धर्मशास्त्रहरू
३ नफी ११


येशू ख्रीष्टले नफीका जनसामु आफैँलाई देखाउनुभयो, जब भीड बाउन्टीफुल भूमिमा एकसाथ भेला भएका थिए र उनीहरूसामु सेवा गर्नु भयो; र उनीहरूसामु उहाँले आफूलाई यसप्रकारले देखाउनुभयो।

अध्याय ११ देखि २६ सम्म

अध्याय ११

पिताले आफ्नो प्रिय पुत्रको गवाही दिनुहुन्छ—ख्रीष्ट देखिनुहुन्छ र आफ्नो प्रयाश्चितको घोषणा गर्नुहुन्छ—जनहरूले उहाँका हातहरूमा र पाउहरूमा र कोखामा घाउका चिन्हहरू छाम्छन्—उनीहरू होसन्ना कराउँछन्—उहाँले बप्तिस्माको तरिका र ढङ्ग तोक्नुहुन्छ—कलहको आत्मा सैतानको हो—ख्रीष्टको सिद्धान्त हो कि मानिसले विश्वास गर्नुपर्छ र बप्तिस्मा लिनुपर्दछ र पवित्र आत्मा प्राप्त गर्नुपर्छ। लगभग ई.सं. ३४।

अनि अब यस्तो हुन गयो कि नफीका जनको एउटा ठूलो भीड बाउन्टीफुल भूमिमा भएको मन्दिरको वरिपरि एकसाथ भेला भएको थियो; र उनीहरू एकअर्कासँग विस्मय र आश्चर्य मान्दै थिए र एकअर्कालाई त्यहाँ भएका महान् र अद्भूत परिवर्तनहरू देखाउँदै थिए।

अनि उनीहरू यो येशू ख्रीष्टका बारेमा पनि वार्तालाप गरिरहेका थिए, जसका बारेमा उहाँको मृत्युका सम्बन्धमा चिन्हहरू दिइएको थियो।

अनि यस्तो हुन गयो कि जब उनीहरूले यसरी एकअर्कासँग वार्तालाप गरिरहेका थिए, उनीहरूले स्वर्गबाट आए जस्तो एउटा आवाज सुने; अनि उनीहरूले आफ्ना आँखाहरू वरिपरि डुलाए किनकि उनीहरूले त्यो आवाजलाई बुझेनन् जुन उनीहरूले सुने; र यो कठोर आवाज थिएन, न त यो ठूलो आवाज थियो; तैपनि, यो सानो आवाज हुँदाहुँदै पनि यसले त्यसलाई सुन्नेको केन्द्रसम्म छेड्यो, यतिसम्म कि उनीहरूको शरीरको कुनै भाग थिएन जुनलाई यसले कम्पन दिएन; हो यसले उनीहरूको भित्री आत्मासम्म छेड्यो र उनीहरूको हृदयलाई जलायो।

अनि यस्तो हुन गयो कि उनीहरूले त्यो आवाज फेरि सुने र उनीहरूले त्यसलाई बुझेनन्।

अनि फेरि उनीहरूले त्यो आवाजलाई तेस्रो पटक सुने र त्यसलाई सुन्न आफ्ना कानहरू खोले र आफ्ना आँखाहरू त्यो आवाज आएतिर लगाए र उनीहरूले स्वर्गतिर दृढताका साथ हेरे, जहाँबाट त्यो आवाज आयो।

अनि हेर, उनीहरूले तेस्रो पटक उनीहरूले सुनेको आवाजलाई बुझे; र यसले उनीहरूलाई भन्यो:

हेर मेरा प्रिय पुत्रलाई, जसमा म अति प्रसन्न छु, जसमा मैले मेरो नाउँ महिमित गरेको छु—तिमीहरू उनलाई सुन।

अनि यस्तो हुन गयो कि जब उनीहरूले बुझे उनीहरूले आफ्ना आँखाहरू फेरि स्वर्गतिर लगाए; अनि हेर, उनीहरूले एउटा मानिस स्वर्गबाट ओर्लिरहेको देखे; अनि उहाँ एउटा सेतो लबेदामा ढाकिनुभएको थियो; अनि उहाँ तल आउनुभयो र उनीहरूकामाझ खडा हुनुभयो; र सारा भीडका आँखाहरू उहाँमा थिए र उनीहरूले आफ्ना मुखहरू खोल्ने आँट गरेनन्, एक अर्कासामु समेत र यसको अर्थ के हो बुझेनन्, किनकि उनीहरूले सोचे यी एउटा स्वर्गदूत हुन् जो उनीहरूसामु देखा परेका थिए।

अनि यस्तो हुन गयो कि उहाँले आफ्ना हातहरू फैलाउनुभयो र उनीहरूसामु बोल्नुभयो, यसो भन्दै:

१० हेर, म येशू ख्रीष्ट हुँ, जसलाई अगमवक्ताहरूले संसारमा आउनु हुनेछ भनी गवाही दिए।

११ अनि हेर, म संसारको ज्योति र जीवन हुँ; अनि मैले त्यो तीतो कचौराबाट पिएको छु जुन पिताले मलाई दिनुभएको छ र संसारका पापहरू आफूमाथि लिएर पितालाई महिमित गरेको छु, जुनमा मैले प्रारम्भदेखिका सबै कुराहरूमा पिताको इच्छा सहेको छु।

१२ अनि यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो सारा भीड पृथ्वीमा ढल्यो; किनकि उनीहरूले सम्झे कि उनीहरूमाझ अगमवाणी गरिएको थियो कि ख्रीष्टले आफ्नो स्वर्गतिरको आरोहणपछि आफैँलाई उनीहरूमाझ देखाउनु हुनेछ।

१३ अनि यस्तो हुन गयो कि परमप्रभुले उनीहरूसामु बोल्नुभयो यसो भन्दै:

१४ उठ र मकहाँ अघि आओ, कि तिमीहरूले आफ्ना हातहरू मेरो कोखामा राख्न सक्नेछौ र यो पनि कि तिमीहरूले मेरा हातहरू र पाउहरूमा किलाका डोबहरू छाम्न सक्नेछौ, ताकि तिमीहरूले थाहा पाउनेछौ कि म इस्राएलका परमेश्वर र सारा पृथ्वीका परमेश्वर हुँ र संसारका पापहरूका निम्ति वध गरिएको हुँ।

१५ अनि यस्तो हुन गयो कि भीड अघि गयो र उहाँको कोखामा आफ्ना हातहरू राखे र उहाँका हातहरूमा र उहाँका पाउहरूमा किलाहरूका डोबहरू छाम्यो; अनि यो उनीहरूले गरे, उनीहरू सबै अघि नगइन्जेलसम्म एक एक गरेर अघि जाँदै र आफ्नै आँखाहरूले देखे र आफ्नै हातहरूले छामे र निश्चितताका साथ थाहा पाए र गवाही दिए कि यो उहाँ हुनुहुन्थ्यो, जसका बारेमा अगमवक्ताहरूद्वारा लेखिएको थियो, उहाँ आउनुपर्दछ।

१६ अनि जब उनीहरू सबै अघि गएका थिए र आफ्ना निम्ति गवाही दिएका थिए, उनीहरूले एक आवाजमा कराए, यसो भन्दै:

१७ होसन्ना! सर्वोच्च परमेश्वरको नाउँको प्रशंसा गर! अनि उनीहरू येशूका पाउमा परे र उहाँको आराधना गरे।

१८ अनि यस्तो हुन गयो कि उहाँले नफीसामु बोल्नुभयो (किनकि नफी भीडमाझ थिए) र उहाँले उनलाई आज्ञा दिनुभयो कि उनी अगाडि आउनु पर्दछ।

१९ अनि नफी उठे र अघि गए र आफैँलाई परमप्रभुसामु निहुऱ्याए र उहाँका पाउलाई चुम्बन गरे।

२० अनि परमप्रभुले उनलाई आज्ञा दिनुभयो कि उनी उठ्नुपर्छ। र उनी उठे र उहाँअगाडि खडा भए।

२१ अनि परमप्रभुले उनलाई भन्नुभयो: म तिमीलाई शक्ति दिन्छु कि तिमीले यी जनलाई बप्तिस्मा दिनेछौ जब म फेरि स्वर्गतिर आरोहण गर्छु।

२२ अनि फेरि परमप्रभुले अरुलाई बोलाउनुभयो र उनीहरूलाई पनि त्यसरी नै भन्नुभयो; अनि उहाँले उनीहरूलाई बप्तिस्मा दिने शक्ति दिनुभयो। अनि उहाँले उनीहरूसामु भन्नुभयो: यस तरिकाले तिमीहरूले बप्तिस्मा दिनेछौ; र तिमीहरूमाझ त्यहाँ कुनै विवाद हुनेछैन।

२३ साँचै नै म तिमीहरूलाई भन्दछु, कि जसले मेरा वचनहरू मार्फत् आफ्ना पापहरूको पश्चात्ताप गर्दछ र मेरा नाउँमा बप्तिस्मा लिन चाहन्छ, तिमीहरूले यस तरिकाले उनीहरूलाई बप्तिस्मा दिनेछौ—हेर, तिमीहरू जानेछौ र पानीमा खडा हुनेछौ र तिमीहरूले उनीहरूलाई मेरा नाउँमा बप्तिस्मा दिनेछौ।

२४ अनि हेर, यी वचनहरू हुन् जुन तिमीहरूले भन्नेछौ, उनीहरूको नाउँ लिँदै, यसो भन्दै:

२५ मलाई येशू ख्रीष्टबाट दिइएको अधिकारद्वारा, म तिमीलाई पिताको र पुत्रको र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छु। आमिन।

२६ अनि तब तिमीहरूले उनीहरूलाई पानीमा डुबाउनेछौ र पानीबाट फेरि बाहिर आउनेछौ।

२७ अनि यस प्रकारले तिमीहरूले मेरा नाउँमा बप्तिस्मा दिनेछौ; किनकि हेर, साँचै नै म तिमीहरूलाई भन्दछु, कि पिता र पुत्र र पवित्र आत्मा एक हुनहुन्छ; र म पितामा छु र पिता ममा र पिता र म एक हौँ।

२८ अनि मैले तिमीहरूलाई आज्ञा दिएअनुसार तिमीहरूले त्यसरी नै बप्तिस्मा दिनू। अनि तिमीहरूमाझ तिमीहरूमा यस अघि भए जस्ता कुनै विवादहरू हुनेछैन; न त मेरा सिद्धान्तका वुँदाहरूका बारेमा तिमीहरूमाझ यसअघि भए जस्ता विवादहरू हुनेछ।

२९ किनकि साच्चैं, साँचै नै म तिमीहरूसामु भन्दछु, जोसँग कलहको आत्मा छ ऊ मेरो होइन, तर सैतानको हो, जो कलहको पिता हो र उसले मानिसका हृदयहरूलाई एक अर्कासँग क्रोधमा कलह गर्न भड़काउँछ।

३० हेर, मानिसका हृदयहरूलाई एक अर्का विरुद्ध क्रोधमा भड़काउनु मेरो सिद्धान्त होइन; तर यो मेरो सिद्धान्त हो, कि त्यस्ता कुराहरूलाई बन्द गर्नुपर्छ।

३१ हेर, साँचै नै, साँच्चैँ नै, म तिमीहरूसामु भन्दछु, म तिमीहरूसामु मेरो सिद्धान्त उद्घोष गर्छु।

३२ अनि यो मेरो सिद्धान्त हो र यो मेरो सिद्धान्त हो जुन पिताले मलाई दिनुभएको छ; र म पिताको गवाही दिन्छु र पिताले मेरो गवाही दिनुहुन्छ र पवित्र आत्माले पिताको र मेरो गवाही दिन्छ; र म गवाही दिन्छु कि पिताले, जताततैका, सबै मानिसहरूलाई पश्चात्ताप गर्न र ममा विश्वास गर्न आज्ञा दिनुहुन्छ।

३३ अनि जसले ममा विश्वास गर्दछ र बप्तिस्मा लिन्छ, उसलाई बचाइनेछ; र उनीहरू तिनै हुन् जसले परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्नेछन्।

३४ अनि जसले ममा विश्वास गर्दैन र बप्तिस्मा लिँदैन, ऊ दोषी ठहरिनेछ।

३५ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, कि यो मेरो सिद्धान्त हो र म यसको गवाही पिताबाट दिन्छु र ममा विश्वास गर्नेले पितामा पनि विश्वास गर्दछ; र उसलाई पिताले मेरो गवाही दिनुहुनेछ, किनकि उहाँले उसलाई आगोका साथ र पवित्र आत्माका साथ भेट्नुहुनेछ।

३६ अनि पिताले यसरी मेरो गवाही दिनुहुनेछ र पवित्र आत्माले उसलाई पिताको र मेरो गवाही दिनुहुनेछ; किनकि पिता र म र पवित्र आत्मा एक हौँ।

३७ अनि फेरि म तिमीहरूसामु भन्दछु, तिमीहरूले पश्चात्ताप गर्नुपर्दछ र सानो बालक जस्तो बन्नु पर्छ र मेरा नाउँमा बप्तिस्मा लिनुपर्छ, अन्यथा तिमीहरूले कुनै पनि हालतमा यी कुराहरू प्राप्त गर्न सक्दैनौ।

३८ अनि फेरि म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गर्नुपर्दछ र मेरो नाउँमा बप्तिस्मा लिनुपर्दछ र एउटा सानो बालक जस्तो हुनुपर्छ, अन्यथा तिमीहरूले कुनै हालतमा परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनौ।

३९ साँचै नै, साँचै नै म तिमीहरूसामु भन्दछु, कि यो मेरो सिद्धान्त हो र जसले यसमा बनाउँछ मेरो चट्टानमा निर्माण गर्दछ र नरकका द्वारले उसका विरुद्ध जित्न सक्ने छैनन्।

४० अनि जसले यसबाट घटबढ घोषणा गरी गर्नेछ र मेरो सिद्धान्तका निम्ति यो स्थापना गर्नेछ, ऊ दुष्टबाट आउँछ र मेरो चट्टानमा निर्माण गरिएको होइन; तर उसले बालुवाको जगमा बनाउँछ र उसलाई प्राप्त गर्न नरकका द्वारहरू खोलिन तयार छन् जब बाढी आउँछन् र हुरीले उसमाथि कुट्छ।

४१ त्यसकारण, यी जनसामु अघि जाऊ र पृथ्वीका पल्लो छेउका सामु मैले बोलेका वचनहरू उद्घोष गर।