धर्मशास्त्रहरू
३ नफी २०


अध्याय २०

येशूले आश्चर्यपूर्वक रोटी र दाखरस उपलब्ध गराउनुहुन्छ र जनसामु फेरि प्रभुभोज प्रदान गर्नुहुन्छ—याकूबका अवशेष परमप्रभु उनीहरूका परमेश्वरको ज्ञानमा आउनेछन् र अमेरिकालाई रिक्थमा प्राप्त गर्नेछन्—येशू मोशाले भनेको अगमवक्ता हुनुहुन्छ र नफीहरू अगमवक्ताका छोराछोरीहरू हुन्—परमप्रभुका अन्य जनलाई यरुशलेममा भेला गरिनेछ। लगभग ई.सं. ३४।

अनि यस्तो हुन गयो कि उहाँले भीडलाई र उहाँका शिष्यहरूलाई पनि आज्ञा दिनुभयो कि उनीहरूले प्रार्थना गर्न रोक्नुपर्छ। अनि उहाँले उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले आफ्ना हृदयमा प्रार्थना गर्न रोक्नुहुँदैन।

अनि उहाँले उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरू उठ्नु पछ र आफ्ना पाऊमा खडा हुनुपछ। अनि उनीहरू उठे र आफ्ना पाऊमा खडा भए।

अनि यस्तो हुन गयो कि उहाँले रोटीलाई फेरि टुक्र्याउनुभयो र त्यसलाई आशीष दिनुभयो र शिष्यहरूलाई खान दिनुभयो।

अनि जब उनीहरूले खाएका थिए उहाँले आज्ञा दिनुभयो कि उनीहरूले रोटी टुक्र्याउनु पर्दछ र भीडलाई दिनुपर्छ।

अनि जब उनीहरूले भीडलाई दिएका थिए उहाँले पिउन दाखरस पनि उनीहरूलाई दिनुभयो र उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरूले भीडलाई दिनुपर्छ।

अब, न त शिष्यहरूद्वारा, न त भीडद्वारा रोटी ल्याइएको थियो, न त दाखरस नै ल्याइएको थियो।

तर उहाँले उनीहरूलाई साँचै नै खानका लागि रोटी र पिउनका लागि पनि दाखरस दिनुभयो।

अनि उहाँले उनीहरूलाई भन्नुभयो: जसले यो रोटी खान्छ उसले आफ्नो आत्माको लागि मेरो शरीर खान्छ; अनि जसले यो दाखरस पिउँछ उसले उसको आत्माको लागि मेरो रगत पिउँछ; अनि उसको आत्मा कहिल्यै भोकाउनेछैन न त तिर्खाउने नै छ, तर भरिनेछ।

अब, जब भीडका सबैले खाए र पिएका थिए, हेर, उनीहरू आत्माले भरिए; अनि उनीहरू एक स्वरले कराए र येशूलाई महिमा दिए, जसलाई उनीहरूले देखे र सुने।

१० अनि यस्तो हुन गयो कि जब उनीहरू सबैले येशूलाई महिमा दिएका थिए, उहाँले उनीहरूसामु भन्नुभयो: हेर अब मैले आज्ञा परिपूर्ण गरेँ जुन पिताले मलाई यी जनका बारेमा दिनुभएको छ, जो इस्राएलका घरानाका अवशेष हुन्।

११ तिमीहरूले सम्झ कि मैले तिमीहरू सामु बोलेँ र भनें कि जब यशैयाका वचनहरू पूरा हुनुपर्दछ—हेर ती लेखिएका छन्, ती तिमीहरूका अगाडि तिमीहरूसँग छन्, त्यसकारण तिनलाई खोज—

१२ अनि साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, कि जब ती पूरा हुनेछन् तब पिताले उहाँका जनसँग गरेको करार पूरा हुनेछ, हे इस्राएलको घराना।

१३ अनि तब पृथ्वीको सतहमाथि सर्वत्र छरपष्ट पारिइने अवशेषहरूलाई पूर्वबाट र पश्चिमबाट र दक्षिणबाट र उत्तरबाट भेला गरिनेछ; र उनीहरूलाई उनीहरूको उद्धार गर्ने परमप्रभु उनीहरूका परमेश्वरको ज्ञानमा ल्याइनेछ।

१४ अनि पिताले मलाई आज्ञा दिनुभएको छ कि मैले यो भूमि तिमीहरूलाई तिमीहरूका रिक्थका निम्ति दिनुपर्दछ।

१५ अनि म तिमीहरूसामु भन्दछु, कि यदि गैह्र यहुदीहरू उनीहरूले प्राप्त गर्ने आशीषपछि पश्चात्ताप गर्दैनन्, उनीहरूले मेरा जनलाई छरपष्ट पारेपछि—

१६ तब तिमीहरू, जो याकूबको घरानाको अवशेष हौ, उनीहरूमाझ अघि जानेछौ; र तिमीहरू उनीहरूमाझ हुनेछौ जो धेरै हुनेछन् र तिमीहरू उनीहरूमाझ जङ्गलका जङ्गली जनावरहरूमाझ भएको सिंहजस्तै र भेडाका बथानमाझ भएको एउटा जवान सिंहझैँ हुनेछौ, जो जब जान्छ किचिमिची गर्छ र टुक्राहरूमा च्यात्छ र कसैले पनि मुक्त गर्न सक्दैन।

१७ तिम्रा हात तिम्रा शत्रुहरूमाथि उचालिनेछन् र तिम्रा सबै शत्रुहरूलाई काटिनेछ।

१८ अनि म मेरा जनलाई एकसाथ भेला गर्नेछु जसरी एक मानिसले खलका बिटाहरू जम्मा गर्छ।

१९ किनकि म मेरा जनलाई बनाउनेछु जससँग पिताले करार गर्नुभएको छ, हो, म तिम्रा सिङ फलामका बनाउने छु र तिम्रा खुरहरू काँसका बनाउने छु। अनि तिमीले धेरै जनलाई चूर चूर पार्नेछौ; र म उनीहरूका कमाइ परमप्रभुका निम्ति र उनीहरूका सम्पत्ति सम्पूर्ण पृथ्वीका परमप्रभुका निम्ति पवित्र बनाउनेछु। अनि हेर, म उही हूँ जसले त्यो गर्छ।

२० अनि यस्तो हुन जानेछ, पिता भन्नुहुन्छ, कि त्यस दिनमा मेरो न्यायको तरबार उनीहरूमाथि झुन्डिनेछ; अनि उनीहरूले पश्चात्ताप नगरे त्यो उनीहरूमाथि, पिता भन्नुहुन्छ, हो, गैह्र यहुदीहरूका सबै राष्ट्रहरूमाथि समेत झर्नेछ।

२१ अनि यस्तो हुन जानेछ कि म मेरा जनको स्थापना गर्नेछु, हे इस्राएलका घराना।

२२ अनि हेर, यी जनलाई म यो भूमिमा स्थापना गर्नेछु, मैले तिमीहरूका पिता याकूबसँग गरेको करार पूरा गर्नमा; र यो नयाँ यरुशलेम हुनेछन्। अनि स्वर्गका शक्तिहरू यी जनका माझ हुनेछन्; हो, म समेत उनीहरूका माझ हुनेछु।

२३ हेर म उही हुँ जसका बारेमा मोशाले बोलेका थिए, यसो भन्दै: परमप्रभु तिम्रा परमेश्वरले तिमीसामु तिम्रा बन्धुमध्ये एउटा म जस्तै अगमवक्ता खडा गर्नु हुनेछ, तिमीले उनले तिमीलाई भन्ने सबै कुराहरू सुन्नेछौ। अनि यस्तो हुन जानेछ कि प्रत्येक जीवात्मा जसले त्यो अगमवक्तालाई सुन्नेछैनन् उनीहरूलाई मेरा जनबाट अलग्याइनेछ।

२४ साँचै नै म तिमीहरूसामु भन्छु, हो र शमुएल देखिका सबै अगमवक्ताहरू र ती जो त्यसपछि आए, जत्तिले बोलेका छन्, मेरो गवाही दिएका छन्।

२५ अनि हेर, तिमीहरू अगमवक्ताका छोराछोरीहरू हौ; र तिमीहरू इस्राएलका घरानाका हौ; र तिमीहरू त्यो करारका हौ जुन पिताले तिमीहरूका पितापुर्खाहरुसँग गर्नुभयो, अब्राहामसँग यसो भन्दै: अनि तिम्रा सन्ततिमा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन्।

२६ पिताले मलाई पहिला तिमीहरूसामु उठाएको हुनाले र तिमीहरूमध्ये प्रत्येकलाई आफ्ना दुष्टताहरूबाट फर्काउनमा तिमीहरूलाई आशीष दिन मलाई पठाएको हुनाले; र यो किनभने तिमीहरू करारका छोराछोरीहरू हौ—

२७ अनि त्यसपछि तिमीहरू आशीषित भयौ तब पिताले त्यो करार पूरा गर्नु हुन्छ जुन उहाँले अब्राहामसँग गर्नुभयो, यसो भन्दै: तिम्रा सन्ततिमा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन्—मद्वारा गैह्र यहुदीहरूमाथि पवित्र आत्मा खन्याउनमा, गैह्र यहुदीहरूमाथिको जुन आशीषले उनीहरूलाई, मेरा जनलाई छरपष्ट पार्नमा, सबै भन्दा शक्तिशाली बनाउनेछ, हे इस्राएलका घराना।

२८ अनि उनीहरू यो भूमिका जनका निम्ति एक कोर्रा बन्नेछन्। तैपनि, जब उनीहरूले मेरो सुसमाचारको परिपूर्णतालाई प्राप्त गर्नेछन्, तब यदि उनीहरूले आफ्ना हृदयलाई मेरा विरुद्ध कठोर बनाए भने म उनीहरूका दुष्टताहरू उनीहरूका शिरहरूमा फर्काउने छु, पिता भन्नुहुन्छ।

२९ अनि म त्यो करार सम्झनेछु जुन मैले मेरा जनसँग गरेको छु; र मैले उनीहरूसँग करार गरेको छु कि म उनीहरूलाई मेरो आफ्नो उचित समयमा एकसाथ भेला गर्नेछु, कि उनीहरूका पितापुर्खाहरुका भूमि उनीहरूका रिक्थका निम्ति म उनीहरूलाई फेरि दिनेछु, जुन यरुशलेमको भूमि हो, जुन उनीहरूका निम्ति सदासर्वदा प्रतिज्ञाको भूमि हो, पिता भन्नुहुन्छ।

३० अनि यस्तो हुन जानेछ कि समय आउँछ, जब मेरो सुसमाचारको परिपूर्णता उनीहरूसामु प्रचार गरिनेछ;

३१ अनि उनीहरूले ममा विश्वास गर्नेछन्, कि म येशू ख्रीष्ट, परमेश्वरको पुत्र हुँ र उनीहरूले पितासामु मेरो नाउँमा प्रार्थना गर्नेछन्।

३२ तब उनीहरूका चौकीदारहरूले आफ्ना आवाज उचाल्नेछन् र एकै आवाजका साथ उनीहरूले गाउनेछन्, किनकि उनीहरूले आफ्नै आँखाले देख्नेछन्।

३३ तब पिताले उनीहरूलाई फेरि एकसाथ भेला गर्नुहुनेछ र उनीहरूलाई यरुशलेम आफ्नो रिक्थको भूमिका निम्ति दिनुहुनेछ।

३४ तब उनीहरू एक्कासि हर्षित हुनेछन्—एकसाथ गाओ, तिमी यरुशलेमका भग्नावशेषहरू, किनकि पिताले आफ्ना जनलाई सान्त्वना दिनुभएको छ, उहाँले यरुशलेमको उद्धार गर्नुभएको छ।

३५ पिताले सारा राष्ट्रहरूका आँखाहरूमा आफ्ना पवित्र बाहु प्रदर्शन गर्नुभएको छ; अनि पृथ्वीका पल्लो छेउका सबैले परमेश्वरको मुक्ति देख्नेछन्; र पिता र म एक छौँ।

३६ अनि तब त्यो पूरा गरिनेछ कि जुन लेखिएको छ: जाग, पुन: जाग र आफ्नो शक्ति धारण गर, हे सियोन; आफ्ना सुन्दर वस्त्रहरू लगाऊ, हे यरुशलेम, त्यो पवित्र सहर, किनकि अब उपरान्त त्यहाँ कुनै बेखातनाका र अशुद्ध तिमीकहाँ आउनेछैनन्।

३७ आफ्नो धुलो टकटक्याऊ; जाग, बस, हे यरुशलेम; आफ्नो घाँटीको साङ्ला फुकाल, हे सियोनका बन्दी छोरी।

३८ किनकि परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले आफैँलाई बिना मूल्यमा बेचेका छौ र तिमीहरू पैसा बिना नै उद्धार गरिनेछौ।

३९ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, कि मेरा जनले मेरो नाउँ चिन्नेछन्; हो, त्यस दिनमा उनीहरूले थाहा पाउनेछन् कि म उही हुँ जो बोल्दछ।

४० अनि तब उनीहरूले भन्नेछन्: कति सुन्दर छन् पवर्तहरूमाथि उसका पाउ जसले उनीहरूसामु शुभसमाचार ल्याउँछ, जसले शान्ति प्रकाशन गर्छ, जसले उनीहरूसामु शुभ-सुसमाचार ल्याउँछ, जसले मुक्ति प्रकाशन गर्छ; जसले सियोनसामु भन्छ: तिम्रो परमेश्वरले राज्य गर्नुहुन्छ!

४१ अनि तब एक आवाज अघि जानेछ: प्रस्थान गर तिमीहरू, प्रस्थान गर तिमीहरू, त्यहाँबाट जाओ तिमीहरू, त्यसलाई नछोओ जुन अशुद्ध छ; उनका माझबाट जाओ तिमीहरू; शुद्ध होओ जसले परमप्रभुको पात्र बोक्दछौ।

४२ तर तिमीहरू हतार गरेर जानेछैनौ न त भाग्ने नै छौ; किनकि परमप्रभु तिमीहरूअगाडि जानुहुनेछ र इस्राएलका परमेश्वर तिमीहरूका पछाडि हुनुहुनेछ।

४३ हेर, मेरा सेवकले बुद्धिले काम गर्नेछन्; उनलाई उच्च पारिनेछ र प्रशंसा गरिनेछ र अति उचालिनेछ।

४४ तिमीमा जत्ति आश्चर्यचकित भए—उनको मोहोडा कुनै मानिसको भन्दा बढी र उसको स्वरूप मानिसका पुत्रहरूको भन्दा बढी कुरूप थियो—

४५ त्यसरी उनले धेरै राष्ट्रहरूमा छर्कनेछन्; राजाहरू उनका कारण आफ्ना मुखहरू बन्द गर्नेछन्, किनकि जुन भनिएको थिएन त्यो उनीहरूले देख्नेछन्; र जुन उनीहरूले सुनेका थिएनन् त्यो उनीहरूले बुझ्नेछन्।

४६ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, यी सबै कुराहरू निश्चय नै हुनेछन्, जसरी पिताले मलाई आज्ञा दिनुभएको छ। तब यो करार जुन पिताले आफ्ना जनसँग गर्नुभएको छ त्यो पूरा हुनेछ; र तब यरुशलेममा फेरि मेरा जनद्वारा बसोबास गरिनेछ र यो उनीहरूको रिक्थको भूमि हुनेछ।