धर्मशास्त्रहरू
हेलामान ८


अध्याय ८

भ्रष्ट न्यायकर्ताहरूले नफीविरुद्ध जनलाई उचाल्न खोज्छन्—अब्राहाम, मोशा, येनोश, जेनोक, एजिया, यशैया, यर्मिया, लही र नफी सबैले ख्रीष्टको गवाही दिन्छन्—प्रेरणाद्वारा नफीले प्रधान न्यायकर्ताको हत्याको सूचना दिन्छन्। लगभग ई.पू. २३–२१।

अनि अब यस्तो हुन गयो कि जब नफीले यी वचनहरू भनेका थिए, हेर, त्यहाँ मानिसहरू थिए जो न्यायकर्ताहरू थिए, जो गादियान्तोनको गोप्य समूहका पनि थिए र उनीहरू रिसाए र उनीहरू उनका विरुद्ध कराए, जनसामु यसो भन्दै: किन यो मानिसलाई तिमीहरू समात्दैनौ र अघि ल्याउँदैनौ, कि उसलाई उसले गरेको अपराधअनुसार दोषी ठहऱ्याइयोस्?

तिमी यो मानिसले यी जन र हाम्रा कानुनहरूविरुद्ध निन्दा गरेको किन हेर्दछौ र सुन्दछौ?

किनकि हेर, नफीले उनीहरूसामु उनीहरूका कानुनका भ्रष्टताका बारेमा बोलेका थिए; हो, नफीले लेख्न नसकिने धेरै कुराहरू बोले; र परमेश्वरका आज्ञाहरू विपरीत उनले केही पनि बोलेनन्।

अनि ती न्यायकर्ताहरू उनीसँग रिसाए किनभने उनले तिनीहरूसामु तिनीहरूका अन्धकारका गोप्य कामहरूका बारेमा स्पष्टसँग बोले; तैपनि उनीहरूले उनीमाथि हात हाल्ने आँट गरेनन्, किनकि उनीहरू जनसँग डराए कथंकदाचित तिनीहरू उनीहरूविरुद्ध कराउनेछन्।

त्यसकारण उनीहरूले जनसामु कराए, यसो भन्दै: तिमीहरू किन यो मानिसले हामीविरुद्ध निन्दा गरेको सहन्छौ? किनकि हेर उसले यी सबै जनलाई, विनाशसम्म समेत दोषी ठहरऱ्याउँछ; हो, अनि यो पनि कि हाम्रा महान् सहरहरू हामीबाट लगिनेछ, कि तिनमा हाम्रो कुनै स्थान हुनेछैन।

अनि अब हामीलाई थाहा छ कि यो असम्भव छ, किनकि हेर, हामी शक्तिशाली छौँ र हाम्रा सहरहरू महान् छन्, त्यसकारण हाम्रा शत्रुहरूले हामीमाथि शक्ति लिन सक्दैनन्।

अनि यस्तो हुन गयो कि यसरी उनीहरूले जनलाई नफीविरुद्ध क्रोधमा उक्साए र उनीहरूमाझ कलह उचाले; किनकि त्यहाँ केही थिए जसले कराए: यो मानिसलाई एक्लै छाडिदेओ, किनकि ऊ एक असल मानिस हो र उसले भनेका ती कुराहरू निश्चय नै हुनेछन् यदि हामीले पश्चात्ताप नगरे;

हो, हेर, उसले हामीसामु गवाही दिएका सबै न्यायहरू हामीमाथि आउनेछन्; किनकि हामीलाई थाहा छ कि उसले हाम्रो दुष्टताका बारेमा सही गवाही दिएको छ। अनि हेर तिनीहरू धेरै छन्; र जसरी उसलाई हाम्रा दुष्टताहरूका बारेमा थाहा छ त्यसरी नै उसलाई हामीमाथि हुने सबै कुराहरू थाहा छ;

हो, अनि हेर, यदि ऊ अगमवक्ता नभएको भए उसले ती कुराहरूका बारेमा गवाही दिन सक्दैनथ्यो।

१० अनि यस्तो हुन गयो कि नफीको विनाश गर्न खोज्ने ती जन उनीहरूको डरका कारण बाध्य भए, कि उनीहरूले तिनीमाथि आफ्ना हातहरू हालेनन्; त्यसकारण यो देखेर कि उनले केहीका नजरमा कृपा पाएका थिए, यतिसम्म कि बाँकी डराए, उनले तिनीहरूसामु फेरि बोल्न थाले।

११ त्यसकारण उनी तिनीहरूसामु यसो भन्दै अरु बोल्न बाध्य भए: हेर, मेरा बन्धुहरू, के तिमीहरूले पढेका छैनौ कि परमेश्वरले एउटा मानिसलाई, मोशालाई समेत, लाल सागरका पानीमाथि प्रहार गर्न शक्ति दिनुभयो, कि ती यता र उता अलग्गिए, यतिसम्म कि इस्राएलीहरू, जो हाम्रा पितापुर्खाहरु थिए, ओभानो जमिनमाथि आए र पानी मिश्रीहरूका सेनाहरूमाथि आयो र उनीहरूलाई निल्यो?

१२ अनि अब हेर, यदि परमेश्वरले यो मानिसलाई त्यस्तो शक्ति दिनुभयो भने, तब तिमीहरू किन आफैँबीच विवाद गर्दछौ र भन्दछु कि उहाँले मलाई त्यस्तो कुनै शक्ति दिनुभएको छैन जसबाट म तिमीहरूले पश्चात्ताप नगरे तिमीहरूमाथि आउने न्यायहरूका बारेमा जान्न सकूँ?

१३ तर, हेर, तिमीहरूले मेरा वचनहरूलाई मात्र अस्वीकार गर्दैनौ, तर तिमीहरूले हाम्रा पितापुर्खाहरुले बोलेका वचनहरूलाई पनि र जसलाई त्यस्तो महान् शक्ति दिइएको थियो त्यो मानिस मोशाद्वारा बोलिएका वचनहरूलाई पनि, हो, उनले मसीहको आगमनका बारेमा बोलेका वचनहरूलाई पनि अस्वीकार गर्छौ।

१४ हो, के उनले गवाही दिएनन् कि परमेश्वरका पुत्र आउनुपर्दछ? अनि जसरी उनले काँसको सर्पलाई उजाड स्थानमा उचालेका थिए, त्यसरी नै आउनुहुने उहाँलाई उचालिनेछ।

१५ अनि जत्तिले त्यो सर्पलाई हेरे उनीहरू जिए, त्यसरी नै जत्तिले आस्थाका साथ, पछुताएको आत्माका साथ, परमेश्वरका पुत्रतिर हेर्छन्, उनीहरू जिउन सक्छन्, त्यो जीवनसम्म समेत जुन अनन्त छ।

१६ अनि अब हेर, मोशाले मात्र होइन यी कुराहरूको गवाही दिएका, तर उनका दिनहरूदेखि अब्राहामका दिनहरूसम्मका सबै पवित्र अगमवक्ताहरूले पनि दिएका थिए।

१७ हो, अनि हेर, अब्राहामले उहाँको आगमनलाई देखे र हर्षले भरिए र खुसी मनाए।

१८ हो, अनि हेर म तिमीहरूसामु भन्छु, कि अब्राहामले मात्र होइन यी कुराहरू थाहा पाएको, तर त्यहाँ अब्राहामका दिनहरूभन्दा अगाडि परमेश्वरको अनुक्रमअनुसार बोलाइएका धरै थिए; हो, उहाँका पुत्रका अनुक्रमअनुसार समेत; अनि यो कि जनसामु, उहाँको आगमनभन्दा हजारौँ वर्षअगाडि, देखाइनुपर्छ, कि उनीहरूसामु उद्धार समेत आउनेछ।

१९ अनि अब म चाहान्छु कि तिमीहरूले जान्नु पर्दछ, कि अब्राहामका दिनहरूदेखि समेत त्यहाँ धेरै अगमवक्ताहरू छन् जसले यी कुराहरूको गवाही दिएका छन्; हो, हेर, अगमवक्ता जेनोसले साहसका साथ गवाही दिएका छन्; जसका निम्ति उनको वध गरियो।

२० अनि हेर, जेनोकले पनि र एजियाले पनि र यशैयाले पनि र यर्मियाले, (यर्मिया त्यही अगमवक्ता भएकाले जसले यरुशलेमको विनाशको गवाही दिए) र अब, हामीलाई थाहा छ कि यरुशलेमको यर्मियाका वचनहरूअनुसार विनाश भयो। हे त्यसो भए उनको अगमवाणीअनुसार परमेश्वरका पुत्र किन आउनुहुन्न?

२१ अनि अब हेर के तिमीहरू विवाद गर्दछौ कि यरुशलेमको विनाश गरियो? के तिमीहरू भन्नेछौ कि सिदकियाहका छोराहरू, मुलेक बाहेक सबैको बध गरिएन? हो, के तिमीहरू देख्दैनौ कि सिदकियाहका सन्तान हामीहरूसँग छन् र उनीहरूलाई यरुशलेमको भूमिबाट लखेटिएको थियो? तर हेर, यो सबै होइन—

२२ हाम्रा पिता लहीलाई यरुशलेमबाट लखेटिएको थियो किनभने उनले यी कुराहरूको गवाही दिए। नफीले पनि यी कुराहरूको गवाही दिए, हाम्रा पितापुर्खाहरु लगभग सबैले, यो समयसम्म समेत; हो, उनीहरूले ख्रीष्टको आगमनको गवाही दिएका छन् र बाटो हेरेका छन् र आउने उहाँका दिनमा खुसी मनाएका छन्।

२३ अनि हेर, उहाँ परमेश्वर हुनुहुन्छ र उहाँ उनीहरूसँग हुनुहुन्छ र उहाँ उनीहरूसामु प्रकट हुनुभयो, कि उनीहरूको उहाँद्वारा उद्धार गरियो; र त्यो जुन आउनेवाला छ त्यसका कारण, उनीहरूले उहाँलाई महिमा दिए।

२४ अनि अब, यो देखेर कि तिमीहरूलाई यी कुराहरू थाहा छ र तिमीहरूले नढाँटे तिनलाई अस्वीकार गर्न सक्दैनौ, त्यसकारण यसमा तिमीहरूले पाप गरेका छौ, किनकि तिमीहरूले प्राप्त गरेका त्यति धेरै प्रमाणहरू, हो, तिमीहरूले स्वर्गमा र पृथ्वी दुबैमा भएका सबै कुराहरू, साक्षीका रुपमा प्राप्त गरेका सत्य कुराहरूसमेत हुँदाहुँदै यी सबै कुराहरूको अस्वीकार गरेका छौ।

२५ तर हेर, तिमीहरूले सत्यलाई अस्वीकार गरेका छौ र तिम्रा पवित्र परमेश्वरका विरुद्ध विद्रोह गरेका छौ; र यस समयमा समेत, आफ्ना निम्ति, जहाँ केहीले पनि भ्रष्ट नबनाउने र जहाँ कुनै अशुद्ध केही पनि आउन नसक्ने स्वर्गमा खरखजाना थुपार्नुको सट्टा, तिमीहरूले न्यायको दिनका विरुद्ध आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ।

२६ हो, यो समयमा समेत तिमीहरू, आफ्ना हत्याहरू र आफ्ना व्यभिचारका र दुष्टताका कारण चीरस्थायी विनाशका निम्ति पाकिरहेका छौ; हो, यदि तिमीहरूले पश्चात्ताप नगरे यो तिमीहरूमाथि तुरुन्त आउनेछ।

२७ हो, हेर यो अहिले तिमीहरूका ढोकाहरूमा समेत छ; हो, तिमीहरू न्यायको आसनमा जाओ र खोज; र हेर, तिमीहरूको न्यायकर्ताको हत्या गरिएको छ र ऊ रगतमा लड्छ; र उसलाई उसको भाइद्वारा हत्या गरिएको हो, जो न्यायको आसनमा बस्न खोज्दछ।

२८ अनि हेर, उनीहरू दुबै तिमीहरूको गोप्य समूहका मातहतका हुन्, जसको लेखक गादियान्तोन र दुष्ट चाहिँ हो जसले मानिसहरूका आत्माहरूको विनाश गर्न खोज्दछ।