका बाहुहरू तिमीहरूतर्फ फैलाइएका छन् र जो आउँछ, उसलाई म ग्रहण गर्नेछु; र ती आशीषित होओउन् जो मसमक्ष आउँछन्।

१५ हेर, म परमेश्वरको पुत्र येशू ख्रीष्ट हुँ। मैले स्वर्गहरू र पृथ्वी र तिनमा भएका सबै कुराहरूको सृष्टि गरेँ। म प्रारम्भ देखि नै पितासँग थिएँ। म पितामा छु र पिता ममा हुनुहुन्छ; र पिताले आफ्नो नाउँ ममा महिमित तुल्याउनु भएको छ।

१६ म मेरा आफ्नाहरू समक्ष आएँ र मेरा आफ्नाहरूले मलाई ग्रहण गरेनन्। अनि मेरो आगमनकाबारेका धर्मशास्त्रहरू पूरा हुन्छन्।

१७ अनि जतिले मलाई ग्रहण गरे, उनीहरूलाई मैले परमेश्वरका छोराहरू बन्ने अधिकार दिएको छु; त्यसरी नै जतिले मेरा नाउँमा विश्वास गर्नेछन्, म त्यतिलाई दिनेछु, किनकि हेर मद्वारा उद्धार आउँछ, ममा नै मोशाका व्यवस्था पूरा भयो।

१८ म संसारको ज्योति र जीवन हुँ। म नै अल्फा र ओमेगा, प्रारम्भ र अन्त्य हुँ।

१९ अनि तिमीहरूले अबदेखि रगत बगाएर मलाई अर्पण गर्नु पर्दैन; हो, तिमीहरूका बलिहरू र तिमीहरूका होमबलिहरू रोकिनेछ, किनकि म तिमीहरूका कुनै बलिहरू र तिमीहरूका कुनै होमबलिहरू स्वीकार्ने छैनँ।

२० अनि तिमीहरूले मेरासामु चूर्ण हृदय र पछुताएको आत्मा बलिका रुपमा अर्पण गर्नू। अनि जो मेरासामु चूर्ण हृदय र पछुताएको आत्माका साथ आउँछ, उसलाई म आगोका साथ र पवित्रआत्माका साथ बप्तिस्मा दिनेछु, जसरी मैले लमानीहरूलाई गरेको थिएँ, उनीहरूको परिवर्तनको समयमा ममाथिको उनीहरूको आस्थाका कारण, आगो र पवित्र आत्माका साथ उनीहरूलाई बप्तिस्मा दिइएको थियो र उनीहरूलाई थाहा थिएन।

२१ हेर, म संसारमा संसारको उद्धार ल्याउन, संसारलाई पापबाट बचाउन आएको छु।

२२ त्यसकारण, जसले पश्चात्ताप गर्दछ र एउटा सानो बालक झैँ भएर मेरा सामु आउँदछ, म उसलाई ग्रहण गर्नेछु, किनकि परमेश्वरको अधिराज्य त्यस्ताको नै हो। हेर, त्यस्ताका निम्ति मैले मेरो जीवन अर्पण गरेँ र फेरि फिर्ता लिएँ; त्यसकारण पृथ्वीका पल्लो छेउका तिमीहरू पश्चात्ताप गर र मसमक्ष आओ र मुक्ति प्राप्त गर।