धर्मशास्त्रहरू
३ नफी २९


अध्याय २९

मोर्मोनको पुस्तकको आगमन एक चिन्ह हो कि परमप्रभुले इस्राएलको भेला गर्न र आफ्नो करार पूरा गर्न आरम्भ गर्नुभएको छ—जसले पछिल्ला दिनहरूका प्रकाशहरूलाई र उपहारहरूलाई अस्वीकार गर्छ ती श्रापित हुनेछन्। लगभग ई.सं. ३४–३५।

अनि अब हेर, म तिमीहरूलाई भन्दछु कि जब परमप्रभुले आफ्नो विद्धत्तामा योग्य देख्नुहुनेछ कि यी भनाइहरू उहाँका वचनहरूअनुसार गैह्र-यहूदीहरूसामु आउनेछन्, तब तिमीहरूले थाहा पाउनेछौ कि त्यो करार जुन पिताले उनीहरूको रिक्थका भूमिहरूमा हुने पुनर्स्थापनाका बारेमा इस्राएलका छोराछोरीहरूसँग गर्नु भएको छ, त्यो पूरा हुन थालिसकेको छ।

अनि तिमीहरूले थाहा पाउने छौ कि परमप्रभुका वचनहरू, जुन पवित्र अगमवक्ताहरूद्वारा बोलिएका छन्, सबै पूरा हुनेछन्; र तिमीहरूले भन्न आवश्यक छैन कि परमप्रभु इस्राएलका छोराछोरीहरूसामुको आफ्नो आगमन ढिला गर्नुहुन्छ।

अनि तिमीहरूले आफ्ना हृदयहरूमा कल्पना गर्न आवश्यक छैन कि ती वचनहरू जुन बोलिएका छन् व्यर्थ छन्, किनकि हेर, परमप्रभुले आफ्नो करारलाई सम्झनुहुनेछ जुन उहाँले इस्राएलका घरानाका आफ्ना जनसँग गर्नुभएको छ।

अनि जब तिमीहरूले यी कुराहरू तिमीहरूमाझ आएको देख्नेछौ, तब तिमीहरूले परमप्रभुका कामहरूको उपेक्षा गर्नु आवश्यक छैन, किनकि उहाँको न्यायको तरबार उहाँको दाहिने हातमा छ; र हेर, त्यो दिनमा, यदि तिमीहरूले उहाँका कामहरूको उपेक्षा गऱ्यौ भने उहाँले अह्राउनुहुनेछ कि त्यसले तिमीहरूलाई तुरुन्त जित्नेछ।

धिक्कार छ उसलाई जसले परमप्रभुका कार्यहरूको उपेक्षा गर्नेछ, हो, धिक्कार छ उसलाई जसले ख्रीष्टलाई र उहाँका कार्यहरूलाई अस्वीकार गर्नेछ!

हो, धिक्कार छ उसलाई जसले परमप्रभुका प्रकाशहरूलाई अस्वीकार गर्नेछ र जसले परमप्रभुले प्रकाशद्वारा, अथवा अगमवाणीद्वारा, अथवा उपहारहरूद्वारा, अथवा भाषाहरूद्वारा, अथवा चङ्गाइहरूद्वारा, अथवा पवित्र आत्माको शक्तिद्वारा अरु काम गर्नुहुन्न् भनी भन्नेछ!

हो, अनि धिक्कार छ उसलाई जसले त्यस दिनमा फाइदा लिन भन्नेछ कि येशूद्वारा ल्याइएका आश्चर्य कर्महरू हुन सक्दैनन्; किनकि जसले यो गर्छ ऊ विध्वंशको पुत्र जस्तै हुनेछ, जसका निम्ति कुनै कृपा थिएन, ख्रीष्टका वचनअनुसार!

हो, अनि तिमीहरूले न त निन्दा गर्न, न त उपेक्षा गर्न, न त यहूदीहरूको, न त इस्राएलका घरानाका अवशेषमध्ये कसैको खेल बनाउन अरु आवश्यक छ; किनकि हेर, परमप्रभुले उनीहरूसँगको आफ्नो करारलाई सम्झनुहुन्छ र उहाँले त्यसअनुसार उनीहरूलाई गर्नुहुनेछ जुन उहाँले कसम खानुभएको छ।

त्यसकारण तिमीहरूले अनुमान गर्न आवश्यक छैन कि तिमीहरूले परमप्रभुको दाहिने हात देब्रेमा बदल्न सक्छौ, ताकि उहाँले त्यो करार पूरा गर्नु न्यायको अभ्यास नगर्नुहोस् जुन उहाँले इस्राएलका घरानासँग गर्नुभएको छ।